भर्खरै भएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को ‘बोर्ड अफ ट्रष्टीको सभापतिमा साहित्यकार पदम विश्वकर्मा निवार्चित भएका छन् । विश्वकर्मा सभापतिका अर्का उमेद्वार सीता पाण्डेलाई हराउँदै अनेसासको सर्वोच्च समिति ‘बोर्ड अफ ट्रष्टी’को सभापति चयन भएका हुन् ।

बोर्ड अफ ट्रष्टीको सभापतिमा विश्वकर्मासँगै उपसभापति (जनरल) मा विष्णुप्रसाद घिमिरे, उपसभापति (पुरस्कार) मा तीर्थ पाण्डे, महासचिवमा प्रकाश नेपाल, सचिवमा नारायण अधिकारी तथा कार्यकारी सदस्यहरुमा धर्मराज कोइराला, ऋषिराम बराल र रश्मि भट्ट निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा भने कसैको उमेद्वारी नपरेको अनेसासले जनाएको छ ।

लामो समयदेखि अमेरिका बस्दै आएका विश्वकर्मा अनेसासका पूर्वअध्यक्ष तथा बोर्ड अफ ट्रष्टीका पूर्व–उपसभापति हुन् । उनले यसअघि अनेसासको च्याप्टर कार्यसमितिको सदस्य, च्याप्टर अध्यक्ष, केन्द्रीय कार्यसमितिको महासचिव, दुई कार्यकाल अध्यक्ष र बोर्ड अफ ट्रष्टीको उपाध्यक्षमा रही लामो अनुभव बटुलिसकेका छन् ।

विश्वकर्माका शब्द सुमन (कवितासंग्रह), Word Florets (शब्द सुमनको अंग्रेजी अनुवाद), तमसुक (कथासंग्रह) र क्वारेन्टाइन (उपन्यास) प्रकाशित छन् ।

अमेरिकामै बसोबास गर्दै आएकी सीता पाण्डे नेपाली साहित्यकी सशक्त महिला हस्ताक्षर हुन् ।