
सङ्ग्रहमा सामाजिक, धार्मिक, पारिवारिक, सांस्कृतिक क्षेत्रमा देखिएका रूढीवादी मान्यता, अन्धविश्वास, विकृति, विसङ्गतिलाई देखाइएको छ । कथामा पात्रका अन्तर्मुखी र बहिर्मुखी दुवै प्रवृत्तिलाई राम्ररी छाम्न कथाकार सफल देखिएकी छन् ।
….
बागलुङको गल्कोटमा जन्मेकी राधिका कल्पित नेपाली साहित्यको क्षेत्रमा स्थापित स्रष्टा हुन् । चालीसको दशकदेखि नै कलम चलाउन थालेकी कल्पित मूलतः कवि व्यक्तित्वका रूपमा परिचित रहेकी छन् । आधुनिक नेपाली साहित्यको उत्तरवर्ती चरणमा सक्रिय कल्पितले कविताबाहेक निबन्ध र कथाका क्षेत्रमा समेत आफूलाई स्थापित गराउन सफल भएकी छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान राष्ट्रिय कविता महोत्सव (२०८०) लगायत आधा दर्जनभन्दा बढी राष्ट्रिय कविताप्रतियोगितामा पुरस्कृत उनको बरफका कोइलाहरू (२०७७) एकमात्र कवितासङ्ग्रह प्रकाशित भएको छ । यिनका कृतिहरूमा समाजका यथार्थ चित्र प्रस्तुत गर्नेक्रममा समाजका विविध पक्षहरूको सूक्ष्म अध्ययन गर्दै पाठकसमक्ष प्रस्तुत गरेकी छन् । उनका सिर्जनामा सामाजिक विकृति र बेथिति, ग्राम्य परिवेश, लैङ्गिक विभेद नारीका आँसु, पीडा, वेदना, निरीहता, पारिवारिक मनस्थिति, नारी उत्पीडन, नारी मुक्तिको चाहना, सामाजिक न्याय एवं मानवतावादी दृष्टिकोणलाई प्रस्तुत गर्न सक्नु कृतिकार कल्पितको लेखकीय विशेषता हो ।
‘सुसाइड नोट’ (नवनारी, २०७६) कथा प्रकाशित गराएर कथायात्राको थालनी गरेकी कल्पितको पछिल्लो समयमा प्रकाशित एकमात्र कथासङ्ग्रह सम्मोहन (२०८१)मा विविधतामय घटना र चरित्रका माध्यमबाट पात्रका मनोविज्ञान र त्यसले निम्त्याएको परिणामलाई केन्द्रीय कथ्य बनाइएको छ । यस सङ्ग्रहका कथामा सामाजिक यथार्थवादी शैलीका साथै उत्तरआधुनिक जीवनशैलीका घटनाको यथार्थलाई समेटिएको छ । पतीपत्नी र प्रेमीप्रमिका सम्बन्धका विविध आयामलाई प्रस्तुत गर्न सक्नु उनको विशेषता रहेको छ । प्रस्तुत कृतिमा उनले विभिन्न उमेर समुहका पात्र र तिनको मनोविज्ञानलाई चित्रण गरेकी छन् । यहाँ पात्रका आवेग, संवेग, कामबासना, अतृप्त यौनचाहना, असुरक्षा, अशिक्षा, गरिबी, अज्ञानता, पुरुषपात्रले नारीमाथि गर्ने शारीरिक एवम् मानसिक शोषण र विवशतालाई चित्रण गरिएको छ ।

…मनमा रहेको मधुकरप्रतिको अज्ञात मोह दिमागबाट हटाउन नसकेकोमा आफैँप्रति एक किसिमको क्रोध थियो । लाग्थ्यो, म आफैँसँग एउटा युद्ध लडिरहेछु । यही मनोविज्ञानकै कारण कुनै पनि पुरुषले आकर्षण गर्न सकेन । बिहे गरेर घरजम गर्ने र बच्चाबच्ची जन्माउने स्त्रीसुलभ चाहना कहिल्यै जागेन । बिस्तारै अन्तर्मुखी स्वभावकी बन्दै गएँ ।…(पृ. ३४)
प्रस्तुत कथाकृतिमा वैयक्तिक मनोविज्ञान, पात्रका दमित र कुष्ठित इच्छाहरूको अभिव्यक्त भएको छ । पात्रले भोग्नुपरेका शारीरिक एवं मानसिक पीडा, निरीहता, विवशता र बाध्यताको चित्रण यहाँ पाइन्छ । प्रस्तुत कृतिमा प्रथम र तृतीय पुरुषपात्रका माध्यमबाट तिनको आचारव्यवहार, भावना, आसक्ति, आकर्षण, अनुराग, यौन, प्रजनन, घृणा, क्रोध र त्रासद मनोदशालाई देखाइएको छ । पात्रका अन्तद्र्वन्द्व, निराशा, सङ्घर्ष, एकतफी प्रेमाकर्षण, तनाव र दुष्चिन्तालाई यहाँ उजागर गरिएको छ । यहाँ नारीपात्रका मनोदशा एवम् मनस्थितिको चित्रण गरिएको छ ।
…खराब लतको सिकार कति भइरहन्छेस् ? इज्जत ? केको इज्जत इज्जत भन्दै खुट्टा कमाइछस् तैँले ? जाबो इज्जत भन्या केवल पक्षपाती समाजको आँखाले देख्ने भ्रामक सत्य हो । बलेको आगो ताप्ने यस समाजले इज्जत जति सबै नारीको सारीमा ल्याएर थोपरेको छ । लोग्नेले स्वास्नी कुट्नुलाई अधिकार र पुरुषार्थ भनेर सफाइ दिने यस समाजमा तँ कुन इज्जत जान्छ भनेर डराइरहन्छेस् ? के इज्जत जोगाउनु तेरो मात्रै दायित्व हो ? उसको कर्तव्य खोइ श्रीमान्को, बाबुको ? मरणासन्न हुने गरी कुटपिट हुँदा चुइँक्क नबोल्ने समाजमा अन्यायविरुद्ध लड्दा केको इज्जत जाने कुरा गर्छेस् ?…(पृ. ४७–४८)
प्रस्तुत सङ्ग्रहका कथामा शारीरिक, मानसिक, लैङ्गिक उत्पीडन, निर्ममता, कठोरता, अभाव, पीडा, दुःख, विभेद, हिंसा, मानवीय मूल्यहीनता, अन्याय, अत्याचार, शोषण, दमन, पाशविक मनोवृत्ति, क्रुर मानसिकता, पितृसत्तात्मक सोच, पुरुषकका हैकमवादी प्रवृत्तिलाई समेत औँल्याएको छ । यहाँ मानवता, विगतका स्मृति एवम् वर्तमानका भोगाइ, आत्मिक प्रेम, शिक्षा र गुरुको महत्त्व, वर्तमान चिकित्सा प्रणाली, स्वैरकल्पना, साइबर संस्कृतिलाई पात्रका माध्यमबाट देखाइएको छ । प्रस्तुत कृतिमा सामाजिक विभेद, बेथिति, हिंसा, पक्षपात, परम्परावादी यथास्थितिवादी चिन्तन, सामाजिक न्याय, नारी मुक्तिको चाहना, पुरुष दमनका विरुद्ध नारी अस्तित्व र पहिचानका पक्षमा आवाज उठाउनुपर्ने कथाकारका चिन्तन प्रस्तुत गरिएको छ ।
छोरी भएकै कारण यो कष्ट झेल्नुप¥यो ! यतिखेर भाइ चाहिँ तातो ओछ्यानमा मस्त सुतिरहेको होला । म घरको गोठमा समेत नअटाएर यति माथि लेकमा, अर्कैको घरमा आएर बस्नुपरेको छ । मलाई कतिखेर बाआमाप्रति वितृष्णा जाग्छ । समाज, धर्म, संस्कृति सबैथोकप्रति वितृष्णा छ । रिसले दाह्रा किट्छु ।(पृ. १६८)
प्रस्तुत कथामा छोरी भएकै कारण महिनावारी हुँदा समाजमा छोरीप्रति गरिने विभेदलाई देखाइएको छ । पितृसत्तात्मक समाजमा छोरा र छोरीका बिचको विभेदलाई देखाउँदै छोरा र मपात्रका बीचको लैङ्गिक विभेद नै कथाकारका जीवनका अनुभूतिका रूपमा यहाँ प्रकट भएका छन् । यहाँ धर्म, संस्कार र संस्कृतिका नाममा रहेका ती विभेदका पर्खाल ढाल्नुपर्ने, तिनको विरोध गर्नुपर्ने कथाकारका विद्रेहका स्वर मपात्रमार्फत प्रकट भएका छन् ।
प्रस्तुत कृतिभित्र महिलाहिंसाको विरोध गर्दै नारी अस्मिता, स्वतन्त्रता, समानता, स्वाधीनता, हक, अधिकार र न्यायका पक्षमा वकालत गरिएको छ । यहाँ इमानदार लगनशीलता, सफलता, शक्ति, साहस, आकाङ्क्षा आफैँले निर्माण गर्नुपर्ने विचार प्रकट भएको छ । समलैङ्गिक विवाह, विवाहेत्तर सम्बन्ध (लिभिङ टुगेदर), पारिवारिक बेमेल, पात्रका विचार, व्यवहार, भोगाइ, बोलाइ र गराइमा विभेद रहेको धारणा यस कथासङ्ग्रहमा औँल्याइएको छ । कथामा धर्म, संस्कार, संस्कृति र सामाजिक मूल्यमान्यताका कारण पात्रले भोग्नुपरेका समस्या, हाडनाता सम्बन्ध, सामाजिक मर्यादा, पात्रका एकाकीपनलाई देखाउने काम कथाकारले गरेकी छन् । समयको बोधका साथै समसामयिक सन्दर्भ, भौतिकता पछाडि दौडने वर्तमान युवापुस्ताको सोच र पलायनसँगै सपनाको सहर अमेरिका पुगेपछि देशमा पाइने आत्मीयता, एकता, सद्भाव, सहअस्तित्व र भावनात्मक सम्बन्ध सबै हराउँदै गएको कुरालाई यस सङ्ग्रहका कथामा प्रस्तुत गरिएको छ ।
जिन्दगी भन्नु यस्तै रहेछ हेर बिनिता ! गरिबीका कारण धेरै कुरा गुमाइयो । शिक्षा, प्रेम, स्वतन्त्रता, रहर, सपना, गाउँ, देश, साथी सबै सबै । तर, अहिले जति पैसा भए पनि ती सारा कुरा चाहेर पनि किन्न सक्दिनँ । छोराछोरी सबै आ–आफ्ना तालमा छन् । तपाइँको पैसा हामीलाई चाहिन्न, हामी छुट्टै बस्छौँ, आफ्नो लागि आफैँ कमाउँछौँ भन्दै एक्लै बस्छन् । गाउँमा असी वर्षकी आमा एक्लै छिन् । व्यस्तताका कारण श्रीमतीसँग पनि हप्ताको एक दिन भेट हुन्छ । पैसा खोज्न जिन्दगी छोडेर आइयो । अहिले पैसा छ, जिन्दगी छैन । धनी मान्छे सुखी र खुसी हुन्छन् जस्तो लाग्थ्यो, होइन रहेछ ।…(पृ. २०६ )
प्रस्तुत कथाकृतिमा वर्तमान नेपालको यथार्थचित्र उतारिएको छ । भौतिक सुखसुविधाका निम्ति अमेरिकाको सपना बोकेर युवापुस्ता पलायन हुँदा गाउँघर वृद्धाश्रम बनेको तीतो यथार्थलाई कथाकारले पात्रमार्फत यहाँ उजागर गरेकी छन् । कथामा गरिबीका कारण पात्रले शिक्षा, प्रेम, स्वतन्त्रता, सपना, रहर, इष्टमित्र सबै गुमाउनु परेको, शिक्षित, आत्मनिर्भर र स्वावलम्बी बन्ने सपना पूरा नभएको कुरालाई देखाइएको छ । कथामा नारीबिना पुरुषको जीवन अपुरो रहेको कुरा देखाइएको छ साथै मातृप्रेम, देशप्रेमजस्ता विषयको उठान गरिएको छ ।
कथामा पात्रले भोग्नुपरेका बाध्यता र विवशतालाई देखाउनेक्रममा राष्ट्रिय–अन्तराष्ट्रिय एवं सहरिया र ग्रामीण भूगोल भौगोलिक परिवेशका रूपमा आएका छन् । यहाँ अध्यात्म, दर्शन, बुद्धत्व, शान्ति, विभेद, अन्धपरम्परा, धर्म, संस्कार, समाजिक व्यवहार आदि सामाजिक–सांस्कृतिक परिवेशका रूपमा आएका छन् । गरीब भएका कारणले सबै रहर र सपना अपुरो रहेको चित्रण हुनुले समाजको आर्थिक अवस्था यहाँ उजागर भएको छ । विशेषगरी सामाजिक यथार्थभित्र मनोवैज्ञानिक धरातल नै यसको विशेषता रहेको छ ।
कथाका पात्र ग्रामीण एवम् शहरी दुवै परिवेशका रहेकाले तिनका स्तर अनुरूपको भाषा रहेको छ । कल्पनाशक्ति, सूक्तिमय कलात्मक र काव्यिक शैलीका कारण कथा आकर्षक बनेका छन् । यस सङ्ग्रहका कथामा प्रथम र तृतीय पुरुष शैलीमा मर्मस्पर्शी एवं विम्बयुक्त वाक्य, सरल, सहज एवं सरस भाषाशैलीका कारण आफ्नो छुट्टै पहिचान बनाउन र आफूलाई स्थापित गर्न उनी सफल भएकी छन् ।
कोठाको घाम छड्के भई परपर सर्दै सर्दै जान्छ । म पनि ऊ जता जता सर्छ उतै उतै सर्छु । ऊ एकछिन सन्चो मानेर मेरो अनुहारमा टाँसिन्छ । घाँटी चुम्छ । छाती हुँदै काखमा झर्छ र छोप्न खोज्दाखोज्दै फुत्केर पाखामा गएर बस्छ । (पृ. १७१)
कौतूहल र रहस्यमय तरिकाले कथाको समापन गरिएका यस सङ्ग्रहका कथामा आञ्चलिक कथ्य भाषा, स्वाभाविक, आकर्षक र आलङ्कारिक भाषा, पूर्वदीप्ति शैली एवम वर्णनकुशलताका कारण कथा विशेष बनेका छन् । काव्यिक भाषाको भेलबाढी एउटै कृतिमा आएको छ । जम्माजम्मी २०९ पृष्ठमा संरचित सम्मोहन कथासङ्ग्रहमा ‘चिराग’, ‘मालती मिस’, ‘अब लगाउँदैन लज्जावती’, ठमेलको एक रात’लगायतका कथाहरू उच्च कलात्मक मूल्यका छन् भने ‘अनावरण’, ‘स्पर्श’ मध्यमस्तरका र विवरणात्मकजस्तो देखिन्छन् । यहाँ कतिपय कथाहरू सत्र–अठार पृष्ठका लामालामा खालका छन् र कुनै कथा ९–१० पृष्ठका छन् । विश्वेश्वरप्रसाद कोइरालाको ‘कर्णेलको घोडा’ कथालाई पुनर्पठन गरी ‘चिराग’ कथा सिर्जना गरिएकाले विपठनजस्तो खेखिएको छ । ‘मधुमालतीको कथा’ जस्तो दन्त्य कथाको ‘मालती मिस’ कथामा आंशिक पुनर्पठन गरिएको छ ।
कथकारको मनस्थिति एवम् मनोदशा जस्तो छ, त्यसैको प्रभाव साहित्यमा परेको हुन्छ । आफ्ना सिर्जनाशक्तिद्वारा पात्रका मनस्थिति र समसामयिक समाजको यथार्थ झल्को दिने काम लेखकले गरेको हुन्छ । सम्मोहन कथा पढ्दा नारी एवं पुरुष पात्रका मनोदशालाई कथा र कथाकारले नजिकैबाट छाम्न सफल देखिएका छन् । समय, मानिसका प्रवृत्ति, समाज, सामाजिकता र मनोविज्ञान, मानवीय संवेदना, नारीले भौग्नुपरेका विविध यौनिक उत्पीडन, हिंसा र विभेदका विविध पक्षलाई मनोविज्ञानको धरातलमा प्रस्तुत गरिएको हुँदा समाजको यही वास्तविकतालाई बुझ्न यो कृति पठनीय, मननीय र उपयोगीसमेत रहेको देखिन्छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
