कृष्ण धराबासी (२०१७) नेपाली उपन्यास परम्पराका अमूल्य निधि हुन् । लीलालेखनको चिन्तन र नवीन प्रयोगमा रुचि राख्ने धराबासीका शरणार्थी (२०५६), आधाबाटो (२०५९), राधा (२०६२), तपाईँ (२०६३) र टुँडाल (२०६५), पाण्डुलिपि (२०६९), गेस्टापो (२०६९) र तल्लो बाटो (२०७४) उपन्यासहरू प्रकाशित छन् । पूर्वकृतिका पात्रहरुको पुनर्लेखन गरी शरणार्थी उपन्यासमार्फत औपन्यासिक यात्रा आरम्भ गरेका धराबासीको औपन्यासिक यात्रा आधाबाटोले निर्माण गरेको आत्माख्यानको नवीन मार्ग र पुनर्लेखनको पथमा नै सफल देखिन्छ । यस मार्गलाई छाडेर फरक फरक पथ पहिल्याउने प्रयास गरिए पनि तपाईं, टुँडालतल्लो बाटोले धराबासीको औपन्यासिक यात्रालाई अग्रगति प्रदान गर्न सकेको छैन ।

जीवन जीवन्त

शरणार्थीअघि पूर्वकृतिका पात्रहरुलाई पुनर्लेखन गरी अर्को उपन्यास सिर्जना गर्ने परम्परा नेपालीमा पाइँदैन । यसप्रकारको शैली पूर्वीय पौराणिक ग्रन्थहरुमा पाइन्छ । पुराण लेखनको पद्धतिमा लीलालेखनको चिन्तनलाई अभिव्यक्त गरेर उपन्यासकार धराबासीले आफ्नो पहिलो प्रवेश (डेब्यु) मा नै एउटा गतिलो सम्भावना प्रस्तुत गरेको छ । यसले एकातिर इन्द्रबहादुर राईले स्थापना गरेको लीलालेखनको चिन्तनलाई उपन्यासको धरातलमा सफल अवतरण गरेको छ भने अर्कोतिर नेपाली उपन्यास परम्परामा पुनर्लेखनको नवीन पद्धति निर्माण गरेको छ । यसमा पूर्वप्रकाशित बसाइँ, मुग्लान, भ्रमर, मुलुकबाहिरलगायतका चौध वटा कृतिका विभिन्न पात्रहरुलाई उही सन्दर्भमा फरक ढङ्गले पुनर्लेखन गरिएको छ । काम र मामको खोजी देश छाडेर जहाँ पुगे पनि नेपालीहरुले आफ्नो भाषा, संस्कृति र परम्परा जोगाएका छन् । त्यसैका निम्ति उनीहरु जन्मिएको विदेशी भूमि मातृभूमि बन्न सकेको छैन र मातृभूमिको खोजीमा आएका नागरिकहरु आफ्नै मुलुकमा शरणार्थी बनेर बस्नुपरिरहेको विडम्बनालाई यस उपन्यास प्रस्तुत गरिएको छ ।

इमान्दारिता सफल लेखनको एउटा सूत्र हो । आफ्ना जीवनका तितामिठा अनुभव तथा आरोहअवरोहलाई इमान्दारपूर्वक पस्कन सक्नु लेखनका निम्ति चुनौतिपूर्ण कार्य हो । उपन्यासकार धराबासीले यस चुनौतिलाई सफलतापूर्वक सामाना गरेका छन् । उनले आफ्ना जीवनका दर्दनाक र कुरुप यथार्थहरुलाई पनि इमान्दारपूर्वक लेखेका छन् । उनको चर्चा र सफलताको एउटा सूत्र यसै इमान्दार लेखनमा रहेको छ । आधाबाटो र पाण्डुलिपि धराबासीको यथार्थ जीवनको दस्तावेज हो । यसको मुख्य पात्र उपन्यासकार धराबासी हुन् भने यसका घटनाहरु उपन्यासकारको जीवनका यथार्थ हुन् । यसमा सबै पात्र र स्थानहरु पनि यथार्थ नै रहेका छन् । उपन्यासकार स्वयम् र भूमिकाकार विजय सुब्बाले जीवनलाई उपन्यासको संज्ञा दिँदै एउटा जीवनको आरोह अवरोह र त्यससँग सम्बिन्धत यावत् परिवेश समेटिएको कृति भएकाले यसलाई उपन्यासको संज्ञा दिएका छन् । यसै मान्यताका आधार पाण्डुलिपिलाई पनि उपन्यास विधामा राखिएको छ तर यी कृतिहरु आत्मजीवनी हुन् ।

लेखकको व्यक्ति जीवनलाई नै आख्यानका रुपमा प्रस्तुत गर्ने परम्परा नेपाली साहित्यमा धु्रवचन्द्र गौतमले आरम्भ गरेका छन् । उनले काल्पनिक पात्रको सिर्जना गरी आफ्नो जीवनको यथार्थ चित्रण गरेका छन् । उपन्यासकार धराबासीले उनका आत्मपरक कृतिहरुमा ‘म’ पात्रकै माध्यमबाट जीवनका यथार्थ प्रस्तुत गरेका छन् । यसले प्राप्त गरेको औपन्यसिक मूल्यको लेखाजोखा जुनसुकै किसिमले गर्न सकिने भए तापनि ‘म’ पात्रको प्रयोगले यसका घटनाहरुलाई लेखनको जीवन यथार्थसँग एकदम नजिक उभ्याएको छ ।

उपन्यासकार धराबासीको जीवनका निम्ति महत्त्वपूर्ण दुई पात्र– आमा र श्रीमतीको अन्त्यसँगै उनका आधाबाटोपाण्डुलिपिको पनि क्रमशः अन्त्य भएको छ । निश्चित पात्र र समयको एकान्वितिमा आएका घटनाहरुको दस्तावेजलाई स्वीकार गरेर उपन्यासको कोटीमा उभ्याउँदा यी कृतिहरु इमान्दार लेखनका निम्ति नमुना बन्न सक्ने देखिन्छन् ।

उपन्यासकार कृष्ण धराबासीमा उत्तरआधुनिकतावादप्रतिको झुकाव शरणार्थी उपन्यासदेखि नै रहेको छ । विनिर्माण र विधामिश्रणलाई उनले प्रारम्भिक उपन्यासहरुमा सफल रुपमा प्रयोग गरेका छन् । यस्तै प्रकारको प्रयोगको उत्कर्ष तपाईं उपन्यासमा पाइन्छ । द्वितीय पुरुष दृष्टिविन्दुको समाख्यानात्मक शैलीमा लेखिएको यस उपन्यासमा बहुनायकत्वको खोजी गर्ने प्रयास पनि गरिएको छ । आख्यानभित्र आख्यानकै विषय रहेको, लेखक, पाठक र समीक्षकजस्ता वास्तविक जीवनका यथार्थ पक्षहरुलाई आख्यानको काल्पनिक संसारमा समावेश गरिएकाले यसले परम्परागत आख्यानको सीमालाई नाघेर अधिआख्यानको दायरामा प्रवेश गरेको छ । यस उपन्यासले प्रयोगको नाममा परम्परागत धारणालाई मात्र भत्काएको छैन आफ्नै आख्यान संरचनाको गतिशीलतालाई पनि अवरोध पु¥याएको छ । प्रयोगको अतिशय बोझले उपन्यासको मूल्यलाई गौण बनाएको हुँदा यो उनको नवीन प्रयोगको चरमोत्कर्षका साथै औपन्यासिक यात्राको अपकर्ष पनि हो ।

कृष्ण धराबासी

राधा लीलालेखन र उत्तरआधुनिकतावादी विनिर्माण तथा पुनर्लेखनको सफल प्रयोग गरिएको उपन्यास हो । यसमा भगवान् कृष्णप्रतिको पौराणिक धारणालाई विनिर्माण गर्न राधामार्फत कृष्णको कथालाई पुनर्लेखन गरिएको छ । परम्पराले ईश्वरीय शक्ति प्रदान गरेको कृष्णलाई स्वाभाविक मानवीय गुण प्रदान गरी उनका चामत्कारिक कार्यहरुलाई यसमा वर्तमान समयसापेक्ष पुनर्लेखन गरिएको छ । उपन्यासकारकै भाषामा यस उपन्यासमा पौराणिक युगलाई वर्तमान समयको चेतना भरेर नयाँ बनाउन खोज्दा पुराणका देवताहरु यसमा साधारण मानिस भएका छन् । उनले यसमा पनि शरणार्थी उपन्यासमा जस्तै परम्परामा सीमान्त पात्रको कथालाई पुनर्लेखन गरेको उल्लेख गरेका छन् । शरणार्थी उपन्यासमा पूर्व कृतिका काल्पनिक पात्रलाई पुनर्लेखन गरी जीवन्त बनाइएको छ भने यसमा परम्परामा बाँचेका पात्रहरुलाई काल्पनिक बनाइएको छ । समाजमा पौराणिक कालदेखि स्थापित परम्परागत मान्यतालाई भत्काएर आधुनिक समयसापेक्ष पुनर्लेखन गर्नु लेखकीय हिम्मत र औपन्यासिक शक्ति दुवै हो । यसैको मूल्य स्वरुप प्रस्तुत उपन्यासले मदन पुरस्कार पनि प्राप्त गरेको थियो ।

टुँडाल उपन्यासमा भक्तपुरको सांस्कृतिक परिवेशमा अङ्कित यौनबिम्बलाई विषय बनाइएको छ । संस्कृतिले सम्पन्न हाम्रो मुलुकमा वस्तुगत अध्ययन अनुसन्धानको अभावमा तिनका इतिहास हराउँदै गएको छ । सांस्कृतिक अध्ययनको अभावमा तिनका सामाजिक पक्षहरुको पनि अध्ययन हुन सकेका छैनन् । यस प्रकारको अनुसन्धानमूलक विषयलाई उपन्यासमार्फत उठान गर्ने प्रयास गर्नु यस उपन्यासको शक्ति हो । तर यसमा उपन्यासकार धराबासीको मौलिक पहिचान प्रकट भएको छैन । विनिर्माण र पुनर्लेखनमार्फत नेपाली उपन्यास परम्परामा छुट्टै पहिचान बनाएका धराबासीको मौलिकता यस उपन्यासमा पाउन सकिँदैन ।

तपाईंटुँडाल उपन्यासमा हराएको उपन्यासकार धराबासीको मौलिकता गेस्टापो उपन्यासमा नवीन विषयसहित पुनोर्दय भएको छ । जर्मनीको ऐतिहासिक परिवेशमा सिर्जना गरिएकोे यस उपन्यासमा दोस्रो विश्वयुद्धका खलनायकका रुपमा चित्रित हिटलरप्रतिको नवीन दृष्टि प्रस्तुत गरिएको छ । इतिहासले हिटलरलाई नकारात्मक चरित्रका रुपमा व्याख्या गरेको सन्दर्भमा तत्कालीन समयको वस्तुगत विश्लेषणमा नवीन धारणा निर्माण गरिएको छ । यसमा हिटलरलाई इतिहासको खलनायक नभई तत्कालीन राजनीतिक–सामाजिक सन्दर्भले जन्माएको नायक रुपमा चित्रण गरिएको छ । विजेताहरुद्वारा निर्मित इतिहासले अन्याय गरेका चरित्रहरुप्रति वस्तुगत विश्लेषणका आधारमा नवीन धारणा निर्माण गर्ने सन्दर्भमा यस उपन्यासले पुनर्लेखनको पद्धतिलाई सफल रुपमा उपयोग गरेको छ । तर यसले पर्याप्त चर्चाको अभावमा उचित मूल्य प्राप्त गर्न सकेको छैन ।
राधा उपन्यासमा पुराणको परम्परालाई विनिर्माण गरिएको थियो भने गेस्टापो उपन्यासमा इतिहासलाई पुनर्लेखन गरिएको छ । विश्व इतिहासको पुनर्लेखन गरेर फराकिलो दृष्टि बनाउन सफल उपन्यासकार धराबासीबाट नेपाली इतिहासका यावत् रहस्य र सीमान्त पात्रहरुको पुनर्लेखनका माध्यमबाट नवीन इतिहास निर्माणको ढोका खोल्ने सम्भावना आशा गर्न सकिन्छ । नेपाल राष्ट्रको लामो ऐतिहासिक परम्परालाई परिवर्तित वर्तमान सामयिक दृष्टिबाट हेर्ने औपन्यासिक दर्पण उपन्यासकार धराबासी जस्ता लेखककै कलमबाट निर्माण हुन सक्छ तर उपन्यासकारको अमेरिका यात्राले तल्लो बाटो जस्तो फरक धारको उपन्यास जन्माएको छ ।

तल्लो बाटो भौतिक सुखको सपना सजाएर अमेरिका जान गैरकानुनी बाटो अवलम्बन गर्ने नेपालीहरुको यथार्थ चित्र हो । शरणार्थी उपन्यासमा विदेशी माटोको मोहलाई त्यागेर आफ्नो मुलुक फर्किएका पात्रहरुको कथा लेख्ने उपन्यासकारले पछिल्लो उपन्यासमा पुनः विदेशप्रतिको मोहलाई विषय बनाएका छन् । यद्यपि दुवैमा राष्ट्र र राष्ट्रियताको गरिमालाई उच्च स्थानमा राखिएको छ । उत्तरआधुनिकतावादी विनिर्माणवादी पद्धतिमा पहिचान बनाएका उपन्यासकार धराबासीलाई यस प्रकारको परम्परागत यथार्थवादी लेखनले अर्को सफल पहिचान प्रदान गर्न सकेको देखिँदैन ।
नेपाली उपन्यास परम्परामा पचासको दशकपछि उत्तरआधुनिकतावादी लेखनको प्रभाव धेरै पाइन्छ । उपन्यास लेखनमा यसको सफल प्रयोग गरी उत्तरआधुनिकतवादी नेपाली उपन्यासलाई उचाइ प्रदान गर्ने कार्यमा उपन्यासकार धराबासीको योगदान महत्त्वपूर्ण रहेको छ । उनको लेखनले लीलालेखनको अन्तर्यभित्र व्यापक रुपमा उत्तरआधुनिकतावादी प्रवृत्तिलाई अङ्गालेको छ । उनका उपन्यासमा विधाभञ्जन, विधामिश्रण, बहुनायकत्वको खोजी, द्वितीय पुरुष दृष्टिविन्दुको प्रयोग, अधिआख्यानात्मकता आदि विविध नवीन प्रवृत्तिहरुको प्रयोग पाइए तापनि पुनर्लेखनले नै उनको सफल औपन्यासिक प्रवृत्ति हो । यसै पुनर्लेखनमार्फत नेपाली उपन्यासलाई थप उचाइ प्रदान गर्नमा उपन्यासकारको आगामी कदम अपेक्षा गर्न सकिन्छ ।