“हाम्रा आमाहरू आगो पचाएर भर्भराउँदो अँगार जन्माउँथे । ए ! ब्वारी नानी, जाबो त्यो फिसिक्क निभ्ने झिल्कोले के नै बिगार गर्न सक्छ र ? तिमी हिम्मत नहार ब्वारी नानी ! बरु छिट्टो तङ्ग्रिने उपाय गर ।” जक्तिसिंह टोलकी रैथाने भुल्की आजीले बुहारीका आगोले जलेका हातमा बाँधिएका पट्टीहरू सुमसुम्याउँदै भनिन् । …
यिनै पङ्क्तिसँगै शुरू हुन्छ डा.अर्चना थापाको नयाँ पुस्तकाकार सिर्जना र उनको पहिलो मौलिक उपन्यास, ‘अग्निगर्भा’ । शीर्षक नै आगोसँग जोडिएर आएकाले होला, किताबको थालनी नै आगोको प्रसङ्गबाट भएको छ, यद्यपि आगोले सिर्जना गर्दैन बरु पोल्छ, जलाउँछ र विनाश गर्छ । तर उपन्यासमा आगोलाई आन्तरिक शक्ति र ऊर्जाको रूपमा प्रयोग गरिएको छ । त्यस कारण यो शीर्षक आफैँमा विशेष बनेको छ । किताब पढिसक्दा शीर्षक सार्थक लाग्छ ।
त्यसो त शुरूमै उपन्यासको शीर्षक ‘अग्निगर्भा’को अर्थ के हो भन्ने बारे नै कौतुहलता हुन्छ, किनभने यो सामान्य जनजिब्रोमा आइरहने औसत शब्द होइन । साधारण अर्थमा यसको अर्थ “गर्भमा आगो बोकेको” भन्ने हुन्छ । तर खासमा यो आफैँमा तत्सम् साहित्यिक शब्द हो र यसको अर्थ हो, ‘जसभित्र अग्नि छ, अर्थात, जसको गर्भमा आगो छ, अथवा, जसले आफूभित्र आगो धारण गरेको वा आगो थुपारेको छ ।’
‘अग्निगर्भा’को अर्थ पृथ्वी पनि हुन्छ, किनभने पृथ्वीभित्र ज्वालामुखी अग्नि हुन्छ । यसको अर्को अर्थ शमी वृक्ष पनि हुन्छ, किनभने सनातन वैदिक संस्कृतिमा शमी वृक्षलाई अग्निको श्रोत मानिएको छ भने अर्को अर्थ औषधीका लागि प्रयोगमा आउने महाज्योतिष्मती लहरो भन्ने पनि हुन्छ ।
तर यी सबैभन्दा अलि पर ‘अग्निगर्भा’ शब्दको खास लाक्षणिक अर्थ पनि हुन्छ, यो शब्द नारीका लागि प्रयोग हुन्छ, अझ विशेषतः त्यस्ती नारी जसले शोषण र पीडाबीच बाँच्दाबाँच्दै आफूभित्र विद्रोही शक्तिको विकास गर्छे र आफूभित्र लुकेको ऊर्जा पत्ता लगाएर रणचण्डी दुर्गा भवानीमा रूपान्तरित हुन पुग्छे ।
थालनी जस्तै लेखक थापाको उपन्यासको अन्त्य पनि आगो, आगलागी र खरानीको प्रसङ्गसँग भएको छ । उपन्यासको अन्त्यले किताबकी नायिकामा विकसित भएको आन्तरिक ऊर्जा र अन्तप्रेरणाको आग्नेय विश्वासलाई अभिव्यक्ति दिएको छ । हेरौं किताबको अन्तिमतिरका केही पङ्क्तिहरू–
“केही सामान नासिएर बिग्रिएर के भयो ? मेरो सीप खरानी भएको छैन । मसित समय छ । सीप छ । अहिले त मसित सबैको साथ छ । म खरानीबाट उठ्छु । म अझै मेहनत गर्छु ” … खरानीबाट निस्केकी तेजश्रीमा फिनिक्स जागेको थियो । उसका आँखामा आत्मविश्वास र जीवनरागका लप्का दन्किन थालेका थिए । अग्निकवच पहिरिएकी उसले आफ्नो निहुरेको काँधलाई सीधा बनाई । … उसले धम्की र आतङ्कको सामना गर्ने निधो गरी । रातको अँध्यारोमा मुख लुकाउने हुतिहाराहरूसित कहिलेसम्म डराउने ? … दिनहुँ डराएर बाँच्नुभन्दा बरु एकदिन सामना गर्नु बेस ।”
उपन्यासको अन्त्यतिर आगो र खरानीको सन्दर्भ कथाकी नायिका तेजश्रीको आर्थिक अवस्था गज्जबसँग उकालिएको र सामाजिक प्रतिष्ठा ह्वात्तै बढ्दै गएको तथ्य छ जसबाट आरिस गर्ने अर्को स्थानीय पात्रद्वारा पठाइएका गुण्डाहरूबाट तेजश्रीको रेस्टुराँमा आगजनी र तोडफोड गरिएको प्रसङ्ग हो ।
उपन्यासको थालनीमा आत्मदाह गर्न कस्सिएकी तेजश्री समाजले निरन्तर दिँदै आएको तिक्तताको प्रतिवाद गर्ने गरी उपन्यासको अन्त्यमा आफैँ आगो बनेर भर्भराउँदै उठ्ने प्रतिबद्धताको दुन्दुभि बजाउन पुग्छे ।
‘अग्निगर्भा’ नारीप्रधान उपन्यास हो । उपन्यासमा धेरै पात्र छन्, जस्तो आम रूपले सबै उपन्यासमा हुने गर्दछन् । उपन्यासमा मूलकथासँगै ती पात्रका आ–आफ्नै कथा–उपकथा पनि छन् । अनि ती पात्रहरूका नाम पनि पुरानामा उहिलेको राणाकालीन समयको झल्को दिने (जस्तो– गोठी आमै, भुल्की अजी, लट्टे बज्यै, भँगेरी, बतासी, मुनीराम, गर्जुमान, आदि) र नयाँमा जेन–जी मात्र नभएर त्यसपछिको अल्फा पुस्ता (जस्तो– तेजश्री, केतकी, अनुश्री, अमन, चमन, शुभ्रा, दिति, अदिति, शर्मिष्ठा, आदि) सम्मको झल्को दिने किसिमका छन् । यी पात्रहरू डुम्रीगाउँ, जक्तिसिंह टोल, चैत्यनगर र एैँसेलुखर्क गाउँका बासिन्दा हुन् ।
उल्लिखित सबै पात्र नेपाली समाजकै प्रतिनिधि पात्र हुन, कोही दरिद्र र अभावग्रस्त परिवारका त कोही निम्न वा निम्नमध्यम वा उच्च–मध्यम परिवारका प्रतिनिधि । सबै एकै गाउँठाउँमा अटाएका छन् । अँ, बरु सिमोन, जोसलिन, फ्र्याङ्क, फ्र्याङ्की, मिस पेनी आदि चाहिँ विदेशी (अमेरिकी) पात्र हुन् ।
उपन्यासकी मूलपात्र सामाजिक रूपले सम्मानित साहेबज्यू परिवारकी बुहारी तेजश्री एक छोरी अनुश्रीकी आमा हुन् जसलाई घरका र अन्य परिचितले ‘ब्वारी’ भनेर चिन्दछन् । उनै तनुश्रीको माध्यमबाट लेखकले “महिलाहरू पुरुषको प्रताडनामा पर्छन्, दबाइन्छन् र जति त्यो सबै सहन्छन्, उत्तिकै बढी अन्यायमा परिरहन्छन् । तर आफूमा भएको सामथ्र्य र सीप चिनेर त्यसको सदुपयोग गर्दै अगाडि बढ्न कस्सिए भने सबै किसिमका अन्याय र प्रताडनाहरूको प्रतिकार गर्न सक्छन् । आत्मनिर्भरता हासिल गर्न सक्छन् । र यसो हुँदा उनीहरूलाई हेर्ने सामाजिक वा पितृसत्तात्मक हेराइ पनि सकारात्मकतातिर बदलिँदै जान्छ” भन्ने सन्देश दिन खोजेकी छन् ।
संरचनागत हिसाबले उपन्यास तीन खण्डमा विभाजित छ । पहिलो खण्डमा पन्ध्र उपशीर्षक, दोस्रो खण्डमा दुई उपशीर्षक, र तेश्रो खण्डमा सात उपशीर्षक, अनि अन्तिम चार पृष्ठमा ‘अग्निगर्भाको चौतारी’ उपशीर्षकमा उपन्यासको लेखनगर्भ र केही कृतज्ञता ज्ञापनको सङ्क्षिप्त श्रृङ्खला छ ।
सामान्यतया उपन्यासमा यसरी एक, दुई तीन आदि गर्दै छोटा–लामा अङ्कीय खण्डहरू र केही सीमित उपशीर्षक दिइने गरेको त पाइन्छ, तर केवल अढाइ सयभन्दा केही लामो उपन्यास “अग्निगर्भा”मा चौबीस ओटा उपशीर्षक दिइनु अलि हजम हुँदैन । भलै ती उपशीर्षकले सम्बन्धित अध्यायको सार–सङ्क्षेप, जीस्ट, बोकेका छन् तापनि तिनले उपन्यासको विस्तार र पठनमा खासै केही नयाँपन थप्दैनन् । अँ, बरु कुनै कथा–सङ्ग्रहको झलक भने दिइरहन्छन् ।
तुलनात्मक तवरले रोचक र उपन्यासको नयाँपन चाहिँ के देखिन्छ भने यसमा हरेक खण्डको थालनीमा अर्थात् एक, दुई र तीन गर्दै प्रत्येक खण्ड शुरू हुनु पहिले एक–एक पृष्ठका तीन ओटा किम्बदन्ती उल्लेख गरिएको छ । समाज र जीवनसित जोडिँदै आएका ती किम्बदन्तीले सम्बन्धित खण्डमा समेटिएको कथावस्तुको गूढार्थ सङ्केत गर्दछन् ।
मानिस, समाज, जिन्दगी र किम्बदन्ती एकापसमा अभिन्न किसिमले घुलमिल भएर विकसित भएका हुन्छ्न् । किम्बदन्तीहरूले समाजको अन्तरकुन्तर र सम्पूर्ण गहिराइलाई समेत अभिव्यक्त गरेका हुन्छन् । सम्बन्धित समाजलाई बुझ्न त्यहाँ प्रचलित किम्बदन्तीहरूको महत्वपूर्ण अर्थ रहन्छ ।
उपन्यासमा आएका तीनमध्ये पहिलो किम्बदन्ती अनुसार, अन्त्यहीन मरुभूमिमा छटपटिँदै यमराजको प्रतीक्षामा रहेका गाउँलेहरूको लश्करलाई प्राणदान दिन मध्यरातमा बालुवामुनिबाट निस्कने र उज्यालो नहुँदै फेरि उही बालुवामुनि बिलाउने एउटी कुप्री बुढीको कथा छ । आफूहरूको ज्यान जोगाउने ती बुढीबारे सोधखोज गर्दा ती गाउँलेले थाहा पाए अनुसार, “सात वर्षअघि घिउकुमारी नाम गरेकी एउटी गरीब वृद्धालाई बोक्सी भनेर गाउँबाट निष्काशित गरिएको थियो…।”
यसैगरी दोश्रो किम्बदन्ती आफ्ना साना हत्केलामा जुनकिरी बोकी रातिपख गाउँ गाउँ डुल्ने सानी केटी मर्यादाको कथा छ । हुर्किंदै ठूली हुँदै जाँदा मर्यादाको गाउँ डुल्ने बानी पनि बढ्दै जान्छ । छोरीको यो स्वभाव रोक्न धेरै प्रयास गरे पनि असफल भएपछि उसकी आमाले उसलाई गुभाजुकोमा लैजान्छिन् । गुभाजुले उसमा इच्छा, अस्थिरता र अधीरता दोष रहेको देखाउँछ, जसलाई समाजले घातक दोषका रूपमा लियो ।
अनि एक रात घरबाहिर निस्केकी मर्यादा बिहान हुने बेलासम्म नफर्किएपछि समाजको डरले आमाले बिहानी रोक्नका लागि सूर्य नै निलिदिन्छिन् । यो कुराले हाहाकार मच्चिएर यथार्थ थाहा पाएपछि आमालाई दण्ड दिइन्छ, उनका जम्मै शक्तिहरू खोसिन्छ र मर्यादालाई आमासित टाढिनुपर्ने सजाय सुनाइन्छ । भनिन्छ, त्यही बेलादेखि आमाहरूका शक्ति खोसिए, अनि त्यही बेलादेखि आमा र छोरी छुट्याउने रीत बस्यो ।… आमाबाट अलग्याइएकी मर्यादा आज पनि हत्केलामा जुनकिरी बोकेर अँध्यारोको उपहास गर्दै र सबै सिमानाहरू नाघ्दै बेपर्वाह हिँडिरहेकी हुन्छे ।
तेस्रो तथा अन्तिम किम्बदन्ती नेपाली इतिहासको मल्लकालीन समयको छ । यस कथाअनुसार, राजबल्लभ नाम गरेको एक युवकले कठोर जप र तप गरेर सबैलाई जित्ने वरदान पाएछ । त्यसपछि त अहम्ले चुलिएर उसको स्वेच्छाचारी र अमानवीय क्रियाकलापको सीमा रहेन । अरूको सम्पत्ति खोस्ने, अरूका छोरी–बुहारीमाथि आँखा लगाउने, किसानका अन्नबाली खोस्ने, विरोध गर्नेको बाली र वासस्थानमा आगो झोस्ने जस्ता काम गर्न थाल्यो ।
पूर्णिमाको एक बिहान घोडा चढेर बजार घुम्दै गरेको बेला उसले गाउँकै एघार वर्षीया बालिका अभयालाई देख्छ, टपक्क टिप्छ र आफ्नो घोडामाथि बसाल्छ, अनि आफ्ना अनुचरहरूलाई अभयाको घर जलाउने आदेश दिन्छ । अभयाको गुहारको चिच्याहट सुनेर पनि उसको मद्दतका लागि कोही आउँदैन ।
अकस्मात् अभयाले आफ्नो पटुकीमा सिउरेको हँसिया सम्झन्छे, त्यो निकाल्छे र एक मारमै राजबल्लभको शिरच्छेदन गरिदिन्छे । फर्केर अभया आगो लागेको आफ्नो घरभित्र पस्छे र दावाग्नि बनेर नौ दिनसम्म दन्किरहन्छे । दावाग्निको राप र तापले गाउँ खरानी हुने देखियो । भयाक्रान्त गाउँलेहरूले अभयालाई मद्दत नगरेको गल्ती स्वीकारेर माफी माग्न थाले । त्यसपछि आकाशबाट घनघोर वर्षा भयो र आगो निभ्यो । अभया आफ्नै घरको भुइँमुनि बिलाई । भनिन्छ, त्यही बेलादेखि शिरकट्टा पर्व मनाउन थालियो ।
उमेरले सानी भए पनि अभया साँचो अर्थमा अग्निगर्भा थिई । र, उसले दुनियाँलाई यो देखाई पनि ।
काठमाडौंस्थित अक्षर क्रिएशन्स नेपालद्वारा वि.सं.२०८२ मङ्सिरमा प्रकाशित र २७२ पृष्ठ लामो उपन्यास ‘अग्निगर्भा’को मूल्य ५९०।– रुपैयाँ छ । केही वर्ष पहिले औसत तीस पृष्ठका फरक स्वाद र भिन्न धार बोकेका आठ ओटा लामा कथाहरूको सङ्ग्रह ‘कठपुतला’ पाठकहरू समक्ष प्रस्तुत गरिसकेकी लेखक थापाको गम्भीर सम्पादनमा ‘स्व–अस्तित्वको खोज’, ‘टेलिङ अ टेल’ र ‘स्मृति–कथामा स्वत्व’ नामक विभिन्न लेखकका संस्मरणहरू समेटिएका तीन पुस्तक पनि प्रकाशित छन् ।
यस पटक निकै लामो प्रतीक्षा, गहन परिश्रम, गम्भीर खोज–अध्ययन–अनुसन्धान, एकपछि अर्को गहिरो संवादात्मक परामर्श, अनि कहिले फुर्सद एवं कहिले बेफुर्सदमा संयमित लेखन, अन्ततः समापन र फेरि दिक्कलाग्दो पुनर्लेखन ! यसै गर्दा–गर्दै अन्तिम रूपले लेखन सकेर उपन्यास ‘अग्निगर्भा’ पाठक समक्ष ल्याउन करीब सात वर्ष लागेको सत्य–तथ्य लेखक थापाले आफ्नो लेखकीय मन्तव्यमा भनेकी छन् ।
थापाको यस उपन्यासमा वर्णित मानव बस्ती पुरानो र परम्परागत सामन्ती संस्कारभित्र जेलिएको तर त्योसँगै सामाजिक जीवनलाई चिर्दै आधुनिक विकास र अत्याधुनिक जीवनशैलीले खुलेआम प्रवेश गर्दै गइरहेको छ । यही देख्खल संक्रमणका रूपमा त्यस ठाउँमा सङ्गत अपार्टमेन्ट, दीक्षा मन्टेश्वरी, बेनामे मार्ट, माइकल कफी हाउस, तेजश्री भान्साघर, मार्बल एन्ड ग्रेनाइट पसल आदि तमाम आधुनिक व्यवस्थापनहरू सञ्चालनमा छन् । र, निरन्तर थपिँदै पनि छन् ।
अन्यथा त कुनै सामान्य गाउँबस्तीमा कफी हाउस, अपार्टमेन्ट, मार्बल–ग्रेनाइट पसल आदि जस्ता खर्चिला बजारको सञ्चालनको कल्पना पनि हुन सक्दैन ।
यीसँगै त्यहाँ मोटरसाइकल र चारपाङ्ग्रे वाहनहरूको झर्कोलाग्दो ट्याँट्याँ र टीँटीँ पनि उस्तै देखिन, सुनिन र भोगिन थालिएको छ । बेरोजगार एवं मतिभ्रष्ट युवाहरूलाई केही रकम दिएर मोटरसाइकलमा चढेर गुण्डागर्दी गर्ने गराउने अभ्यास पनि त्यहाँ देखिन्छ । उपन्यासको अन्त्यमा तेजश्रीको रेस्टुराँमा आगजनी र तोडफोड गर्न यही समूह परिचालित भए गरिएको छ ।
‘अग्निगर्भा’ एक उपन्यास हो । तसर्थ यसमा गम्भीर कल्पना छ, केही यथार्थ छ, र यथार्थभन्दा धेरै बढी नाटकीयता छ ।
साहेबज्यूको जस्तो सम्पन्न परिवारमा घर–गाउँमा मुसी भनेर बोलाइने दरिद्र परिवारकी तेजश्रीको मागी विवाह, परिवारमा आफूलाई अति माया–स्नेह गर्ने आमाबुबा, मायालु श्रीमती र छोरी हुँदाहुँदै अमेरिका पढ्न गएको छोरा वर्षौं बित्दा पनि अनि आमाबुबा सिकिस्त बिरामी भई घर–अस्पताल हुनु पर्दा पनि घर नआउने छोरा चमन सिंह (र, भाइ अमन पनि), नौ वर्ष दुई महिनाकी कलिली बालिका लिलु एक्लै घाँस काट्न जाने र विषालु अरिङ्गालले टोकेर ऊ मर्ने कुरा, उपन्यासको करीब अन्त्यसम्मै छोरी अनुश्रीमा आमा तेजश्रीप्रति रहेको पूर्ण उपेक्षाभाव, धाइआमा हजुरीको सधैँ एकनासको चर्को गनगन र अपत्यारिलो रजगज आदि अनेक प्रसङ्गहरूमा अति–काल्पनिकता र अति–नाटकीयता झल्किन्छ ।
उपन्यासमा देखिने कतिपय वाक्य पनि फरक ढाँचा र भिन्न भार बोकेका प्रतीत हुन्छन्, यथा– बालुवामुनि दहकेका अङ्गार (पृ.८), ऊ अमनका आँखामा लुकेका भावहरूसित गफिन हुन चाहन्थी (पृ.३७), हिउँ मुकुट पहिरेका हिमाल…, रहस्मयी…, गहिराइका परतहरू..(पृ.१७८) । आदि । यस्तै हिन्दी साहित्यका केही प्रचलित प्रसङ्ग पनि रमाइलो गरी आएका छन्– विक्रम र बेतालको कथाजस्तो (पृ.६३), खुल् जा सिमसिम (पृ.१३०) आदि ।
अनि उल्लेख गर्नै पर्ने अर्को एउटा सन्दर्भ भाषा सम्पादन र शुद्धा–शुद्धिको हो, जसतर्फ अझ पर्याप्त ध्यान दिन सकेको देखिँदैन ।
डा.अर्चना थापाको प्रस्तुत उपन्यास पढिरहँदा मलाई आफूले धेरै वर्ष पहिले पढेका दुई हिन्दी उपन्यासको झल्को आइरह्यो । तीमध्ये पहिलो थियो चर्चित भारतीय उपन्यासकार अमृतलाल नागरले लेखेको उपन्यास । नागरले सन् १९८३ मा महिला समस्या र दहेज प्रथालाई आधार बनाएर यही ‘अग्निगर्भा’ शीर्षकमा एक उपन्यास लेखेका थिए, जुन निकै लोकप्रिय भएको थियो ।
नागरभन्दा केही वर्ष पहिले अर्की भारतीय उपन्यासकार महाश्वेता देवीले सन् १९६७ मा ‘अग्निगर्भ’ शीर्षकमा एक उपन्यास लेखेकी थिइन् । महाश्वेता देवीको यो चर्चित उपन्यास पश्चिम बङ्गालको नक्सलबाडी आन्दोलन चर्कंदै गएको समयमा स्थानीय जमीनदारहरूले किसानहरूमाथि गर्दै आइरहेको चरम शोषणयुक्त “अधिया” प्रथाविरुद्ध संस्थाल आदिवासी किसानहरूले गरेको विद्रोहको कथा हो ।
अधिया प्रथा अन्तर्गत जमीनदारहरूले भूमिहीन किसानहरूलाई धानको बीउ, हलो, गोरु, खाना र न्यूनतम रकम दिएर आफ्ना खेतमा अधिकतम काम गराउँथे, तर उत्पादनको धेरैजसो हिस्सा जमीनदारले आफ्ना घर लिएर जाने गर्दथे । त्यही प्रथाका विरुद्ध किसानहरूमा तीव्र असन्तोष थियो र उनीहरूले विद्रोह गरेका थिए ।
अझ रमाइलो त के भने नागरले आफ्नो त्यो उपन्यास महाश्वेता देवीलाई नै समर्पण गरेका छन् ।
लेखक थापाको उपन्यासको सन्दर्भ संक्रमणकालीन नेपाली समाज छ, सामन्ती संस्कृति र पितृसत्तात्मक सोचले ग्रस्त भए पनि पश्चिमी संसारको जीवनशैली अँगाल्न लागिपरेको नेपाली समाजको ऐना छ । यही समय र परिवेशभित्र बाँचिरहँदा पनि र आफ्नो लोग्ने अमन सिंहद्वारा वर्षौंदेखि चरम उपेक्षित हुँदै आएको अनि परिवारमा दिनहुँ ब्यहोर्नु परिरहेको विकराल अपहेलना, शोषण र चाकर सरहको नारकीय एवं अमानवीय जीवन बाँच्न परिरहेको असहनीय अवस्थाले नै ब्वारी तेजश्रीलाई ‘अग्निगर्भा’ बनाएको छ ।
हरेक स्त्री, हरेक नारी, हरेक महिला आफैँमा अग्निगर्भा हो । उसले आफूभित्र भए रहेको अग्नि अर्थात् ऊर्जा अर्थात् आन्तरिक शक्ति चिन्नु पर्दछ । चिन्न सकिएको छैन यदि भने पनि त्यसलाई चिन्ने निरन्तर कोशिश गर्नु पर्दछ ।
त्यस्तो शक्ति वा प्रयास गर्ने जाँगर आर्जन गर्नका लागि इच्छुक सबैले डा. थापाको उपन्यास ‘अग्निगर्भा’ पढ्नु पर्दछ । किन पनि भने यस उपन्यासले महिला शक्ति र सामर्थ्यको गीत गाएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२५ फाल्गुन २०८२, सोमबार 









