फाइल तस्बिर

नेपालको संविधानको धारा ९ को उपधारा ३ मा नेपालको राष्ट्रिय जनावर गाई हो भनेर उल्लेख गरिएको छ । यस कारणले गाईको महत्त्व उच्चस्थानमा रहेको स्पष्ट हुन्छ ।

हाम्रो संस्कृतिको मेरुदण्ड भनेकै हाम्रा धर्मग्रन्थहरू हुन् । हाम्रो धर्मशास्त्रमा गौमाताको निकै चर्चा गरिएको छ । हाम्रो गौरव, आस्था, धर्म र अस्तित्व हो हाम्रो वेद । आज विश्वमा कैयौं सिद्धान्तहरू वेदलाई नजिर बनाएर प्रतिपादन भएको पनि पाइन्छ । सम्पूर्ण ब्रह्माण्डको रहस्य र ज्ञानलाई एकै ठाउँमा समेटेर हाम्रा ऋषीमुनीहरूले चार वेदको छत्रछायामा हामीहरूलाई सुरक्षित पारिदिनु भएको छ ।

त्यसैले वेद हिन्दुहरूको मात्र सम्पत्ति होइन। यो त चराचर जगतको कल्याणका लागि हजारौँ वर्ष खोज अनुसन्धान गरेर प्राप्त गरेको महाज्ञान हो ।
मानव सभ्यतामा वेद सर्वोत्तम ग्रन्थ हो ।

अनिता काेइराला

प्रत्यक्ष वा परोक्ष रूपमा वेद मानव जीवनको आधार हो । यस्तो महत्त्वपूर्ण ग्रन्थमा गौ माताको महत्त्व उल्लेख गरिनु चानचुन कुरा होइन ।
तर हामी आँखा र कान भएर पनि अन्धा र बहिरा छौँ । यदि हामी पृथ्वीलाई हराभरा, सुन्दर भएको हेर्न चाहन्छौँ; मानव र पर्यावरण बिच सन्तुलन कायम राखेर पृथ्वीको विनाशलाई रोक्न चाहन्छौँ भने गौरक्षा र गौवर्धन एक उत्तम उपाय हुनेछ ।

ऋग्वेदमा ७२३, यजुर्वेदमा ८७ , सामवेदमा १७० र अर्थवेदमा ३३१ पटक गरेर १३११ पटक गौ माताको चर्चा गरिएको छ। गौको आवश्यकता र महत्त्वको उल्लेख गरिएको सत्यतथ्य लिखित दस्तावेज खोज्न अब हामी कहाँ जाने ? हामी पूर्ण विश्वासका साथ गौधनको महत्त्व वेदमा उल्लेख गरिएको थाहा पाएर अनुमान गर्न सक्छौँ । पृथ्वीमा गाईको धेरै महत्त्व छ । साँच्चै यो धरालाई स्वर्ग झैँ सुन्दर बनाउन ईश्वरले गाईको रचना गरेका हुन्।

यो कुरालाई पुष्टि गर्न द्वापर युगलाई अध्यन गर्न सकिन्छ । स्वयं नारायणको अवतार श्री कृष्ण ग्वाला बनेर गाईको रक्षा, संरक्षण र सेवा गरेको इतिहास हामी माझ सुरक्षित छ । कृष्ण चरित्रलाई गहिरिएर अध्यन गर्ने हो भने गाईको महत्त्व अझ प्रस्ट हुन्छ । साथै गोरक्षनाथको अवतारमा भगवान् शिवले पनि गौमाताको महत्त्वलाई दर्साएको कुरा धर्मग्रन्थमा उल्लेख छ ।

परापूर्वकालमा गौ धनलाई उच्चकोटीको धन मानिन्थ्यो । जहाँ गौ हुन्थ्यो त्यहाँ समृद्धि हुन्थ्यो । जहाँ समृद्धि हुन्थ्यो त्यहाँ सुख, शान्ति र स्वास्थ्यले ओतप्रोत हुने नै भयो । त्यसैले त हाम्रा पुर्खाहरू सयौँ वर्ष हृष्टपुष्ट र निरोगी भएर बाँचेको सभ्यता पढेका छौँ । छोरीलाई दाइजो दिँदा हजारौँ गाई दिने चलन थियो । इतिहास साक्षी छ । यसैले पनि गाईको महत्त्व र संरक्षणको लागि अग्रस्थानमा नयाँ पुस्ताहरू ल्याउन जरुरी छ। गौ शिक्षाको अध्यन, अध्यापन, अनुसन्धान र अनुशरण गर्न आवश्यक छ । साथै हिन्दु धर्मको मर्म र विज्ञान बुझ्नसमेत समस्त मानव जातिलाई अपरिहार्य भइसकेको छ ।

हिन्दु धर्ममा आमा, गाई, धर्ती र भगवतीलाई माता भनेर पुकारिन्छ । जन्म दिने आमा, धर्ती र अम्बे माता सरह उच्च सम्मानका साथ गाईलाई पुकारिन्छ, पूजा गरिन्छ। गाई राष्ट्रिय जनावर मात्र होइन गाई त राष्ट्रियता र एकताको प्रतीक हो । गाई मानव स्वास्थ्यको समृद्धिको प्रतीक हो ।
मानव र पर्यावरण सन्तुलनको आधार हो । गाई भद्रताको पनि प्रतीक हो । गाई औरामा आरोग्यता प्राप्ति हुन्छ । त्यसैले गाई सम्मानको सूचक हो ।

गौवर्धन पर्व भनेर हामीले सुनेका छौँ तर बुझेका छैनौंँ । गौवर्धन पूजा केवल पूजा मात्र होइन । गोवर्धनको अर्थ गाईको रक्षाका साथै सङ्ख्या वृद्धि भन्ने हुन्छ । गाईमा ३३ कोटी देवताहरूले बास गरेको तथ्य हाम्रो शास्त्रमा उल्लेख छ । सत्य युगमा कामधेनु गाई प्राप्तिको लागि ऋषिहरू बिच लडाई भएको इतिहास पनि उति नै चर्चाको विषय भएको थियो । वशिष्ठ ऋषिको कामधेनु गाईलाई बौद्धिक जमातले नजर लगाएको कथा छ। केवल दुध प्राप्तिका लागि मात्र हो त त्यो लडाइ र लोभ ? त्यहाँ विराट अर्थ छ ।

कामधेनु गाईको कथाबाट पनि हामीले बुझ्न सक्छौँ, आजका गाईमा पनि कामधेनु जात नै छ । गाईको महत्त्व बुझ्न सके आजका गाईमा पनि कामधेनु गाईको विशेषता भेट्न सक्छौँ, मात्र दृष्टिकोण फेरिन जरुरी छ ।

गाईको दूध अमृत समान त छँदै छ साथै यसको मूत्रमा पनि क्यान्सरका सेललाई मार्न सक्ने २४ प्रकारका तत्त्वहरूले अमृत बनाएको छ । गाई सम्पन्नताको प्रतीक भन्नुको मतलब पनि हिजोआज चरितार्थ भएको छ । दुध भन्दा बढी मूल्यमा गाईको मूत्र बिक्री हुन थालेको तथ्याङ्कले पनि पुष्टि गर्छ । साँच्चै हरेक घरमा गाई पाल्ने हो भने रोगव्याधी त आधा निर्मूल नै हुने रहेछ ।

नेपाल कृषि प्रधान देश हो । नेपालको भौगोलिक परिवेशमा खेत जोत्न गोरुको आवश्यकता हुने हुनाले गाईको संरक्षण र महत्त्व उल्लेखनीय छ ।माटोदेखि माथसम्मलाई शान्त, शीतल र स्वस्थ पार्ने गाईको भूमिका महत्त्वपूर्ण हुने रहेछ । रक्तचापको बिरामीले १५-२० मिनेट मात्र हातले गाईलाई मुसार्दा मानिसलाई हुने उच्च रक्तचापको समस्या एकदम ठीक हुने अनुसन्धानले पुष्टि गरेको छ । छोटकरीमा भन्दा गाई औषधीय गुणले भरिपूर्ण जनावर हो।

सम्भव भएसम्म एक घर एक गाईको अवधारणा लागू गर्नु पर्ने हो । हैजाका कीटाणुलाई पनि मार्न सक्ने गुण गाईको गोबरमा पाइन्छ । गाईको गोबरको गुइँठा बाल्दा डेङ्गु,मलेरिया जस्ता रोगलाई रोकथाम गर्न सकिँदो रहेछ । यस्तो बहुउपयोगी गाईको सेवा, संरक्षण र सुरक्षा राष्ट्रिय स्तरबाट हुनुपर्छ ।

आज खाना बनाउने ग्याँस आकासिएको समाचार छताछुल्ल छ । केवल एउटा गाईको गोबरबाट प्रतिवर्ष लगभग ३० देखि ४५ हजार किलो बायोग्याँस उत्पादन गर्न सकिन्छ । यो तथ्यलाई पनि मनन गरेर गाईको संरक्षणमा राज्यले अनुदान उपलब्ध गराएर कृषकको मनोवल उच्च राख्नुपर्छ ।

एकातिर हरेक वर्ष रासायनिक मल भित्र्याउन मुस्किल पर्दै गएको देखिन्छ भने अर्कोतिर अर्गानिक तरकारीको लोकप्रियता बढ्दो छ । गाई पालनलाई सहज, सरल , सुलभ बनाएर सर्वसाधारणलाई गाईको महत्त्वका साथै संरक्षण र संवर्द्धन गर्दै राष्ट्रिय स्तरमा ठूला ठूला गाई पालन केन्द्र खोल्ने हो भने एकातिर युवाले रोजगारी पाउने थिए अर्कोतिर दूध निर्यात गर्न सकिन्थ्यो । साथसाथै तरकारी उत्पादन केन्द्रहरूको पनि सोच संँगसँगै लैजान सक्दा नेपालीहरू खाडीका ताता घाममा सेकिनु पर्ने थिएन कि ? यसको लागि पनि गौको महत्त्वलाई प्रचारप्रसार गरिनुपर्छ ।

तर बिडम्बना हिजोआज दुध दिन छोडेको गाईलाई सडकमा छोड्ने कुबुद्धि मान्छेमा मौलाएको छ । बेसहारा रूपले सडकभरि छाडिएका अमूल्य सम्पत्तिहरूलाई देखेर केही गर्न नसक्नु मानव सभ्यताको घिनलाग्दो अवस्था छ । भोक, रोग र पीडाले भौँतारिएका ती बहुगुणी गाई, गोरु र बाच्छाहरूलाई गौशालाको खाँचो छ । फोहोरबाट मोहोर निकाले झैँ दूध नभए पनि मुत्र र गोबरको बिक्रीबितरणको आम्दानीले ती पशुहरू मात्र होइन हामी मान्छेलाई पनि पाल्न सक्छन् । आमा बुढी हुँदा जीउँदै बोरामा हालेर खोलामा फाले सरह होइन र , गाईलाई छाडा छोड्नु र मार्नु ?

आज संसारभरी फैलिएका गोर्खालीहरूको इतिहास कोट्याउँदा विद्वानहरूले यस्तो तर्क पनि प्रस्तुत गरे – “गोर्खा शब्द गौरक्षाबाट अप्रभंस हुँदै आएको हो ।” गाई मारेर खाने प्रचलनलाई रोक्नु कडा कानुन बनाउनुमा केवल हिन्दुराज्य मात्र भएर होइन गाईको गुण, महत्त्व र उपयोगीताले गर्दा हो तर बुद्धिको भाँडोमा बिर्को लागेको मान्छेले कुतर्क गर्न पनि छोडेन ।

गाईको रक्षार्थ रणबहादुर शाहले आफ्नो कानुनी बन्दोबस्तको २२ सवालमा ::::गौबध गर्या अम्वालीले जीवै मारिदिनु ::भनेका छन् ।

किन मान्छे स्वार्थी र अविवेकी हुँदै छ ? चमेरो खाएर कोरोना भाइरस फैलिएर लाखौँ मान्छे मर्नु पर्‍यो अझ पनि यो मान्छे ढिठ भएर हिँडेको देख्दा ताजुब लाग्छ । भाषण गर्नु पर्दा मात्र संस्कृतिको खोल ओडेको छ मान्छेले तर संस्कृत बुझेको छैन । संस्कृतिको अवलम्बन गर्नु त दूरको पाटो हो ।

हाम्रो सभ्यतामा गाई पुज्य छ। हाम्रो संस्कृतमा गाई पर्व छ, गाई जात्रा छ र गाई तिहार छ । गाई यस्तो जनावर हो जसले दरिद्रता नाश गरिदिन्छ । गाईको दुधदेखी गोबरसम्म हाम्रा लागि अमूल्य छ । माटो र मानव दुवैलाई गाईको सानिध्यताको खाँचो छ । बाँझो खेतदेखि बौलाहा मस्तिष्कलाई ठीक ठाउँमा ल्याउन गौधनको रक्षा, संरक्षण र महत्त्व अपरिहार्य छ । विश्वलाई शान्त, सुखमय र स्वर्ग बनाउन गाईको महिमा अपरम्पार छ । त्यसैले गाई माता हो । लक्ष्मी हो । गाई हाम्रो सभ्यता हो ।