उज्यालो औँशी मध्यम आयामको औपन्यासिक कृति हो । उपन्यास लेखनको पहिलो प्रयास भए पनि उपन्यासकारको लेखनकला उत्साहजनक रहेको छ । उपन्यासकारमा उपन्यास सिर्जनात्मक सामर्थ्य देखिएको छ ।
===
१. विषयारम्भ
अनिता कोइराला नेपाली साहित्यको उत्तरवर्ती चरणमा देखापरेकी स्रष्टा हुन् । २०७० को दशकमा फुटकर लेखरचनामार्फत साहित्यमा प्रवेश गरी कविता, कथा, निबन्ध, नियात्रा, समालोचनाका क्षेत्रमा आफूलाई क्रियाशील गराउँदै आएकी कोइरालाको ‘डिग्रीवाली गृहिणी’ पहिलो लेख २०७८ मा सेतोपाटीमा प्रकाशन भएसँगै साहित्यका क्षेत्रमा देखापरेकी स्रष्टा हुन् । उनका थुप्रै फुटकर लेखरचना विभिन्न पत्रपत्रिकामा प्रकाशन भएका छन् । यिनका फुटकर कथा, निबन्ध र नियात्रामा समाजको यथार्थ चित्रण गर्नुका साथै संस्कृति, मनोविज्ञान र स्वैरकल्पनाको प्रयोगलाई महत्त्व दिइएको पाइन्छ । यसका अतिरिक्त द्वन्द्वकालीन परिवेश, सामाजिक, राजनीतिक घटनाक्रम, आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गरिएको छ । प्रकृति, प्राकृतिक वातावरण, भूगोल, धर्म, तराईको परिवेश, ग्रामीण एवं सहरिया परिवेश, नारीका आँशु, पीडा, वेदना, दुःख, एकाकीपन, सङ्घर्ष, हत्या, हिंसा, राजनैतिक निरीहता, सामन्तवादी सोच, क्रूरता, अमानवीय क्रियाकलाप, स्वैरकल्पना र यथार्थको सम्मीश्रणका साथ प्रस्तुत गर्न सक्नु उपन्यासकार कोइरालाको विशेषता हो । उज्यालो औँशी उपन्यास लिएर नेपाली साहित्यमा प्रथमपटक आफूलाई उभ्यान सफल स्रष्टाका उपन्यासमा द्वन्द्वमय परिवेश र भोग्नुपर्ने बाध्यता, विवशता, असुरक्षा, गरीबी र नेपालीहरूले भोग्नुपरेका नियतिलाई चित्रण गरिएको छ ।
२. उज्यालो औँशी उपन्यासको कथानक
उज्यालो औँशी उपन्यासकार कोइरालाको पहिलो सिर्जनात्मक कृति हो । यसपूर्व छिटपुट रूपमा सिर्जना र समीक्षा प्रकाशन भए पनि यो उनको पहिलो औपन्यासिक कृतिमा माओवादीको सशस्त्र द्वन्द्वलाई मुख्य विषय बनाइएको छ । यस उपन्यासमा पञ्चायतकालदेखि गणतन्त्र आउनुपूर्वको द्वन्द्वकालीन परिवेश र घटनाको प्रस्तुतिमा उपन्यासको आकार दिने प्रयास गरेकी छन् । यस उपन्यासमा म पात्र जन्मनुअघि नै सामन्ती सत्ताको नाममा सरकारका विरुद्धमा थालिएको सशस्त्र द्वन्द्वका नाममा पिताको हत्या गरेर गर्भेटुहुरी हुनुपरेको भ्रूणको प्रसङ्गबाट उपन्यासको घटनाक्रम अघि बढेको छ । आफू नजन्मिँदै पिताको हत्या भएको जन्मेपछि समाजले हेर्ने आँखालाई भ्रूणावस्थामा अनुभूति गर्न पुगेको यथार्थ समाजको वास्तविकता र स्वैरकल्पनाको प्रयोग यहाँ भएको छ । यस उपन्यासमा म पात्रले जीवनमा भोग्नुपरेका उतारचढाव, सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । विगतका दुःख पीडाबाट पाठ सिक्दै म पात्रले आफूलाई अँध्यारोबाट उज्यालोतर्फ अग्रसर गराएको घटना र यी घटनालाई सहायक घटनाले उपन्यासलाई टुङ्ग्याइएको छ ।

उज्यालो औंसी
३. उज्यालो औँशी कृतिको सैद्धान्तिक विमर्श
उपन्यास आख्यानकै एउटा भेद हो । विधागत रूपमा उपन्यासको आफ्नै इतिहास, मूल्य र विधागत वैष्ट्यि छ (बराल, २०७६, पृ. ४५५) । यहाँ आफ्नो छुट्टै इतिहास र विशोता भएको विधा नै उपन्यास हो भनी पुष्टि गरिएको छ । यसलाई आख्यान, आख्यायिका, नोबेल आदि विविध नामले चिनिएको छ । पाश्चात्य साहित्यको उपज उपन्यास गद्य विधा हो । ड्यानिअल डिफोले उपन्यास भनी नामकरण गरेको पाइन्छ । ई. एम. फोस्टरले – “आजको जटिल एवं सङ्कटग्रस्त सामाजिक, धार्मिक, राजनीतिक, आर्थिक आदि संस्कारद्वारा पीडित मानवजातिको एउटा प्रतिनिधिमूलक अभिव्यक्ति नै उपन्यास हो (लुइटेल, २०६९, पृ. ४) ।” भनी उपन्याससम्बन्धी दृष्टिकोण प्रस्तुत गरेका छन् । यसैक्रममा अर्का चिन्तक राल्फ फक्सले – “उपन्यास कोरा कथात्मक गद्यलेखन होइन, यो त मानवजीवनको गद्य हो । उपन्यसकला नै पहिलो कला हो, जसले मानवको सम्पूर्ण जीवनलाई अभिव्यक्त गर्छ ।” भनी परिभाषा दिएका छन् । नेपाली साहित्यको सन्दर्भमा कुरा गर्ने हो भने “उपन्यास मानवजीवनकै सम्पूर्णताको अभिव्यक्ति हो (बराल र एटम, २०५६, पृ. ७) ” भनी कृष्णचन्द्रसिंह प्रधानले उपन्यासलाई चिनाएका छन् । इन्द्रबहादुर राईले – “यथार्थसँग परिचयन, सत्यको सन्धान, मूल्यको संरक्षण, जीवनकै वैविध्यमाथि एकरूपता प्रदान, जीवनशिक्षण, व्यक्तित्वको पुनरन्वेषण र मानवताको प्राप्ति उपन्यासका दायित्व हुन् (बराल र एटम, २०५६, पृ. ७) ।” भनी उपन्यासको परिभाषा दिएका छन् । माथि प्रस्तुत केही विद्वान्का परिभाषाबाट उपन्यास यथार्थ र विस्तृत ढङ्गबाट जीवनका महत्त्वपूर्ण क्षणको व्याख्या, विश्लेषण गर्ने आख्यानात्मक महाकाव्य हो भन्न सकिएको छ । उपन्यास लामो र विस्तृत, जीवन र जगत्का महत्त्वपूर्ण क्षणको चित्रण गरिएको घटना र जीवनका सूक्ष्म तत्त्वहरूको संयोजनमा नै उपन्यासको सम्पूर्ण स्वरूप अडेको र स्रष्टाको अनुभूतिको अजस्र स्रोतका कथ्यको प्रस्तुतिकरण रहेको हुन्छ । यसमा विविध सहायक घटना, विभिन्न पात्र, परिवेशको प्रस्तुति र मानवीय जिजीविषाको खोजी गरिएको हुन्छ । यति हुँदाहुँदै पनि वर्तमान समयका उपन्यसमा पाश्चात्य सैद्धान्तिक परम्परामा देखिएका विधाभञ्जन, विधामिश्रण, अउपन्यास, अधिउपन्यास तथा नयाँ उपन्यासले पुरानालाई स्थापित मान्यतालाई छाडेको देखिन्छ । यहाँ यिनै उपन्यासका मूल्यमान्यताका आधारमा उज्यालो औँशी उपन्यासको गवेषण गरिएको छ ।
कथाकलाका दृष्टिले उज्यालो औँशी उपन्यास सशक्त नै देखिएको छ । सैद्धान्तिक दृष्टिले हेर्दा यहाँ शीर्षक नै प्रतीकात्मक र दोहोरो अर्थ ग्रहण गरेको देखिन्छ । उपन्यासलाई गद्याख्यान भनिएको हुँदा सोहीअनुरूप विभिन्न तत्त्वहरू कथानक, चरित्र, संवाद परिवेश, दृष्टिविन्दुको अपेक्षा गरिएको हुन्छ । उपन्यास प्रवृत्तिगत आधारमा आदर्शोन्मुख, यथार्थवादी, स्वच्छन्दतावादी, सामाजिक यथार्थवादी, ऐतिहासिक यथार्थवादी, अतियथार्थवादी, आलोचनात्मक यथार्थ, नारीवादी, मनोवैज्ञानिक, विसङ्गतिवादी, अस्तित्ववादी, प्रयोगवादी, मिथकीय र स्वैरकाल्पनिक आदि विभन्न आधारमा वर्गीकरण गरिएको हुन्छ । नेपाली उपन्यासपरम्परालाई हेर्ने हो भने १८२७ तिरको शक्तिवल्लभ अर्ज्यालले अनुवाद गरेको महाभारत विराटपर्वलाई यसको प्रस्थानविन्दु मानिएको छ । यसै परम्परामा विकसित नेपाली उपन्यासले वर्तमानमा धेरै उतारचढाव पार गर्दै अघि बढेको देखिन्छ । यसमा विषयगत विविधता, लेखकीय छनोटको स्वतन्त्रता रहनेहुँदा सोहीअनुरूप व्याख्या गरिएको पाइन्छ ।
कथानक उपन्यासमा घट्ने घटनाहरूको योजनाबद्ध प्रस्तुति रहनेहुँदा यी कार्यकारण शृङ्खलामा रहेका हुन्छन् । यसमा चरित्र, विचार, बुद्धि र कल्पनाजस्ता कुराहरू समावेश गरिएको हुन्छ । कथानकले नै उपन्यासको मूल ढाँचा निर्माण गर्ने प्राथमिक तत्त्व भएकाले उपन्यास निर्माण गर्ने आधार यसमा नै निहीत रहेको हुन्छ । कथानक निर्माणमा हरेक घटना वा कार्यलाई नियमित या रहस्यपूर्ण ढङ्गमा सङ्गठित गरी त्यसलाई जीवन्त तुल्याउने तथा ती घटनाहरूलाई नयाँ सूत्रद्वारा व्यवस्थापन गर्ने काम उपन्यासकारले उपन्यासमा गरेको हुन्छ । प्रस्तुत उपन्यासमा स्वैरकल्पना, मनोविज्ञान र यथार्थ तीनवटैको मिश्रण रहेको छ ।
३.२ संरचनात्मक आयाम
अनिता कोइरालाद्वारा लिखित उज्यालो औँशी उपन्यासमा मूल शीर्षकभित्र उप–उपशीर्षक रहेका छन् । मझौला आकारको यस उपन्यास जम्मा १८४ पृष्ठमा आबद्ध रहेको छ । यहाँ उपन्यासकारले कृति रचनाको सन्दर्भलाई रचनागर्भअन्तर्गत पुष्टि गर्ने काम गरेकी छन् । यस औपन्यासिक कृतिभित्र भ्रूणको क्रन्दन, युगको शङ्खघोष, बुबा ! आमालाई हाँस्न भन्नू ल, भ्रान्तिको कोलाज, मृत्युसँग साक्षात्कार, सम्भ्रमको सुरुङ, म पनि सामन्ती हुन्छु, अँध्यारो घाम, राकेँ भूतका पाइला, मसानको ढ्याङ्ग्रो, बुवाको मार्गमा आमा, चिनेको चिनो, दृष्टिभ्रम, आकाङ्क्षाको दीप, कालो हेलमेटको प्रेमपत्र, उज्यालो पोखिएको दोभान, महात्मा अन्तरसंवाद, शान्तिको सन्देश, उज्यालो औँशी, वर्षौँपछि उघ्रिएको घाम गरी २० ओटा उपशीर्षक दिएर घटनाको विवरण प्रस्तुत गरिएको छ । यी शीर्षकको वितरणमा समानता देखिएको छैन । कुनै २–३ पृष्ठका छोटा छन् भने कुनै १२–१३ पृष्ठसम्मका लामो रहेका छन् ।
३.३ उपन्यासगत प्रवृत्ति वा उद्देश्य
उपन्यासलेखनमा कुनै न कुनै स्रोतबाट कथानक लिएर लेखिएको हुन्छ । यसलाई उपन्यासकारले अन्तर्मिश्रण गरी कलात्मक चेतनाले मात्र कथानकको सिर्जना गरेको हुन्छ । यसै आधारमा उपन्यासकारले इतिहास, समाज, धर्म, दर्शन, यथार्थ, मिथक, रागात्मक सौन्दर्य र स्वैरकल्पनामध्ये आवश्यकताअनुसार विषय ग्रहण गरेको हुन्छ । यस आधारमा उन्यालो औँशी उपन्यासमा द्वन्द्वको यथार्थलाई मनोविज्ञान र स्वैरकल्पनाको माध्यमबाट घटना, पात्र, परिवेशको प्रयोग गरेको पाइन्छ । यहाँ व्यङ्ग्यात्मक रूपले यथार्थको उद्घाटन गरिएको छ ।
प्रस्तुत उपन्यासमा हाम्रै वरिपरिका पात्र र तिनले भोगेका अनेकौँ उत्पीडन, समस्या र सङ्घर्षलाई प्रस्तुत गरिएको छ । उपन्यासले विभिन्न घटना, रूप र विम्बलाई प्रस्तुत गर्न फरक किसिमका पात्र र तिनले फरक विचार सम्प्रेषण गरेको छ । उपन्यासको कथानकलाई गति दिने महत्त्वपूर्ण काम पात्रले गरेका छन् । यस उपन्यासमा पात्रले भोगेका विविध पक्षलाई देखाइएको छ । यस उपन्यासमा पितृसत्तात्मक सोचका कारण नारीले भोग्नुपरेका पीडालाई देखाइएको छ ।
उपन्यासको अर्को प्रवृत्ति स्वैरकल्पनाको प्रस्तुति पनि हो । यस कृतिमा भ्रूणका माध्यमबाट विगतमा आफ्नो जीवनमा घटेका घटनाको प्रस्तुति पूर्वदीप्ति शैलीमा कल्पनाको माध्यमबाट प्रस्तुत गरिएको छ । यहाँ द्वन्द्व र त्यसले निम्त्याएका विविध समस्याका कारण म पात्रकी आमाले भोग्नुपरेका र स्वयं म पात्रले भोग्नुपरेका अनेक लाञ्छना र दोषलाई स्वैकल्पनाका माध्यमबाट प्रस्तुत गरिएको छ । द्वन्द्वकालीन घटना र परिवेशको यथार्थ प्रस्तुति पनि उपन्यासको महत्त्वपूर्ण प्रवृत्ति रहेको छ । यहाँ पात्रले विविध अफ्ठ्याराका बाबजुद गरेका थुप्रै सङ्घर्षलाई देखाइएको छ । यस उपन्यासमा दसवर्षे सशस्त्र विद्रोहका कारण आम जनताले भोग्नुपरेका दुःखकष्ट, पीडा, वेदना, बाध्यता र विवशतालाई देखाउँदै निरीह राज्यप्रणालीप्रति व्यङ्ग्य र आक्रोशका भाव प्रकट गरिएको छ । द्वन्द्वका नाममा पिताको हत्या गरिनु, गर्भेटुहुरी बन्नु, पितृस्नेहबाट वञ्चित हुनु, विधवा बन्न पुगेका नेपाली नारीका जीवनभोगाइको प्रतिनिधि उपन्यास बनेर यो उपन्यास आएको छ । यसमा द्वन्द्वका कारण अभिभावक गुमाउनुपर्दाको पीडा, नारीका दुःख, सङ्घर्ष बलिदान र त्यागलाई संयोजन गरिएको छ । यो पक्ष उपन्यासमा सबल रहेको छ ।
मानवतावाद उपन्यासको अर्को प्रवृत्ति हो । मानवताको वकालत गर्दै उपन्यासकार कोइरालाले प्रस्तुत उपन्यासमा मानवका अमानवीय क्रियाकलापप्रति असन्तुष्टि प्रकट गरेकी छन् । मानवले मानवलाई मानवताको आँखाले हेर्न नसकेको र पशुलाई झैँ क्रूर तरिकाले षड्यन्त्रपूर्वक हत्या गरिएका कारण जीवन जिउने आधारस्तम्भ ढलेको कुरालाई प्रस्तुत गरिएको छ । हिंसाबाट कुनै पनि कुराको समाधान नहुनेहुँदा शान्तिका पक्षमा कोइरालाले सशक्त आवाज उठाएकी छन् ।
प्रस्तुत उपन्यासमा पूर्वीय वैदिक दर्शनका सृष्टि, आत्मा, परमात्मा, बन्धन र मोक्ष, भ्रम, र ब्रह्मचिन्तनका विषयको प्रस्तुति अर्को प्रवृत्ति हो । आत्मालाई नचिन्नु बन्धन हो, भ्रम वा माया बन्धन हो, एकमात्र सत्य ब्रह्म हो भन्ने पूर्वीय वैदिक दर्शनका यी मान्यता उपन्यासमा व्यक्त भएका छन् । यीबाट छुट्कारा पाउन नसकेको उपन्यासकारका चिन्तन यहाँ प्रकट भएका छन् । यसैगरी उपन्यासमा मातृस्नेहकै कारण आफ्नो जीवनमा महत्त्वपूर्ण कार्य गर्न सक्षम रहेको, हौसला र प्रेरणा प्राप्त गरेको प्रसङ्ग आएका छन् । यहाँ प्रकृति, संस्कृतिलाई पनि विम्बका रूपमा लिएर अँध्यारोका बीचमा उज्यालोको खोजी गर्न सकेको कोइरालाका जीवनदृष्टि मुखरित भएका छन् ।
३.४ कथानक ढाँचा
कथानक उपन्यासको आधारवस्तु हो । घटनाहरूलाई एकअर्कासित उनेर सम्बन्ध जोर्ने र सुसंगठितता प्रदान गर्नेकाम कथानकले गर्छ (प्रधान, २०५२, पृ. ७) । यहाँ घटनाहरूको संयोजन नै कथानक हो भनिएको छ । उज्यालो औँशी उपन्यासमा पूर्वदीप्ति शैलीमा वृत्तकारीय ढाँचामा कथानक घुमेको छ । पूर्वदीप्तिको प्रयोगले रोचकता र कुतूहलताको सम्मीश्रण गरेर उपन्यासलाई नै नवीन एवं मौलिक तुल्याएको छ । प्रस्तुत उपन्यासको घटना, म पात्र र उनका पिताको स्मरणमा नै घुमेको छ । यस उपन्यासमा उपन्यासकारका जीवन भोगाइका अनुभूति पिताकै सेरोफेरोमा प्रस्तुत भएका छन् । यहाँ स्वैरकल्पनाको प्रयोगले जीवनमा आइपरेका घटनाको स्मृतिले कथाको प्राण भरेको अनुभूति भएको छ । उपन्यासकारका वास्तविक जीवनका सङ्घर्ष, जीवनदर्शन र जीवनका भोगाइ र अनुभूति, संस्कार, अध्यात्म एवम् सत्सङ्गप्रतिका दृष्टिकोण प्रस्तुत भएको छ । सत्य र स्वैरकल्पनाको पृष्ठभूमिमा राजनैतिक प्रतिशोधका कारण म पात्रले भोग्नुपरेका पीडा अनि द्वेष, असहिष्णु परिस्थिति र द्वन्द्वको भयग्रस्त वातावरणका बीच सर्वसाधारणले भोग्नुपरेका पीडा एवं सन्त्रासको अवस्थालाई आख्यानीकरण गरिएको छ । यहाँ आमाको गर्भमा छँदै भ्रूणले भोग्नुपरेका पीडा, रोदन, क्रन्दनले पाठकको मन मस्तिष्क र हृदयलाई सोच्न बाध्य बनाएको छ । उपन्यासमा सशस्त्र विद्रोही समूहले राज्यविरूद्ध चालेका कदमको प्रतिशोध गाउँको भलाई र उन्नति चाहने व्यक्ति पर्ने गरेको र निहत्था सोझासाझा र इमानदार जनता पर्ने गरेको कुरालाई रघुका माध्यमबाट प्रस्तुत गरिएको छ । यहाँ रघुजस्ता इमानदार, दयालु र कतव्र्यनिष्ठ व्यक्तिको हत्याको योजना बनाइ मार्न विद्रोही पक्ष सफल भएको छ । एउटा भ्रूणले आफ्नै आँखा अगाडि बावुको हत्या हुँदा डर, त्रास र भयले विक्षिप्त बनेको र उसका रोदन क्रन्दनलाई उपन्यासमा देखाइएको छ । यस उपन्यासमा समाख्याताले भोग्नुपरेका दुःख, अभाव, अशान्ति र अँध्यारोका बीच साहसी पात्रको कथा, व्यथा नै मुख्य विषयमा केन्द्रित रहेको छ । यसरी हेर्दा यो उपन्यासको कथानक सत्यजस्तो पनि लाग्छ अनि स्वैरकल्पनाजस्तो रहेको देखिन्छ । यस उपन्यासमा स्वैरकल्पनाले कथालाई गहन र सशक्त बनाएको छ ।
३.५ उपन्यासको यथार्थ धरातल र परिवेशगत योजना
घटना र चरित्रको पृष्ठभूमि निर्माण गर्न देशकाल र वातावरणको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । पात्रको कार्यव्यापार निर्माणमा परिवेशले गहन जिम्मेवारी निर्वाह गर्दछ (सुवेदी, २०५३, पृ. ) । उपन्यासमा घटनाको कार्यव्यापार स्थान र समय नै देशकाल र परिवेशका रूपमा आएका हुन्छन् भनी यहाँ पुष्टि गरिएको छ । उपन्यासमा कार्यव्यापारले पाठकमा छोडेका प्रभाव नै वातावरण हो । यसमा भूगोल, प्रकृति, काल, पात्रको सामाजिक पृष्ठभूमि, रीतिस्थिति र रहनसहनको समष्टि प्रस्तुति रहेको हुन्छ । बाह्य र आन्तरिक संसार पनि उपन्यासमा आञ्चलिकतातर्फ उन्मुख गराउन अग्रसर भएका हुन्छन् । वातावरण देशकालभन्दा सूक्ष्म हुनेहुँदा पात्रहरूसँग यसको सोझो सम्बन्ध रहेको हुन्छ ।
उज्यालो औँशी उपन्यासको प्रारम्भ नै आमाको गर्भमा रशेको भ्रूणको प्रसङ्ग र त्रिकालदर्शी थिएँ भन्नुले पनि परिवेशको प्रभावकारिता र विश्वसनीयतालाई पुष्टि गर्नाका साथै घटना, पात्र र परिवेशको एकाकार पुष्टि गरेको छ । यस उपन्यासमा कालगत परिवेशका रूपमा राणाकालीन एवं पञ्चायतकालीन सन्दर्भदेखि सशस्त्र द्वन्द्वकालीन परिवेश, त्रिकाल भन्नाले भूत, वर्तमान र भविष्य गरी अनन्तकालीन परिवेश कालगत वा समयगत परिवेशका रूपमा आएका छन् । यस उपन्यासको घटना वर्णन गर्नेक्रममा भौगोलिक र स्थानिक परिवेशका रूपमा विराटनगर, भिमान, जनकपुर, मुस्ताङ र काठमाडौँका विभिन्न स्थान आएका छन् ।
“जनयुद्ध घोर्ले स्याल भएर हाम्रो सुन्दर समयमाथि दाइँ गर्दै थियो । ऊर्जावान् समयमा सृजनशील हुनुपर्ने हो । तथापि अवसादका भारीले किचिएकी थिएँ म । कमलाको स्वच्छ पानीमा रगतको छिटा मिसिएर पानी अपवित्र हुँदै थियो । थाहै नपाइ युवाको सिर्जनशीलता र जनयुद्धको बाढीले खुसुक्क बगाइसकेछ । युद्धले ताण्डव मच्चाउँदै थियो ।” (पृ. ११७)
प्रस्तुत उपन्यांशमा सशस्त्र द्वन्द्वकालीन परिवेशलाई देखाइएको छ । यहाँ द्वन्द्वका त्रासमा जीवन बाँच्नु परेकाले युवाको सिर्जनशीलता र दृढतालाई युद्धका आतङ्कका कारण अन्त्य भएको उपन्यासमा व्यक्त भएको छ । यस अंशमा आतङ्क मच्चाइरहेको सन्दर्भले पात्रले भोग्नुपरेका विवशता र बाध्यताको यथार्थ परिवेशलाई चित्रण गरिएको छ । पवित्र जललाई अपवित्र पारिरहेको सन्त्रासको परिवेश यहाँ प्रस्तुत भएको छ । यसैगरी उपन्यासमा धार्मिक–सांस्कृतिक एवं प्राकृतिक परिवेश पनि कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।
“निलो आकाशमा सेता बादलहरू मुस्कुराउँदै त्यो सालको दशैँ सबैका घरघरमा आइपुग्यो । कमेरोले पोतेका घरहरू मोतीझैँ टल्केका थिए । खेतमा पहेँलपुर धान पाकेर लहलह झुल्दा समस्त प्रकृति नाचेको आभास हुन्थ्यो । खुलेको आकाशमा रङ्गीविरङ्गी चङ्गाहरू नाचिरहेको देखेर मेरो भारी मन घरीघरी सिमलको भुवा हुन खोज्थ्यो ।” (पृ. ५४)
प्रस्तुत अंशमा नेपालीको मौलिक चाड दसैँमा गाउँघर सेतो कमेरो र रातो माटोले पोत्दा मोतीझैँ देखिएको सन्दर्भ सांस्कृतिक परिवेशका रूपमा आएको छ । यही अनुपम सौन्दर्य नै उपन्यासमा प्राकृतिक परिवेशका रूपमा प्रस्तुत भएको छ । पहेँलपुर धान, खुलेका आकाशका रङ्गीविरङ्गी चङ्गाको प्रसङ्ग प्राकृतिक, सांस्कृतिक परिवेश सशक्त रूपमा उपन्यासमा चित्रण गरिएको छ । यसरी उपन्यासकारको पहिलो औपन्यासिक कृति नै परिवेश चित्रणका दृष्टिले सशक्त रहेको छ ।
३.६ उपन्यासमा चरित्रगत योजना
उपन्यासको कथानकलाई अगाडि बढाउने मानव तथा मानवेतर पात्रलाई चरित्र भनिन्छ । पात्रको उपन्यासमा महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । चरित्रहरू कथावस्तुको समग्रतालाई गति र अन्वितिमार्फत निश्चित रूपमा फेर्ने माध्यमहरू हुन् (बराल, २०५६, पृ. ३३) । उपन्यासको चरित्र निर्मित भए पनि त्यसले सांसारिक जीवनको बाह्य एवं आन्तरिक प्रवृत्तिहरूको मूल स्वभावलाई ग्रहण गरेको हुन्छ । उपन्यासमा चरित्रलाई लिङ्ग, कार्य, प्रवृत्ति, स्वभाव, जीवनचेतना, आसन्नता, आबद्धताका आधारमा वर्गीकरण गरिएको हुन्छ । यसैगरी उपन्यासको पात्रलाई गतिशील र गतिहीन, यथार्थ र आदर्श, अन्तर्मुखी र बहिर्मुखी, गोला र च्याप्टा, सार्वभौम र आञ्चलिक पारम्परिक र मौलिकताका आधारमा वर्गीकरण गरिएको छ ।
उज्यालो औँशी उपन्यासमा पात्रयोजना त्यति कमजोर देखिएको छैन । यहाँ म पात्रका पिता रघु, रङ्गनाथ, काका, आमालगायत अरू धेरै बेनामी पात्र रहेका छन् । यहाँ रघु एउटा समाजसेवी पात्र हो तर यहाँ बेनामी पात्र सामन्ती र शोषकको नाम दिएर आफू पछाडि पर्ने डरले उसलाई मार्न उद्यत देखिएका छन् । हरेकका पीडा, दुःख र आँशुमा मलम लगाउने समाजसेवी रघुकै छत्रछायामा हुर्केका र रमाएका उसकै घरको अन्न खाएकाहरू नै उसका शत्रु बनेका छन् ।
“मलाई त गाईवस्तु भएर पो जन्म लिन मन लाग्यो । मान्छेभन्दा कति संवेदनशील ती जनावर । कुकुर कति बफादार । मान्छेसँग तुलना नै गर्न नसकिने । बुबालाई कत्रो विश्वास थियो आफ्नो समुदायको । कत्रो भरोसा र प्रेम थियो आफ्ना गाउँलेहरूमाथि । आफ्नै समाज, साथीभाइ कोसँग डराउनु ? सबै त आफ्ना थिए । दैवले पनि मान्छेभित्रको राक्षस चिन्न सक्ने इन्द्रिय किन नबनाएका होलान् । ईश्वरले मान्छेको मन हेर्न सक्ने दिव्य दृष्टि किन निर्माण नगरेका होलान् ?”… (पृ. २४–२५)
प्रस्तुत उपन्यांशमा मानवीय संवेदनालाई चित्रण गरिएको छ । यहाँ कुकुरलाई प्रतीकका रूपमा प्रस्तुत गरी पशुपंक्षीमा संवेदना, इमानदार र मानवतावादी चिन्तन रहे पनि मानिसभित्र लुकेका दानवीय चरित्रलाई देखाइएको छ । उपन्यासमा मानिसचाहिँ मानवहीन दानव बनेको, गाउँ समाजकै आफन्तभित्र लुकेका डरलाग्दा स्वरूपलाई पात्रका माध्यमबाट प्रस्तुत गर्न सक्नु उपन्यासकारको कुशलतालाई प्रष्ट्याएको छ । यस कृतिमा मान्छे नै ईश्वर हो, ईश्वर नै मानव हो र मान्छे नै दानव हो भन्ने भाव कोइरालाले पात्रकै माध्यमबाट उजागर गरेकी छन् । यस दृष्टिले चरित्रको प्रबलीकरणमा उपन्यास र उपन्यासकार सफल रहेको देखिन्छ ।
म पात्र अनु नै यस उपन्यासको प्रमुख स्त्री, गतिशील, वर्गीय र नायिकाका रूपमा देखापरेकी छ । उपन्यासको सेरोफेरो म पात्रकै वरिपरि घुमेको छ । म पात्रले भ्रूणावस्थदेखि नै समाज र राज्यको नीतिका कारण भोग्नुपरेका मानसिक समस्या र जीवनका उतारचढाव, राज्यप्रतिको कटाक्ष, विद्रोहीका अमानवीय क्रियाकलापलाई घुमाउरो पाराले प्रस्तुत गर्ने सकरात्मक पात्र हुन् । द्वन्द्वका कारण आफ्ना अभिभावक गुमाउनु पर्दा र त्यसका कारण भोग्नुपरेका थुप्रै जटिलतालाई डटेर सामना गर्ने निडर पात्रका रूपमा उपन्यासमा म पात्रको उपस्थिति रहेको छ । अँध्यारोका बीच पनि उज्यालो देख्नु र जीवनमा अर्को अध्याय प्रारम्भ गर्न सफल भएको प्रसङगलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।
“थाहा छ नानी नारी शरीरले मात्र नारी भएकी होइन । नारी हुनु भनेको विराट चेतना जागृत हुनु हो । जब पुरुषले नारीका गुण धारण गर्छ ऊ स्वाभाविक नारी बन्न पुग्छ । तर एउटी नारीमा पुरुषको गुण आयो भने ऊ समाप्त हुन्छ ।”… (पृ. १७२)
प्रस्तुत अंशमा नारीलाई सृष्टिसँग तुलना गरेर चित्रण गरिएको छ र यसक्रममा प्रकृति भनेको नारी हो त्यसैले प्रकृति र पुरुषका गुण वा विशेषता अलगअलग हुने बताइएको छ । यस उपन्यासका नारी चरित्रलाई दर्शनका बिम्ब प्रयोग गरेर चित्रण गर्नु उपन्यासकार कोइरालाको सामर्थ्य र शक्तिलाई पुष्टि गरेको छ । यसैगरी प्रस्तुत उपन्यासमा उपन्यासकारका समाजसेवा गर्नेहरूलाई सामन्तीको संज्ञा दिइन्छ भने सामन्तवादीहरूको यस संसारमा अझै आवश्यक रहेको विचार जीवनदर्शन बनेर प्रकट भएको छ ।
‘त्यो डरलाग्दो शान्ति चिर्दै मेरो आवाज बुलन्द भयो –“काका म पनि ठूलो भएपछि सामन्ती बन्छु है ।” धुनी तापिरहेको ठाउँमा पुनः शून्यता छायो । (पृ. ७५)
प्रस्तुत उपान्यांशमा सामन्तवादी बन्नुपर्छ भन्ने दृष्टिकोण अभिव्यक्त भएको छ । यस अंशमा आफूमा सहयोगी भावना बोकेको उदार समाजसेवी, दया र माया भएको र छलकपट नजान्ने आफ्नो पिताजीको हत्याप्रति म पात्रले असन्तुष्टि व्यक्त गर्दै अब प्रत्येक घरमा सामन्तको जन्म हुनुपर्छ भन्ने धारणा प्रकट गरेकी छन् । यहाँ रघुजस्ता सामन्तीहरूको समाजपरिवर्तनका लागि खाँचो भएको भाव व्यक्त भएको छ । यस उद्धरणमा गर्भे टुहुरी अनुले आफू पनि बुवाजस्तै सामन्ती बन्छु भन्ने अठोटले समाजपरिवर्तनको उद्घोष गरेको छ । उपन्यासको केन्द्रीय आशय पनि यही रहेको छ ।
प्रस्तुत उपन्यांशमा म पात्रकी आमाको साहस, धैर्य, अठोट र हिम्मतका कारणले जीवनमा नयाँ अध्यायको प्रारम्भ गर्न उत्साह र ऊर्जा मिलेको छ भने गुरूले देखाएका सकरात्मक मार्गलाई अनुशरण गर्दै अनेकौँ नकरात्मक सोचलाई परित्याग गरेकी छ । यहाँ कालो हेलमेट लगाउने युवक, सुमिरन पनि म पात्र अनुको जीवनमा जोडिन आइपुगेका छन् । यसैगरी हजुरबुवासँगको भेटपछि उपन्यासकी प्रमुख पात्र बेलाबेलामा अध्यात्मतर्फ अग्रसर भएकी छ । यहाँ घटनासन्दर्भलाई अगाडि बढाउन अन्य पात्रको पनि उपस्थिति रहेको छ । यस दृष्टिले चरित्रको प्रबलीकरणमा उपन्यास र उपन्यासकार सफल रहे पनि कुनै पात्रलाई भने उपन्यासकारले बीचमै निष्कर्षमा नपुर्याइ छोडेर अन्याय गरेकी छन् । योचाहिँ उनको कमजोरी पक्ष रहेको छ ।
३.७ उपन्यासको भाषाशैली
भाषा नै उपन्यासको कथ्य विषयलाई प्रभावकारी ढङ्गमा व्यक्त गर्ने माध्यम हो । उपन्यासको भाषा गद्य हुनेहुँदा भाषाद्वारा नै मूर्त रूपमा व्यक्त भएको हुन्छ । उपन्यासको भाषा सहज र स्वाभाविक रहेको हुन्छ । उपन्यासमा भाषा उपन्यासकार आफैँले प्रयोग गरेको हुन्छ र यस्तो भाषा अपेक्षाकृत नियमबद्ध र लेखकीय स्तरअनुरूप रहेको हुन्छ । अर्को प्रकारको भाषा उपन्यासका पात्रहरूको संवादमा प्रयोग गरिनेहुँदा पात्रको स्तर र परिवेशअनुकूल हुनेभएकाले विविधता रहेको पाइन्छ । शैली लेखकको निजी चिनारी हो । कुन शैली अपनाउने लेखककको निजी विचार हो । आख्यानमा प्रथम वा तृतीय पुरुष शैली वा दृष्टिविन्दुको प्रयोग गरिएको हुन्छ ।
प्रस्तुत उज्यालो औँशी शीर्षक नै विम्बमय बनेर आएको छ । औँशीमा पनि मनको आँखाले उज्यालो पार्न सकिन्छ भन्ने भावलाई प्रतीकात्मक रूपमा पुष्टि गर्ने काम भएको छ । उपन्यासको भाषाशैली प्रवाहमय रहेका छ । यस उपन्यासमा उपन्यासकारले घटनालाई सहज र स्वस्फूर्त रूपमा अगाडि बढाएकी छन् । यसक्रममा उपन्यासभित्र आफ्नै जीवनका भोगाइ र अनुभूति प्रस्तुत गर्नेक्रममा स्वैरकल्पनाको प्रयोग, पूर्वदीप्ति शैली र संस्मरणका रूपमा पनि घटनाको वर्णन गरिएको छ । प्रस्तुत उपन्यासमा प्रकृति, दर्शन र प्राणीलाई विम्ब र प्रतीकका रूपमा लिएर सोहीअनुरूप पात्रको चित्रण गरिएको छ । यहाँ विम्बयोजना सहज र स्वाभाविक नै देखिएको छ । यहाँ प्रकृति, संस्कृतिका माध्यमबाट विम्ब सिर्जना गरिएको छ । नाीलो आकाशमा सेता बादल, कमेराले पोतेका घरहरू, मोतीझैँ, कालो बादल आकाशमा मडारिएर, सुनको टोपी र चाँदीको जामा लगाएर पारिजातका फूलहरू, राराझैँ मुस्कुराउँथे, बादलजस्तै आदि विम्ब र अलङ्कारको प्रयोगले उपन्यास सहज–स्वाभाविक बनेको छ । यस उपन्यासमा चोक्टा खान गएकी थिइस् झोलमा डुबेर मर, जो होचो उसका मुखमा घोचो, हायलकायल हुनु, हण्डर खानु, बगरसँग पानीको भेट त बाढी आउँदामात्र हुन्छ आदि उखान टुक्का र वाक्यपद्धतिहरूको प्रयोगले भाषाशैलीलाई सुन्दर बनाएको छ । प्रथम पुरुषशैलीमा लेखिएको यस उपन्यासमा वर्णविन्यासका त्रुटिहरू पनि त्यत्तिकै मात्रामा देखिनु यसको कमजोरी पक्ष हो । समग्रमा भन्नुपर्दा उज्यालो औँशी उपन्यासको भाषाशैलीगत वैशिष्ठ्य, शब्दप्रयोगको कुशलता उपन्यासभरि नै देखिनुका साथै सरल, सहज, सम्प्रेष्य र पात्रअनुकूल भाषाको प्रयोग भएको छ ।
४. निष्कर्ष
उपन्यास आयामका आधारमा लघु र बृहत् गरी छुट्याइएको हुन्छ । जीवनको केही खण्डमात्र प्रस्तुत गरिएका उपन्यास लघु हुन्छ भने जीवनका विविध पक्ष प्रस्तुत गरिएको उपन्यास बृहत् आकारको रहेको हुन्छ । आख्यानको एक भेदका रूपमा रहेको उपन्यास सर्वप्रिय सिर्जना विधाका रूपमा लिइएको छ । उत्तरआधुनिक उपन्यासमा अधिआख्यानको प्रयोग हुँदै यसका विविध भेद र प्रवृत्तिलाई आत्मसात् गरेको देखिन्छ । उपन्यासले विषयगत विविधता, पात्रगत विविधतालाई समेत आत्मसात् गरेको देखिन्छ । परम्परागत उपन्यासका मान्यता र सिद्धान्तलाई अवलम्बन गरेर लेखिएका उपन्यासका साथै पाश्चात्य साहित्यमा देखिएका उत्तरआधुनिक प्रवृत्ति विधामिश्रण, विधाभञ्जनको स्थिति पनि देखिएको छ ।
उज्यालो औँशी मध्यम आयामको औपन्यासिक कृति हो । उपन्यास लेखनको पहिलो प्रयास भए पनि उपन्यासकारको लेखनकला उत्साहजनक रहेको छ । उपन्यासकारमा उपन्यास सिर्जनात्मक सामर्थ्य देखिएको छ । उपन्यासमा केही कमीकमजोरी देखिए पनि समग्रमा उपन्यास सफल र समकालीन उपन्याससँग तुलनीय नै रहेको छ । उपन्यासले वर्णित गरेको घटना, पात्र र परिवेश, मानवीयता, चेतना आदि राज्यसँग असन्तुष्टि जनाउँदै माओवादीद्वारा थालिएको सशस्त्र द्वन्द्व र त्यसले नेपाली समाजमा पारेको प्रभाव, पीडा, अभाव, बाध्यता, विवशता, सम्पूर्ण देश नै असुरक्षित बनेको अवस्था, सन्त्रासमय वातावरण, विशेषगरी ग्रामीण समाज बढी प्रभावित भएको घटनाहरू नै यहाँ चित्रण गरिएको छ । विषयको उठान, पात्रले भोग्नुपरेका उत्पीडन, मनोविज्ञान पक्षलाई समेटिएको छ । यहाँ प्रस्तुत कृतिको समग्र पक्षको विश्लेषण विस्तृत रूपमा भन्दा पनि सारसङ्क्षेप रूपमा गरिएको छ । प्रस्तुत उपन्यास सामन्तवादी राज्यसत्ताले निम्त्याएका राजनीतिक, सामाजिक उत्पीडन एवं द्वन्द्वको त्रासदीपूर्ण अवस्थालाई परिवेश र त्यसले पारेको प्रभावका बारेमा बुझ्न आमपाठकका लागि पठनीय र मननीय रहेको छ ।
===
सन्दर्भ सामग्रीसूची:
कोइराला, अनिता (२०८१), उज्यालो औँशी, काठमाडौँ : शिखा बुक्स ।
प्रधान, कृष्णचन्द्रसिंह (२०५२), नेपाली उपन्यास र उपन्यासकार (तेस्रो संस्क.), ललितपुर : साझा प्रकाशन ।
बराल, ऋषिराज (२०७८), ‘उपन्यस–चिन्तनका सौन्दर्यशास्त्रीय पक्षहरू’, रत्न बृहत् नेपाली समालोचना, सम्पा. राजेन्द्र
सुवेदी र लक्ष्मणप्रसाद गौतम, काठमाडौँ : रत्न पुस्तक भण्डार ।
बराल, ऋषिराज (२०५६), उपन्यासको सौन्दर्यशास्त्र, ललितपुर : साझा प्रकाशन ।
बराल र एटम (२०५६), उपन्यास–सिद्धान्त र नेपाली उपन्यास, ललितपुर : साझा प्रकाशन ।
लुइटेल, खगेन्द्रप्रसाद (२०६९), नेपाली उपन्यासको इतिहास, काठमाडौँ : नेपाल प्रज्ञा–प्रष्ठिान ।
सुवेदी, राजेन्द्र (२०५३), नेपाली उपन्यास परम्परा र प्रवृत्ति, वाराणसी : भूमिका प्रकाशन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 










