मुहारमा अनन्त गुलाफ फुलाएर
महामारीका खोपिल्टाहरू पुर्दापुर्दै
भाँचिएको मेरुदण्ड भर्खरै जोडेर
लामो निश्वास फेर्दै थिएँ

कहर मच्चाएर सुन्दर सपनालाई
मृत्युशय्यामा पछारेर
सम्भावनाको मुहान धुलिसात पार्ने
तिम्रा योजना कति वर्षे हुन्?
निद्रालाई जित्न सक्ने मेरा आँखाहरू
उजाड बन्दै गएपछि
सपनाको गाजल लगाएर
आँखालाई सुन्दर सजावटले
छपक्क ढाकेकी थिएँ
तिमी त अँध्यारो बोकेर उज्यालो खोस्न आइपुग्यो!

पीडामा हाँस्नु
दु:खमा नाच्नु
विपत्मा मुस्कुराउनु
मरुभूमिमा सास जोगाउनु
बाढीमा हेलिनु त मेरा विशेषताहरू थिए
युद्ध हारेकै मानिसलाई यो कस्तो परीक्षा ?

सन्ध्यामा खोसेको उज्यालो
भोलि फर्किहाल्छ नि भन्दै
अँध्यारोमा हाँस्न सक्ने म
कयौं दिनदेखि सूर्योदय देख्न
नपाएका आँखाहरूले
जुनकीरीको उज्यालोमा पूर्णविश्वास खोज्दैथिएँ
ब्रह्ममुहूर्तपछिको अरुणोदयलाई कुर्दैकुर्दै
गतिहीन भएका मेरा मनहरू लोलाएपछि
तिमीले त मेरो सूर्यमा नै आँखा लगाएछौ
म हरक्षण अनभिज्ञ रहिरहेको छु दिक्कालभरि ।