पुस्तकमा मध्य काठमाडौँमा रहेको परिवारकी एक नारीमा उमेरले युवावस्था थिचोले पनि बाँकी नै रहेको नारी मनोभावना, चिन्तन र सौन्दर्य-चेतको प्रसङ्ग छ । बैँसालु रस र यौवनले बिस्तारै साथ र गाथ छाड्दै गएको आभास भए पनि प्रौढ गाम्भीर्यले थप ओज प्रदान गरेको सौन्दर्यको आभास गर्ने नारीको चिन्तन छ ।
…
“गंकी बज्जे जाकी फोने बज्जे” भन्दै माग्न आउने चलन लगभग लोप नै भइसकेको छ । भक्तपुरका केही क्षेत्रमा बाहेक काठमाडौँ, ललितपुर जस्ता विकसित शहरतिर यो चलन लोप भइसकेको छ । गंकी भन्नाले नेपाल भाषामा ग्रहण लाग्दा दिने किग (चामल) लाई बुझिन्छ । “गं” भनेको ग्रहण हो भने “की” भनेको किग (चामल) हो । दानलाई विशेष महत्त्व दिने हाम्रो समाजमा ग्रहणको समयावधिमा घरघर माग्न आउने व्यक्तिलाई विशेष गरी चामल, नून, लुगा आदि दान गर्ने गरिन्छ । ग्रहणको समयावधिमा खानु, सुत्नु र चर्पी बस्नु हुन्न भन्ने मान्यता रहेकाले नजिकको तीर्थस्थलमा गएर स्नानपश्चात् मागी बस्ने विपन्न परिवारका मानिसहरूलाई दान दिने चलन पनि रहेको छ । ग्रहणको समयमा दान गर्नाले दशा मुक्त हुन्छ भने जनविश्वास रहेको पाइन्छ । (जीआर रञ्जित पेज)
गंकी उपन्यास वि.सं. २०१६ मा नेपाल भाषा (नेवारी) मा प्रकाशित भएर २० वर्षपछि वि.सं. २०३६ सालमा नेपाली अनुवादमा प्रकाशनमा आएको थियो । २०६१ सालमा यसको पुनः प्रकाशन पैरवी बुक्स एण्ड स्टेसनरीले गरेको हो । स्वगत/एकात्मक कथन शैलीमा लेखिएको यस कृतिमा नारीको मनोविज्ञान, यौन मनोभावना र विविध समय परिस्थितिमा फेरबदल हुने चेतन स्तर र प्रतिक्रिया बारे धेरथोर चित्रण गरिएको छ । किताबको नाम ‘गंकी’ भए तापनि पात्राको नाम स्पष्ट तोकिएको छैन । नेपाली साहित्यका मूर्धन्य साहित्यकार समालोचक डा. ताना सर्मा (तारानाथ शर्मा) ले यसलाई नेपाली साहित्यको पथ-प्रदर्शक कृतिको संज्ञा दिएका थिए ।
गोविन्दबहादुर मल्ल गोठालेको ‘पल्लो घरको झ्याल’, विजय मल्लको ‘अनुराधा’ र ‘कुमारी शोभा’ पढेको बखत भएको झैँ भान भयो यो उपन्यास पढ्दा । काठमाडौंमै आश्रय लिइबसेका मध्यम-वर्गीय नेवारी परिवारको कथा छ यस उपन्यासमा । पुस्तकमा मध्य काठमाडौँमा रहेको परिवारकी एक नारीमा उमेरले युवावस्था थिचोले पनि बाँकी नै रहेको नारी मनोभावना, चिन्तन र सौन्दर्य-चेतको प्रसङ्ग छ । बैँसालु रस र यौवनले बिस्तारै साथ र गाथ छाड्दै गएको आभास भए पनि प्रौढ गाम्भीर्यले थप ओज प्रदान गरेको सौन्दर्यको आभास गर्ने नारीको चिन्तन छ । उमेर बढेको भए पनि उनले अनुभव गर्ने मादकता, आकर्षण र जीवन अनि बेला बेला सोचाइको गहिरो तलाउमा डुब्ने सन्दर्भ छ । हुन पनि, काम केही नहुँदा र ज्यादै नै फुर्सदी हुँदाका बखत मान्छेका मनमा अनेकौँ विचार, सोचाइ र यो गर्ने नगर्ने भन्ने दाउपेचको शृङ्खला आउने जाने क्रम चलिरहेको हुन्छ ।
एक्लो पारिएकी, नियाँस्रो लागेकी र भाइबुहारीसँग हुने मनमुटाब तथा बेला मौकामा रित्तोपना र शून्यपना बोध गर्ने नारीको मनमा उठेका कुराहरूलाई उपन्यासको कथानकमा ल्याइएको छ । मान्छे कहिलेकाहीँ भीड, परिवार अनि आफ्नै साथीभाइको समूहमा पनि नितान्त एक्लो पाउँछ आफूलाई । ऐनामा आफ्नो बदलिएको रूप, फिक्का भएको सौन्दर्य, ढल्कदै गएको उमेर अनि फुल्दै गएका सेता केशराशि हेरेर सोचमा डुबेकी पात्राको ध्यान बाहिरको होहल्लाले भङ्ग गर्छ ।
हामीलाई पनि त सोचाइको गहिराइबाट बाहिर आउन कि कुनै अपर्झट आवाज चाहिन्छ या स्पर्श नै । उमेर जति जति बढ्दै जान्छ, उति उति हामी माया-प्रेम, मोहजाल, सांसारिक सुख र सौन्दर्यप्रतिको मोह केवल भ्रम हो भन्ने स्मरण गर्न थल्छौँ । र त्यति नै, फुर्सद हुनासाथ बितेर गएका दिन, अनेकौँ व्यक्तिसँग लगाइएका साइनो र सम्बन्ध, र गुमाएका कुराहरूको यादमा डुब्दछौँ । उपन्यासमा परिवारका सदस्यसँग मनमुटाबका कारण हुने सम्बन्धको उतार-चढाव, प्रेमाकर्षण, नारीहरूले महसूस गर्ने रीस, डाहा, जलन अनि सधैँ अर्काको देखासिकी र चियोचर्चो गर्ने परिपाटीको सन्दर्भ पनि आएको छ । यसमा पारिवारिक सदस्यबीच झगडाको कारण बोलचाल बन्द हुने, आत्मीयतामा आउने ह्रास, भत्के/चर्केको मेलमिलाप, बोध हुने/गरिने निष्ठाहीन भावना, बेला मौकामा सम्बन्धमा आउने ह्रास, अहङ्कारको द्वन्द्व र आफ्नो स्थापित मूल्य-मान्यता गुमाएको आभास आदि उपन्यासमा सुन्दर तरिकाले प्रस्तुत गरिएको छ ।
मातापिता अनुपस्थित रहँदा पहिले जन्मेको सन्तानले एकसाथ निभाउनु पर्ने मातापिता र दाजु/दिदीको नाता, पति र पत्नी बीच हुने मनमुटाब र उस्तै माया-प्रेम, बाबुआमा (चाहे जीवित हुन् वा स्वर्गीय) प्रति हुने असीमित माया , सम्मान अनि उनीहरूले निर्देशन दिएको आज्ञा पालन र कर्तव्यलाई सुन्दर, सरस र मिहीन तवरले कथानकमा स्थान दिइएको छ । आफन्तजन, साथीभाइ र कहिलेकाहीँ सगोलकै दाजुभाइ वा दिदीबहिनीसँग आर्थिक लेनदेन र हिसाबकिताबका कारण उब्जने शङ्का, अविश्वास र सम्बन्धमा आउने फाटोको पाटो पनि उपन्यासमा आएको छ । मानिसले मानिसलाई चिन्न नसक्ने, रुढीवादी सामाजिक-सांस्कृतिक मान्यता र चलन बारे पनि केही कुरा उपन्यासमा अटेको पाइन्छ ।
पात्राले आफ्नो पुराना प्रेम अनुभव, आफूमाथि समाजका पुरुषले राखेको कुदृष्टि, मादक र यौनजन्य नजर, पिताको पर-स्त्री गमन, गृह-कलहको मनोवैज्ञानिक प्रभाव अनि बालिका उमेरमा बाको उमेर सरहको व्यक्ति (मदन बा) बाट पात्रामाथि हुने यौन उत्पीडनको साबिती बयान कथानकका रूपमा पुस्तकमा आएको छ । अर्काको रूप र सौन्दर्यमा मोहित भएर, चकित परेर घर-सम्पत्ति र गृहसुख नै अर्काको पोल्टामा पारेर आफ्नै परिवारकालाई मानसिक आघात एवम् गम्भीर मनोवैज्ञानिक ट्रमा दिने पात्र छन् यसमा जो वास्तविक जीवनमा पनि भेटिन्छन् ।
किताबको कथानकमा आफ्नो मनका कुरा, पीर-चिन्ता र गुम्फन सुन्न अभिभावकसँग समय नहुनु, केही पुरुषहरूको जुनसुकै उमेरका नारीलाई यौन आकर्षणका वस्तुझैं अब्जेक्टिफाई गर्ने तरिका, अप्रत्यक्ष रूपमा हुने/गरिने नकारात्मक स्पर्श, गैर-वैवाहिक सम्बन्ध, आमा र छोरीको एकै व्यक्तिसँग गाँसिन गएको प्रेम र यौन सम्बन्ध (एकअर्कालाई थाहा नदिई), ईर्ष्या/द्वेषको बीजारोपण, अनि यौन, यौवन र प्रेमका मामिलामा आमा छोरीबीच उत्पन्न हुने विश्वासघातको प्रसङ्ग पनि उपन्यासले कोट्याएको छ ।
मदन बाका कारण पेटमा बच्चा बसेको केही समयमा नै क्षयरोग लागेका रोगी व्यक्तिसँग अकस्मात् गाँसिएको दोस्रो बिहा सम्बन्ध, पति जिउँदै हुँदा आइरहने काजीसँगको सम्बन्ध र आकर्षणको गतिशीलता, विवाहको छ महीनामा बच्चा हुने तर केही दिनमै बच्चाको मृत्यु (सम्भवतः हत्या सौताको हातबाट) का कारण हुने हीनताबोध एवम् नैराश्यको सन्दर्भ पनि उपन्यासमा रहेको छ । यस्तै यावत् दु:खकष्टका बाबजुद अनेक हन्डर खाएर हुर्काएको भाइ र छोरी/बहिनी सरह मानेर विवाह गराइल्याइएकी बुहारीले नै गर्ने तिरस्कारले जिउँदै मारिएको आभास गर्ने पात्रा छिन् यसमा । तर आफ्ना भावना , आकाङ्क्षा र उत्तेजनालाई नियन्त्रणर/नियमन गर्न र आत्म-विश्लेषण गर्न यी पात्रा सक्षम छिन् ।
कथानकमा सु:कुचाको प्रसङ्ग पनि ध्यान तान्न सफल छ । काजीसँगको लसपस थाहा भएपछि घरबाट निकालिनु, र माइतको शरणमा भएका बखत भाइलाई पढाउन आउने मास्टरले गर्ने प्रेमको जालझेल र धोकाको पनि पाठकको ध्यान तान्न सफल देखिन्छ । फेरि, यस्ता सम्बन्धमा समाजले अधिकांश दोष चैँ नारीमाथि नै थोपर्ने गर्दछ, पुरुषलाई चैँ एकदम स्वतन्त्रता र जे गरे पनि सहजै माफी दिने काम गर्दछ । एउटै खाले सम्बन्ध भए/रहे पनि प्रश्नैप्रश्न केवल नारीलाई सोधिन्छ । प्रश्न त सोधिन्छ, तर आफ्नो कुरा स्पष्ट राख्न भने दिइँदैन, न त न्याय निसाफ माग्न पर्याप्त स्रोत र साधन नै दिइन्छ । अनि फेरि; केही नारी चैँ आफ्नो मात्र नभई अरूको घरबार बिगार्ने, श्रीसम्पत्ति र ऐस-आराम हत्याउन आफ्नो चरित्र नै पतीत गर्ने, ध्वस्त गर्ने हुन्छन् ।
अतः घर-परिवार जोगाउन, इज्जत-प्रतिष्ठा कायम राख्न नर-नारीको हात उस्तै र उत्तिकै हुन्छ । यौन, प्रेम, पारिवारिक द्वन्द्व र विग्रह आदिका आधारमा केलाउँदा किताब सानो भए तापनि पढ्दै जाँदा विषय विविध र विराट लाग्दछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० माघ २०८२, मंगलवार 










