बखतबहादुर थापा (२०२२) समकालीन नेपाली आख्यान साहित्यको परिचत नाम हो । उनका तीन वटा कथासङ्ग्रह, आघात (२०६२), कम्प्युटर आतङ्क (२०६९) शीर्षकसँगै सरिता (२०७५) र पाँच वटा उपन्यास परदेश (२०५८), कुहिरो र काग (२०६१), कालचक्र (२०६४), जङ्गे (२०७१), जङ्गेको डायरी (२०७४) प्रकाशित छन् । यस लेखमा यिनै प्रकाशित उपन्यासहरूको सापेक्षमा उनका औपन्यासिक यात्राको आरोह अवरोहको बिम्ब प्रस्तुत गरिएको छ ।

परदेश उपन्यासकार बखतबहादुर थापाको पहिलो औपन्यासिक रचनाकृति हो । गरिबी र अशिक्षाको दोहोरो बाध्यावस्थाका कारण मुग्लान पस्न विवश नेपालीका दुःख, सङ्घर्ष र पारिवारिक जीवनका सङ्कटलाई यसमा प्रस्तुत गरिएको छ । पढाइ बिचैमा छाडेर अवसरको खोजीमा परदेश गएका उपन्यासकार थापाको वास्तविक जीवनमा आधारित रहेको यो उनको आत्मपरक उपन्यास हो । दुई भागमा संरचित प्रस्तुत उपन्यासको पहिलो भाग उनको निजी जीवनको सङ्घर्षसँग नजिक रहेको छ भने दोस्रो भागको काल्पनिक आख्यानमा उनको निजी जीवन आंशिक रूपमा झल्किएको छ ।

सामान्य घटनालाई सामान्य भाषामा पनि रोचक ढङ्गले कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने कुराको नमुनाका रूपमा यो भाग रहेको छ ।

तृतीय पुरुष दृष्टिविन्दुमा रहेको यस उपन्यासमा प्रेम पात्रका माध्यमबाट पश्चिम नेपालको पहाडी गाउँ (दैलेख) बाट मुग्लान हिँडेको उपन्यासकारको वास्तविक घटना प्रस्तुत गरिएको छ । एउटा सोझो गाउँलेले मुग्लान यात्राका क्रममा पाएका दुःखद घटनाहरूलाई शब्द चातूर्यका माध्यमबाट रोचक शैलीमा प्रस्तुत गरिएको छ । उपन्यासकारले लेखनको आफ्नो सम्पूर्ण शक्ति यसै पहिलो भागमा खन्याएका छन् । सामान्य घटनालाई सामान्य भाषामा पनि रोचक ढङ्गले कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने कुराको नमुनाका रूपमा यो भाग रहेको छ ।

जीवन जीवन्त

दिल्लीमा अन्य सामान्य नेपाली सरह पैसाका लागि कामको खोजी नगरी परदेशको ठाउँलाई सीप सिक्ने अवसरका रूपमा उपयोग गरी असामान्य परिचय बनाएका प्रेमले श्रीमती पोइल गएको अपुष्ट खबरको सत्यता जाँच नगरी आफ्नो जीवनलाई गम्भीर मोडतर्फ लगेको छ । गोरीगौरी शब्द बीचको सामान्य भेदलाई पनि छुट्याउन नसक्दा उनको जीवनमा असामान्य अवस्था सिर्जना हुन्छ । पात्रको सामान्य मानवीय त्रुटिका कारण उसको जीवनमा आइपरेको गम्भीर परिस्थितिमा ग्रिसेली दुःखान्त पद्धति अनुसरण गरिएको छ तर अन्त्यमा पतिव्रता नेपाली नारीको आदर्शमार्फत उपन्यासलाई संयोगान्त बनाई पूर्वीय परम्परा कायम गरिएको छ ।

मुग्लान गएर काम र मामका लागि मात्र दुःख गर्ने नेपाली परम्पराभन्दा भिन्न फोटाकपी र टाइपराइटर जस्ता आधुनिक मेसिन बनाउने सीप सिकेर अहिले कम्प्युटर प्राविधिक रूपमा जीविकोपार्जन गरिरहेका उपन्यासकारको जीवनादर्शलाई परदेश उपन्यासमा पनि आदर्श बनाइएको छ । विविध परिस्थितिका कारण मुग्लान भाँसिन बाध्य नेपालीहरूको जीवन यथार्थ प्रस्तुत गर्ने परम्परा नेपाली उपन्यासमा लैनसिँह बाङ्देलले निर्माण गरेका हुन् । यसै परम्परालाई पछ्याएर पनि यस उपन्यासले ‘म चाहन्थें आवश्यकताअनुसार पढ्न सकूँ, नभए कुनै इलम सिकूँ ताकि आइन्दा यसरी भौँतारिन नपरोस्’ (पृ. ९५) भन्दै आफ्नै आदर्शको छाप छाडेको छ ।

उपन्यासकार थापाको कुहिरो र काग पनि यथार्थको धरातलमा आदर्शको चित्र खिचिएको उपन्यास हो । गरिबी, अशिक्षा र अज्ञानताको अन्धकारमा रुमलिएको उपन्यासकारको जन्मभूमि, पश्चिम नेपालको सामाजिक जीवनमा आधारित यस उपन्यासमा पात्रहरूलाई दुःखबाट मुक्तिका निम्ति परदेश पठाइएको छैन, देशभित्रै समाधानको प्रयास गरिएको छ । यसक्रममा यसको पात्र पश्चिम नेपालको दुर्गम पहाडी गाउँबाट सुर्खेत हुँदै काठमाडौँसम्म आइपुग्छ र स्वदेशमा उपलब्ध जटीबुटीको ज्ञान र उपयोगबाट समस्याको समाधान खोज्दछ । तालिम र थप दक्षता हासिल गर्नका निम्ति भारतसम्म पुगे पनि यसको पात्र फर्किएर स्वदेश नै आएको छ । यसरी प्रस्तुत उपन्यास स्वदेशभित्रै गरिबीबाट उन्मुक्तिका लागि गरिएको सङ्घर्षको कथा हो ।

परिस्थितिको सापेक्षमा विकसित चरित्र र घटनाका कारण यस उपन्यासका पात्रहरूको जीवनमा धेरै आरोह अवरोहहरू आएको र अन्त्यमा परिस्थितिको संयोगले पात्रको जीवन सुखद बन्न पुगेको देखाई मानवीय क्षमतालाई कमजोर बनाइएको छ ।

प्रेमलाई जीवन बचाइको मूल स्रोतका रूपमा प्रस्तुत गरिएको यस उपन्यासको कथानकीय घटनाहरू प्रचलित नेपाली चलचित्रको जस्तै विभिन्न संयोगहरूका साथ अघि बढेको छ । यौन कमजोरीका कारण उत्पन्न मनोवैज्ञानिक समस्या, चेलिबेटी बेचबिखनलगायतका विषयहरूलाई पनि यस उपन्यासमा उठान गरिएको छ । परिस्थितिको सापेक्षमा विकसित चरित्र र घटनाका कारण यस उपन्यासका पात्रहरूको जीवनमा धेरै आरोह अवरोहहरू आएको र अन्त्यमा परिस्थितिको संयोगले पात्रको जीवन सुखद बन्न पुगेको देखाई मानवीय क्षमतालाई कमजोर बनाइएको छ । एकातिर देशमा रहेका जडीबुटीजस्ता स्रोतको उपयोग गरी विदेश पलायन शक्तिलाई स्वदेशमै सम्भावना देखाउने अनि अर्कातिर परिस्थितिको वशमा जीवनलाई छाडिदिने विराधाभासी आदर्शमा उपन्यास अलमलिएको छ ।

कालचक्र उपन्यासमा नेपाली उपन्यास परम्परामा नवीन विषयको खोजी गरिएको छ । कम्प्युटर जस्ता नयाँ प्रविधिको प्रयोगमा टेक्नेसियनहरूले सोझा ग्राहकहरूलाई ठग्ने गरेको यथार्थलाई उपन्यासमा मुख्य विषय बनाइएको छ । नेपाली जीवनमा भर्खर प्रवेश गरेको समयमा कम्प्युटरको प्रयोग र मर्मतमा प्राविधिक र पैसामुखी व्यापारीहरू मिलेर कसरी सोझा ग्राहकहरूलाई मुर्गा बनाउँछन् भन्ने सन्दर्भलाई रोचक किसिमले प्रस्तुत गर्नु यस उपन्यासको उपलब्धी रहेको छ । केन्द्रीय कथानकका रूपमा व्यापारी अमनलालको कथा रहेको भए पनि उसको पसलका अन्य हरेक कामदारहरूको जीवनलाई पनि भिन्नाभिन्नै परिच्छेदमा केन्द्रीय भूमिका प्रदान गरिएको छ । यसमा एघार जना पात्रको केन्द्रीय भूमिका प्रदान गरी ध्रुवचन्द्र गौतमको अलिखित उपन्यासले निर्माण गरेको शैली अनुसरण गर्दै सीमान्त पात्रको जीवनलाई केन्द्रमा तान्ने प्रयास गरिएको छ ।

जङ्गे पश्चिम नेपालको सामाजिक जीवनमा आधारित उपन्यास हो । गरिबी, अभाव र अशिक्षाका कारण दुःखी नेपाली जीवनको यथार्थ यस उपन्यासमा प्रस्तुत गरिएको छ । तृतीय पुरुष दृष्टिविन्दु र वर्णनात्मक शैलीमा रहेको यस उपन्यासमा दैलेख जिल्लामा अवस्थित आठबिसेको चौतारो र त्यस नजिकको गाउँको कथा रहेको छ । ग्रामीण समाजको यथार्थ खिच्ने क्रममा गरिबी र अशिक्षाका कारण उत्पन्न समस्याहरू, टाठाबाठाहरूले सोझा गाउँलेहरूमाथि गर्ने शोषण, राजनीति र प्रशासनका आडमा हुने गरेका भ्रष्टाचार जस्ता विकृति विसङ्गतिप्रति आवाज उठाउने प्रयास गरिएको यस उपन्यासले आलोचनात्मक यथार्थवादको मार्ग अवलम्बन गरेको छ । गाउँका ठालुहरूको स्वार्थका कारण जङ्गे र जुना जस्ता निम्नतर व्यक्तिहरूको प्रेमजीवनमा आइपरेको दुःखद घटनाले उपन्यासलाई यथार्थका साथै रोचक पनि बनाएको छ ।

सोझा गाउँलेहरूलाई ठगेर खान पल्केका गाउँका उपर्युक्त तीनजना व्यक्तिहरूको कुकर्म पर्दाफास गर्ने मुख्य व्यक्ति जङ्गे भएकोले उनीहरूले जङ्गेसँग बदला लिन सुतिरहेको जङ्गेलाई क्लोराफार्म सुँघाएर बेहोस बनाई खोलामा लिएर जान्छन् तर ऊ अँध्यारोमा झुक्याएर भाग्न सफल हुन्छ ।

जङ्गेको डायरी २०७१ सालमा प्रकाशित जङ्गे उपन्यासको दोस्रो शृङ्खला हो । पहिलो उपन्यासमा खराब प्रवृत्ति भएका दयाराम, प्रकाश र राजकुमारलाई गाउँलेहरूले कालो मोसो दलेर सजाय दिएपछि समाप्त भएको छ भने त्यसपछिका घटनाहरू दोस्रो उपन्यासमा रहेको छ । सोझा गाउँलेहरूलाई ठगेर खान पल्केका गाउँका उपर्युक्त तीनजना व्यक्तिहरूको कुकर्म पर्दाफास गर्ने मुख्य व्यक्ति जङ्गे भएकोले उनीहरूले जङ्गेसँग बदला लिन सुतिरहेको जङ्गेलाई क्लोराफार्म सुँघाएर बेहोस बनाई खोलामा लिएर जान्छन् तर ऊ अँध्यारोमा झुक्याएर भाग्न सफल हुन्छ । त्यसपछि ऊ भागेर काठमाडौं आउँछ र कम्प्युटर मर्मत गर्ने तालिम लिन थाल्छ ।

जङ्गेले कम्प्युटर मर्मत गर्न सिक्ने क्रममा टिपोट गरेको डायरीका माध्यमबाट यस उपन्यासमा कम्प्युटरको इतिहासदेखि त्यसका प्राविधिक पक्षहरूलाई सरल ढङ्गले प्रस्तुत गरिएको छ । सूचना प्रविधि र त्यसले नेपाली जीवनमा पारेको प्रभावलाई विषय बनाएर प्रशस्त उपन्यासहरू  लेख्न थालिएको भए पनि यो मात्र एउटा यस्तो उपन्यास हो जसमा कम्प्युटर र इन्टरनेटका प्राविधिक पक्षलाई विषय बनाइएको छ । यस कार्यका निम्ति उपन्यासकार बखतबहादुर थापा एक आधिकारिक व्यक्ति पनि हुन् । नेपाली उपन्यासमा कालचक्रबाट सुरु भएको नवीन विषय (कम्प्युटर प्रविधि) को उठानलाई प्रस्तुत उपन्यासले थप उचाइ प्रदान गरेको छ । कम्प्युटरको प्राविधिक पक्षजस्तो विरसिलो विषयलाई औपन्यासिक कलाले बुनेर रोचक शैलीमा प्रस्तुत गर्न सक्नुमा उपन्यासकारको सफल परीक्षण भएको छ ।

सामाजिक विषयको यथार्थ चित्राङ्कन नै उपन्यासकार थापाको प्रमुख औपन्यासिक प्रवृत्ति  हो । उपन्यासकार जन्मिएर हुर्किएको पश्चिम नेपालको पहाडी जीवनको यथार्थदेखि उपन्यासकारले मुग्लान यात्राका क्रममा देखेका भेगेका र सुनेका यथार्थहरू पनि उनका उपन्यासमा प्रस्तुत गरिएको छ । बालविवाह र बहुविवाहका कारण उत्पन्न समस्या, गाउँका हुनेखाने र टाठाबाठाहरूले सोझासाझा गाउँलेहरूलाई गर्ने अन्याय र अत्याचार, चेलीबेटी बेचबिखन, सहरमा साहुहरूले कामदारहरूप्रति गर्ने दुव्र्यवहार, प्राविधिक क्षेत्रका विसङ्गति आदि उनका उपन्यासमा पाइने यथार्थ पक्षहरू हुन् । त्यस्तै माओवादी युद्धको समयमा सोझा जनताले पाएका दुःख, पीडा, दुर्गम पहाडी क्षेत्रहरूलाई नेताहरूले गर्ने उपेक्षा, युवावर्गमा बढ्दै गएको उमङ्ग र उपन्यासकारले अपनाएको कम्प्युटर क्षेत्रका यावत् यथार्थ पनि उनका उपन्यासमा चित्रण गरिएको छ । यस अर्थमा उनका उपन्यासमा चित्रण गरिएका यथार्थ भनेको उपन्यासकारको जीवन यथार्थ पनि हो । उपन्यासकारको वास्तविक जीवनले गरेको यात्रा जस्तै उनको उपन्यासले पनि दैलेख, दाङ, भारतका विभिन्न ठाउँहरूको यात्रा गर्दै हाल काठमाडौंमा बसेर कम्प्युटर क्षेत्रमा लागिरहेको यथार्थ यात्रा गरेको छ । पहिलो उपन्यास परदेश उपन्यासकारको जीवन सङ्घर्षको आरम्भिक यथार्थ हो भने कालचक्र र जङ्गेको डायरी उनको जीवनको पछिल्लो यथार्थ हो । यसरी उपन्यासकारको निजी जीवनले भोगेका यथार्थमार्फत आमजीवनको यथार्थ प्रस्तुत गर्न सक्नु उपन्यासकार थापाको शक्ति हो ।

राष्ट्रप्रेमलाई मुख्य आदर्शको मानिएको उनका उपन्यासमा आदर्श प्रेम र आदर्श पत्नीको नेपाली आर्दश पनि रहेको छ । स्वदेशी माटो र स्वदेशी भाषालाई प्रेम गरिएको उनको पहिलो उपन्यास यसका लागि एउटा नमुनाका रूपमा रहेको छ ।

सामाजिक जीवनका वास्तविकताभित्र लुकेका विकृति विसङ्गतिप्रति आलोचनात्मक दृष्टि राख्दै आदर्शको मार्ग देखाउनु उपन्यासकार थापाको उद्देश्य रहेको छ । परदेश गएर काम र पैसाभन्दा सीप सिकाइमा जोड दिई आफ्नै देशमा त्यसको उपयोग गर्नुपर्छ भन्ने उनको जीवनको वास्तविक आदर्श नै उनको उपन्यासको आदर्श पनि रहेको छ । स्वदेशी जटीबुटीको उपयोगलाई बेरोजगार र गरिबीको समाधानका रूप प्रस्तुत गरिएका उनका उपन्यासमा समाजका नकारात्मक चरित्रहरूलाई समय र परिस्थितिका माध्यमबाट भए पनि सजाय दिई सकारात्मक बाटोतर्फ लाग्न प्रेरित गरिएको छ । राष्ट्रप्रेमलाई मुख्य आदर्शको मानिएको उनका उपन्यासमा आदर्श प्रेम र आदर्श पत्नीको नेपाली आर्दश पनि रहेको छ । स्वदेशी माटो र स्वदेशी भाषालाई प्रेम गरिएको उनको पहिलो उपन्यास यसका लागि एउटा नमुनाका रूपमा रहेको छ ।

उपन्यासकार थापाका उपन्यासहरूमा ग्रामीण तथा सहरी जीवनका निम्न वर्गीय पात्रहरूको प्रयोग र पात्रअनुकूल स्थानीय भाषाको प्रयोग गरिएको छ । सरल भाषिक शैलीका माध्यमबाट सामान्य विषयलाई पनि रोचक शैलीमा प्रस्तुत गर्नु उपन्यासकारको लेखकीय शक्ति हो । काम–मामको खोजीमा विदेसिएका कथा धेरै लेखिएका छन् र यो अझ लेखिने छन् । यो त्यसवेलासम्म लेखिरहिन्छ जबसम्म नेपालीहरू काम र मामको खोजीमा विदेशी गइरहनुपर्छ । यो विषय नयाँ पनि होइन र पुरानो हुने विषय पनि होइन । उपन्यासकार थापाले यस प्रकारको सर्वकालीन विषयलाई  मौलिक शैलीमा प्रस्तुत गरेका छन् ।

उपन्यासकार थापाको औपन्यासिक यात्रा नेपाली उपन्यास परम्पराको आलोचनात्मक यथार्थवाद र आदर्शवादी यथार्थवादको पूर्व निर्मित मार्गमा यात्रा गरेको भए पनि मौलिक लेखन शैली र नवीन विषयका कारण आफ्नै विशिष्ट पथ निर्माण गरी गतिशील छ । उपन्यासकारको वास्तविक जीवनको आरोह अवरोहसँगै यात्रारत उनको औपन्यासिक यात्रामा नेपाली उपन्यासले उनकै मौलिक शैलीमा नवीन विषयको अपेक्षा गर्दछ ।