मलाई धेरैले सोधिरहनु हुन्छ, “बिहे कैले गर्ने ? ऐलेसम्म किन नगरेको ?”
दिनलाई जवाफ त मसँग छ । तर छोटो समयको कुराकानीमा मेरो जवाफ सकिँदैन । अथवा मैले दिन चाहेजस्तो जवाफ दिन पाउँदिनँ । त्यसैले जवाफ दिनुभन्दा मौन बसेर मुस्कुराउनु उचित ठान्छु र त्यही गर्छु । (कसै-कसैलाई भने ओठे जवाफ दिने गर्छु, “मन नभएर ।”) जवाफमा मैले केही नभनेपछि उहाँहरूले फेरि सोध्नुहुनछ, “कि भनेजस्तो केटी नपाएर नगर्या ?”
अब भने म मुख खोल्न बाध्य हुन्छु । यो भनेको मेरो क्षमतामाथिको प्रश्न हो । जसले सिधै मेरो अहङ्कारमा ठेस पुर्याइहाल्छ । र मुस्कुराउँदै भन्छु, “भनेजस्तो नपाएर हैन, भनेको नपाएर चाहिँ हो ।”
उहाँहरू मुस्कुराउनु हुन्छ । जवाफमा मैले यति भनेपछि उहाँहरूको प्रश्न रोकिन्छ अथवा थप प्रश्न गर्नुपर्ने जरूरी ठान्नुहुन्न, कुराकानीको प्रसङ्ग अन्तै मोडिन्छ । आफ्ना छोरीजति अरूलाई दिने अनि मलाई चाहिँ “बिहे कैले गर्ने ?” भनेर प्रश्न गर्ने समाजको यो पारा पनि खास ठीक लाग्दैन ।
जसको हुन मन थियो, उसको हुन नपाएपछि मलाई अरूको हुन मन नलागेको हो ।
यो थियो मुख्य कुरो । कुरो अब बिस्तारमा…
विसं. २०७२ फागुन ७ गतेदेखि २०८२ साल फागुन ७ गतेसम्म आइपुग्दा पहिलो प्रेम भत्किएको ठीक १० वर्ष हुन्छ । आँसु पुछ्दै उनीबाट बिदा भएको हिजोजस्तो लाग्छ । तर समयले यतिका वर्ष कोल्टे फेरिसकेछ । २०७२ साल वैशाखमा आएको भूकम्पले धरहरा ढल्यो । त्यही सालको फागुनमा हाम्रो प्रेम ढल्यो । ढलेको धरहरा उठिसक्यो । तर, हाम्रो प्रेम फेरि कहिल्यै उठ्न नसक्ने गरी ढल्यो ।
“आफ्ना ठानेकाहरूले थिचेपछि मान्छे फेरि उठ्न नसक्दो रहेछ…”
समय क्रमसँगै बिछोडको आलो घाउ त निको भयो । तर खत भने हृदयको एउटा कुनामा बाँकी नै छ । शायद त्यो खत जीवनपर्यन्त रहिरहने छ । त्यही खतलाई बेलाबेला म सुम्सुम्याइरहन्छु । यो लेख त्यही एउटा सुम्सुम्याइ हो ।
साहित्यकार कृष्ण धरावासी आफ्नो पछिल्लो कृति ‘अर्धकट्टी’मा लेख्नुहुन्छ, “घाउ निको भएपछि पनि खत बाँकी रहन्छ । खत हेरेर घाउको सम्झना भइरहन्छ । जिन्दगी यस्तै हो ।”
मलाई पनि मेरो घाउको सम्झना आइरहन्छ ।
“देखाउन नसकिएको थियो प्यार छुट्ने बेलामा
मैले पढेको थिएँ एउटा अनुहार छुट्ने बेलामा….”
गजलकार राज यात्री लम्सालको माथिको शेरले भनेजस्तै मनमा अथाह प्रेम हुँदा हुँदै पनि मैले सजिलै उनलाई बिदा दिएको थिएँ । युद्धमा पराजित सिपाहीले आत्मसमर्पण गरेजस्तै मैले पनि प्रेममा आत्मसमर्पण गरेको दिन थियो त्यो । जसरी पराजित सिपाही युद्ध बन्दी बन्छ, त्यसरी नै वर्षौंदेखि म पनि उनका यादहरूको कारागारमा कैदी जीवन बिताइरहेको छु । त्यस कारागारबाट स्वयम् उनले बाहेक अरूले मलाई मुक्त गर्न सक्ने अवस्था छैन ।
फागुन ७ गते देशले प्रजातन्त्र दिवस मनाउँदै गर्दा, हामीले भने हाम्रो प्रेमको हत्या गरेर एक अर्काबाट स्वतन्त्र भएको घोषणा गर्यौं । सम्बन्धबाट त स्वतन्त्र भइयो, तर यादहरूले भने अहिलेसम्म पनि पिछा छोडेका छैनन् । शायद यादको पनि जाने ठाउँ कतै थिएन । त्यसैले ऊ मेरो पछि लाग्यो । जहाँसम्म लाग्छ, मेरो चितासम्म पनि ऊ मेरै साथमा हुने छ । हामी स्वतन्त्र भएको घोषणाले उनलाई कति दुखायो ? त्यो त म भन्न सक्दिनँ । तर मलाई भने अहिलेसम्म पनि दुखाइरहेको छ । साहित्यकार सुविन भट्टराईको टिकटकमा पढेको थिएँ, “प्रेममा पर्न सजिलो हुन्छ पुरुषलाई, र प्रेमबाट निस्कन सजिलो हुन्छ स्त्रीलाई ।” बिछोडको यतिका वर्षहरूको अनुभवले यही भन्छ, माथिको वाक्यांश सही हो । हाम्रो बिछोडले जति मलाई दुखायो, त्यति उनलाई दुखाएन कि ?
“मलाई परेको पिरमा तिमी म जति दुख्दैनौ
आँसु उत्तिकै आउँदैन नघोचेको आँखाबाट…”
मेरो कुरालाई गजलकार प्रदीप रोदनको माथिको शेरले अझै बेसी स्पष्ट पार्ला ।
“तिमी उसको भएर
म एक्लो भएपछि
तिमीले र मैले
‘हामी’ हुने भनेर गरेको वाचा
यतिबेला मुक्तिचोकमा
पागल भएर बसेको छ
त्यसको उपचारको जिम्मा
अब कसले लिन्छ… ?”
उनीबिना मैले १० वर्ष बिताइसकेछु । यस १० वर्षमा मैले उनलाई कति पटक सम्झिएँ ? त्यसको हिसाब यो सृष्टि निर्माण गर्ने निर्मातासँग पनि छैन होला । मसँग त झन् हुने कुरै भएन । कसैलाई सम्झिनु भनेको केवल सम्झिनु मात्रै होइन रहेछ, आफूले आफैँलाई सजाय दिनु पनि रहेछ । यस्तो सजाय, जहाँ दुख्यो भन्न पनि एकान्त चाहिन्छ । यो १० वर्षमा दशै अङ्कको उनको मोबाइल नम्बर त बिर्सन सकेको छैन, सिङ्गो जिन्दगी नै ठानेको मान्छेलाई कसरी बिर्सन सकिएला ? “यो सम्झिने मन छ, म बिर्सुँ कसोरी !” गीतकार दिनेश अधिकारीले भनेजस्तै ।
“यदि कसैलाई सम्झिए बापत
पैसा तिर्नु पर्ने भए
आज म कुनै बैँकको किस्ता
तिरिरहेको हुन्थेँ होला
धन्न यादहरू
नि:शुल्क आउँछन्
र मैले तिमीलाई
चाहे जति सम्झिन पाएको छु …”
प्रेम गर्नु वा प्रेममा पर्नु जति सामन्य कुरा हो, अथवा प्रेम गर्न जति सजिलो छ, त्योभन्दा कयौँ गुणा कठिन काम प्रेमलाई अन्तिम रुप दिनु हो । उनीसँग छ वर्ष प्रेम सम्बन्धमा बसिसकेपछि मैले यो कुरा महसूस गरेँ । मेरो लागि विवाह नै प्रेमको अन्तिम रूप हो ।
साहित्यकार लीलबहादुर क्षेत्री आफ्नो उपन्यास ‘ब्रह्मपुत्रका छेउछाउ’ मा लेख्नु हुन्छ, “मेरो विचारमा प्रेम साधन हो भने विवाह लक्ष्य । आखिर मानिस लक्ष्य – प्राप्ति चाहन्छ । प्रेमको अर्थ आत्माको मिलन मात्र होइन, त्यसले सङ्गम चाहन्छ, जहाँ परितृप्ति छ ।”
मलाई पनि यस्तै लाग्छ । हैन भने कोही कसैले कसैलाई गुमाउनका लागि मात्र त प्रेम किन पो गर्थ्यो होला र ?
त्यसैले ६ वर्षको पहिलो प्रेम विवाहमा परिणत हुन नसकेपछि म ‘विवाह’ भन्ने शब्दबाट टाढा हुँदै गएँ । पहिलो प्रेम भत्किएपछि प्रेम त अरूसँग पनि भयो नै । तर विवाहका लागि भने म कहिल्यै तयार भइनँ/हुन सकिनँ । प्रेम सम्बन्ध चलिरहेका बेला जब उनीहरूले विवाहको कुरा निकाल्थे, अनेक बहाना गरेर त्यसलाई म टारिदिन्थेँ, अपवादबाहेक । विवाहप्रतिको मेरो अरुची बिस्तारै उनीहरूसामु प्रष्ट हुँदै जान्थ्यो र उनीहरू मसँग स्वत: टाढिन्थे । उनीहरू टाढिँदा केही समय मन चसक्क हुन्थ्यो । तर, पहिलो प्रेम टाढिँदाजस्तो म बेचैन हुँदिन थिएँ । पहिलो प्रेमको खत मनमा रहिरहेकोले पनि होला, त्यसपछिका प्रेम वियोगले मलाई उतिसाह्रो पिरोलेन ।
बिछोड भएको यतिका वर्ष भइसक्दा पनि म सधैँका लागि कसैको हुन सकेको छैन । अर्थात विवाह गर्न सकेको छैन । म विवाहबाट भागिरहेको छु ।
“म तिम्रो त हुन सकिनँ
तिम्रा यादहरूले मलाई
अरूको पनि हुन दिँदैन…”
मेरो हालत यी पङ्क्तिहरूले भने भन्दा पर छैन । जसले गर्दा विभिन्न माध्यमबाट आउने विवाहका प्रस्तावलाई अनेक बहाना बनाएर अस्वीकार गरिरहेँ र गरिरहेको छु आजसम्म पनि । आफूले सबैभन्दा धेरै माया गरेको पहिलो प्रेमिकासँग विवाह गर्न नपाएको रिस, म अरू केटीहरूसँग पोखिरहेको छु र उनीहरूको विवाह प्रस्ताव कहिले घुमाउरो पारामा त कहिले ठाडै अस्वीकार गर्दै आइरहेको छु ।
विवाहप्रतिको मेरो वितृष्णा यो समाजप्रतिको एउटा मौन विद्रोह पनि हो । किन भने यस समाजले व्यक्तिको आचरणलाई विवाहको मापदण्डका रूपमा कहिल्यै लिएन र शायद कहिल्यै लिँदैन पनि । पुरुषको आर्थिक सम्पन्नतालाई नै सधैँ पहिलो प्राथमिकतामा राखिरह्यो । जसका कारण मेरो पहिलो प्रेमको अवसान हुन पुग्यो । जसले गर्दा विवाहप्रति ममा वैराग्य पलाउँदै लग्यो ।
“जुन दिन यो समाजमा मान्छेले केवल मान्छेसँग मात्रै विवाह गर्ने दिन आउँछ, त्यो दिन मेरो पनि विवाह हुने छ ।” भनेर मैले उतिबेलै फेसबुकमा लेखेको थिएँ । पहिलो प्रेम भत्किएको १० वर्ष बितिसक्दा पनि त्यो समय आएन । र शायद कहिल्यै आउँदैन पनि ।
विवाहकै प्रसङ्गमा एक दिन साहित्यकार तथा साहित्यपोस्टका संरक्षक प्रकाश पौडेल माइलाले मलाई सोध्नुभयो, “तपाईंले बिहे नगर्ने जुन निर्णय गर्नुभएको छ, यो चाहिँ पहिलो प्रेमप्रतिको समर्पण हो ? अथवा ऊप्रतिको आक्रोश ?”
“पहिलो प्रेमप्रतिको समर्पण त हो नै, साथसाथै हाम्रो समाजमा जुन वर्गीय विभेद छ, त्यसप्रतिको आक्रोश र विद्रोह पनि हो ।” थोरै गम्भीर हुँदै मैले जवाफ दिएँ ।
त्यसैले जबसम्म “मसँग के के छन् ?” भन्ने कुराले पहिलो प्राथमिकता पाउँछ, तबसम्म यो समाजमा मेरो विवाह सम्भव छैन । “म कस्तो छु ?” भन्ने कुराले जसलाई फरक पार्छ, म उसको चाहिँ हुन सक्छु । तर यो म सम्भव देख्दिनँ ।
हाम्रो समाज प्राय: हरेक कुरामा विभेदकारी छ । फेरि त्यही समाज मलाई सोधिरहन्छ, “बिहे किन नगरेको ?” उसलाई लाग्दो हो अविवाहित रहनु कमजोरी हो । तर यो एउटा मौन विद्रोह हो र मौन आक्रोश पनि । विवाह गर्नु, सन्तान उत्पादन गर्नु, उनीहरूलाई हुर्काउनु बढाउनु, लेखाउनु, पढाउनु र आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु, अनि आफूलेजस्तै उनीहरूको पनि विवाह गरिदिनु, सफलताको मुख्य मापदण्डका रुपमा समाजले यसलाई राखेको छ । यस अर्थमा म एउटा असफल पुरुष हुँ । तर यदि यसैलाई सफलता मानिन्छ भने मलाई यो सफलता चाहिएको छैन । हिजोका दिनमा यी कुरा मेरो मनमा पनि थिए होलान् । तर अब त्यो रहेन । कारण – त्यसप्रतिको वैराग्य ।
हाम्रा पिता पुर्खाले पनि त्यही गरे र अहिले हामीले पनि त्यही गरिरहेका छौँ र भोलिको पुस्ताले पनि त्यही चक्र अपनाउने छ र यो पृथ्वी रहुन्जेल यो चक्रको अन्त्य हुने छैन । यही गोल चक्रमा जिन्दगी फँसिरहेको छ । तर मलाई त्यस्तो चक्रमा फस्न मन छैन ।
समाजले जसरी आर्थिक सम्पन्नतालाई विवाहको योग्यताको पहिलो मापदण्ड बनाइदियो, बिस्तारै मैले पनि आफूलाई त्यतैतिर होमिदिएँ । हुन त पैसाले मान्छेलाई कहिल्यै पुग्दैन । मलाई पनि पुगेको छैन । तर बिस्तारै म समाजको नजरमा विवाहका लागि योग्य वर बन्दै गएँ । समाजको नजरमा जतिजति म योग्य वर बन्दै गएँ, उतिउति विवाहका प्रस्ताव आउन थाले । यस कुराले मलाई खुशी त दिन्छ । तर अपवादबाहेक विवाहको मोहले मलाई फसाउन सकेन । र शायद सक्दैन पनि ।
हिजो आर्थिक अभावमा जसरी मेरो पहिलो प्रेम भत्कियो, आज त्यो अभाव सकिएपछि त्यो प्रेम फर्किनु पर्थ्यो । तर फर्किएन । र कुनै दिन फर्किएला भन्ने सम्भावना पनि म देख्दिनँ । यदि कुनै दिन म संसारकै धनी मान्छे भएँ भने पनि त्यो पहिलो प्रेम फर्किनेवाला छैन, मलाई यति चाहिँ पक्का थाहा छ । त्यसकारण म पैसा कमाउन मरिहत्ते गरेर दिनरात नभनी प्रवासमा मेहनत त गरिरहेको छु, तर त्यो कमाएको पैसाले मलाई वास्तविक खुशी दिन सकेको छैन । त्यसले मेरा भौतिक चाहनाहरू त पूरा गरिरहेको छ । तर मनको खुशी म त्यसमा पाउँदिनँ । किन भने मेरो सम्पन्नताले अब उनलाई फर्काएर ल्याउन सक्दैन । उनीबिनाको मेरो सम्पन्नताको कुनै अर्थ म देख्दिनँ । भौतिक सम्पन्नताले दिन नसकेको खुशी प्रेमले दिन्छ । जुन प्रेम मसँग छैन ।
तर पनि मलाई धनी देखिनु चाहिँ छ । त्यसैका लागि म कमाइरहेको छु ।
रोजगारका लागि हिजो युएई जानु मेरो आवश्यकता थियो । तर, आज जापान आउनु मेरो रहरबाहेक केही होइन । त्यो पनि छोटो समयमा धेरै कमाएर छिट्टै धनी बन्ने रहर । त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, विकसित देशमा जानेहरूलाई हाम्रो समाजले हेर्ने दृष्टिकोण नै अर्कै छ । म जापान आउनुमा त्यो दृष्टिकोणले पनि ठूलो भूमिका खेलेको छ । “केटो जापान बस्छ अरे !” भन्दा केटी माग्न जान कति सजिलो हुन्छ हाम्रो समाजमा ? तर, म आफैँलाई चाहिँ यो कुरा खास लाग्दैन । किन भने युएई बस्दा म जस्तो थिएँ, मेरो आनीबानी जस्तो थियो, जापान आएपछि पनि म त्यस्तै छु । मेरो स्वभावमा कुनै परिवर्तन आएको छैन । तर समाजले मलाई हेर्ने दृष्टिकोण चाहिँ किन फेरिएको ?
दश वर्ष युएई बसेर नेपाल फर्किएपछि धेरैले भन्नुभयो, “अब त बिहे गर्नु पर्छ हौ !”
“अब त ? अब चाहिँ किन ?” यसको मलतब म हिजो चाहिँ विवाहको लागि योग्य थिइनँ ? अब चाहिँ योग्य भएँ ?
पहिलो कुरा त मलाई यो “अब त” भन्ने भाषा नै ठीक लाग्दैन । यसले म हिजो चाहिँ योग्य थिइनँ भन्ने नै हुन्छ । तर म यो कुरा मान्दिनँ । यदि म हिजो विवाहका लागि योग्य थिइनँ भने अहिले पनि योग्य छैन । किन भने मेरो स्वभाव र आचरणमा हिजो र आजमा कुनै पनि परिवर्तन आएको छैन । यदि आज म विवाहको लागि योग्य भएँ भने, म हिजो पनि योग्य थिएँ । तर हिजो मेरो विवाह भएन । किन ? किनभने समाजले मलाई त्यसको लायक ठानेन । तर आज म त्यही समाजको अघि विवाहको लागि लायक भइसकेँ । किन ?
म अहिले पनि सम्झिन्छु त्यो घटना, २०७३ सालतिरको कुरा हो । मेरो एउटा मिल्ने साथीले एक दिन मलाई उसको आफन्तकोमा लाग्यो पाहुना खान । कुराकानीकै क्रममा साथीले भन्यो, “हेर् भाइ ! यो घरमा एउटी बैनी छे । बिहेका लागि तँलाई कुरो चलाउँदा हुन्थ्यो होला । तर घरकाले दिँदैनन् । के गर्नु !”
म मुस्कुराएँ मात्र । किनभने मेरो आर्थिक अवस्थाको बारेमा सबै कुरा थाहा पाएको साथीले त्यति भन्नु स्वभाविक थियो । त्यसकारण पनि मैले उसको कुरालाई त्यतिबेला गम्भीर रूपमा लिइनँ । तर, गत साल जापान आउनुभन्दा केही दिन अघि त्यही साथीले भन्यो, “भाइ अब त बिहे गर्न पर्छ यार ! बरु मेरा सालीहरू छन्, म मिलाइदिउँला । के छ विचार ?”
यतिबेला पनि म मुस्कुराएँ मात्र । तर यस पटकको मेरो मुस्कानमा अलिकति अहमता पनि थियो । कम्तीमा आफ्नै साथीले मलाई विवाहको लागि योग्य ठान्यो, जुन हिजो ठानेको थिएन । यो ७/८ वर्षमा मभित्र त्यस्तो के परिवर्तन आयो र मेरै साथीले त्यसरी कुरा फेर्यो ? आर्थिक अवस्थामा आएको अलिकति सुधारलाई परिवर्तन मान्ने पक्षमा म छैन । तर उसले त्यसैलाई योग्यताको मापदण्ड बनायो । आर्थिक सम्पन्नतामा पनि ठूलै उथलपुथल भएको भए कुरा अर्कै हुन्थ्यो होला । त्यस्तो पनि भइहालेको छैन । तर होला भन्ने आशा चाहिँ बाँकी नै छ । यदि आर्थिक सम्पन्नतालाई नै योग्यताको मापदण्ड मान्ने हो भने म अझै पनि विवाहको लागि योग्य भइसकेको छैन । किन भने विवाह गर्न पुग्ने पैसा मैले कमाइसकेको छैन ।
यता जापान आएपछि त झन् बेसी विवाहका प्रस्तावहरू आउन थालेका छन् । आखिर किन ? म जापानमा छु, यसकारण ? केटी मलाई दिने हो कि जापानलाई ? तर मलाई भने म जापानमा छु भन्ने कुरामा घमण्ड पटक्कै छैन । किन भने युएईकोभन्दा बेसी दु:ख म जापानमा गरिरहेको छु । दु:ख गर्ने मान्छेले घमण्ड गर्दैन र घमण्ड गरेको सुहाउँदैन पनि ।
त्यति मात्रै कहाँ हो र ? यहीँ जापानमै आएर भेट भएका, यहीँ चिनजान भएका साथीहरूले समेत “बिहे गर्ने भए भन्नु है, मेरी साली छिन्, म मिलाइदिन्छु ।” सम्म भन्न भ्याए । तर यही कुरा युएई छँदा भएन । त्यहाँ पनि साथीहरू थिए । उनीहरूका पनि साली थिए । तर विवाहको प्रस्ताव कहिल्यै आएन । किन ? किनकी म खाडीमा थिएँ । यथार्थ कुरो चाहिँ के हो भने, मैले देश मात्रै फेरेको हो, म फेरिएको छैन । यो कुरा कसले बुझ्ने ?
पहिलो प्रेम भत्किएपछि मैले एउटा सर्वेक्षणजस्तो गरेको थिएँ । वास्तवमा केटीहरू एउटा छोरा मान्छेमा के कुरा खोज्छन् ? आखिर उनीहरूको पहिलो प्राथमिकता के कुरामा रहन्छ त ? भन्ने कुरा मलाई जान्न मन थियो । किन भने आर्थिक असमानताकै कारण हाम्रो सम्बन्ध सकिएकोमा मलाई चित्त बुझिरहेकै थिएन । सम्झी ल्याउँदा अहिले पनि चित्त बुझ्दैन । एक दर्जनभन्दा बेसी केटी साथीहरू जोसँग मेरो पहिलेदेखि नै चिनजान थियो, उनीहरूलाई मैले पालैपालो प्रेम प्रस्ताव राखेँ । तीमध्ये केही त पूर्व प्रेमिकाका साथी थिए । अधिकांशको जवाफ एउटै आयो, “तपाईं धेरै राम्रो मान्छे हो, तर म तपाईंसँग बिहे गर्न सक्दिनँ । अनि बिहे नै नगर्ने भएसी लभ मात्र गरेर के गर्नु ?”
केहीले “मेरो अर्कै छ !” भनेर मेरो प्रस्ताव अस्वीकार गरिदिए । यो सर्वेक्षणले मलाई थोरै भए पनि राहत दिलायो । किन भने लगभग धेरै केटीको पहिलो प्राथमिकता एउटै (आर्थिक सम्पन्नता) नै हुँदो रैछ भन्ने कुरा बुझ्नमा सर्वेक्षणले मलाई सहयोग गर्यो । त्यसपछि मैले आफ्नी प्रेमिकालाई गाली गर्नुको साटो आफ्नो अवस्था सुधार गर्नतिर लागेँ ।
हिन्दी फिल्म ‘ढड्कन’ मा नायक सुनिल शेट्टीको जुन अवस्था हुन्छ, त्योभन्दा फरक मेरो हुँदैन भन्ने मलाई लागिरहन्छ । फिल्ममा देखाएजस्तो सुनिल शेट्टीकोजस्तो सम्पन्नता मसँग होला नहोला, त्यो म भन्न सक्दिनँ । तर उसको मनोदशा र मेरो मनोदशा भने एउटै रहने कुरामा म ढुक्क छु । त्यस फिल्ममा आर्थिक असमानताकै कारण नायिका शिल्पा शेट्टी र नायक सुनिल शेट्टीको गहिरो प्रेम भत्किन पुग्छ । त्यही रनहामा परेर सुनिलले ठूलो आर्थिक प्रगति गर्छ । तीन चार वर्षकै अन्तरमा ऊ ५ सय करोडको मालिक बनिसक्छ । तर के गर्नु ? त्यति बेलासम्म अर्का नायक अक्षयकुमारसँग शिल्पाको विवाह भएको तीन वर्ष पुगिसकेको हुन्छ । यस कुराले सुनिललाई झन् बेसी मर्माहत बनाउँछ ।
सुनिललाई लागेको हुन्छ कि, परिवारको दबाबमा शिल्पाको विवाह अक्षयसँग भएको हो र आफू सम्पन्न भएर आएपछि शिल्पा पुन: आफ्नो जीवनमा आउने छिन् । त्यही आशा बोकेर सुनिलले आफ्नो जीवनमा पुन: आइदिनका लागि शिल्पालाई खुब अनुरोध गर्छ । रोइकराइ गर्छ । हारगुहार गर्छ । तर शिल्पाले त्यसलाई अस्वीकार गरिदिन्छे । किनभने परिवारको दबाबमै विवाह भएको भए पनि त्यतिबेलासम्म शिल्पा, अक्षयको प्रेममा चुर्लुम्म डुबिसकेकी हुन्छिन् र आफूले सुनिललाई बिर्सिसकेको जानकारी गराइदिन्छिन् । गरिब हुँदा त सुनिलले आफ्नो प्रेम पाएन-पाएन, धनी हुँदा पनि पाउन सक्दैन । योभन्दा ठूलो दुर्भाग्य अर्को के हुन सक्ला ?
“के छैन जिन्दगीमा ?
सबथोक छ
नभएको एकथोक
तिमी हौ…”
सुनिल शेट्टीको जिन्दगी फिल्ममा यस्तै देखिन्छ । र मेरो जिन्दगी पनि त्यही दिशामा अघि बढिरहेको महसूस हुन्छ । कसैले कल्पना गरेर बनाएको फिल्म कसैको जिन्दगीसँग मेल खानु, यसलाई संयोग मात्रै भनेर टार्न पक्कै मिल्दैन होला ।
एउटा सम्पन्न परिवारकी केटी र अति विपन्न परिवारको केटोसँग प्रेम भएको चलचित्रमा देखाइरहँदा, यस्तो वाइयात किन देखाइएको होला ? जस्तो लाग्थ्यो पहिले-पहिले । यस्ता कुराहरू केवल चलचित्रहरूमा मात्रै सम्भव हुन्छ, वास्तविक जीवनमा हुँदैन जस्तो लाग्थ्यो । तर जब म आफैँ त्यस्तो असमान प्रेम सम्बन्धमा परेँ, त्यसपछि भने चलचित्रमा देखाइने त्यस खाले सम्बन्धहरूमा विश्वास लाग्न थाल्यो । लाथ्यो, प्रेमले केही हेर्दैन रहेछ । हेर्ने भनेको त विवाहले मात्रै रहेछ । र त अक्सर त्यस्ता बेमेल प्रेम सम्बन्धहरू अन्त्यमा छुट्टिन्छन् नै । यस्तो बेला परिवारको यस्तो शालीन दाबाब हुन्छ कि, हत्तपत्त कुनै पनि केटीले त्यसलाई नाघेर आफ्नो प्रेम प्राप्तितर्फ लाग्दैनन् । बरु वर्षौंदेखिको प्रेम त्यागिदिन्छन् परिवारको खुशीका लागि । फिल्ममा शिल्पाले पनि पारिवारको इमोशनल ब्ल्याकमेलमा परेर सुनिल शेट्टीलाई त्यागिदिन्छिन् । जसरी उनले मलाई त्यागिन् । परिवारको खुशीका लागि पुरानो सम्बन्ध तोडेर जोडिएको नयाँ सम्बन्धमा स्वयम् ऊ चाहिँ कति खुशी छ ? मुख्य प्रश्न यो हो ।
हुन त म अहिले नै त्यो उचाइमा पुगिहालेको छैन, कि म उनलाई गएर मेरो जीवनमा पुन: फर्किएर आउन आग्रह गर्न सकुँ । तर यदि कुनै दिन मैले चाहेजस्तो आर्थिक सम्पन्नता हाँसिल गर्न सकेँ भने एक पटक उनलाई त्यो प्रस्ताव जरुर राख्ने छु, जुन प्रस्ताव सुनिल शेट्टीले शिल्पालाई राखेका थिए । तर मलाई यो पनि थाहा छ कि, शिल्पालेजस्तै उनले पनि मेरो प्रस्ताव ठाडै अस्वीकार गर्नेछिन् । तर पनि मनको सन्तोषका लागि भए पनि म त्यो प्रस्ताव जरूर राख्ने छु एक पटक ।
“फर्किएर आएँ भने पनि म तिम्रो हुन सक्दिनँ
उसो त अब म फर्किने सम्भावना पनि छैन…”
गजलकार सुमन स्मारिकाको यस शेरले भनेजस्तै हुन्छ होला उनको जवाफ पनि ।
यतिबेला साहित्यकार कृष्ण धरावासीको ‘राधा’ उपन्यास सम्झिन मन लाग्यो । उपन्यासभरि राधा र कृष्णको प्रेम कहानीले मन चसक्क-चसक्क पारिरहन्छ । विशेष गरी कृष्णप्रतिको राधाको आसक्तिले मेरो मनलाई उद्वेलित बनाइरहन्छ । र पहिलो प्रेमिकाप्रतिको मेरो पागलपनलाई बल्झाइदिन्छ । अधिक प्रेम गर्दागर्दै पनि राधा, कृष्णको बन्न सकिनन् भन्ने कुराले मेरो मनलाई मेरै विगतमा फर्काइदिन्छ । आवश्यकताभन्दा बढी गरिएको प्रेमले आफैँलाई दु:ख दिने रहेछ । यस कुराको एउटा गतिलो उदाहरण राधाको प्रेम हो । र अर्को उदाहरण म आफैँ हुँ ।
जतिजति राधाले कृष्णप्रति आसक्ति व्यक्त गर्छिन्, उतिउति म मेरो पहिलो प्रेम सम्झिन्छु । कृष्णसँगको प्रेमले राधाको हाल जस्तो हुन्छ । लगभग त्यस्तै हाल मेरो पनि भयो । यो पहिलो प्रेम भन्ने चिज नै आफैँमा अनौठो हुने रहेछ । कृष्ण, राधाका पहिलो प्रेमी थिए । र अन्तिम पनि उनी नै भए । राधाको पागलपन देखेर बेलाबेला त मलाई रिस पनि उठ्छ । जसरी मेरो पागलपन देखेर म नजिकका मान्छेलाई मदेखि रिस उठ्दो हो । तर म राधाको पागलपनलाई बुझ्न सक्छु । महसुस गर्न सक्छु । आफ्नो पागलपन देखेर राधाको पागलपन पनि ठीकै हो भन्ने लाग्छ ।
कृष्णले धोका दिएर रुक्मिणीसँग विवाह गरेपछि राधाले पनि कृष्णभन्दा धेरै राम्रो केटासँग विवाह गर्न सक्थिन् । तर गरिनन् । बरु अरूकै श्रीमान भइसकेका कृष्णको यादमा आफ्नो पूरै जिन्दगी बिताइदिइन् । जसरी अर्कैकी श्रीमती भइसकेकी प्रेमिकाको यादमा मैले मेरो जिन्दगी बिताइरहेको छु ।
खासमा कसैले धोका दियो भने त्यसको २४ घण्टाभित्रमा अर्कोसँग सम्बन्ध बनाउनु पर्ने हो । उस्तै परे विवाह नै पनि गर्नु पर्ने हो । कसैले धोका दियो भने “पख् ! तँ भन्दा राम्रोसँग बिहे गरेर देखाइदिन्छु” भन्नु पर्ने हो । तर राधाले त्यसो गरिनन् । र मैले पनि कहिल्यै त्यस्तो भनेको छैन ।
हामी छुट्टिने बेलामा उनले भनेकी थिइन्, “मलाई साँच्चै माया गर्नुहुन्छ भने कुनै राम्री केटी खोजेर बिहे गर्नु । अनि मात्रै मलाई शान्ति मिल्छ ।”
जवाफमा मैले भनेको थिएँ, “तपाईंलाई माया गर्छु र त म अरूसँग बिहे गर्न सक्दिनँ ।”
उनी मौन भइन् । हामी बिदा भयौँ ।
ब्रेकअप हुनुभन्दा पहिले पनि म बेलाबेला उनलाई भनिरहेको हुन्थेँ, “कुनै पनि बहानामा हाम्रो प्रेम नछुटोस् है । तपाईंसँग छुट्यो भने त म बिहे नै गर्दिनँ, कसम !”
“पागल ! त्यस्तो नभन्नु न ।” उनी थोरै गम्भीर हुन्थिन् ।
दश वर्ष भयो, म आफ्नो वचनमा अडिग छु । मलाई त्यतिबेलै लाग्ने गर्थ्यो – उनीसँगको प्रेम सफल भएन भने मैले अरू कसैसँग विवाह गर्नुको औचित्य छैन । यदि गरिहालेँ भने त्यो सम्झौताबाहेक अरू केही हुने छैन । र अहिले पनि मलाई यही लागिरहन्छ ।
त्यही ‘सम्झौता’ भए पनि गरिदिऊँ न त ! भनेर एक-दुई पटक गर्न खोज्दा, ती पनि सफल भएनन् । किन-किन भाग्यले मलाई जोगाइराखेको छ विवाह हुनबाट । शायद ऊ पनि चाहँदैन कि म अरू कसैको बनूँ ।
हुन पनि हो, एउटासँग प्रेम गरेर अर्कोसँग विवाह गर्न कहाँ सजिलो होला र ? त्यसलाई पनि के प्रेम भन्नु ? यस अर्थमा राधाले ठीकै गरेकी हुन् । कृष्णले धोका दिएपछि त्यसैको झोकमा राधाले पनि अर्कै कोहीसँग विवाह गरेको भए राधाको प्रेम यसरी अमर भएर बाँच्ने पक्कै थिएन । तर, अमर बन्ने चक्करमा राधाले आफूले आफैँलाई जीवनभर दु:ख दिइन् । उनको पागलपनले उनैलाई सतायो । राधाकै जस्तो अमर बन्ने चाहना कतै ममा पनि छ कि ? हैन भने दु:ख हुन्छ भन्ने जान्दाजान्दै पनि म किन पहिलो प्रेमको पागलपनबाट बाहिर आउन सकेको छैन ? जसले गर्दा मेरो पागलपनले मलाई नै दु:ख दिइरहेको छ, जसरी राधालाई दियो । यो पागलपनले मलाई कहाँ पुर्याउला ? म आफैँलाई थाहा छैन । तर पनि यही पागलपनमा म हराइरहेको छु । पाउने कुनै सम्भावा नहुँदा पनि उसैलाई प्रेम गरिरहनु, उसैलाई सम्झिरहनु, के साँचो प्रेम यही हो ? शायद यो प्रेमभन्दा पनि पागलपन बेसी हो ।
केही हदसम्म म पनि राधाकै बाटोमा छु । जसरी कृष्णले धोका दिएपछि राधाले विवाह नै नगर्ने घोषणा गरिन् । यता म पनि लगभग त्यस्तै मनस्थिति बोकेर हिँडिरहेको छु । तर सार्वजनिक रूपमा भने यो घोषणा गर्न सकेको छैन । किन भने बेलाबेला मेरो आत्मा भड्किन्छ र म आफ्नै अडानबाट विचलित हुन्छु । धेरै पटक म विवाह गर्न तम्सिएको पनि छु । धन्न विविध कारणहरूले विवाहका ती प्रयासहरू असफल भए । नत्र यतिबेलासम्म म पनि दुई चार जना सन्तानको बाउ बनिसक्थेँ ।
“जब-जब मेरो शहरमा प्रेमको चर्चा हुन्छ, तब मेरो शहरले मलाई सम्झियोस्” मलाई यस्तो लाग्छ । यो पनि पागलपनको अर्को उदाहरण हुन सक्छ । “कि प्रेम गर्दै नगर्नु, गरेपछि उसैको हुनु ।” यसो भन्न जति सजिलो छ, व्यवहारमा उति सजिलो पक्कै छैन । सजिलो हुँदो हो त रुक्मिणीभन्दा पहिले राधा कृष्णकी श्रीमती हुन्थिन् ।
“तिम्रो हात
सबैभन्दा पहिले
मैले समाएको थिएँ
तर
मभन्दा पहिले
ऊ कसरी
तिम्रो सिउँदोमा बस्यो ?”
राधालाई पनि शायद यस्तै लाग्दो हो । कृष्णको सबैभन्दा नजिक भएर पनि उनी कृष्णकी जीवनसाथी हुन सकिनन् । साँचो प्रेम गर्नेहरूले विकल्प खोज्दैनन् । जसरी राधाले कृष्णको विकल्प खोजिनन् । सम्बन्धमा विकल्प खोज्नेहरू बेइमान हुन् ।
उता कृष्णले पनि त्यति धेरै श्रीमती भित्र्याएर पनि राधालाई बिर्सिन सकेनन् । आफ्ना श्रीमतीहरूमा राधालाई प्रतिबिम्बित गरिरहे र राधाको न्यास्रो मेट्ने कोशिश गरिरहे । यस्तो पनि कहीँ हुन्छ ? हुन्छ नि ! किन हुँदैन ? मलाई पनि अहिलेसम्म यही त भइरहेको छ नि । जब-जब म कोहीसँग नजिक हुने कोशिश गर्छु, तब म उनीहरूको मुहारमा पहिलो प्रेमिकाको अनुहार खोज्न थाल्छु । आनीबानी, स्वभावहरू मेल खान्छन् कि खाँदैनन् ? नियाल्न थाल्छु । एउटाको अनुहार अर्कोमा खोज्दा कहीँ भेटिन्छ त ? एउटाको स्वभाव अर्कोमा खोज्दा कहीँ भेटिन्छ त ? पक्कै पनि भेटिँदैन । जसले गर्दा लामो समयसम्म म उनीहरूसँग बसिरहन सक्दिनँ । जसका कारण सम्बन्ध जोडिने र भत्किने क्रम चलिरह्यो र चलिरहेकै छ ।
मेरो पहिलो प्रेम असफल हुनुमा मेरो अहमताको पनि हात छ । हाम्रो आर्थिक हैसियत नमिलेर जब उनको परिवारले हाम्रो प्रेम अस्वीकार गर्ने स्थिति आयो, त्यो बेला हामीले भागेर विवाह गर्न पर्थ्यो । तर हामीले त्यसो गरेनौँ । जुन परिवारले मलाई ज्वाइँको रुपमा स्वीकार गर्दैन, त्यही परिवारमा जबर्जस्ती साइनो किन जोड्नु ? बरु म आफ्नो प्रेमको बलिदान गरिदिन्छु, तर ‘भगौडा ज्वाइँ’ बन्दिनँ भन्ने लाग्यो र मैले उनलाई भागेर विवाह गरौँ भनेर कहिल्यै भनिनँ । त्यति आँट गरेको भए शायद उनी मसँग भाग्थिन् कि ? उनको आशय बुझ्न पनि मैले त्यति आँट गर्न पर्थ्यो । तर गरिनँ । मेरो अन्तरहृदयको घमण्डले मलाई त्यसो गर्न कदापी दिएन ।
त्यति मात्रै होइन, उनको परिवारमा गएर मैले मेरो प्रेमको भिख माग्न सकेको भए कतै उनको परिवार हाम्रो विवाहका लागि राजी हुन्थ्यो कि ? उनको परिवारमा गएर मैले मेरो प्रेमको याचना गर्न पर्थ्यो । बिलौना गर्न पर्थ्यो । रोइकराइ गर्न पर्थ्यो । हारगुहार लाउनु पर्थ्यो । परिवारसामु लम्पसार परेर झुक्नु पर्थ्यो । प्रेमले झुक्न सिकाउँछ । तर मेरो अहमताले मलाई झुक्न दिएन । र म झुकिनँ पनि । “उनको घरमा गएर उनको हात मेरो लागि मागिदिनुस् न !” भनेर मैले कसैलाई भनिनँ पनि । न त आफू नै गएँ । मागेर पाएको प्रेमले कतिन्जेल खुशी बनाउला र ? मनमा प्रश्न उब्जियो । प्रेमको भिख माग्नुभन्दा प्रेमको बलिदान गर्नु उचित ठान्यो मनले । र मैले त्यही गरेँ ।
साहित्यकार पारिजातको कथा ‘मैले नजन्माएको छोरो’की ‘म’ पात्रलाई अरूका केटाकेटी देख्दा खुब रहर लाग्छ । कसैका केटाकेटी देख्दा खेलाऊँ-खेलाऊँ लाग्छ । काखमा राखेर माया गरूँ-गरूँ लाग्छ । बोकूँ-बोकूँ लाग्छ । नभन्दै एक जना अर्कैको छोरालाई भित्रभित्रै प्रेम गर्न पुग्छिन् । तर स्वयम् आफू कसैकी श्रीमती भएर त्यसबाट जन्मिएको सन्तानको आमा हुने रहर चाहिँ उनलाई पटक्कै हुन्न । उनी भन्छिन्, ” कल्पना गर्छु, यहाँ सबै छोरैछोरा भए ! अनि आफैँ खिस्स हाँस्छु । तर छोरो खेलाउनलाई पोइ चाहिन्छ । पोइ भन्नासाथ मेरो आँग सिरिङ्ग हुन्छ, किनकि यो पोइ मैले कहिल्यै कल्पना नगरेको बस्तु हो । पोइभन्दा मलाई घिनजस्तो लाग्छ । एउटा छोराको लोभले म कल्पनामा पोइ समात्न खोज्छु । तर मरे पनि समात्न सक्तिनँ ।”
यता मलाई पनि ठ्याक्कै त्यस्तै हुन्छ । मलाई पनि केटाकेटी खुब मन पर्छन् । त्यसमा पनि छोरी झन औधी मन पर्छ । कसैका केटाकेटी देख्दा मभित्र एक किसिमको तरङ्ग उत्पन्न हुन्छ । त्यसले स्वयम् मलाई पनि ती केटाकेटीजस्तै बनाइदिन्छ र उनीहरूसँग खेल्न मन लागिहाल्छ । छुन, माया गर्न अथवा बोक्न पाइनँ भने पनि कम्तिमा उनीहरूलाई हेरेर मुसुक्क हाँस्छु र इसाराले बोलाउने कोशिश गर्छु । कहिल्यै देख्दै नदेखेको, चिन्दै नचिनेका मान्छेका केटाकेटी कतै देखेँ भने पनि त्यसो गर्न मन लागिहाल्छ । तर, ती कथाकी पात्रलाई जस्तै मलाई पनि, कसैसँग विवाह गरेर, कसैलाई श्रीमती बनाएर ऊबाट जन्मिएको सन्तानको बाउ हुने रहर चाहिँ पटक्कै छैन । र नहोस् पनि ।
पहिलो प्रेम भत्किएदेखि यता स्पष्ट रूपमा मैले श्रीमतीको चित्र मनमा कोरेको छैन । कोर्न सकेको पनि छैन । जग्गेमा बसेर कसैलाई सिन्दुर हाल्दै गरेको कल्पनासम्म गर्न सकेको छैन । अरू कसैलाई सिन्दुर हाल्दै गरेको कल्पना गरिसक्दा पहिलो प्रेमिकाको अनुहार आँखा अघि आइपुग्छ । अनि उनको अनुहारले रिसाएर भनेझैँ लाग्छ, “ओई ! यो के गर्या ? कस्लाई सिन्दुर हाल्न लागेको ? मलाई बिर्सिस् ?”
अनि म झसङ्ग हुन्छु र श्रीमतीको कल्पनै गर्न छोड्दिन्छु । त्यति मात्रै होइन, कहिलेकाहीँ सपनामा मेरो विवाह हुँदै गरेको अथवा कहिले त विवाह नै भइसकेको देख्छु । सपनामा विवाह भएको देख्दा समेत म अत्तालिँदै भाग्छु र झल्याँस्स बिउँझन्छु । अनि मनमनै भन्छु, “धन्न सपना रैछ !”
प्रेमिकालाई म जति स्वतन्त्र छोड्न सक्छु अथवा भनौं जति स्वतन्त्रता दिन सक्छु, शायद श्रीमतीलाई त्यति दिन सक्दिनँ । एक चिम्टी सिन्दुरको भरमा म कसैको व्यक्तिगत स्वतन्त्रता खोस्न सक्दिनँ र त्यो म चाहन्न पनि । किनभने म आफैँ पनि कसैको बन्धनमा बसिरहन नसक्ने भएको छु । त्यतिमात्रै होइन, पूर्णरूपमा समर्पित भएर प्रेमिकालाई म जति प्रेम गर्न सक्छु, शायद त्यति प्रेम म श्रीमतीलाई गर्न सक्दिनँ । अनि प्रेमबिनाको सम्बन्ध कतिन्जेल चल्ला र ? यसकारण पनि म विवाहदेखि डराउँछु । तर बेलाबेला मनले कसैको भरपर्दो साथ चाहिँ खोज्छ । तर त्यो साथ श्रीमतीको रूपमा होइन । यस्तो साथ, जहाँ प्रेम होस्, सम्मान होस्, साथ र सहयोग होस् अर्थात सबथोक होस् तर सिन्दुरको बन्धन नहोस् । त्यसैले आजको मितिसम्म आइपुग्दा मलाई न त श्रीमतीको रहर छ, न त छोराछोरीको नै । भोलि के हुन्छ त ? त्यसको ग्यारेन्टी त म पनि लिन सक्दिनँ । पहिलेजस्तै फेरि आत्मा भड्कियो भने म विवाह बन्धनमा बाँधिन पनि सक्छु । हैन भने डामेर खुल्ला छोडिएको साँढेजस्तै स्वतन्त्र जीवन बाँच्न मन छ । तर कसैको बाली बिगार्दै हिँड्ने रहर चाहिँ पटक्कै छैन ।
आमासँग मेरो विवाहको बारेमा कुरा चलिरहन्छ । यही क्रममा एक दिन मुस्कुराउँदै आमाले भन्नुभयो, “अब त तैँले बिहे गर्न पर्छ । तैँले बिहे गरेको देख्न पाएँ भने मात्र मेरो सास आनन्दले जान्छ ।”
मैले पनि मुस्कुराउँदै भनेँ, “तपाईंको सास जाने चक्करमा मैले मेरो सास कसरी बन्द गर्नु ?”
आमा मुस्कुराउनु भयो र भन्नुभयो, “तँलाई गोरु….!”
स्वयम् आफू विगत १३ वर्षदेखि घरमा एक्लै बसिरहनु भएको छ, आमालाई त्यसको पीर छैन । तर म एक्लो भएकोमा उहाँलाई पिर छ । आमाको माया भनेको यही त होला नि !
विवाहको कल्पना गरिसक्दा म निसास्सिन्छु । कुनै अँध्यारो बन्द कोठामा थुनिएजस्तो महसुस हुन्छ । शायद यो पनि एक किसिमको ‘फोबिया’ नै हो ।
“अनि के को रहर छ त ?”
मन त भन्छ, खरानी घसेर जोगी भएर हिँडूँ । तर त्यो पनि जीवनमुक्तिको उपयुक्त माध्यम होजस्तो लाग्दैन । त्यो त सांसारिक भोगबाट पलायन हुन खोजेजस्तो मात्र हुन जाला । जुन म चाहन्न । मलाई त विवाहमा मात्रै वैराग्य पलाएको हो । अन्य कुरामा त राग बाँकी नै छ । जोगीकै प्रसङ्गमा कथाकार पुष्कर शमशेर ज.ब.रा. कथा ‘स्वार्थत्याग’मा उल्लेख गर्छन्, “जीवनको झोंजबाट अलग भई, हरिनाम जपी शान्तिमय जीवन गुजार्ने लोभले काँतर मानिस जोगी हुन्छन् ।”
उनले भनेजस्तो मलाई त्यस्तो काँतर हुनु पनि छैन । कि त आध्यात्मिक बाटो अपनाउनु पर्यो, जसबाट बुद्धत्व प्राप्त गरेर जीवनको सम्पूर्ण दु:खबाट मुक्त हुने सम्भावना रहन्छ । तर यही जुनीमा मुक्त होइएला भन्ने पनि लाग्दैन । स्वयम् सिद्दार्थलाई त बुद्ध हुन पाँच सयभन्दा बेसी जुनी लागेको थियो भनिन्छ । लु भो ! यस्तो झन्झटमा नपरम् । तर यदि पहिलो प्रेम फर्कियो भने चाहिँ मभित्र पनि श्रीमतीको रहर फर्किन सक्ला, त्यो कुरा अर्कै भयो ।
विवाहको कुरा चलिरहेकै बेला एक दिन आमाले मुस्कुराउँदै भन्नुभयो, “मैले सिङ्हबाहिनी देवीसँग मागिदिएर छोरीहरूले राम्रा ज्वाइँ पाए । अब तेरो लागि पनि एउटी राम्री केटी माग्दिन्छु !”
“त्यसरी मागेर पाउने भए उस्लाई मागिदिनू !” भन्दै मैले पहिलो प्रेमिकाको नाम लिएँ । आमा मुस्कुराउनु भयो र गाली गरे झैँ गर्दै भन्नुभयो, “थुक्क गोरु ! अर्काकी स्वास्नी ल्याउँछस् ! अर्काकी स्वास्नी ल्याउनुभन्दा त बरु नागै बस् !”
म मुस्कुराएँ मात्र । भन्न त मन थियो, “स्वास्नी जस्की भए पनि प्रेमिका त मेरै हो नि !” तर भनिनँ । भन्न सकिनँ पनि ।
विवाहको कुरा गरिरहँदा धेरै वर्ष अगाडिको कुरा हो, जतिबेला म सानै थिएँ, एक जना ज्योतिषीले मेरो हात हेर्दै भनेका थिए, “तिम्रो भाग्यमा सन्तान र श्रीमतीको सुख खासै लेखिएको छैन !” त्यतिबेला त के भनेको होला ? जस्तो लागेको थियो । अहिले सम्झिल्याउँदा ठीकै भनेछन् बूढाले । मेरो पारा यस्तै हुन्छ भन्ने कुरा उनले उतिबेलै देखेका रैछन् क्यार ।
‘प्रेमको अर्को पनि नियम छ’ भनेर सामाजिक सञ्जालमा प्रेमका विभिन्न आयमका बारेमा बेलाबेला लेखिरहनु हुने, लेखक तथा साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले यस्तै विवाह र प्रेमको प्रसङ्गमा एक दिन मलाई भन्नुभयो, “कसैको प्रेममा परिसकेपछि उसैसँग बिहे गरौँ-गरौँ लाग्नु पर्छ भित्रैबाट । त्यो पो खासमा प्रेम हो त । प्रेम चाहिँ गर्न मन लाग्ने अनि बिहे चाहिँ गर्न मन नलाग्ने, त्यस्तो पनि कहीँ प्रेम हुन्छ ? त्यो त केवल शरीरको आकर्षण मात्रै हो । र तपाईंले त्यसैलाई प्रेमको नाम दिँदै आउनुभएको छ । तर त्यो प्रेम हैन ।”
त्यति मात्रै हैन, प्रेमको सवालमा उहाँले मेरा कमजोरीहरू पनि औँल्याइदिनु भयो । कसैलाई छिट्टै विश्वास गरेर प्रेममा परिहाल्नु, धोका नपाएसम्म अन्धभक्त भएर विश्वास गरिरहनु, आवश्यकताभन्दा बेसी प्रेम गर्नु/देखाउनु, प्रेममा परिसक्न पाएको छैन आफूले सक्ने जति सबै किसिमको सहयोग गरिहाल्नु, आफ्ना पूर्व प्रेम सम्बन्धका बारेमा जानकारी गराइहाल्नु लगायत मेरा कमजोरीहरूका बारेमा चर्चा भए । यी बानीहरूमा सुधार गर्न नसके मेरा कुनै पनि प्रेम सम्बन्ध नटिक्ने उहाँले ठोकुवासमेत गर्नुभयो । उहाँका कुराहरू सुनिरहँदा म भने मुस्कुराइरहेको थिएँ । किनभने उहाँले भनेका कुराहरू मेरो जीवनमा शतप्रतिशत मेल खाएका थिए । र खासमा म बिग्रेको पनि यिनै बानीहरूले गर्दा हो ।
यता ओशोको कुरा सुन्ने हो भने उहाँका कुरा अर्कै छन् फेरि । उहाँ भन्नुहुन्छ, “विश्वास एउटा गुण हो, कुनै बस्तु होइन । विश्वासले तिमी आफैँभित्र जन्म लिन्छ, बाहिर अरू कसैमा हुने होइन । जसलाई तिमीले विश्वास गरेका थियौ त्यो त केवल एउटा बहाना मात्र थियो, खासमा विश्वास सधैँ तिमी भित्रै थियो । त्यसैले, कसैले तिम्रो विश्वास तोड्छ भने पनि विश्वास गर्ने आफ्नो स्वभावलाई नगुमाउनु । किन भने परिस्थिति खराब हुन सक्छ, तिम्रो स्वभाव खराब हुन सक्दैन । मान्छे बदलिन सक्छन्, तिम्रो आन्तरिक स्वभाव बदलिन सक्दैन ।”
विश्वास गर्ने मेरो आन्तरिक स्वभाव भएरै त होला नि, जति जनाले विश्वास तोड्दै गए पनि मैले आफ्नो स्वभाव परिवर्तन गर्न सकिनँ । र मेरो जीवनमा आउन खोज्ने हरेकलाई विश्वास गरी नै रहेँ ।
ओशो फेरि भन्नुहुन्छ, “प्रेम एउटा ऊर्जा हो, जसको प्रवाहका लागि व्यक्ति एउटा माध्यम मात्र हो, सम्बन्ध केवल एउटा माध्यम मात्र हो । तर प्रेम तिम्रो हो, प्रेम तिम्रो स्वभाव हो, प्रेम तिम्रो प्रकृति हो । त्यसैले सम्बन्ध छुटे पनि प्रेम सकिँदैन । बरु प्रेमले आफ्नो बाटो परिवर्तन गर्छ । तिमी जुन ढड्कनलाई महसूस गर्छौ, त्यो पनि प्रेमको एउटा रूप हो । त्यही ऊर्जाले जीवनलाई पनि चलाउने गर्छ । त्यसैले कसैले तिमीलाई छोड्छ भने पनि प्रेम नछोड्नु । किन भने व्यक्ति गलत हुन सक्छ, ऊर्जा गलत हुन सक्दैन ।”
प्रेमले आफ्नो बाटो परिवर्तन गर्ने भएरै त होला नि, म पनि दर्जनौँ प्रेम सम्बन्धहरूमा रुमल्लिहिँडेको । पहिलो प्रेम भत्किएपछि म जतिजनासँग ठोक्किएँ, उनीहरूसँग विवाह गर्ने भावना त जाग्छ, तर त्यो भावना मेरो मनमा लामो समयसम्म टिक्दैन । सङ्गत गर्दै गएपछि कि त मेरा केही बानीहरू उनीहरूलाई मन पर्दैन । कि त उनीहरूका केही आनीबानी मलाई मन पर्दैन । जसले गर्दा विवाहमा परिणत हुनुभन्दा पहिल्यै प्रेम सम्बन्ध सकिन्छ । र लामो समयदेखि त्यस्तै हुँदै आएको छ । कोइरालाले भनेजस्तै मलाई विवाह बन्धनसम्म पुर्याउन सक्ने प्रेमिका यो जुनीमा पाइएला ?
जिन्दगीको यात्रामा हजारौँ विकल्पहरू भेटिन सक्छन् ।
ती विकल्पहरूले मनलाई अलमलाउन सक्छन् । लोभ्याउन सक्छन् । आफूतिर आकर्षित गर्न सक्छन् । तर, साँचो प्रेम गर्नेहरू ती विकल्पको पछि लाग्दैनन् । उनीहरू त पहिले नै आफूले तोकेको प्रेमको गन्तव्यमा पुग्न आतुर हुन्छन् । त्यसैको प्राप्तीको मीठो कल्पना गर्दै निरन्तर यात्रा गरिरहन्छन् । म पनि प्रेमका त्यस्ता अनेकौं विकल्पहरूमा अलमलिएँ । लोभिएँ । आफ्नो प्रेमको वास्तविक बाटो बिर्सिएर म धेरै समय अन्यत्रै हराएँ । तर ती वैकल्पिक बाटाहरूले मलाई कतै पनि पुर्याएनन् । न त पूर्ण सन्तुष्टि नै दिन सके, जुन सन्तुष्टि पहिलो प्रेमले दिएको थियो । पहिलो प्रेममा जुन मिठास थियो, त्यही मिठास मैले त्यसपछिका प्रेम सम्बन्धहरूमा पनि खोजिरहेँ । तर कहिल्यै कोहीबाट पाइनँ । जसले गर्दा पछिल्ला प्रेम सम्बन्धहरूमा बसिरहँदा पनि मैले पुरानै प्रेमलाई सम्झिरहेँ । अहिले पनि बाटोमा गुलाब बोकेर उभिनेहरू प्रसस्तै भेटिन्छन् । एकछिन त्यता अलमलिएँ भने पनि उनीहरूको मोहमा नपरी म एकोहोरो हिँडिरहेको छु । मेरो यो यात्राले मलाई कहाँ पुर्याउने हो ? त्यो त मलाई पनि थाहा छैन । तर पनि म हिँडिरहेको छु । पहिलो प्रेमिकासँग पुनर्मिलन भइदिने हो भने मेरो यो यात्रा टुङ्गिने थियो । तर त्यो सम्भव छैन ।
“मेरो पर्खाइमै
शायद कुनै खोट थियो
नत्र उनी त
नआई नछोड्ने मान्छे हुन्…”
कवि विप्लव प्रतीकका यी पङ्क्तिहरूले भनेजस्तै शायद मेरो पर्खाइमा पनि कुनै खोट छ । म यस्तो चौतारोमा बसेर पर्खिरहेको छु, जुन चौतारोमा अब उनी कहिल्यै थकाइ मार्न समेत आउने छैनन्, मेरो जिन्दगीमा आउनु त धेरै परको कुरा भइगयो । यस्तो सम्भव नै नभएको यो यात्रामा म किन हिँडिरहेको छु ? किन पर्खिरहेको छु ? स्वयम् मलाई नै थाहा छैन । तर पनि म हिँडिरहेको छु मनमा उनकै सम्झना बोकेर, शिवजीले सतीदेवीको लास बोकेर हिँडेजस्तै । सतीदेवीका अङ्गहरू जहाँ-जहाँ पतन भए, पछि गएर ती ठाउँहरू पवित्र तीर्थस्थलमा परिणत भए । कुनै दिन तिम्रा यादहरूको पनि प्रेमिल तीर्थस्थल बन्ला कि ?
“म पर्खिन्छु
जबसम्म तिमी आफैँ आएर
यो छातीमा लेखिएको
तिम्रो नाम
तिमी आफैँले मेटाउँदैनौ
तबसम्म म पर्खिन्छु…”
मैले तिम्रो प्रेमलाई बजारमा पुर्याएर आफूलाई कवि बनाएँ, लेखक बनाएँ । मेरा शब्दहरू बाँचुन्जेल तिमी पनि बाँचिरहने छौ । तिमी आफूलाई भाग्यमानी सम्झ, कोही त छ जसले विगत १६ वर्षदेखि तिमीलाई प्रेम गरिरहेको छ र तिम्रै बारेमा लेखिरहेको छ । म त्यो प्रेमी हुँ, जो तिम्रो हृदयमा सबैभन्दा पहिले बस्न सफल भएर पनि तिम्रो सिउँदोसम्म पुग्न सकिनँ । र उसले तिम्रो सिउँदो रङ्ग्याएपछि मलाई रातो रङ मन पर्न छोड्यो ।
गीतकार भोला श्रेष्ठको शब्दमा पर कतै गायक/सङ्गीतकार सुरेश अधिकारी मधुर स्वरमा गुनगुनाएझैँ लाग्यो….
एक धर्को सिन्दुर के हो र
त्यो त पखालिन सक्छ
चुरा पोते काँचको न हो
त्यो पनि फुट्न सक्छ
दिन्छु तिमीलाई यो चोखो माया
जो सधैँ-सधैँ बाँचिदिन्छ…



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ फाल्गुन २०८२, शनिबार 










