बाल्यकालमा साथीहरूसँग खेलेको खेल होस् या खेल्ने ठाउँ जीवनको हरेक क्षण ती घटनाहरूलाई ज्ञानको रूपमा निबन्धकारले स्मरण गरेको देख्दा अचम्भित हुन्छु । आखिर जीवनमा घटेका हरेक घटनाहरूबाट केही न केही अर्थ निकाल्न सक्दा रहेछौँ ।

यतिखेर म दत्तात्रेयलाई स्मरण गर्दैछु । प्रकृतिमा भएका २४ वस्तुलाई नै उनले आफ्नो गुरु माने । दत्तात्रेयले प्रकृतिमा विद्यमान वस्तुहरूबाट जीवन दर्शन बुझ्दै गए । जीवन जिउने महत्त्वपूर्ण कला सिके । जीव र स्वयं प्रकृतिलाई नजिकबाट नियालेर जीवनोपयोगी ज्ञान प्राप्त गरे ।

सत्यलाई बुझेर आफ्नो जीवन रूपान्तरण गर्दै गए । स्वयं जिज्ञासु भएर प्रकृतिबाट सिकेको शिक्षा वास्तवमा दीगो हुन्छ । जिज्ञासूको हृदय हरदम केही नवीन कुरा सिक्नको लागि उद्वेलित हुन्छ । सिक्ने अभिलाषा भएपछि समय, सन्दर्भ, साहित्य र प्रकृति नै गुरु भएर हाम्रो अगाडि उभिँदा रहेछन् । प्रकृतिबाट जीवन जिउने कला सिक्न सके हाम्रो जीवन उज्यालोको मार्गमा आलोकित हुनेरहेछ । दत्तात्रेय जसरी हामीले पनि अन्तरहृदयबाट आफूलाई रूपान्तरण गर्ने वाञ्छा राख्ने हो भने हाम्रै जीवनमा घटेका विभिन्न घटनाहरूबाट पनि हामीले धैरै कुरा सिक्न सक्दारहेछौँ ।

हामीले भोगेको जीवन पनि त हाम्रो गुरु हो । हाम्रा अग्रजहरूले भोगेको जीवन त झन् अमूल्य पाठ नै हो । अग्रजहरू हिँडेका मार्ग, भोगेको जीवन, अनुभव, विचार, शिक्षा, ज्ञान, घुमेको ठाउँ, समय, सन्दर्भ र दृश्यहरू सबै ज्ञानका स्रोत हुनसक्छन् । अग्रजहरूको जीवनमा आएका उकाली ओरालीहरू सबै सबै हाम्रा लागि गुरु हुन् । म पनि अहिले अग्रजहरूको अमूल्य साहित्यहरूलाई गुरु धारण गर्दैछु । अझ भनौँ ती क्लासिक साहित्यहरूबाट आफ्नो सिर्जनामा कला भर्दैछु । नव सर्जकहरूलाई पुराना साहित्यले सदैव मार्गनिर्देश गर्दोरहेछ । अघिल्लो पुस्ताले लेखेको साहित्य त नछुटाइ पढ्नुपर्दो रहेछ । म यतिखेर डाक्टर गोविन्दराज भट्टराईको कलात्मक यात्रा निबन्ध एक्लै एक्लै एक्लै लाई गुरु मान्दैछु ।

शीर्षक नै कति व्यापक छ । शीर्षकमा म निकैबेर हराएँ । भट्टराई सर हरेक यात्रामा समूहमा हिँड्नु भएको छ । यात्राका क्रममा जीवन साथी पनि सँगसँगै हुनुहुन्छ । तर पनि निबन्धकार कुन रूपमा  एक्लै एक्लै एक्लै हुनुहुन्छ ? प्रश्न उठ्छ मनमा । फेरि गम्छु ज्ञानीजनको वाणीलाई । हामी सबै एक्लै छौँ तर बोध छैन ।  जीवनको अन्तिम गन्तव्यमा निकैपछि शायद बोध हुन्छ । जब भीडमा पनि आफूलाई नितान्त एक्लो देख्न थालिन्छ तब जीवनको रहस्यबोध हुन्छ । सत्य प्रकटित हुन्छ । शान्ति अनुभूत हुन्छ । ईश्वर दर्शन हुन्छ । ज्ञानीजन यही भन्छन् ।

हिजो महाकवि पनि आजीवन भीडमै थिए तर अन्तमा एक्लै एक्लै एक्लै भए र त ! अन्तिम अवस्थामा बोध भयो एक कृष्ण को …

‘संसार रूपी सुख स्वर्गभित्र,

रमेँ रमाएँ लिइ भित्र चित्र।

सारा भयो त्यो मरुभूमि तुल्य,

रातै परेझैँ अब बुझ्छु बल्ल

रहेछ संसार निशा समान  … ।

महाकवि पनि एक्लै एक्लै एक्लै कविता वाचन गरिरहेको देख्छु आज पनि म । जीवन क्षणभङ्गुर छ । निश्चित समयका लागि हामी यो धरामा छौँ । हामीलाई लाग्छ हामी परिवारमा छौँ । समाजमा छौँ । हामी समूहमा छौँ तर पनि गम्भीर भएर जीवनलाई दर्शनको नाङ्लोमा केलाउने हो भने हामी सबै एक्लै एक्लै एक्लै छौँ यहाँ । एक्लै आयौँ कुनै दिन थाहै नपाई एक्लै हिँड्छौँ । एक्लै एक्लै मात्र एक्लै महाशून्यको यात्रामा । कति गहिरो दर्शन छ एक्लै हुनुको ।

गोविन्दराज भट्टराईको यात्रा निबन्ध एक्लै एक्लै एक्लै पठनीय सङ्ग्रह रहेछ । रत्न पुस्तक भण्डारले २०६० सालमा प्रकाशनमा ल्याएको यस सङ्ग्रहमा विभिन्न समयावधिमा भ्रमण गरेका ठाउँका विभिन्न विषय र पृष्ठभूमिमा रचिएका १२ वटा यात्रा निबन्धहरूलाई ७५ पृष्ठमा विस्तारित गरिएको छ । आकारमा सानो पुस्तक विषय, घटना र समयका दृष्टिले व्यापक छ । कतिपय निबन्धहरू त निकै अमूल्य र ऐतिहासिक रहेछन् । त्यो समय ती मान्छे अब कहाँ भेटिएला … ? भट्टराई सरको यो यात्रा निबन्ध पढ्दा मात्र पनि मलाई ती अमूल्य निधिहरूसँग साक्षात्कार गरेको अनुभूति भयो । आईबी राईको त्यो शालीन व्यक्तित्व निबन्धमा प्रकट हुन्छ । राई सरको त्यो सहयोगी हृदय नजिकैबाट मैले पनि छाम्न सकेँ । नेपालीहरूप्रतिको त्यो सद्भाव त्यो प्रेम अब कहाँ पाइएला ? झमझम पानी परेको दार्जीलिङ्गमा छाता ओडेर नियात्राकार दम्पतिलाई उकालो चढेर लिन आएको दृश्य अद्भूत छ । नमन छ नियात्राकारलाई जसले अक्षरको पर्दामा बडो उम्दा तरिकाले समय उतार्न सफल छन् । पुस्तकको पानाबाटै म देख्छु आईबी सरको घर, उहाँ बस्ने कोठा, काँसका कलात्मक भाँडाकुँडाले सजिएको भान्सा । आईबी सरले काँसको बैठक भएको बुट्टे कचौरामा चिया खाएको आफ्नै आँखाले देखेको झैँ पार्नसक्ने नियात्राकारको कलालाई नमन गर्दै म नियात्राकारसँगै घरी राहुल सांकृत्यायनको घरमा पुग्छु घरी बनासरको गल्ली गल्लीमा । बनारसको त्यो बिरसिलो वातावरणमा नेपाली विद्यार्थीहरूको दुरूह अवस्थामा उकुस्मुकुस हुन्छु । कहिले भुइँकम्पले भत्काएको धनकुटा आँखै अगाडि देख्छु । भित्तो हल्लिएको चालपाउँछु। दराज हल्लिएको थाहा पाएर म पनि धनकुटा बजारलाई तलसम्म गएर नियाल्छु । भुइँचालोको ताण्डब देखेर अतालिन्छु । नौ वर्षकी थिएँ २०४५ सालको भुइँचालोमा धमिलो सम्झना स्मरण गर्छु । भुइँचालो पछिको पराकम्पनलाई पनि महसूस गर्छु । म एक्लै एक्लै एक्लै नियात्राकारसँग हिँडेको चाल पाएर आफैँ दङ्ग पर्छु । इलाम पुग्दा मैले पनि सबैलाई बिर्सेछु यम बराललाई सम्झिदाँ । घरी बर्की बोकेको पहाडभित्र पस्छु घरी फन्के रोटी झीरमा उनेको झलझल देख्छु सहअस्तित्वको खोजीमा म पनि हिँड्छु।

चिलाउने चौरमा पलाएको मृगतृष्णालाई निकै नजिकबाट हेर्छु । निबन्ध बडो दार्शनिक लाग्छ । भाषा कति मीठो । कति सरल प्रस्तुति । घटना पनि सलल बगेको कञ्चन पानी झैँ छ । विशेष कुरा केही छैन । तर पनि जीवनको उत्तरार्धमा आएर त्यही बाल्यकालको जीवनलीला दर्शन भएर वर्तमान जीवनमा व्याख्या गरिएको छ । जीवन जिउने कला सिकाउँछ निबन्धकारलाई त्यही चिलाउने चौर जस्तै जीवनरूपी मृगतृष्णाहरूले । निबन्धमा आफ्ना बाल्यकालका साथीहरू हुरुरु आउँछन् । घटना र परिवेश पनि उस्तै छ तर पनि निबन्ध निकै जटिल र गहिरो लाग्छ ।

कलापूर्ण लेख्न सक्ने स्रष्टाको लेखनी नै बेजोड छ । जीवन्त लेख्न सक्ने क्षमता देखेर म कल्पिन्छु कसरी लेख्ने होला यसरी । प्रकृति र परिवेशको वर्णन बडो सुन्दर र कलात्मक । हिजोका घटनालाई आजसँग तुलना गर्दै आफै छक्क परेका छन् निबन्धकार , ‘चिलाउने चौरको बयान गरिसाध्य छैन । दम्स्याइलो पाखो मान्छे हिँडेर बी-बीचमा चौर खुइलिएको । झारपातहरू गोडाले कुल्चिएर मरेका । लामालामा गोरेटाहरू तल कुवापानीतिर झर्ने एउटा, सिधै पारी ओख्खरे पुग्ने अर्को, यता सुवेडी गाउँ छिर्ने अर्को । ती सेता सेता धर्का ठूला भुँडीमा बाँधेका पटुकाजस्ता लाग्दथे। ती पटुका बी-बीचमा एक दुई सय कदमको फरकमा धेरै नाङ्गिएर परपरको झार खुइलिएर सेता नाङ्लाजस्ता देखिन्थे । तीमध्ये कतिपय हाम्रो खोप्पी खेल्ने टाउँहरू, कति पाङ्ग्रा मार्ने, कति घाङ्लात्ती खेल्ने, कति नङछुरी हान्ने, कति भेडीगाँठो घुमाउने, कति पौँठेजोरीमा पयेठ लगाउने डीलहरू … यस्तै उद्देश्यले खुइलेका टाटाहरू । आज आफ्नै नाङ्गो खप्परसँग तुलना गर्दछु । आफ्ना गिठ्ठे, ढोढे, चाउरे र खप्परेका नाङ्गा तालुहरूसँग तिनको तुलना गर्दछु । ती नाङ्गा टाटामा हिउँदभरि धूलो टल्किरहन्थ्यो, वर्षाभरि आकाशको पानी । त्यहाँ झार कहिले पलाउन सकेन। उमेर नपुगी खुइलिको यो तालुमा हिउँदभरि ढेडुटोपी भिर्छु, वर्खाभरि सर्स्युको तेल दल्छु- यो कि त गुम्सिन्छ टोपीभित्र कि त टल्किन्छ घाममा । तर यहाँ केस कपाल उम्रन सकेन … (पृष्ठ १ ) ।‘

कति गहिरो दर्शन । बाल्यकालमा साथीहरूसँग खेलेको खेल होस् या खेल्ने ठाउँ जीवनको हरेक क्षण ती घटनाहरूलाई ज्ञानको रूपमा निबन्धकारले स्मरण गरेको देख्दा अचम्भित हुन्छु । आखिर जीवनमा घटेका हरेक घटनाहरूबाट केही न केही अर्थ निकाल्न सक्दा रहेछौँ । जब जीवन संकटमा हुन्छ आफैँले आफैँलाई मार्गदर्शन गर्न सकिँदो रहेछ । आफ्नै जीवन गुरू बन्दो रहेछ।

दार्जीलिङ्ग यात्राको दुईवटा निबन्धले मलाई विशेष प्रभाव पार्यो। यी दुई यात्राका क्रममा लेखकको समय आकाश र जमिनको छ । पहिलो यात्रामा लेखक अपमानित भएको महसूस गराउँछ दार्जीलिङ्गले नै भने पछिल्लो दार्जीलिङ्ग यात्राको सम्झना मा आफनो पहिचान योग्यता, क्षमता र विद्वताले नियात्राकारलाई दार्लिङ्गले बडो आत्मिय स्वागत गर्छ । त्यही भूमिमा पल पल सम्मानित भएका छन् नियात्राकार । आखिर फेरि समय नै यहाँ गुरु भएर टुप्लुक्क आउँछ । पहिचान जस्तो ठूलो उपलब्धि केही छैन भन्ने बोध हुन्छ । हिजो होटलवालीदेखि एउटा अङ्ग्रेजी जानेको दार्जीलिङ्गे शिक्षकले भट्टराई सरप्रति हेपाहा प्रवृति देखाएका थिए भने आज समयको जाँदोमा जीवनलाई पिसेर उपयोगी पिठो बनेर गएका स्रष्टालाई, दार्जीलिङ्गकै उच्च चेतनास्तर भएका आईबी सरले गरेको त्यो किसिमको स्वागत हेर्दा म त नतमस्तक भएकी छु  । ठाउँ एउटै हो । मान्छे पनि एउटै हो तर यात्रा कति फरक छ । यहाँबाट पाठकहरूले एउटा गुरु पक्कै फेला पार्नसक्छन् दत्तात्रेयले जसरी ।

दार्जीलिङ्गमा अन्तर्वार्ता शीर्षकको निबन्ध यात्रामा संघर्षशील स्रष्टा छन्। यो यात्रामा नियात्राकारको हुर्मत लिन पछि पर्दैनन् नेपाली भाषी आफ्नै दाजुभाइ दिदीबहिनी । नेपालबाट दार्जीलिङ्ग घुम्न गएको ठिटो विवश छन् आफ्नो अध्ययनको तह लुकाउन । उसिना चामलको हरक थाहा पाएर तीन दिनदेखि रोटीलाई आहारा बनाएका स्रष्टा होटल साहुनीदेखि दिक्किएका छन् । दार्जीलिङ्ग आएदेखि हेलाँ गरेर बोजु बोलेको अनुभव गर्छन्, ‘ कति पढ्यौ नानी ? मेट्रिक ? ‘मेरो योग्यतालाई पेलेर आमैको अन्दाजले जमिन छुने गरी होच्याएकोले म पीरको बादलमा उडन लागेँ । मैले साँच्चो उत्तर दिएँ ‘ हैन बजू ? मैले बीएड पास गरेको छु ।‘ ( मैले ती दिनमा बीएड पास गरेको थिइनँ ) सुनाइमा भ्रम परेकी बजूले ससानो आश्चर्य थप्दै भनिन् , ‘ ए, बी ए. बी. टी. गरेको नानी (पृष्ठ ६ )?’ कतै अङ्ग्रेजी आउँदैन कि भनेर नियात्राकारलाई चेक पनि गर्ने नेपाली भेटिन्छन् दार्जीलिङ्गे भूमिमा । भट्टराई सरले भट्टट अङ्ग्रेजी पढेर अर्थ लगाएपछि जिल खान्छन् अङ्ग्रेजीका शिक्षक ।

डर सबैलाई लाग्छ । अनुभव र मिहिनतले नै मान्छे बलियो र वरिष्ठ बन्दोरहेछ। सबैको आरम्भ त नौलो नै हुन्छ । शूरूवात कठिन नै हुन्छ । हामीलाई लाग्न सक्छ हाम्रा अग्रजहरू सदैव चट्टान भएर उभिएका थिए आफ्नो क्षेत्रमा । हामीलाई लाग्न सक्छ हामी त नजान्ने छौँ । भाग्यमा लिएर आएका भए पो हामी पनि अब्बल हुने थियौँ आफ्नो क्षेत्रमा । तर होइन रहेछ संघर्ष त श्रीराम भगवानले पनि पनि गर्नु परेको  थियो कृष्णले पनि । हामीले पढ्नु पर्छ हामीले आदर्श मानेमा वरिष्ठहरूलाई । कर्ममा विश्वास राख्ने हाम्रा अग्रजहरू मिहिनेतले नै आज यहाँसम्म आएको सत्य उद्घाटित हुन्छ ।

युद्धमा लड्न हिँडेको सिपाहीलाई पनि आफ्नो जीवन प्यारो हुन्छ । अन्तिम लडाइँसम्म पनि ऊ बाँच्न चाहन्छ । कामेर थर्थरी सात दिन सात रात हैदराबादमा निबन्ध पढेपछि म छक्क परेँ । अहो ! समयलाई यति मजाले कसले लेख्नसक्ला ? संवेदनालाई यति जीवन्त पारेर अक्षरमा कसले सुरक्षित राख्न सक्ला ? पीएचडी गर्न हैदराबाद गएको समयमा आफूले आफ्नो विषयमा विशेषज्ञहरूको माझ लेक्चर दिनु पर्दा नियात्राकारको मनोभाव यसरी उठेको छ , ‘ अर्को बुधबार मेरो टक प्रोग्राम छ । डेढ घण्टा त्यो हलमा । म भित्रभित्रै मकाउन लागेँ । भाँचिन लागेँ , पीरको खियाले ख्याएर । कुदेर लाइब्रेरी जान्छु, केही छैन, घर आउँछु केही छैन । अनि बत्तिदै लिङ्गमपल्वी पुगेँ, हिन्दी इङ्लिश भार्गव डिक्शनरी किनेँ, टर्नर, वाहरी र दीक्षितका शब्दकोश फिँजाएको छु । टेबलमा कुनै ठूलै चराका पखेटाजस्तै अनि घोत्लिन्छु शून्य मनले । रातभर मनमा आँधीहुरी चल्यो, घाम लाग्यो, बाढी कुद्यो । विचार गर्छु म चैतको भीरजस्तो भएँ, डढेलोले खाएको खरबारी । पीरको विषय के थियो भने म अनुवादको सैद्धान्तिक ज्ञानमा शून्य थिएँ । व्यवहारमा केही गरिसकेको भए पनि । त्यो बलजफ्तीलाई, त्यो मुड्के बललाई कसरी तिनीहरूको सामुन्ने पेश गर्नु र बीचैमा कुनै गाँठो पार्ने प्रश्न सोधेर म प्याकप्याक परेको बेला यो घाँटी भिजाउने पानी कसले देला मलाई त्यो हलमा … ( पृष्ठ ४९ ) ।‘ त्योबेलाको उकुस्मुकुस भएको मनोभवालाई निबन्धकारले निकै शसक्त ढङ्गले अभिव्यक्त गरेका छन् । लेक्चर दिनुभन्दा अगाडि हृदयमा उत्पन्न भएको भय, डर, आतङ्कलाई देख्दा मैले मलाई पनि सम्झिएँ । पहिलोचोटि ज्ञानु अधिकारी म्यामको निबन्ध कृतिमा बोल्न उभिएकी म डरले थर्थरी कामेकी छु । प्राध्यापकहरू सभा हलमा मलाई सुन्न उपस्थित हुनुहुन्छ । डरको भुइँचालो उत्पात किसिमले गोडामा आएको छ ।

अन्त्यमा निबन्धकारले कामेर थर्थरी सात दिन सात रात हैदराबादमा उत्पन्न भएको डर कसरी मत्थर भयो । नियात्राकारको लेक्चर कस्तो भयो … ? सभामा उपस्थित विज्ञहरूले कस्तो प्रतिक्रिया दिए … ? यावत पाटोलाई हेर्न त निबन्ध पढ्नै पर्छ । यहाँ लेखिएका १२ बटा यात्रा निबन्धहरूले मेरो हृदयलाई छोयो । लेखनका विषयहरू चारैतिर अझ देख्न थालेँ । समयलाई कसरी अक्षरको सन्दुकमा सुरक्षित राख्नु पर्ने रहेछ भन्ने ज्ञान अझ प्रवल भएर आएको छ । हामी सबैको संवेदना आखिर एउटै त हुनेरहेछ । ठूलो सानो त समय रहेछ ।