Raw Barz (र बार्ज) नामक र्याप युटुब शोबाट चम्केर, सिभिल-कन्स्ट्रक्सन-स्ट्रक्चरल इन्जिनियरका रूपमा काम गरेर, हिप हप र्याप गीतमा पहिचान बनाएर तथा काठमाडौंको मेयर पदमा स्वतन्त्र निर्वाचित भएर चर्चाको शिखरमा पुगेको नाम हो बालेन्द्र शाह अर्थात् बालेन । उनी आफ्ना प्रशासनिक कार्यका कारण जति चर्चा परिचर्चाको केन्द्रविन्दु भएका छन्, उति नै नकारात्मक रूपमा चर्चा पाएका छन् ।
वि.सं. २०८१ सालमा आफ्नो जन्मदिनको अवसरमा आवरण सार्वजनिक गरेसँगै चर्चामा आएको कवितासंग्रह हो – `अश्र´। फरकफरक आयतन, आयाम, र विषय सन्दर्भका कविताहरु रुचाउने पाठकका निम्ति थपिएको नवीनतम किताब हो ‘अश्र´ ।
राजनीति र प्रशासन क्षेत्रमा पूर्णतः लागेका भए तापनि साहित्य- लेखन प्रयत्नमा लागेका हुन् बालेन शाह । अमेरिकी पूर्व-राष्ट्रपति बराक ओबामा र उनकी पत्नी मिसेल ओबामा, अमेरिकी पूर्व-राष्ट्रपति बिल क्लिन्टन, विश्वेश्वरप्रसाद कोइराला, प्रदीप नेपाल, मदन भण्डारी, कमल प्रकाश मल्ल, डीपी अधिकारी, लोकेन्द्रबहादुर चन्द, मातृकाप्रसाद कोइराला – एउटा विशेष क्षेत्रमा स्थापित भएका एकाध व्यक्तिहरुले पनि साहित्यिक रचना गरेका र किताब लेखेर छापेका छन् । भलै ती किताब छपाइको पछाडि अनेकौं कारण र उद्देश्य किन नहोस् ।
यसअघि राजनीति र प्रशासनमा लागेकाहरुको आउने कृति कि त संस्मरण हुन्थ्यो कि आफ्नो पार्टीको इतिहास वा ऐतिहासिक दस्तावेज हुन्थ्यो । लोकेन्द्रबहादुर चन्द र प्रदीप नेपालका कथा र उपन्यासका किताब पढ्न पाएको थिएँ । विश्वेश्वरप्रसाद कोइरालाले नेपाली साहित्यमा पाएको उचाई र लेगेसीको त कुरा गरेरै थाकिन्न । रवीन्द्र मिश्र, बाबुराम भट्टराई, हिसिला यमी आदिका किताब पनि पढियो ।
`अश्र´ संस्कृतबाट आएको शब्द हो जसको अर्थ आँसु र रगत हुन्छ । यसका अलावा कुनै शब्दकोशमा यस शब्दको अर्थ काल, समय, जल, वक्त आदि हुने पनि लेखिएको छ । केही पाठकलाई किताबको शीर्षक संस्कृत शब्द नै किन राखियो होला भन्ने लाग्ला । जायरा, जाहिरा, जौवा, इजोरिया, दुङ्गाल, उबडखाबड, याम्बुनेर आदि किताबको शीर्षक पढ्दा सुरुमा अलमल भए तापनि किताब पढेर सकिसक्दासम्म ती शीर्षक राखिनुका तात्पर्य र अर्थ भेद मज्जाले हुन्छ । सुरुमा कस्तो कस्तो लागेर आएका कृतिहरु पूरापुर पढिसक्दा अधिकतम किताबले तृप्तता दिन्छन् र एकाध किताबले रिक्तता दिन्छन् ।
किताबको नाम र आवरण सार्वजनिक सञ्जालमा सार्वजनिक भएसँगै प्रकाशन गृह, किताबको दाम र भित्री अन्तर्वस्तु के कस्ता छन् होला भन्ने उत्सुकता पैदा भएको थियो । बजारमा किताबको राम्रै क्रेज छ र सामाजिक सञ्जालमा किताबको पक्ष र विपक्षमा राम्रै चर्चा परिचर्चा छ । साथसाथै, किताब नै नपढी यो त बहुतै झुर छ, यस्ता कविता त कविता नै हैनन्- बाल कविता जस्ता छन् र नेताहरुलाई भक्कुमार गाली गरेर लेखिएको छ भन्ने बेबुनियाद हल्ला छन् । एकथरी त अझ कविता नै हैनन् यी – आफ्नो छवि सुधार्न, व्यावसायिक नाफा कमाउन तथा अहिले युवाहरुमा ब्रान्ड नै बनेको बालेन नामलाई क्यापिटलाइज गर्न खोजेको भन्ने नि छन्।
त्यस्तै; अर्काथरी चैँ कविताको परम्परागत बनौट, नाप-नक्सा, चलिआएको मानक मूल्य- मान्यताआदि बारे त्यति सोच-विचार नगर्ने र कुमार नगरकोटी पारामा ‘हु केयर्स attitude’ राख्नुहुन्छ र प्रत्येक व्यक्तिमा एउटा कवि आत्मा र कवित्व लुकेर बसेको हुन्छ भने किताब उठाउनु होला, निर्धक्कसँग भन्ने पनि छन्।
माधव घिमिरे, कालीप्रसाद रिजाल, मोहन कोइराला, भवानी भिक्षु, दिनेश अधिकारी, वासु शशी, गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटा, क्षेत्रप्रताप अधिकारी, सरुभक्त, ध्रुवकृष्ण दीप, राबत, रिमा केसी, उषा शेरचन, कुन्ता शर्मा, कुसुम गजमेर, चाँदनी शाह (महारानी ऐश्वर्य), सुमिना, विमला तुम्खेवा, शारदा शर्मा, विन्दु शर्मा, सुनिता बस्नेत थापा, कणाद महर्षि, ईश्वरबल्लभ, तुलसी दिवस, कन्चन पुडासैनी, भुपि शेरचन, नवराज पराजुली, नवराज लम्साल, अभय श्रेष्ठ, अभि सुवेदी, मीन बहादुर विष्ट, अशेष मल्ल, उपेन्द्र श्रेष्ठ, उपेन्द्र सुब्बा, मन्जु काँचुली, रमेश क्षितिज, रुपेश श्रेष्ठ, नारायण ढकाल, सीमा आभास, आहुती, आदि स्रष्टाका कविता कृति पढेको छु । सबै स्रष्टाहरुका कृतिमा आफ्नो एउटा विशेष अस्तित्व, लेखन शैली, शब्द-चयन र प्रयोग गर्ने स्थान रहेको बोध हुन्छ। सबैका कृतिमा केही कविता एकदमै शक्तिशाली, औसत, बिम्बात्मक, यथार्थपरक, कलात्मक तथा कल्पनात्मक लागेका थिए । आफ्नो पत्रकारिता तथा आमसञ्चार अध्ययनको विषयका सिद्धान्त, तुलनात्मक अध्ययन, वर्तमान् अवस्था र वैश्विक अवस्था याद गर्ने क्रममा ठ्याक्कै कविता सबै नभए पनि कवि र तिनका प्रमुख सिर्जना चैँ केही मुखाग्र छन्।
स्कुल बेलामा ८-९ कक्षातिर हुँदा एकाध कविता कापीको पानामा लेखेर राखिन्थ्यो । तिनै कविताहरुमध्ये केही पुरै कक्षालाई गुड फ्राइडे भनेर शुक्रबारको दिन सुनाइन्थ्यो, केही आफ्नो मन र हित्तचित्त मिल्ने साथीलाई सुटुक्क सुनाइन्थ्यो अनि केही ऐनामा हेर्दै आफूलाई मात्रै सुनाइन्थ्यो । मलाई याद छ, अहिले पनि ती कवितामा आउने विषय देश, मातृभाषा, मातृभुमि, प्रेम, मित्रता, प्रकृति, विद्यालय, अस्पताल, समाज आदि हुन्थे ।
उदाहरणका लागि:
– तिम्रो त्यो मन्द मुस्कान देख्दा
मेरो हृदय भयो धकधक रे बाबा !
– समाजले मलाई स्वीकार अस्वीकार गरोस्
तर तिमीले चैँ अस्वीकार नगरोस् ।
अहिले सम्झिँदा चैँ ती सबै कवितामा केही न केही मिलेको तत्त्व र केही न केही नमिलेको तत्त्व थिए भन्ने लाग्छ नै । हामी सबैभित्र यस्तै कवित्व कुनै न कुनै बेला जिन्दगीको कुनै मोडमा जागेको हुन्छ वा हुनसक्छ। आफूले मन पराएको व्यक्तिलाई दिने शुभसन्देश, चाडबाड र स्कुल बिदा हुनुभन्दा अगाडि आदानप्रदान हुने पोस्टकार्ड र चिट्ठीपत्र होस् वा कागजको चिटमा होस् – आफ्नो मनको कुरा राखेकै थियौँ ।
उदाहरणका लागि:
दशैँ पनि आयो है घर-आँगनीमा
खुशी नै खुशी आओस् तिम्रो आँगनीमा
राम्रो नाना, मिठो खाना र गाना होस् घरमा
तिमीलाई मेरो यहीँ नै शुभकामना साथी कर्मा ।
बालेनद्वारा लिखित यस संग्रहको एउटा कविता “मलाई नेता मन पर्दैन…” चैँ उनकै फेसबुकमा राखिएको कविता स्टाटस थियो । उक्त पोस्टले अडियन्सहरुबाट मिश्रित प्रतिक्रिया पाएको थियो । केहीले उक्त पोस्टलाई आफ्नै भाषा, शैली र शब्दमा अरु चाखलाग्दा पंक्ति लेखेका थिए ।
यस संग्रहमा मेयर बालेनका करिब १९५ छोटा मझौला कविताहरु संग्रहित छन् । संग्रहमा पहिलो खण्डमा प्रेम, दोस्रो खण्डमा प्रेम वियोग, तेस्रो खण्डमा राजनीति र चौथो खण्डमा दर्शन सम्बन्धी छोटा-छोटा कविताहरु छन् । केही कविताहरु ४ पंक्तिका छन् त केही १७ पंक्तिका छन् अनि केही ११ पंक्तिका छन् । अनि; केही कविताहरु ६, ८, ९, र १२ पंक्तिका छन् । केही कविताहरु चैँ उनले आफ्नो सामाजिक सञ्जालमा पनि राखेका थिए ।
शीर्षक विनाका पनि कविता हुन्छन् र भन्ने लाग्नेहरुलाई रुपी कौर, एमिली डिकिन्सन, एड्ना सेन्ट विन्सेन्ट मिले (Edna St. Vincent Millay), विलियम वोर्डवर्थ र केही रुसी कविका कविता छन् । आफ्ना कविताका शीर्षक नराख्नु, उपलब्ध नगरी प्रकाशन गर्नुका पछाडि विविध कारण हुन्छन् । जस्तैः शीर्षक पाठक आफैँले आफ्नो बुझाइअनुसार सुझाउने, एउटा फरक प्रयोग गर्ने र नयाँ तौरतरिकाको कवितात्मक सिर्जना गर्ने आदि।
यस संग्रहमा अटाएका कविताहरु मझौला भए पनि आलंकारिक, बिम्बात्मक र सरल छन् । साहित्यिक रुपमा भन्दा पनि मलाई चैँ ‘अश्र’ मेयर बालेनका काव्यिक अभिव्यक्तिहरुको सँगालो लाग्यो । ‘४ पंक्तिको मात्रै नि कविता हुन्छ र !’ भन्ने लाग्नेहरुले नेपाली साहित्यमा विशेष उपस्थिति जनाएका कविशिरोमणि लेखनाथ पौड्यालको वि.सं. २०२२ सालमा छापिएको आखिरी कविता पढ्न सुझाउँछु।
आखिरी कविता
यो दु:ख भोग्ने परमेश्वर नै हो ।
यो देह उसको रहने घरै हो । ।
यो भत्कँदा दु:ख अवश्य मान्छ ।
सुटुक्क सामान लिएर जान्छ । ।
( कविता , वर्ष २ अंक २ बाट साभार, वि.सं. २०२२)
अश्रमा पहिलो खण्ड ( पृ.१ देखि) मा अटाएका कविताहरूमा हामीले आफ्नो समय, परिस्थिति, प्रेमाभास, विछोड, प्रेममा हुने/भोग्ने पागलपन, राधा-कृष्णवाला प्रेम किस्सा, सपना, पुकार, मुटु नै चिरेर दिने कुराको सम्झना पाउँछौं । प्रेममा परेका, विछोडिन बाध्य भएका र एक अर्काको साथ र गाथमा सिँगो जीवन बिताउने अभीष्ट राखे तापनि पराइसँग सम्बन्धको डोरी गाँसिएका प्रेमीहरुले आफ्नो प्रेमको अनुभव गर्नेछन् । शून्यमा शून्य थपिने, अलपत्र पर्ने तर कोही आएपछि जिन्दगी खास बन्नेले आफ्नो भोगाइको प्रतिबिम्ब पाउनेछन् । कसैको मुस्कानले नै आफ्नो सारा संसार उज्यालो हुने, हातको स्पर्शले मुटुमा कम्पन ल्याउने, स्थानमा बसाउने कल्पना र आत्माको स्पर्शको सुन्दर प्रसङ्ग पाउनेछन् केही कवितामा । अनि एउटा कवितामा मन पराइएकी युवती सपनामा आफ्नी हुने र विपनामा कसैकी छोरी, दिदी र सँगीका रुपमा निभाउने फरकफरक भूमिका र नाताको प्रसङ्ग छ । कुनैमा रोकिएका समय, सासहरु र केवल मनमा बसेको व्यक्तिको याद र वासको प्रसङ्ग छ । कवितासंग्रहमा अटाएका १९५ मध्ये लगभग ३३ कविताहरु प्रेमरसले सिन्चित छन् ।
यस कवितासंग्रहको दोस्रो खण्ड ( पृ.३५ देखि) मा उनले आफूले एउटा फरक गीता लेख्ने कविताबाट सुरु गरेका छन् । यस खण्डका कविताहरुमा सबै समस्या लाग्ने र पुरै जीवन ठूलो लाग्ने, भाग्य, पाप , श्राप, ढलेका सपना, रेट्न सक्ने धारिला शब्द, अनजान शहरमा हराएको आभास, हृदयमा अंकुराउने विभिन्न आभास र आभा तथा प्रेम-सम्बन्ध टुटे-फुटे-लुटिएपछि उत्पन्न हुने आवेग, रीस, पीडा, दर्द, शोक, मौनता, मल्हम नपाएका घाउहरु, षड्यन्त्र, आशा-निराशा , रिक्तता, तिक्तता, दशा, एक्लोपना, मृत्युबोध\आभास, अन्त्य, हारको भोगाइ आदिका प्रसङ्ग छन् । यस खण्डमा चै लगभग ८१ कविता छन् – प्रेम विछोड र वियोगबारे केन्द्रित।
त्यस्तै; यसै संग्रहका तेस्रो खण्ड (पृ. ११९ देखि) मा समाविष्ट कविताहरुमा देश छोडेर युवाहरुको जमात, फेरिएका अनुहार, सत्ता र कुर्सीको लडाइँ, रित्तो पोखरा विमानस्थल, ऋणमा चुर्लुम्म डुबेको देश, नेपालको कानुन कार्यान्वयन र कागजमा हुने अन्तर, देशलाई कसैको गुलाम नभएको देश मान्ने नागरिक, बलात्कारको सिकार भएकी तर न्यायबाट अझै विमुख रहेकी निर्मला, गणतन्त्रका नाममा खाइपाइ सुती टेबल ठोकी सत्ता र शक्ति बाँडफाँडका निम्ति कस्सिएका ६०१ छोटे राजाहरु, अनेकौं विदेशी वादका प्रभाव, अन्नको मालिक र हकदारको, राजनीतिमा देखिने भ्रम र स्वार्थका खेल, संसद भवनमा देखिने ब्रह्मलुट आदिबारेका कविता रचना समाविष्ट छन् । यो खण्डमा एक दर्जन वटा कविताहरु राखिएका छन्।
त्यसैगरी यसै संग्रहको चौथो खण्ड (पृ. १३३ देखि) मा अटाएका कविताहरुमा जीवन, आवाज, सत्यता-झुट, मलामी, पागलपन, स्वर्ग, पुराण, अखबार, मुस्कान, इतिहास , अस्तित्व , वेदना, जीत-हार, बास्ना, युद्ध, महाभारत, भगवान्, डरको पाठ, गुरुवर्ग, मिथ्यालय, शहर र आर्यघाट, हाँसो-खुशी, आदिबारेका रचना छन् । एकाध कवितामा जीवन, जगत्, धर्म, मृत्युु, आत्मा, मन, माया, राजा-भिखारी, मान-अभिमान, सपना, सत्य, साथी आदिका बारे केही न केही दर्शन पनि पाइन्छन् । त्यस्तै; यस खण्डमा सामेल केही कविताहरुमा चैँ छोरा मान्छेलाई रुन नदिने र छोरीलाई उन्मुक्त हाँस्न नदिने पितृसत्तात्मक समाज, फरकफरक रङ्गमा बदलिने जीवन, जोखिममा रहने ज्यान, ननाप्ने छाँया, सरकार, जीवन र शरीर नभए मात्रै बुझिने जीवनको सात्विक अर्थ, अँध्यारो-उज्यालो, प्रगति, समाजमा व्याप्त भेदभाव र असमानता आदि बारेका कविता छन्।
भूमिकाविना छापिएको छ यो कविता संग्रह र लेखक सर्वाधिक चर्चामा रहने भएकाले लेखक परिचय पनि राखिएको छैन । यस संग्रहमा अटाएका कविताहरु परम्परागत कविताको स्थापित दायरा र मान्यताभन्दा बाहिर गएर लेखिएका लागे तापनि केही कविताहरु चै परम्परागत तर बेग्लै हस्ताक्षरवाला छन् । हुन पनि; सबै कविहरुले आफ्न गीत, गजल, कविता रचना गर्दा कुनै न कुनै शैली, शब्द-रचना र प्रयोग, छन्द प्रयोग, विषयवस्तु र सन्दर्भ आदिमा आफ्नो विशेष मार्का र हस्ताक्षर अवश्य छोडेकै छन् र हुन्छन्।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।