जयराम तिमल्सिनाकृत उनको पहिलो र नेपाली उपन्यासको एउटा पछिल्लो उपन्यास धीमहि हात लाग्नेबित्तिकै सुपरिचित गायत्रीमन्त्रको सम्झना भयो । मन्त्रको लयात्मकतामा बग्दाबग्दै सबै शब्दहरूको विशिष्टीकृत अर्थ ख्यान नहुने रहेछ । डेढ लाख शब्दले भरिएको प्रज्ञा नेपाली बृहत् शब्दकोश पल्टाउँदा पनि धीमहि शब्दको प्रवृष्टि भेट्न सकिएन । के.एन. स्वामीको संस्कृत शब्दकोशमा पनि यो शब्द भेटिएन । खैर केही छैन, हातमा धीमहि उपन्यास छ, पढेपछि अर्थ भेटिहालिन्छ भनेर पढाइको श्रीगणेश गरियो ।

उपन्यासको विषय र पृष्ठभूमि थाहा नभइकन पढ्न शुरु गर्नु अचानक अनजान स्थलको यात्रा गर्नुजस्तै रोमाञ्चकारी हुन्छ । आकर्षणका लागि केही आधार त चाहिन्छ भने यस उपन्यासको आकर्षण नै यसको शीर्षक रह्यो, कम्तीमा मेरा लागि, गायत्रीमन्त्रमा उच्चारित ‘धीमहि’ । विस्तारै उपन्यास पढ्दै जाँदा यसको अर्थ–रहस्य उद्घाटन हुन्छ कि ! हुन्छ कि ! भन्दा भन्दै उपन्यास सकियो तर यसको स्पष्ट अर्थ कतै भेटिएन । लेखकीयमा छ भनी अन्तिम पानातिरको ‘स्वकथन’मा नजर दौडाउँदा उक्त शब्द उल्लेख नै नगरी बाह्र हरफमा सिद्धियो, तेह्रौँमा मात्र ‘धीमहि’ भेटियो ।

अनि बुझेँ – यो उपन्यास पाठक बनेर पढ्ने होइन, सहसर्जक बनेर पढ्ने अनि आफैं अर्थ निर्माण गर्ने ।

अम्बर्टो इकोले पाठ (टेक्स्ट, कृति) ‘रिडर्ली’ र ‘राइटर्ली’ गरी दुई प्रकारका हुन्छन् भन्ने विचार व्यक्त गरेका छन् । परम्परागत पाठ रिडर्ली हुन्छ, लेखकले पाठभित्र अर्थ लगाइदिएको हुन्छ, पाठकले त्यसलाई पढ्ने हो, बोध गर्ने हो तर उनले उत्तरआधुनिकतावादी पाठहरू त्यस्ता हुँदैनन् भनेका छन् । उनका विचारमा उत्तरआधुनिकतावादी पाठहरू पाठकलाई पनि सहसर्जकका रूपमा पठन क्रियासँगै सिर्जनामा पनि सहभागी गराउने प्रकृतिका ‘रिडर्ली’ हुन्छन् । जयराम तिमल्सिनाको धीमहि उपन्यास उत्तरआधुनिकतावादी हो कि होइन भनेर विमर्श गर्नुपर्ला तर यसले ‘रिडर्ली’ पाठकको अपेक्षा गर्दछ, पाठकलाई सोच्ने, विचार गर्ने, कल्पना गर्ने, अनुमान लगाउने, अर्थ लगाउने ठाउँ दिन्छ । उपन्यासको पठन र सहसिर्जना सँगैसँगै हुँदै जान सक्नु यसको रमाइलो पक्ष हो ।

धीमहि उपन्यास शीर्षकीय शब्दजस्तो प्राचीनतामा प्रवेश गर्दैन, गणतन्त्र कालपछिका उपन्यासमा जस्तो नारी, दलित, उत्पीडित जाति, जनजाति, मधेशी, पहाडी, हिमाली, कालीकर्णालीतिरका सीमान्तकृत संस्कृतिको खोजअन्वषण पनि गर्दैन, पछिल्ला वर्षहरूका उपन्यासमा जस्तो धर्म र दर्शनको भारी पनि बोकाउँदैन । यसले शहरी मध्यम वर्ग र सनातन हिन्दू संस्कृतिको आदर्श परम्पराकै फेरो समातेको छ । कार्यपीठिका काठमाडौँ शहर हो, केही समय उपत्यकाबाहिर पनि सवार हुन्छ, सन्दर्भमा अस्ट्रेलिया, इजरायल, नर्वे, स्पेन पनि पुग्छ तर कथा काठमाडौँमा नै शुरु भएर यही टुङ्गिन्छ । वास्वतमा यो वर्तमान मध्यम वर्गीय शहरी जीवनको तीतो यथार्थलाई मथेर भोलिको आदर्श निर्माणमा तल्लीन छ ।

उपन्यास आधारभूत रूपमा कला नै हो, वाङ्मयको एउटा विधा । कलात्मकतामा नै यसको अस्तित्व बाँचेको हुन्छ । भाषिक कलाका रूपमा उपन्यासले कथानकीय बुनोटलाई एउटा मुख्य पहिचान बनाएको छ । यसमा घटना प्रस्तुतिको कलात्मकताभित्र मोहनीको मह सञ्चित हुन्छ । धीमहि उपन्यास कुनै दृष्टिले उत्कृष्ट छ भने त्यो कथानक कला नै हो । कथानकलाई उत्कृष्ट बनाउने तत्त्व कौतूहता र रहस्यात्मकता हो । कुनै पनि घटनालाई एकै पटक उदाङ्गो परिदिएपछि उपन्यासको अस्तित्व सकिन्छ, कथानक बुनोटका ससाना छिद्रबाट रहस्यको पर्दा अलि अलि उघार्दै जाँदा पो उपन्यास उत्कृष्ट बन्छ । विजय मल्लको अनुराधा उपन्यासको आरम्भमा समाख्याता कोमलमानको समाख्यानमा यस्तै रहस्यको पोको भेटिन्छ । धीमहिले पनि रहस्यको छिद्रबाट कथानकको पोयो बाट्दै बाट्दै आख्यानको डोरी बनाएको छ । हरेक घटना, पात्र र परिवेशलाई सिधा लेन्सबाट खिचिएको छैन, रहस्यमय बनेर शुरु हुन्छ अनि रहस्यमा नै अन्त्य हुन्छ । त्यसैले ‘रिडर्ली’ पाठकको अपेक्षा गर्दछ रहस्यको पर्दा उघार्नका लागि ।

दीपेन्द्रको रहस्यमय आत्महत्याको रहस्यात्मक चित्रणबाट शुरु भएको सिँगो उपन्यास यसैलाई फन्का मार्दामार्दै सकिन्छ तर आत्महत्याको कारण रहस्यमा नै छाडिदिन्छ । उसले आफ्नो कोठामा साथी सुयोग पाठकको चित्र किन बनायो ? आत्महत्या गर्नुअघि कोठामा राता, निला, हरिया, पहेँला अनेक रङका किरणले सजिएजस्तो देखिने अनेक कलाकृतिको निर्माण किन गर्यो ? अनि तिनका बीचमा ‘धीमहि’ शब्द किन लेख्यो ? यी सबै कौतूहलता उपन्यासको आरम्भमा नै उत्पन्न गराइएको छ तर अन्त्यसम्म पनि यी रहस्यको गर्भमा नै रहन्छन् । त्यस्तै महत्त्वाकाङ्क्षी र भौतिक सुखका लालसका कारण आफ्नै श्रीमान्लाई जेल हाल्ने श्रीमतीका सोझा इमान्दार लोग्ने सुयोग पाठक योगीमहात्म बनेर एक हजार आठ दिनको कठोर साधनामा गएपछि फर्कियो कि फर्किएन ? उपन्यास स्पष्ट बोल्दैन । पाठकलाई अनुमान गर्न ठाउँ दिन्छ । थप सुखको खोजीमा स्पेनमा स्थायी बसोबासका लागि गएका मपात्र विवेकका श्रीमती र छोरी किन स्वदेश फर्केर आए भन्ने कुराको अनुमान पनि पाठकले नै लगाउनुपर्ने हुन्छ । शायद जीवन–व्यवहार पनि यस्तै हुन्छ क्यारे सबै कुरा खुलाइरहनुपर्दैन, व्याख्या गरिरहनुपर्दैन । समयक्रममा आफैं बोध हुँदै जान्छ । यस उपन्यासको पठनप्रक्रिया सकिएपछि बोधप्रक्रिया शुरु हुन्छ, पाठकको औकातानुसार बोध गर्न छुट दिइएको छ ।

धीमहि उपन्यासमा मपात्रको कथा छ, सुयोग पाठकको कथा छ अनि दीपेन्द्र सैंजूको कथा छ । हरेक कथा अलग अलग व्यक्तिका कथा भएर पनि नदीजस्तै मिसिएका छन् । एउटाको कथाले अर्काको कथाको पर्दा उघार्दै लैजान्छ । दीपेन्द्रको कथा खोज्दै गर्दा उनै नायक जस्तो लाग्छ, यसै क्रममा सुयोगको कथाको रहस्य उघ्रिन थाल्छ, हुलाक कार्यालयका जागिर हुँदै श्रीमतीको जालझेलमा परेर जेलजीवन भोगेको सुयोग योगी बनेको कथा पढ्दै गर्दा ऊ नै नायक लाग्छ । यी दुबै कथालाई जोड्ने मपात्र आफैं एउटा लेखकको आदर्श ओकल्ने नायक छँदै छ । तर सुयोगकी छोरी प्रज्ञा नर्वेबाट फर्किएपछि नायकत्वको पगरी उसैले गुथेकी छे । त्यसपछिका घटनाक्रममा मपात्र परिधीय बन्न पुगेको छ, केन्द्रमा प्रज्ञा हुन्छे । खलपात्रका रूपमा देखिएकी आफ्नै आमालाई गल्ती गरेबापत जेलसजाय पठाएर उसले परम्परागत साहसी नायकको पहिचान दिएकी छे । यसरी कथानकका तीन पोयो बाटेर एउटै आख्यान–डोरी बनाइकाले र बहुनायकत्व प्रदान गरिएकाले यसले परम्परागत आख्यानको मार्ग भत्काएको छ । अनि राइटर्ली पाठकले सोच्छ– हरेक व्यक्ति आफ्नो जीवनको नायक आफैं हो ।

धीमहि उपन्यासको चर्चा गर्नै पर्ने पक्ष यसको स्किजोफ्रेनियाले (एक प्रकारको मानसिक रोग) ग्रस्त मपात्र हो । साथी दीपेन्द्रको आत्महत्याका कारण विक्षिप्त भएको भनिए तापनि उसमा स्किजोफ्रेनियाको लक्षण त्यसअघि नै देखिएको छ । त्यसैले ऊ एक्लै अन्नपूर्ण पदयात्रामा निस्किएको छ, परिवारबाट अलग हुन खोज्छ । समाख्याता नै मानसिक रोगले ग्रस्त भएकाले उपन्यासको पाठकलाई पनि त्यसले रिङ्ग्याउँछ, भ्रमलाई यथार्थ बनाएर पस्किदिन्छ अनि यसैका आधारमा घटनाले गति लिन्छ । सुयोगको योगशालामा रहेको कुशासनमा बसेको मपात्रले एक हजार आठ दिनको कठोर तपमा गएको सुयोगसँग गरेको जादुमयी कुराकानी उसको मानसिक विक्षिप्तताकै परिणाम हुन सक्छ । तर यसलाई अन्य साधकहरूले पनि देखेको कुरा गर्दा एउटा सचेत पाठकलाई त्यो सबै मानसिक विकारले ग्रस्त व्यक्तिहरूको मण्डली जस्तो लाग्छ । किनभने त्यस किसिमको कुराकानी भ्रमबाहेक यथार्थमा हुन सक्दैन । यद्यपि यो उपन्यासमा ‘म्याजिकल रियलिज्म’का रूपमा व्याख्या त हुन सक्ला तर वास्तविक जीवनमा पागलपनको सङ्केत नै हो । यो उपन्यास यसैबाट सञ्चालित छ, भ्रमका रूपमा भएका कुराकानी नै पछि यथार्थ बन्दै अघि आएका छन् । पाठक भ्रम र यथार्थको रनभुल्लमा परेर समाख्याताकै करीब करीब स्थितिबाट गुज्रनुपर्दछ ।

अन्त्यमा उपन्यासकारमा आफ्नो भाषा, धर्म, संस्कृति र भूगोलप्रतिको प्रेम छ, देवकी आमादेखि मपात्रसम्मको बारम्बारको कथनबाट यो अभिव्यक्त भएको छ । यो एउटा सबल पक्ष हो । उपन्यास जीवनदेखि हारेर दीपेन्द्रले जस्तो आत्महत्याको बाटो रोज्नु आत्मकेन्द्रित र कल्याणकारी होइन रहेछ भन्ने निष्कर्षमा पुगेको छ । विसङ्गतिवादीहरू पनि यसै भन्छन्– जीवन विसङ्गत छ तर आत्महत्या गर्नु अझ विसङ्गति हो, उनीहरू आत्महत्यालाई तिरस्कार गर्छन्, यस उपन्यासले पनि आत्महत्यालाई गलत ठहर्याएको छ । यो अर्को सबल वैचारिक पक्ष हो । तर जीवनका तानाबानाबाट मुक्तिका लागि सुयोगलाई योगी बनाइएको छ । उसले न आमाको इच्छा पूरा गर्न सकेको छ न त स्वास्नीको । ऊ जीवनसङ्घर्षबाट हार खाएर जोगी–तपश्वी बनेर हिँडेको छ । दीपेन्द्रको आत्महत्या र सुयोगको वैराग्यतालाई मात्र जीवन–नदीको दुई किनारा बनाउँदा कतै यसले जीवनसङ्घर्षबाट पलायनको बाटो त रोजेको छैन भनेर पाठकको मनमा स्वाभाविक आशङ्का उब्जिन्छ किनभने मानवसभ्यताको विकास पलायनबाट भएको छैन । निरन्तर सङ्घर्ष नै यसको आधारशीला हो । पित्तमा जमेको अर्को तीतो पदार्थ के हो भने उपन्यासले नीति र आदर्शको त्यति धेरै खोल किन ओड्नुपरेको होला ? स्थायी बसोबासकै लागि गइसकेका मपात्रका श्रीमती र छोरीलाई अचानक किन फर्काउनुपरेको होला ? त्यसको आधार पाठकले खोज्दा देशप्रेमको आदर्शको खोल ने बोक्नुपर्नेबाहेक अरु परिस्थिति बनेको देखिँदैन । अझ अर्को तीतेपाती छ, त्यो उपन्यासकारका लागि काउछो पनि हुन सक्छ, पाठकको अदालतमा– रक्षा, सरिता, सावित्री र आकृति नारी पात्रहरूमा अनावश्यक विदेशमोह देखाइएको छ जसका कारण यहाँका पुरुष प्रताडित छन्, परिवार विखण्डित बनेको छ । यहाँनिर नारीवादी आलोचकहरूले उपन्यासकारलाई अचानो बनाउन सक्छन्– के पुरुषमा मात्र देशप्रेमको भावना छ ? नारीहरूमा मात्र विदेशप्रतिको मोह छ र ? एउटा पुरुष उपन्यासकारको नारीप्रति किन त्यस्तो विद्वेष ? यी र यस्ता प्रश्नहरू राइटर्ली पाठकले उब्जाउँदै जालान् तर पनि जीवन जस्तै बनेको छ जयराम तिमल्सिनाको पहिलो जमर्को धीमहि उपन्यास– तीतामीठा अनुभूतिको सङ्गालो । यसले पनि नेपाली उपन्यास परम्पराको समृद्धि यात्रामा एउटा इँटा अवश्य थपेको छ ।

साहित्य सिर्जनाबजारमा खासै नपढिएका, पूर्व तबलावादक, आफ्नै व्यावसायमा जमेका तिमल्सिनाको यो पहिलो उपन्यास सिद्धहस्त प्रमाणित हुन्छ । पाठकको थप हौसला र प्रेरणाले उपन्यासकारमा थप योगदान गर्ने प्रशस्त सम्भावना यस उपन्यासमा प्रष्ट देखिन्छ ।