प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य सम्मेलन २०१९ को स्मारिका काठमाडौँमा विमोचन गरियो ।

गैरआवासीय नेपाली संघले २०१९ सेप्टेम्बरमा अमेरिकाको बोस्टनमा आयोजना गरिएको प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य सम्मेलनको स्मारिकाको शनिबार सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिले आयोजना गरेको विशेष अनलाइन कार्यक्रममा विमोचन गरिएको थियो ।

प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति श्री गङ्गाप्रसाद उप्रेतीले स्मारिकाको विमोचन गर्दै अहिले नेपाली साहित्य विश्वव्यापी बनेको र यसको विस्तारमा गैरआवासीय नेपाली सङ्घले खेलेको भूमिकाको उत्कृष्ट रहेको बताए ।

समारोहमा सङ्घका अध्यक्ष कुमार पन्तले सङ्घले प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृति प्रवर्द्धनलाई महत्त्वपूर्ण रुपमा लिएको र प्रज्ञाको सहयोगमा अझै थप कार्यहरु गर्दै जाने बताए ।

प्रज्ञाका सदस्य सचिव डा . जगतप्रसाद उपाध्यायले स्मारिकाको समीक्षा गरेका थिए ।

कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष एवं नियात्राकार जीवा लामिछानेले सङ्घको साहित्यिक गतिविधिको बारेमा चर्चा गरेका थिए । समितिका निवर्तमान संयोजक गोविन्दप्रसाद गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन स्मारिकाका प्रधान सम्पादक सुरेन उप्रेतीले गरेका थिए । कार्यक्रममा रसियाका वरिष्ठ नेपाली साहित्यकार कृष्णप्रकाश श्रेष्ठ समेतको सम्पादनमा प्रकाशित “दुई राजधानी : मस्को र काठमाडौं” विषयक नेपाल र रसियाका साहित्यकारहरुको संयुक्त साहित्यिक सङ्ग्रहको पनि कुलपति उप्रेतीले विमोचन गरेका थिए ।

कार्यक्रम सङ्घका भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिका अध्यक्ष हिक्मत थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।