प्रेमचन्द भन्छन्, ‘प्रेमबिनाको विवाह देह व्यापार हो ।’ प्रेमचन्दको यो विचार वास्तवमा सोचनीय छ । सत्य छ । मलाई त यस्तो लाग्छ, प्रेमबिनाको विवाहमात्र होइन कुनै पनि सम्बन्ध व्यापार हुनसक्छ । मजाक हुनसक्छ । खेल हुनसक्छ । मानवीय संवेदनाको हत्या हुनसक्छ । कोमल भावनामाथि छल हुनसक्छ । कसैको विश्वासमा प्रतिघात हुनसक्छ । कसैले कसैलाई प्रयोग गेरको हुनसक्छ । धोका हुनसक्छ । त्यसैले कवीरदासले पनि भनेका छन्, ‘ …ढाई आखर प्रेमकी पढे सो पण्डित होय … । कुन आधारमा भने त कवीरले ढाई अक्षरको प्रेमलाई जान्नु नै सबै कुरा जान्नु हो भनेर । जसले प्रेम बुझ्यो ऊ पण्डित भयो  तर हामी कति सजिलै भन्न सक्छौँ म प्रेमी हुँ भनेर … ! प्रेमलाई बुझेको दावी कति सतही रूपमा गर्छौँ । कसैलाई देख्ने बित्तिकै प्रेम प्रकट भएको मान्छौँ । आकर्षणमा कसैले कसैलाई प्रेम गरेको वकालत गर्छौँ । सोचौँ त ढाई अक्षरको प्रेम बुझ्नलाई यति सजिलो होला त !

साँच्चै भन्नुपर्दा हामी प्रेमको गाम्भीर्य नबुझिकनै यो धाराबाट बिदा हुन्छौँ । प्रेम बुझ्नु भनेको ईश्वरलाई बुझ्नु हो । प्रेमको आधारमा नै यो चराचर जगत अडिएको छ । प्रेम यस्तो सुन्दर फूल हो जो व्यापकता र विशालतामा पल्लवित हुन्छ । पुष्पित हुन्छ । शङ्का, स्वार्थ र सङ्कुचनमा प्रेम फस्टाउँदैन । लालच र स्वार्थले गाँजेको सम्बन्धले प्रेम हुर्किँदैन । जुन सम्बन्धबाट शान्ति र आनन्द प्राप्त हुँदैन त्यहाँ प्रेम कदापि हुँदैन । प्रेमबिनाको सम्बन्ध बोझिल हुन्छ । तृप्तिकर हुँदैन । प्रीतिकर हुँदैन ।

विवाहमा होस् या मित्रता – हरेक सम्बन्धमा माया, प्रेम, स्नेह, सद्भाव, सहयोग, सहानुभूति, समर्पण, सेवा, विश्वास र भरोसा आवश्यक हुन्छ ।  नत्र कुनै पनि सम्बन्ध मात्र व्यापार हुन्छ । निरस हुन्छ । बन्धन हुन्छ । तर प्रश्न उठ्छ प्रेम के हो … ? हामी प्रेमलाई कसरी बुझ्दै आएका छौँ ? प्रेमको परिभाषा बुझ्न त्यति सजिलो पनि त छैन । प्रेमलाई वास्तवमा शब्दद्वारा परिभाषित गर्न पनि सकिँदैन । यो त अनुभूत गर्ने विषय हो । प्रेम मस्तिष्कबाट किमार्थ हुँदैन । प्रेम त परमात्माको आवाज हो जो हृदयबाट प्रकट हुन्छ । प्रेम त अन्तर्यको मार्ग हो । विडम्बना स्वार्थ बोकेको वासनालाई नै हामी प्रेमको दर्जा दिन्छौँ । अनि कति सजिलै भन्छौँ म तिमीलाई प्रेम गर्छु … ? प्रेम निभाउन के त्यति सजिलो छ ?

प्रेममा परेर एकसाथ जीवन जिउने वाचा गरेका जोडीहरूको कथा हामीले सुन्दै आएका छौँ । विवाह व्यापार हुँदै गएको यथार्थलाई पनि नजिकबाट देखेका छौँ । स्वार्थको आधारमा निमार्ण हुँदै गएका सम्बन्धहरू हुन् या नाफा र घाटाको आधारमा गासिँदै गएका वैवाहिक सम्बन्ध, हामी अनभिज्ञ छैनौँ प्रेमको नाममा गरिएको छलबाट ।

आज म यस्तै प्रेमबिनाको सम्बन्धको चर्चा गर्न लागेकी छु । यसै सन्दर्भमा कुरा गर्दैछु जे.एन. दाहालले लेखेको उपन्यास प्रहेलिकाको । सन् १९८९ मा भुटानको सर्वाङमा जन्मिएका जे.एन. दाहालको पहिलो कृति लेखककी छोरी हो । प्रहेलिका उनको दोस्रो आख्यान कृति हो । साङ्ग्रिला बुक्सले २०८० मा प्रकाशित गरेको यो उपन्यास २३२ पृष्ठमा फैलिएको छ । यो उपन्यासले नेपालबाट विभिन्न उद्देश्य लिएर अमेरिका पुगेका नारीहरूको कथा र व्यथा बोलेको छ । गैर नेपालीसँगको मायाप्रेममा परेर अझ भनौँ आइरिस मुलुकको केटासँग विवाह बन्धनमा परेकी अनुष्काको कथा मुख्य भएर आएको छ । उसको जीवनको रहस्य छ । अस्तित्व र पहिचानको खोजी छ। विवाहको बन्धनभित्र वासना डरलाग्दो गरी आएको छ। कहिले तृप्त नहुने यौन प्यासको रोग छ । शरीरको डरलाग्दो भोक छ । संवेदनाको हत्या छ । पहिचानको आवश्यकता छ । अस्तित्व चेतना छ । स्वतन्त्रताको माग छ । शान्तिको कामना छ । भावना र संवेदना नमिल्ने जोडीको अत्यासलाग्दो परिवेश छ । नेपाली र गैर नेपालीहरूले निर्माण गरेको सम्बन्धभित्रको बेमेल भावभूमिमा उपन्यास फैलिएको छ । अनौठो अनौठो परिवार छ । अमेरिका र नेपाली समाजको मिश्रित संस्कृति छ ।

‘कुनै बेला म कल्पना गर्थेँ । सपना जस्तो मीठो कल्पना । हाल कल्पनाको त्यही समय छ हातमा ।

रात अनि आराम

                         रात अनि शान्ति

                            रात अनि स्वतन्त्रता …( पृष्ठ २३२)

रातमा आराम, शान्ति र स्वतन्त्रता भोगेको पात्रले यो गहिरो भाव बुझ्न कठीन हुन्छ । रात त प्राकृतिक ध्यानको अवस्था हो । रात आरामकै लागि हो । शान्तिकै लागि हो । स्वतन्त्रताकै लागि हो । तर किन कोही नैसर्गिक आवश्यकता प्राप्त गर्न पनि बुलन्दी हुनुपर्छ ? किन कोही कामना गर्दै छ रात शान्तमय होस्, आनन्दमयी होस्, स्वतन्त्र होस् भनेर … ? जसको रात अशान्त हुन्छ । जसको रात पीडादायी हुन्छ । जसको रात अरूको हातबाट खोसिन्छ त्यो व्यक्तिको जीवनमा रात पक्कै अभिशाप बनेर आएको छ, भनेर हामीले अनुमान मात्र गर्न सक्छौँ । हो, यहाँ अनुष्काको जीवनमा यस्तै डरलादो रातहरू आएका छन् । म को हुँ ? भन्ने नजानेर मान्छे अँध्यारो रातमा नै समाप्त हुन्छन् तर अनुष्का अँध्यारा रातहरूमा कष्टपूर्ण जीवन भोगेर पनि आफ्नो जीवनको रहस्य पत्ता लगाउन सफल भएकी छ । अशान्त रातलाई स्वतन्त्र पार्दै शान्त भएकी छ । वर्तमान साहित्यिक धार लैङ्गिक विषयतिर पनि मुखरित भएको परिप्रेक्ष्यमा लैङ्गिक पहिचानको मुद्धालाई दहालले उपन्यासमा सरल किसिमले ल्याएका छन् ।

वास्तवमा मानव जीवन एक पहेली हो । जति बुझे पनि अझ बुझ्न बाँकी नै हुनेरहेछ मानव मन, मस्तिष्क र शरीर । मावन मनोविज्ञान बुझ्न साँच्चै बडो मुस्किल छ । मानव संरचना पनि बडो जटिल छ । बुझेर बुझ्न नसक्ने छ मानवीय संवेदना । आखिर यो मानव केले बनेको छ यसको उत्पतिको कथा होस् या यसको अन्त्यको कथा सबै रहस्यमयी लाग्छन् ।

जे.एन. दाहलको प्रहेलिकाको कथा मूख्यतः दुईवटा कथाहरूमा केन्द्रित छन् । प्रमुख कथा अनुष्का र मायल्सको छ भने उत्तिकै सशक्त र महत्त्वपूर्ण कथा मिसेस शर्मा र मिस्टर ब्राउनको छ । अरू पात्रहरू घटनाहरू कथालाई गति दिन अगाडि आएका छन् ।

महिलाको अवस्था के नेपाल के अमेरिका उस्तै छ । जबसम्म आफैँले आफूलाई चिन्न सक्दैनन् तबसम्म हरेक मानव दुःखी हुनेरहेछन् । ‘म को हुँ ?’ भन्ने अध्यात्मको गहिराइमा टेकेर गरिएको प्रश्न मात्र होइन । भौतिक संसारमा पनि शारीरिक रूपमा आफ्नो पहिचान हुन कति आवश्यक रहेछ भन्ने कुरा जेएन दाहालको उपन्यासले उजागर गरेको छ । आफैँलाई नबुझी आफैँलाई नचिनी हामी सम्बन्ध बनाउन हतारिन्छौँ र पछुताउँछौँ । आफैँलाई राम्रोसँग नजान्दा नचिन्दा जोडिएको सम्बन्धमा दरार त आउँछ आउँछ ।

सम्बन्ध र प्रेमको नाममा आफ्नै शरीरलाई बन्धन बनाउन विवश छन् कयौँ महिलाहरू । केवल छानो र मानोका खातिर जीवनभर यौन उत्पीडन खुप्नुपर्ने त नारीले ! कठै संवेदनशील विषयमा जीवनसाथी संवेदनाहीन हुँदा जीवन कति कष्टकर हुन्छ भन्ने कुरा त भोग्नेलाई मात्र थाहा हुन्छ । आफ्नो शरीरमा आफ्नै अधिकार छैन कयौँ महिलाहरूको । शारीरिक सम्बन्ध त प्रेमले मात्र सम्मानित हुन्छ । नत्र त सम्बन्धमा बलात्कार मात्र हुन्छ । कसैसँग जीवन बाँच्दा नारी हरेक रात बलात्कृत मात्र हुन्छे भने भोलि के परिवार भन्ने पवित्र संस्कार रहला … ? जे.एन. दहालको प्रहेलिकाले मेरो मस्तिष्क दुखाइरह्यो ।

संसारभरि पुरुष प्रवृति उस्तै हुन्छ कि भन्ने लाग्यो । जुनैसुकै भूगोल होस् या समाज प्रायः पुरुषको मनोवेग उस्तै छ काम वासनाको विषयमा । आमा पुस्ता र छोरी पुस्ताको वैवाहिक जीवनमा घटित यौनहिंसा उस्तै छ, केही फरक छैन । दुवै पुरुष पात्र यौनका अगस्ति नै छन् । मिस्टर ब्राउन त झन् समय र सन्तानको पनि हेक्का राख्दैन । श्रीमतीको स्वास्थ्य अवस्थाको पनि वास्ता गर्दैन । यौनको प्यास मेट्न मात्र चाहन्छ । अनुष्काको श्रीमान् मायल्स पनि गेम खेल्ने, बारमा जाने, बियर र सिगार पिउने र रात रङ्गीन पार्ने कुरामा मात्र सीमित हुन्छ । अनुष्का भने प्रकृतिप्रेमी छ । अध्ययनशील छ । ऊ किन्डलमा पुस्तक पढ्छे तर मायल्स जतिखेर पनि कि त भिडियो गेम खेल्न रुचाउँछ, कि त अनुष्काको शरीरसँग खेल्न लालायित हुन्छ । आखिर यो अनुष्का को हो त भन्ने कुरा उपन्यासकार बिस्तारै भन्छन् ।

काठमाडौँको जोरपाटी- अत्तरखेलमा रहेको ‘लिभिङ होम अर्फनेज’मा हुर्किएकी अनुष्का डिभी परेर अमेरिका पुगेकी छ । उसको परिवार, बाआमा को हुन् थाहा छैन । अमेरिकामा जीवन बिताउँदै गरेकी अनुष्काको स्मृतिमा मिरा दिदी, अर्फनेज होम र त्यहाँका सदस्यहरू बारम्बार सादृश्य हुन्छन् । पूर्वस्मृतिले अनुष्कालाई अमेरिका बस्दा पनि नेपालमै बारम्बार ल्याउँछ । अकाउन्ट पढेकी अनुष्काले पढाइ अनुसारको जागिर चाहिँ शुरूमा भेटेकी छैन । ऊ होटलको फ्रन्ट डेक्समा काम गर्छे । उसको आकर्षण एक आइरिस मुलुकको केटा मायल्ससँग हुन्छ । जो अनुष्का काम गर्ने होटल मल्बेरीमा इको ल्याब कम्पनीबाट सरसफाइका सामान डेलिभर गर्न आउने हुन्छ । मायल्ससँग अनुष्का बिस्तारै नजिकिन्छे र विवाह पनि गरेर सँगै बस्छे।

तर विवाह गरेको केही सातापछि नै अनुष्का यौनप्रति दिक्किन्छे । यौनप्रति उसको रुची घट्छ । मायल्सले गरेको यौनिक व्यवहार पनि मन पराउन छोड्छे । यौनप्रति कुनै  इच्छा हुँदैन अनुष्कालाई । आफैँप्रति पनि अनेकौँ प्रश्न गर्छे । किन मलाई यस्तो हुँदैछ ? के समस्या छ मलाई ? केही कमी पो छ कि ? हरेक पटक मायल्सको लागि मात्र ऊ यौन क्रियाकलापमा सहभागी हुन्छे । अनि उसको हरेक रात अशान्त हुँदैजान्छ । पीडादायी हुँदैजान्छ । उसको अमूल्य रात बिस्तारै परतन्त्र हुँदैजान्छ । मायल्सप्रतिको आकर्षण पनि घट्दै जान्छ । उसलाई आफ्नो वैवाहिक जीवनदेखि मन उठ्छ । सम्बन्ध बोझिल हुन थाल्छ । अनुष्का चाहन्छे मायल्सले यौनभन्दा माथि गएर उसलाई बुझोस् तर सम्बन्धमा यौनबाहेक केही नदेखेको मायल्सले अनुष्काको शरीरसँगमात्र सम्बन्ध राखेको हुन्छ । भनिन्छ नि, स्त्रीलाई भन्दा बढी स्त्रीत्वलाई तिमी छोऊ । विकाश दिव्यकीर्ति भन्छन् , ‘स्त्रीको छूना भी एक कला है, स्त्री काया नही हृदय है, जो छु सको तो स्त्रीत्वको छूना, स्त्रीको नही… ।‘ तर विडम्बना । नारीलाई केबल शरीर मात्र ठान्ने, वस्तुको रूपमा मात्र लिने संस्कार अमेरिकामा झन् धैरै रहेछ । नारी शरीरलाई गिजोल्न र भोग गर्न पल्किएको मायल्सले नारी संवेदना कसरी बुझोस् ? मायल्स यौन प्यास मेटाउन अनुष्कालाई घरायसी काममा सहयोग पनि गर्छ । उसको सहयोगमा पनि स्वार्थ लुकेको हुन्छ । भन्छ, ‘ बेबी ! मैले डिनर बनाएँ । यु नो द्याट …।‘ आफूलाई चाहा छैन, यही बेला पति मरिहत्ते गर्दै नजिकिन्छ। जब मायल्स कताकता छुन थाल्छ, तब अनुष्का विवश बन्दै जान्छे…(पृष्ठ ५०)।‘ यसरी आफूलाई नचिन्दा अनुष्काको वैवाहिक जीवन अभिशाप बन्छ । उसको यौन जीवन सजाय बनिदिन्छ । नेपाली संस्कार लिएर हिँडेकी केटी सम्बन्ध बचाउन हदैसम्म सहन्छे । केही नलागेर ऊ डाक्टरसँग सहयोग लिन पुग्छे । तर उसलाई डाक्टरले एसेक्सुउल भएको जानकारी दिन्छन् । यौनमा रूचि नहुनु त अनुष्काको शारीरिक समस्या रहेछ तर मायल्स सधैँको यौन प्यासी हुन्छ। यौन एडिक नै हुन्छ । हरेक समय उसको दिमागमा यौनकै मात्र इच्छा घुमिरहन्छ । अनुष्काको यौन चाहना पूर्ण त घट्दै जान्छ र मायल्ससँगको सम्बन्ध टुट्छ, भाँचिन्छ । अन्त्यमा, त्यहाँको लोकल एलजीबीटीक्युको एक मात्र संस्था प्राइड हेरिटेजमा अनुष्का पुग्छे । रहस्य नै रहस्य बोकेको मानव जीवनभित्रको प्रहेलिका बडो रोमाञ्चक छ ।

अर्को कथामा मिष्टर ब्राउन पनि कामुक पति छन् । श्रीमतीलाई सधैँ यु.टी.आईको समस्या छ । अचम्म लाग्छ बाह्रै महीना मिसेज शर्मालाई यु.टी.आई.को समस्या भएको देख्दा । अमेरिकामा पनि कस्तो उपचार होला जुन पूर्ण रूपमा सन्चो नहुने जस्तो पनि लाग्छ । प्रहेलिका पढ्दै गर्दा मेरो मनमा प्रश्नहरू उठे । मिसेज शर्माको यु.टी.आई.को समस्याले यौनजीवन कष्टपूर्ण भएकाले सिर्जना भएको हो कि ? कष्टपूर्ण यौन जीवनले यु.टी.आई.को कष्टपूर्ण समस्या भोग्नुपरेको हो …? अनुष्का र मिसेज शर्मा नेपाली हुन् । दुवै निकै मिल्ने साथी हुन्छन् । अनुष्काले मायल्सलाई छोडेपछि ऊ निसङ्ग भएर आफ्नो रूचिको काम गर्छे । खुशी हुँदैजान्छे । पहिलेकै अवस्थामा अनुष्का फर्किन्छे । अनुष्कालाई हेरेर बिस्तारै मिसेज ब्राउनमा पनि हिम्मत बढ्छ र भन्छिन्, ‘कहिले ढाडको समस्या बल्झिन्छ त कहिले यु.टी.आई.को । आफूलाई जे कुरामा रूचि छैन, ट्रोए त्यसकै लागि जिद्दी गर्छ । सधैँ यस्तो खेपिरहेपछि म यो सम्बन्धलाई अघि लान सक्दिनँ …। मिसेज शर्माको मस्तिष्क तातिरहेको छ । उनलाई अशान्ति र बेचैनीले सताइरहेको छ (पृष्ठ १७५)। वैवाहिक यौन हिंसामा परेकी मिसेज शर्माले एकदिन हिम्मत गरेर लामो समयपछि मिस्टर ट्रोएलाई छोडेर हिँड्की हुन्छे । उनीहरूको पनि सम्बन्ध बिच्छेद हुन्छ ।

मिसेज शर्माकी छोरी छ ग्रेस जो अमेरिकामै जन्मिएकी छ । अनुष्काका एसेक्सुवल भएको कुरामा पनि ऊ सहमत हुन सक्दिनँ । छाडा भएर हिँड्न खोजेको आरोप लगाउँछे । आफ्नी आमाले घर छोडेर जानु पनि अनुष्काले गर्दा हो भन्ने सोच पालेर अनुष्कालाई हदैसम्मको घृणा गर्छे । रिसको आवेगमा ग्रेसले अनुष्काको कारसम्म तोडफोड गर्न पुग्छे र भन्छे, ‘बीच मेरी ममलाई के गरिस् ? ह्वाई डिड सी लेफ्ट होम ? यु टु मिट एट द फकिङ प्राइड, राइट (पृष्ठ २२१) ?’ त्यति मात्र हो र आफू बिग्रिएकाले मेरी आमालाई पनि तैँले नै बिगारिस् सम्म भन्नपुग्छे ।

बिचरी मिसेज शर्मा २५ वर्षदेखि वैवाहिक बलात्कारको शिकार हुँदै आएकी आमा हो । स्कुलबाट घर आउँदा बाआमालाई दिउँसै बेड रूममा नाङ्गै देखेकी अमेरिकन छोरी ग्रेस आमाको हृदय पढ्न सक्दिनँ । बाउको दानवीय व्यवहार देख्दिन । आमा यौनहिंसाको शिकार भएर डरलाग्दो भुमरीमा परेको देख्दिन । हुर्किएकी छोरीले पनि आमाको पीडा देख्दिन सक्दिन ।

अनुष्काको बोल्ड निर्णयले मिसेज शर्मालाई पनि बोध भएको हुन्छ आफ्नो अस्तित्व पहिचानको । सुरक्षित, सम्मानित र स्वतन्त्रत जीवनको । अनि अनुष्काको सही निर्णयले उसमा पनि आँट चाहिँ भरिएको हुन्छ ।

आमा र बाउको सम्बन्ध बिच्छेद पछि ग्रेसले गरेको व्यवहारले म अचम्ममा परेँ । कसरी त्यो केटीको मस्तिष्कमा अनुष्काप्रति जडवादी विचार आयो ? कसरी पितृसत्ताको जाँतोमा पिसिएको संस्कार त्यो बच्चीमा आयो …? आखिर मिष्टर ब्राउन त नेपाली थिएनन् । पित्रृसत्ताले गाँजेको पनि थिएन ब्राउनलाई । कि यो पित्रृसत्ता विश्वव्यापी महामारी हो ? ग्रेसमा पनि उही सत्ता हावी छ । अनि कसरी आयो ग्रेसमा यस्तो परम्परावादी सोच ? कि लेखकको विचार ग्रेसमा प्रवेश गर्यो त भन्ने आशङ्का पनि उब्जियो ।

आइरिस मुलुकको मायल्स पनि पुरुष भएकोमा बडो अभिमानी छ  अहंकार गर्छ पुंसत्वमा । अनुष्काले उसलाई छोडेकोमा मायल्सको अहंकारमा भुइँचालो जान्छ । मर्दपनामा धक्का लाग्छ । अनुष्काले छोडेर ऊ खुशी भएको देखेर मायल्सलाई औडाह हुन्छ ।  आफ्नै जिन्दगीमा फर्किसकेकी अनुष्कालाई मायल्सले सकेसम्म दुःख दिन्छ । ह्याकरको प्रयोग गरेर अनुष्कालाई हराउन चाहन्छ । उसलाई कामबाट निकाल्न चाहन्छ । ऊ चाहन्छ कसै गरी अनुष्का उसको जीवनमा फर्कियोस् नभए अनुष्का बर्बाद होस् । तर पनि अनुष्का अगाडि बढ्छे । सफल हुन्छे ।

समग्रमा प्रहेलिका अमेरिकी भूगोल बुनिएको परिचित कथा नै हो । लैङ्गिक पहिचानको नवीन विषय पनि यो उपन्यासमा प्रमुखताका साथ आएको छ । उपन्यास पढ्दा भाषाले आँखा बिझाउँछ । हुन त अमेरिकी समाजलाई जुरुक्क उठाएर राख्न खोज्दा अङ्ग्रेजी भाषाको बढी प्रयोग गरिएको होला ।