हाम्रो विमानले पुन्टा काना अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गलाई स्पर्श गर्दा मध्य जनवरी २०२६ को एउटा घमाइलो अपराह्न थियो । ढोका खुल्नेबित्तिकै क्याबिनको कृत्रिम र सुख्खा हावालाई चिर्दै क्यारिबियन सागरको न्यानो र ओशिलो झोँक्काले अङ्कमाल गरेको अनुभूति भयो । नर्थ क्यारोलाइनाको माइनस सात डिग्री सेल्सियसको कठ्याङ्ग्रिँदो जाडोबाट सिधै २४-२५ डिग्रीको त्यस न्यानोमा पुग्दा शरीर र मन दुवैले एक प्रकारको मुक्ति महसूस गरे ।
एउटा झोला ढाडमा भिरेर टर्मिनलतर्फ हिँड्दै गर्दा विमानस्थलको संरचना आफैँमा अनौठो लाग्यो । आधुनिकता र स्थानीय संस्कृतिलाई कलात्मक रूपमा मिसाइएको रहेछ त्यहाँ । टर्मिनलको छानो परम्परागत ताडका पातहरूले छाएको छ, जसले गर्दा कुनै भव्य रिजोर्टमा प्रवेश गर्न लागेको जस्तो महसूस हुन्छ । ताडको रूख यहाँको जनजीवन र संस्कृतिसँग अभिन्न रूपमा जोडिएको रहेछ । डोमिनिकन रिपब्लिकमा पाइने एक विशेष प्रकारको ताडको रूखलाई स्थानीय भाषामा ‘काना’ भनिन्छ । त्यही ‘काना’ र यो टापुको ‘चुच्चो’ अर्थात् स्थानीय भाषामा ‘पुन्टा’ मा अवस्थित भएकोले यो ठाउँलाई ‘पुन्टा काना’ भनिएको रहेछ ।
भौगोलिक रूपमा यो टापु निकै विशाल रहेछ, जसलाई हिसपानियोला भनिँदो रहेछ । यस टापुको पश्चिमी भागमा ‘हैटी’ अवस्थित छ भने बाँकी ठूलो हिस्सा डोमिनिकन रिपब्लिकले ओगटेको छ ।
अध्यागमन क्षेत्रमा मानिसहरूको भीडभाड थियो, तर पृष्ठभूमिमा बजिरहेको त्यहाँको मौलिक ‘बाचाता’ र ‘मेरेन्गे’ संगीतको मधुर धुनले वातावरणलाई शान्त र रमाइलो बनाइदिएको थियो । लामो यात्राको थकान ती धुनहरूमा कतै बिलाएजस्तो महसूस भयो । अध्यागमनको छरितो प्रक्रिया देख्दा यो व्यवस्थित पर्यटनको एउटा हिस्सा नै हो जस्तो लाग्यो ।
वातानुकूलित विमानस्थल ? हामी पुगेको टर्मिनल ‘ए’ चाहिँ पटक्कै त्यस्तो थिएन । त्यहाँ त परम्परागत शैलीको अग्लो छानो र ठूला-ठूला सिलिङ फ्यानहरू घुमिरहेका थिए । बाहिरको तापक्रम बढी भए पनि ती फ्यान र खुला संरचनाका कारण गर्मी महसूस नै भएन ।
अध्यागमनको औपचारिकता सकेर जब हामी बाहिर निस्कियौँ, टाउको माथि अग्ला-अग्ला नरिवलका रूखहरूले सजिएको गाढा नीलो आकाश देखियो । एकजनाले ‘ट्याक्सी ?’ भन्दै सोधे । केहीबेर मोलमोलाई भयो अनि श्रीमती तेजस्वी र मा पुन्टा काना डाउनटाउनतर्फ लाग्यौँ । ट्याक्सी चालकले ठूलो स्वरमा स्पेनिस गीतहरू बजाए ।
पहिलो रातलाई बिदा गर्दै भोलिपल्ट बिहानै ‘साओना’ टापु जान हामी निकै आतुर थियौँ । तर, भोलिपल्ट बिहान मुसलधारे पानी पर्यो । हामीले त्यहाँ जाने कार्यक्रम रद्द गर्यौँ । तर, एक घण्टामै पानी रोकिएर टन्टलापुर घाम लाग्यो, त्यसपछि भने टापु नगएकोमा पछुतो भयो । हामीले त्यो बिहान होटलको स्वीमिङ पुलमा बितायौँ ।
मध्याह्नमा जब मैले पहिलो पटक ‘बाभारो बीच’ को सेतो बालुवामा पाइला टेकेँ, मनै आनन्दित भयो । मेरो खाली खुट्टाले त्यो नरम, मसिनो र शीतल बालुवालाई स्पर्श गर्दै समुद्रतर्फ लम्किँदा लाग्थ्यो- कुनै सुकुमार शिल्पीले मेरो स्वागतका लागि किनारभरि मखमली गलैँचा बिछ्याइदिएको छ । बालुवामा खुट्टा भास्सिएर औँलाहरूको चेपमा छिर्दा एउटा अनौठो आनन्द महसूस भइरहेको थियो ।
एकैछिनमा मेरो सामुन्ने अथाह क्यारिबियन सागर आफ्नो पूर्ण बैँसमा छचल्किरहेको भेटियो । नीलो पानीका छालहरू किनारमा ठोक्किँदा एउटा लयबद्ध सङ्गीत गुञ्जिरहेको थियो ।
एकैछिन पानीमा डुबुल्की मारेर हामी समुद्री किनारका आराम कुर्सीमा लमतन्न भयौँ । तर त्यो नीलो क्षितिजले मलाई बसिरहन दिएन; जुरुक्क उठेर बालुवै-बालुवाको किनारै-किनार पैदल टहल्न थालेँ । त्यहाँको दृश्य निकै लोभलाग्दो थियो । के केटाकेटी, के बूढाबूढी सबैजना आ-आफ्नै संसारमा मग्न थिए । कोही छालहरूसँग लुकामारी खेल्दै डुबुल्की मार्दै थिए भने कोही सुनौलो घाम तापेर सुतिरहेका । कतै भलिबलको प्रतिस्पर्धा चलिरहेको थियो त कतै प्रेमी जोडीहरू बालुवामा सुस्तरी पदयात्रा गरिरहेका देखिन्थे । किनारमा फाट्टफुट्ट ठडिएका नरिवलका रुखहरूले त्यो सुन्दर तटको शोभामा थप निखार ल्याएका थिए ।
दिउँसो ढल्किँदै जाँदा सूर्यको न्यानो किरणले क्यारिबियन क्षितिजलाई गुलाबी र सुन्तला हुँदै गाढा रातो रङको मिश्रणले रङ्गाउँदै थियो । म टक्क उभिएँ- स्थिर, निःशब्द र पूर्ण रूपमा मन्त्रमुग्ध ! आँखाले भ्याएसम्म फैलिएको त्यो नीलो समुद्रलाई हेरिरहँदा मलाई त्यो सागर कुनै भौतिक चीज नभएर एक जीवन्त सपना जस्तो लाग्यो ।
आकाशमा एक हूल ‘म्याग्निफिसेन्ट फ्रिगेट’ चराहरू उडिरहेका थिए । उनीहरू आफ्ना लामा र साँघुरा पखेटाले हावाको धार समातेर पखेटा नफटफट्टाईकन आकाशमा तैरिरहेका देखिन्थे । अचम्म त के भने, उनीहरू यसरी नै घण्टौँसम्म उड्न सक्दा रहेछन् ।
त्यो दिन सूर्यास्त हेर्न जुरेन, बादलले सूर्यलाई लुकाएको थियो । साँझ पर्दै गर्दा दर्के पानी पर्यो । सबै आ-आफ्नो ओततिर लागे । हामी पनि उबर लिएर होटेल फर्कियौं ।
पहिलो दिनमै थाहा भयो, यो ठाउँ त साँच्चै जादूयी संसार रहेछ । डोमिनिकन रिपब्लिक मात्र होइन, क्यारिबियनका सबै टापु देशहरू प्रकृतिका अनुपम उपहार हुन् । सेतो बालुवाका समुद्री तटहरू, नीलो र सफा पानी, हरियाली वनजंगल, अनि बाह्रै महिना लोभलाग्दो रहने मौसम भएपछि अरू के चाहियो र ? त्यसैले त यी टापु देशहरू विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येमा पर्दछन् ।
तेस्रो दिनको बिहान भने केही समय मेरा लागि ‘पुन्टा काना’को पर्यटक स्वरूपबाट टाढिएर आफ्नो व्यावसायिक जिम्मेवारीमा फर्कनुपर्ने बाध्यता आइलाग्यो । बाहिर क्यारिबियनको कञ्चन आकाशले फुरुङ्ग पार्दै बोलाइरहेको भए पनि कोठाभित्र ल्यापटपको स्क्रिनमा मेरा वैज्ञानिक तथ्याङ्क र कार्यव्यस्तता कुरिरहेका थिए । झ्यालबाट देखिने ती अग्ला र लहराइरहेका ताडका रूखहरूलाई साक्षी राखेर केही घण्टा मैले आफ्ना अनुसन्धान र ईमेलहरूमा खर्चिएँ ।
बेलुका ‘क्याप काना’ जाने योजना बन्यो । यो एउटा निजी, गेटेड कम्युनिटी भएकोले त्यहाँ प्रवेश गर्नका लागि अनुमति चाहिन्छ । हामीले एउटा रेष्टुरेन्टमा रिजर्भेसन गरेको हुनाले जान पायौँ ।
चालकले हामीलाई सोझै जुवानिल्लो समुद्री तटमा पुर्याए । बाभारोको भीडभाडबाट टाढा, त्यो शान्त र फराकिलो तट देख्दा हामी मन्त्रमुग्ध भयौँ । त्यहाँको कपासजस्तो नरम र सेतो बालुवामा खाली खुट्टा हिँड्दा र ‘क्रिस्टल-क्लियर’ पानीमा पौडी खेल्दा मनमा एउटा बेग्लै आनन्द छायो । किनारमा रहेका विभिन्न ‘बीच क्लब’हरूले आरामदायी सुविधाहरू प्रदान गर्दा रहेछन्, जहाँ लामो समयसम्म घाम ताप्दै वा नरिवलको रूखको छायामा बसेर क्यारिबियन सागरको असीमित सौन्दर्य नियाल्न सकिन्छ ।
यो तट सर्वसाधारणका लागि पनि खुला भएकाले अरूहरू जस्तै हामी पनि निर्धक्क घुम्यौँ । त्यही शान्त वातावरणमा दिउँसो ढल्किँदै गर्दा अस्ताउँदो सूर्यको गुलाबी र सुन्तला रङको जादूयी खेल हेर्नु साँच्चिकै अविस्मरणीय अनुभव रह्यो, जसले क्यारिबियनलाई ‘स्वर्ग’ भन्ने उपमालाई पूर्ण रूपमा सार्थक बनाउँछ । घुम्दाघुम्दै थाहा भयो- हामीले रिजर्भेसन गरेको रेष्टटुरेन्ट त बन्द भइसकेको रहेछ ।
क्याप कानामा घुम्ने र हेर्ने आकर्षक ठाउँहरू धेरै रहेछन् । यहाँको प्रमुख आकर्षण ‘स्केप पार्क’ हो, जहाँ आगन्तुकहरूले जिप-लाइनिङ, गुफा अन्वेषण र ‘होयो एजुल’ जस्ता प्राकृतिक तालमा पौडी खेल्ने साहसिक अनुभव लिन सक्छन् । यसबाहेक ‘मरीना क्याप काना’ क्यारिबियनकै ठूला मरीनाहरूमध्ये एक हो ।
मजस्ता गल्फ प्रेमीहरूका लागि ज्याक निक्लसद्वारा डिजाइन गरिएको ‘पुन्टा एस्पाडा गल्फ क्लब’ उत्कृष्ट छ । विलासिता खोज्नेहरूका लागि विश्वस्तरीय स्पा र मरीना क्षेत्रमा रेष्टुरेन्ट, बार तथा नाइट लाइफको मनोरञ्जन लिन सकिन्छ ।
चौथो दिन बिहान ७:५० मा सान्तो डोमिङ्गो जानुपर्ने थियो, तर गाडी आएन । धेरैबेर होटेलको लबीमा कुरेपछि बाहिर गएर हेर्दा चालक त बाहिरै हामीलाई पर्खिरहेका रहेछन् । उनले होटलबाट लगेर एउटा पेट्रोल पम्पमा उतारे; त्यहाँ केहीबेर पर्खेपछि एउटा बस हामी करीब ३५ जनालाई लिएर राजधानीतर्फ लाग्यो ।
पुन्टा कानाको शान्त समुद्री तटलाई छाडेर राजधानी सान्तो डोमिङ्गोतर्फको बस यात्रा निकै रोचक र विविधतापूर्ण रह्यो । बिहानको केही अलमलपछि शुरू भएको यस यात्रामा डोमिनिकन रिपब्लिकको भित्री भूगोल नियाल्ने अवसर मिल्यो । आधुनिक बसको झ्यालबाट देखिने हरियाली उखुका खेतहरू, साना ग्रामीण बस्तीहरू र क्यारिबियन सागरको नीलो क्षितिजले यात्रालाई थकानरहित बनायो । करीब तीन घण्टाको यस सडक यात्राले रिसोर्टको विलासिताबाट बाहिर निकालेर हामीलाई यस देशको वास्तविक जनजीवन, संस्कृति र ऐतिहासिक गहिराइसँग साक्षात्कार गरायो ।
सान्तो डोमिङ्गो पुगेपछि हाम्रो पहिलो बिसौनी ‘फारो आ कोलोन’ रह्यो । प्राचीन र आधुनिकताको दोसाँधमा उभिएको यो विशाल कङ्क्रिटको संरचना सन् १९९२ मा कोलम्बस आगमनको ५०० औँ वर्षगाँठको अवसरमा बनाइएको हो । टाढाबाट ‘क्रस’ आकारमा देखिने यो भव्य स्मारक कुनै साधारण लाइटहाउस मात्र नभएर इतिहासको एउटा गहिरो पदचाप जस्तो महसूस हुन्थ्यो ।
गाइड रामोसले इतिहास कोट्याउँदै भने, “यो देशका मुख्य बासिन्दा ताइनो आदिवासी हुन् । सन् १४९२ मा क्रिस्टोफर कोलम्बसको आगमनपछि विभिन्न कालखण्डमा स्पेन,फ्रान्स र हैटीको शासन सहेर सन् १८४४ मा स्वतन्त्र भएको हो ।”
उनले थपे, “यो लाइटहाउसमा बत्ती बाल्दा पुर्तोरिको र क्युबाबाट समेत देखिन्छ ।“
यस स्मारकको गर्भ गृहभित्र प्रवेश गर्दा एउटा अजीवको गम्भीरता महसूस भयो । भित्र अवस्थित सङ्ग्रहालयका झन्डै ५० वटा कोठामा विश्वका ४० भन्दा बढी देशका सांस्कृतिक चिनारी र कलाकृतिहरू सजाइएका रहेछन् । तर, त्यो विशाल स्मारकभित्र सबैको आकर्षणको मुख्य केन्द्र त त्यो विशेष स्थान थियो, जहाँ विख्यात अन्वेषक क्रिस्टोफर कोलम्बसको अस्तु (खरानी) राखिएको छ । इतिहासका अनेकौँ आरोह-अवरोह र विवादहरूका बीच, एउटा युगकै परिवर्तन गर्ने यात्रीको अन्तिम विश्रामस्थलको रूपमा रहेको त्यो भागले त्यहाँ पुग्ने जोकोहीलाई एकपटक गम्भीर र स्तब्ध बनाउँदो रहेछ ।
हामी मुख्य शहरतर्फ लाग्यौँ । सान्तो डोमिङ्गोको मुटुमा अवस्थित नेशनल प्यालेसको भव्य नियोक्लासिकल वास्तुकलालाई बाहिरैबाट नियाल्दा पनि डोमिनिकन गणतन्त्रको गौरवशाली राजनीतिक इतिहासको आभास हुन्छ । मलाई सिंहदरबार जस्तै लाग्यो । यो शक्ति र शासनको केन्द्र मात्र नभएर कलाको एउटा उत्कृष्ट नमुना पनि हो, जहाँको सुसज्जित बगैँचा र विशाल गुम्बजले जोकोहीलाई आकर्षित गर्छ ।
डोमिनिकन गणतन्त्रको झण्डा बोकेर नेशनल प्यालेस अगाडि फोटो खिच्न रामोसले आग्रह गरे । फोटो खिचिसकेपछि उनले झण्डाको बीच भागमा रहेको ‘कोर्ट अफ आर्म्स’ तर्फ देखाउँदै गर्वका साथ भने-
‘यो संसारको एक मात्र झण्डा हो जसमा बाइबल अङ्कित छ ।’
मैले पनि गर्वका साथ तुरुन्तै प्रतिक्रिया दिँदै भने- “हाम्रो नेपालको पनि संसारकै एक मात्र यस्तो झण्डा छ, जुन त्रिकोणात्मक (तीनकुने) छ ।” मेरो कुरा सुनेर उनी मात्र होइन, ग्रुपका अन्य साथीहरूले पनि निकै चासोका साथ मतिर हेरे । सात समुद्र पारि आफ्नो देशको त्यो अद्वितीय पहिचानको बारेमा सुनाउन पाउँदा मन गर्वले ढक्क फुल्यो ।
त्यसपछि उनले थपे, “यो देशमा ८०-९० प्रतिशत मानिस क्रिश्चियन छन् ।”
त्यहाँको छोटो अवलोकनपछि करीब बीस मिनेटको पैदल दूरीमै पुगिने ऐतिहासिक कोलोनियल जोनमा पाइला टेक्दा समयको चक्र ५०० वर्ष पछाडि फर्किए जस्तो लाग्छ । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत यो क्षेत्रका ढुङ्गा छापिएका साँघुरा सडकहरू, अमेरिकाकै सबैभन्दा पुरानो क्याथेड्रल र स्पेनिस औपनिवेशिक शैलीका घरहरूले इतिहासको एउटा जीवन्त सङ्ग्रहालयको अनुभव गराउँछन् ।
“युरोपेलीहरूले स्थापना गरेका शहरमध्ये यो शहर नर्थ र साउथ अमेरिकाकै सबैभन्दा पुरानो हो,” रामोसले भने ।
लन्च खाने बेलामा हामी उरुग्वेका दुई युवतीसँग एउटै टेबलमा बस्यौँ । ती दुईमध्ये ‘एन्ड्रिया’ अङ्ग्रेजी शिक्षक भएकोले उनीसँग लामै कुराकानी भयो । धेरै कुरा विश्वको वर्तमान राजनीतिक परिप्रेक्ष्यमा आधारित भएकाले यहाँ उल्लेख गर्नु जरूरी ठानिनँ ।

धेरैले त्यहाँको राष्ट्रिय खाना ‘ला बान्देरा’ (La Bandera) को स्वाद लिए, जसमा भात, सिमी र मासुको अनौठो सन्तुलन पाइन्छ । तेजस्वी र मैले भुटेको ‘युका’ अर्थात् सिमल तरुल मज्जाले खायौं, साथमा थियो भात र सिमीबोडीको झोल ।
खाइसकेर हामी हिँड्यौं । त्यहाँबाट एर क्याथेड्रलको कम्पाउण्डभित्र प्रवेश गर्यौं । हामी दुवैलाई एउटा ‘अडियो गाइड’ (रेकर्डर) दिइयो, जसले विभिन्न भाषामा क्याथेड्रलको विस्तृत विवरण सुनाउँथ्यो । भित्र प्रवेश गर्नुअघि त्यहाँको धार्मिक मर्यादा कायम राख्न केही कडा नियमहरू पालना गर्नुपर्ने रहेछ । काँध, कुम र घुँडाभन्दा माथिको भाग नछोपेका पर्यटकका लागि ओढ्नेले अनिवार्य रूपमा छोप्नुपर्ने र टाउकोमा लगाएको ह्याट वा टोपी खोल्नुपर्ने नियम थियो । हाम्रो समूहका आधाभन्दा बढी महिला साथीहरूलाई ओढ्नेको आवश्यकता पर्यो ।
त्यो गिर्जाघरमा गोथिक शैलीको स्पष्ट झलक देख्न पाइन्छ । ५०० वर्षभन्दा पुरानो यो पवित्र स्थलले कति धेरै इतिहास र परिवर्तनहरूलाई नजिकबाट नियालेको होला भन्ने सोच्दा मात्रै पनि मन श्रद्धाले भरिएर आयो; मानौं, यसका हरेक ढुङ्गाहरूले मध्यकालीन समयको गाथा सुनाइरहेका छन् ।

सान्तो डोमिङ्गोको जीवन्त शहर केवल ऐतिहासिक क्षेत्रमा मात्र सीमित छैन; यहाँको पोर्टले क्यारिबियन समुद्री व्यापार र क्रुज पर्यटनमा महत्त्वपूर्ण भूमिका खेल्छ, जहाँ आधुनिक पानीजहाज र ऐतिहासिक परिवेशको संगम देख्यौँ हामीले । शहरको आधुनिक अनुहार व्यापारिक जिल्लामा झल्कन्छ, जहाँ अग्ला भवनहरू, अन्तर्राष्ट्रिय व्यापार केन्द्रहरू र व्यस्त जीवनशैलीले गतिशीलताको परिचय दिन्छ ।
यात्राका क्रममा स्थानीय पूर्वाधार र मानिसहरूको जीवनस्तर नियाल्दा थाहा भयो, डोमिनिकन रिपब्लिकको प्रतिव्यक्ति आय नेपालको तुलनामा निकै बढी रहेछ । सन् २०२६ को तथ्याङ्कअनुसार, पर्यटन, कृषि र खानी क्षेत्रमा भएको विकासले गर्दा यहाँको अर्थतन्त्रले ठूलो फड्को मारेको देखिन्छ । बाटोघाटोको अवस्था, थुप्रै निर्माणाधिन भवनहरू, व्यवस्थित शहरहरू र मध्यमवर्गीय परिवारको खर्च गर्ने क्षमताले यो देश विकासोन्मुखबाट विस्तारै विकसित राष्ट्रतर्फ लम्किरहेको भान गराउँछ, जसले हामीजस्ता विकासशील देशका नागरिकलाई आफ्नै देशको आर्थिक समृद्धिको बारेमा सोच्न बाध्य बनाउँछ ।
त्यसपछि हामी राष्ट्रपति निवासको छेउमा पुग्यौँ । त्यस देशमा लोकतान्त्रिक गणतन्त्र रहेछ, जहाँ राष्ट्रपति नै राज्य र सरकार दुवैको प्रमुख रहेछन् । तर, उनको निवास र वरिपरिको वातावरण भने मलाई त्यति आकर्षक लागेन ।
राष्ट्रपति निवासलाई देब्रे पाखा लगाउँदै पर्खिरहेको बसमा पुग्यौँ अनि फेरि उही बाटो भएर होटेल फर्कियौँ । बाटैभरि स्प्यानिस गीत घन्किरह्यो । बाटोमा एउटा ‘गिफ्ट शप’ मा बस रोकियो । तेजस्वी र मैले केही पनि किनेनौँ ।
बेलुका ब्रेकिङ न्युज आयो- ‘अमेरिकाभरि एउटा भीषण र ऐतिहासिक हिउँदे आँधीले जनजीवन प्रभावित पारिरहेको छ ।’ एकैछिनमा डेल्टा एअरलाइन्सको मेसेज आयो- हाम्रो उडान खराब मौसमका कारण रद्द भएछ । एकै दिनमा बाह्र हजार भन्दा बढी उडान रद्द भएको हुनाले अर्को टिकट एक हप्तापछि मात्र मिल्यो । त्यसपछि हामी महँगो होटलबाट सस्तो एअरबिएनबी मा सर्यौं ।
टिभी खोल्दा त्यहाँको राष्ट्रिय खेल ‘बेसबल’ आइरहेको रहेछ । मलाई थाहा थियो, संसारका धेरै प्रख्यात बेसबल खेलाडीहरू यसै देशले जन्माएको छ भनेर । अचम्मको कुरा, टिभीमा त जताततै बेसबल देखिन्थ्यो, तर बाटोघाटो वा खुला मैदानमा मैले प्रत्यक्ष रूपमा कसैले खेलिरहेको भने कतै देखिनँ ।
भोलिपल्ट अस्ति जान नपाएको ‘साओना’ (Saona) टापु जाने निर्णय भयो । बिहानै माइक्रोबसमा चढेर हामी २०-२५ जनाको टोली पुन्टा कानाबाट ‘बायाहिबे’ (Bayahibe) को लागि प्रस्थान गर्यौँ ।
बायाहिबे पुगेर पार्किङ लटबाट समुद्री किनारमा हिँड्दै गयौँ र केहीबेरको पर्खाइपश्चात् एउटा सानो डुङ्गामार्फत समुन्द्रको बीचमा हामीलाई लिन पर्खिरहेको विशाल ‘क्याटामरान’ (Catamaran) मा सर्यौँ । हामीपछि अरू दुईवटा समूह पनि थपिए र करिब १०० जना यात्रु बोकेर क्याटामरान अघि बढ्यो ।
क्याटामरानभित्रको माहोल निकै उत्साहजनक थियो- म्युजिक, डान्स र स्थानीय रमको स्वादमा सबै मग्न देखिन्थे । ३-४ जना फोटोग्राफर क्यामेरा लिएर ती सुन्दर र रमाइलो क्षणहरू कैद गरिरहेका थिए; समग्र वातावरण एकदमै जीवन्त र उल्लासमय थियो ।
आधा बाटोमा क्याटामरान रोकियो । हामी सबै उत्साहित हुँदै समुद्रको नीलो र सफा पानीमा डुबुल्की मार्यौं । त्यो खासमा ‘क्यारिबियनकै सबैभन्दा ठूलो प्राकृतिक पोखरी’ रहेछ । हाम्री गाइड मारियाले भनिन्- “पानी यति सफा र पारदर्शी छ कि तपाईंले आफ्नै खुट्टाका औँलाहरू सजिलै देख्न सक्नुहुन्छ ।“ यसो हेरेको त, साँच्चै हो रहेछ !
छातीसम्म मात्र गहिरो त्यो न्यानो पानीमा पौडी खेल्दा मज्जा आयो ।
फोटोग्राफरले हाम्रो फोटो पनि खिचिरहेका थिए । पछि ती महँगा फोटाहरू किन्दा ढाड सेकियो ।
हामी फेरि क्याटामरानमा चढ्यौँ । गीत र नाचको ताल झन् बेजोडले चल्न थाल्यो । क्यारिबियनको खुल्लापन र तातो मौसमका कारण होला, नाचिरहेका अधिकांश युवतीहरूले लगाएका पहिरन यति संक्षिप्त र पातला थिए कि तिनको अस्तित्व ठम्याउनै गाह्रो हुन्थ्यो । सामाजिक मर्यादाका कारण धेरैबेर नियालेर हेर्ने कुरा पनि भएन, तर एक झल्को हेर्दा मानिसहरू प्रकृतिको काखमा पूर्ण रूपमा स्वतन्त्र र बेपरबाह भई नाचिरहेको जस्तो भान हुन्थ्यो ।
हामीभन्दा अगाडि बसेकी एउटी युवतीलाई एक जना महिला स्टाफले नाच्न बोलाइन्, तर उनले मानिनन् । फेरि अर्का एक अग्ला युवाले हात समातेर बोलाए, यसपल्ट भने उनी आइन् । ती तीनैजना क्याटामरानको अगाडिपट्टि फर्केर कम्मर हल्लाउँदै नाच्न थाले, अरू मान्छे पनि ‘मेरेन्गे’ नाच नाचिरहेका थिए । एकैछिनमा युवती पछाडि फर्किँदा उनका प्रेमी (ब्वायफ्रेन्ड) घुँडा टेकेर बसिरहेका थिए; उनले युवतीलाई हीराको औँठी लगाइदिए र युवतीले उनलाई ‘किस’ गरिन् ।
हामी अलि पर पुगेपछि क्याटामरानका चालकले ‘देब्रेतर्फ हेर्नुहोस्’ भनेर इशारा गरे । उनले भनेको ठाउँमा हेर्दा थुप्रै ‘स्टारफिस’हरू देखिए । क्यारिबियन सागरको नीलो र पारदर्शी पानीभित्र ती समुद्री जीवहरू देख्दा यस्तो लाग्यो कि आकाशका ताराहरू झरेर समुद्रमा पौडी खेलिरहेका छन् ।
एकै छिनमा, एक हूल ‘सी-गल्स’ र ‘पेलिकन्स’ हरूले हामीलाई केहीबेर पछ्याइरहे, सायद केही खान मिल्ला कि भनेर होला भन्ठानेँ ।
साओना टापु आइपुगिएछ, त्यहाँ पनि अर्को एउटा डुङ्गाले क्याटामरानबाट तटसम्म पुर्यायो । टापुमा पुग्दा प्रकृतिको वास्तविक र शुद्ध रूप देख्न पाइयो । त्यहाँको सेतो मखमली बालुवा, आकाशजस्तै नीलो र छर्लङ्ग देखिने पानी र किनारैकिनार झुकेका अनगिन्ती नरिवलका रूखहरूले कुनै सपनाको संसारको झझल्को दियो ।

साओना टापुमा बिताएको समय मेरो जीवनकै सबैभन्दा शान्त र सुन्दर क्षणहरूमध्ये एक बन्यो । यहाँको तटमा बसेर समुन्द्री खाना र रमको स्वाद लिँदै, छालहरूको लयबद्ध सङ्गीत सुन्दा समय टक्क उभिएजस्तो महसुस हुन्थ्यो । विशेषगरी ‘पेस्काडो फ्रिटो’ भनिने कुरकुरे तारेको ताजा समुद्री माछाको स्वादको तारिफ गरेर साध्य छैन ।
आधुनिक शहरको कोलाहलबाट धेरै टाढा रहेको यस टापुले मानिसलाई साँचो अर्थमा विश्राम र पुनर्जागरणको अनुभूति गराउँछ । प्रकृतिको यो अनुपम उपहारलाई जोगाइराख्न यहाँका मानिसहरूले गरेको संरक्षणको प्रयास प्रशंसनीय छ । यदि क्यारिबियनको साँचो आत्मा र सौन्दर्यलाई महसूस गर्ने हो भने, साओना टापुको भ्रमण अपरिहार्य छ, जसले हरेक यात्रीको हृदयमा कहिल्यै नमेटिने एउटा सुनौलो छाप छोड्छ ।
पर्यटकहरू बिहानदेखि आउँदा रहेछन्, तर दिउँसो चार बजेपछि यो ठाउँ पूरै खाली हुन्छ । त्यहाँ कुनै स्थायी संरचना छैन । साना-साना छाप्राहरूमा खाने र आराम गर्ने व्यवस्था गरिएको छ । प्रकृतिलाई त्यसको वास्तविक रूपमा जोगाइराखिएको छ ।
फर्किंदा ‘स्पिड बोट’ लिएर फर्कियौँ । बाटोभरि पानी उछिट्टिएर पूरै भिजियो । उही माइक्रोबस पर्खिरहेको थियो । बाटोमा १५ मिनेटजति एउटा गिफ्ट शपमा रोकियौँ, शायद व्यापारिक विश्राम होला । बेलुका ८ बजे नूनमय जीउ लिएर हामी पुन्टा काना फर्कियौँ । भोलिपल्ट दिनभर आराम गर्ने निर्णय भयो ।
फर्किनुभन्दा एक दिनअघि हामी पुन्टा कानाको रिसोर्ट जीवनबाट केही टाढा ग्रामीण डोमिनिकन गणतन्त्रको हरियाली पहाडहरूतिरको यात्रामा निस्कियौँ । त्यो यात्रा आफैँमा एउटा फरक अनुभव थियो । ‘मङ्कील्याण्ड’ एउटा निजी व्यवसाय रहेछ । माइक्रो बसमा चढेर त्यहाँ पुग्यौँ हामी ।
झन्डै २०-२५ जनाको हाम्रो टोलीलाई डोर्याउने जिम्मा ‘सेक्सी पापा’ को थियो । हेर्दा ६५-७० वर्षका लाग्ने ती गाइड निकै फुर्तिला र रमाइला थिए । यात्राको क्रममा उनले डोमिनिकन रिपब्लिकको सामाजिक परिवेशबारे एउटा सुखद् तथ्य सुनाए- त्यहाँ शिक्षा र स्वास्थ्य पूर्ण रूपमा निःशुल्क रहेछ । सरकारी अस्पतालमा उपचार गर्दा वा कलेज पढ्दा खल्तीबाट सुको खर्च गर्नु नपर्ने र करको भार पनि न्यून रहेको सुन्दा हामी सबै दंग पर्यौँ ।
हामीले ‘मङ्कील्याण्ड’मा प्रवेश गर्दा एउटा बेग्लै संसारले स्वागत गर्यो, जहाँ क्यापुचिन बाँदरहरूको प्राकृतिक बासस्थान थियो । ती साना थिए, वजन एक केजीभन्दा कम । उनीहरू मानिससँग घुलमिल हुन पटक्कै डराउँदैनथे । हामीलाई देख्नेबित्तिकै उनीहरू उत्साहित भए, शायद खानेकुरा पाउने आशाले । हामीले पालैपालो उनीहरूलाई खाना खुवायौँ ।
खाना खुवाएको क्षण अविस्मरणीय थियो । बाँदरहरू हाम्रो पूरै शरीरमा, टाउको, काँध र हातमा झुम्मिएका थिए । यत्तिकैमा एउटा चञ्चले बाँदरले मेरो देब्रे कानमा टोके जस्तो अनुभव भयो; वास्तवमा उसले कोतरेको मात्र रहेछ । एकछिन दुखे पनि त्यो अनुभव रोमाञ्चक थियो ।

ती क्यापुचिन बाँदरहरूको चञ्चलता र बुद्धिमत्ताले भरिएको व्यवहारले मलाई निकै अचम्मित पार्यो । हजारौँ माइल टाढा एउटा अपरिचित टापुमा भए पनि मलाई आफ्नै देशका पशुपति र स्वयम्भूका बाँदरहरूको झल्झल्ती सम्झना आयो ।
मङ्कील्याण्डको छेउमै रहेको नरिवल बगान र कफी फार्मको भ्रमणले डोमिनिकन ग्रामीण जीवनशैलीको गहिरो झलक प्रदान गर्यो । त्यहाँ हामीले नरिवल खेती कसरी हुन्छ, नरिवलको गुदीबाट तेल कसरी निकालिन्छ र स्थानीय मानिसहरूको दैनिक जीवनमा नरिवलको महत्त्व कति छ भन्ने बारेमा जान्ने मौका पायौँ । ताजा नरिवलको पानी पिउनु र स्थानीय अर्गानिक कफी तथा कोकोआको स्वाद लिनु यात्राको अर्को अविस्मरणीय पाटो बन्यो ।
भ्रमणका क्रममा हामीले कफी र कोकोआ (चकलेटको मुख्य स्रोत) बनाइने पारम्परिक प्रक्रियाको प्रत्यक्ष प्रदर्शनी समेत देख्न पायौँ । कफीको दाना भुट्दाको त्यो मीठो सुगन्ध र कोकोआबाट चकलेट बन्ने जादूमयी रूपान्तरण नियाल्नु आफैँमा एउटा अद्भूत अनुभव थियो । ती अर्गानिक उत्पादनहरूको स्वादले लोभिएर होला, कफी र कोकोआका प्याकेटहरूले मेरो झोलाको ठाउँ ओगटे ।
करीब चार घण्टाको त्यो अविस्मरणीय र ज्ञानवर्धक यात्रा सकेर हामी अन्ततः फर्कियौँ ।
डाउनटाउनमा बसेको हुनाले वरिपरि पैदल घुम्न मलाई रमाइलो भयो । पुन्टा कानाको रात्रिकालीन जीवनको कुरा गर्दा ‘कोको बोङ्गो’ को चर्चा नगरी रहनै सकिँदैन । ‘कोको बोङ्गो पुन्टा काना’ क्यारिबियन क्षेत्रकै सबैभन्दा प्रसिद्ध र रोमाञ्चक रात्रिकालीन क्लब रहेछ । त्यहाँको कार्यक्रम बेलुका ८ बजे सुरु भएर बिहान २-३ बजेसम्म चल्दो रहेछ, जसमा ‘शो’ र ‘डिस्को’ दुवै समावेश हुँदा रहेछन् । बैंकको खातामा धक्का पुग्ने भएकोले हामीले त्यसलाई बाहिरबाट मात्र हेर्यौँ । नजिकै ‘हार्ड रक क्याफे’ रहेछ, त्यहाँ पनि छिरेनौं । अलि पर ‘डिनर इन द स्काइ’ रहेछ, त्यहाँ पनि नजाने निर्णय भयो ।
चार दिनको यात्रा एघार दिन लामो हुँदै गर्दा मलाई लाग्यो, कुनै पनि ठाउँ संसारभरि नै प्रिय हुनुको पछाडि त्यसको ‘आन्तरिक मूल्यको पहिचान’ हुनु नै मुख्य कारण रहेछ । क्यारिबियन टापुहरूले आफ्नो अपार प्राकृतिक सम्पदालाई केवल उपभोग्य वस्तुको रूपमा मात्र नलिएर त्यसको वास्तविक शक्तिलाई आत्मसात् गरेका छन् । यो ‘चाल पाउनु’ को अर्थ हो- यहाँका टापुहरूले पर्यटन र पर्यावरणबीचको नाजुक सन्तुलनलाई बुझेर त्यसको दिगो र समुचित प्रयोग गरेका छन् । उनीहरूले तत्कालको नाफाभन्दा दीर्घकालीन संरक्षणलाई प्राथमिकता दिएर नै दिगो पर्यटनको एक उत्कृष्ट नमुना खडा गरेका छन् । यही दूरदर्शिताका कारण यो क्षेत्र आज विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा अगाडि छ ।
त्यति मात्र कहाँ हो र ? पर्यटकहरूलाई सहजता प्रदान गर्नका लागि यहाँ विश्वस्तरीय भौतिक पूर्वाधार तयार गरिएको छ, जसमा सहज र सीधा हवाई यातायात, आधुनिक समुन्द्री यातायात प्रणाली र उत्कृष्ट आतिथ्य सहितका गुणस्तरीय ‘अल-इन्क्लुसिभ’ होटेलहरू पर्दछन् । यति मात्र नभएर यहाँ साहसिक पदयात्रा, सांस्कृतिक भ्रमण र विश्वप्रसिद्ध वाटर स्पोर्ट्स् (जस्तै: स्नोर्क्लिङ, स्कुबा डाइभिङ) सम्मका विविध र आकर्षक विकल्पहरू उपलब्ध गराइएको छ, जसले गर्दा प्रत्येक प्रकारका यात्रुहरूका लागि यो क्षेत्र रोजाइको केन्द्र बनेको छ । आज यो देश क्यारिबियनकै सबैभन्दा धेरै पर्यटक जाने देश बनेको छ ।
सन् १४९२ मा पहिलोपल्ट क्यारिबियनमा खुट्टा टेक्दा क्रिस्टोफर कोलम्बसले पनि चाल पाएका रहेनछन् । स्पेनबाट इण्डिया जान भनेर हिँडेका कोलम्बस यहाँ आइपुग्दा ‘वेस्ट इण्डिज’ आएँ भनेर झुक्किएका थिए । वेस्ट इण्डिज भन्नासाथ हामी क्रिकेटको टिम सम्झिन्छौँ, प्रसिद्ध खेलाडी ब्रायन लारा दिमागमा आउँछन् । डोमिनिकन रिपब्लिक भने वेस्ट इण्डिजको टिममा समावेश छैन ।
त्यसो त त्यहाँका आदिवासी ‘ताइनो’ ले उनीहरूको भाषामा ‘क्विस्केया’ अर्थात् ‘सबै भूमिहरूको जननी’ भनेको ठाउँ हो यो । आज पनि डोमिनिकन नागरिकहरू आफ्नो देशलाई मायाले ‘क्विस्केया’ भन्न रुचाउँछन् । उनीहरूको राष्ट्रिय गानमा पनि यो शब्दको प्रयोग गरिएको रहेछ ।
अमेरिकामा त्यो भिषण हिउँपातको जोखिम हटिसकेको थियो । अन्तिम बिहानको शुरूवात निकै सुस्त थियो । मैले अन्तिमपटक कडा र मीठो ‘सान्तो डोमिङ्गो डोमिनिकन कफी पिएँ । विमानस्थलतर्फको यात्रामा बाटोका किनारहरूले पनि अन्तिम अभिवादन गरिरहेका थिए- जहाँ भुइँकटहरका चाङ मिलाएर राखिएका पसलहरू र स्थानीय कलाकारहरूले कोरेका रङ्गीन कलाकृतिहरूले बिदाइको मुस्कान छरिरहेका थिए । डोमिनिकन रिपब्लिकले मलाई सजिलै बिदा दिएन; यसले त मेरा यादहरूका झोलामा इतिहासका पाठ, घामको स्वर्णीम न्यानोपन, मखमली समुन्द्री तटहरू र स्थानीय रमको तीखो मात कोसेली हालिदिएर पठाएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१८ माघ २०८२, आईतवार 










