यस पालि कहाँ घुम्न जाने भन्ने सोच बनाइरहेका बेला, दार्जीलिङबाट ‘वसुधाको रजत जयन्ती समारोह’मा सहभागी हुन संस्थाकी अध्यक्ष गीता छेत्रीबाट निम्तो प्राप्त भयो । संयोगवश, समारोहको मिति र मेरो कार्यालयको काम सकिने दिन एउटै परेको रहेछ । यता सेवानिवृत्त भएपछि कार्यालयसम्बन्धी केही काममा अलि अल्मलिएकी थिएँ । त्यसैले जाने कि नजाने भन्ने दोधारमा केही समय अल्झिरहेँ । तर कार्यालयको काम समयमै सकिएपछि मलाई पनि समारोहमा सहभागी हुने इच्छा जाग्यो ।

म र मेरो श्रीमान् (शरद प्रधान) मंसिर १२ गते जाने तय भयो अनि यसै अनुसार हामीले टिकट पनि काट्यौं । तर सोझै पशुपतिनगर टिकट नकाटेर हामी चारालीसम्म जाने मात्रै टिकट लियौं । २ बजे बस चडे पनि बसले यात्रु टिप्दै जाँदा कलङ्कीबाट ४ बजे मात्र प्रस्थान गर्यो । तर बसले हामीलाई ६ बजे बिहानै चारालीमा ओरालिदियो । अनि शुरू भयो हाम्रो यात्रा इलामको रमालो चियाबारी छिचोल्दै पशुपतिनगर सम्म । कन्याम बाटोमा पर्छ ।

भारतीय र नेपाली पर्यटकहरूको घुँइचो थियो- कोही घोडा चढ्दै, कोही चिया बगानमा तस्वीर खिच्दै । अनि लाग्यौं पशुपति नगरतर्फ । काँकडभित्ताबाट भन्दा पशुपति नगरको भारत-नेपाल सीमा पार गर्नु सहज हुँदोरहेछ । पशुपति फाटकबाट दार्जीलिङ जाने यात्रुभन्दा गाडी धेरै भएकोले चढ्ने बित्तिकै गाडी गुड्दैन । हामीले यस्तै नियति भोग्नु पर्‍यो । केही बेरपछि एकजना बहिनी आइन् र दुई जनाको भाडा तिर्न राजी भइन् । अनि हामी दुईले तीन जनाको तिर्ने शर्त राख्यौं । यसरी हामी दार्जिलिङ लाग्यौं ।

हामीसँग भारतको सिम नभएकोले हामीलाई गीता गुरुआमासँग सम्पर्क गर्न असहज भयो । त्यसै बेला सँगैको बहिनीले उनको फोन मार्फत सम्पर्क गरिदिइन् । गीता गुरुआमाले पठाइदिनु भएको गाडीमा दार्जीलिङ मोटरस्टाडबाट चढेर उहाँको  सिङमारी स्थित निवास स्थानतर्फ लाग्यौं ।

त्यहाँ सर र गुरुआमा हाम्रो प्रतीक्षामा घरको आँगनमा हुनुहुन्थ्यो । हार्दिकताको साथमा स्वागत गर्नुभयो । दार्जीलिङको मौसम सोचेको भन्दा न्यानो थियो । लामो यात्राको थकानले त्यो दिन घुम्न नजाने निधो गर्‍यौँ । बेलुकी गीता गुरुआमाको परिवारसँग परिचयको साथसाथै रात्री भोजन पनि गर्‍यौँ ।

कार्यक्रमको दिन ! गुरुआमाले समयमा नै जानुपर्छ भन्नुभयो । हामी तीनजना घरैबाट गाडी चढेर ‘वसुधा-नारी मञ्च’को कार्यक्रममा सहभागी हुन पुग्यौं । मेरा श्रीमान् जेठ महिनामा नेपाली साहित्य सम्मेलनको शतवार्षिकी कार्यक्रममा यही आउनुभएको कुरा गर्नुभयो । शुरूमा त हामी एकदुई जना मात्र थियौं । तर जब कार्यक्रम १२ बजे तिर शुरू भयो हलभरि साहित्यकारहरूको ठुलो भेला भयो । नारी साहित्यकारहरूको कार्यक्रम भएकोले होला पुरुषको तुलनामा नारीको सहभातीगा धेरै थियो । मैले चिनेको साङ्मु लेप्चा, विनिता छेत्री, अमला सुब्बा छेत्री, मन्जुला तामाङ, कौशिल्या मुखिया, विन्ध्या सुब्बा, वीणा हाङ्किम, नम्रता संकार आदिसँग भेट्दा निकै खुशी लाग्यो । उहाँहरू पहिले पनि भेट भइसकेकोले कुरा गर्नमा सहज भयो मलाई ।

साहित्यकार डा. निना राईले कार्यक्रम शुरू गरे पछि मञ्चमा आसन ग्रहण गर्न बोलाइए भारतीय नेपाली साहित्यका मर्धन्य व्यक्तित्वहरू- डा. गोकुल सिंहा, प्रेम प्रधान, विन्ध्या सुब्बा, मात्रिका गजमेर, चन्द्रमित लकसम, गीता छेत्री,  राजकुमार छेत्री, जय क्याकटस । अनि नेपालबाट थपिए मेरो श्रीमान् शरद प्रधान !

सबै जनाले वसुधाको बारे छोटोमीठो बोल्नु भयो । पूर्ण तयारी अवस्थामा कार्यक्रम आयोजना नभएकोले होला शायद, हल निकै चिसो थियो तर तातोतातो चियाले चिसोको अनुभव कम भयो । कार्यक्रम वसुधा पत्रिकाको लोकार्पण मञ्चमा उपस्थित सबैले गरेका थिए भने पत्रिकाको समीक्षा जय क्याकटसले गर्नु भएको थियो। कार्यक्रम समाप्ति पछि एउटा रेस्टुरेन्टमा आफ्नो इच्छा अनुसार भोजन ग्रहण गर्ने व्यवस्था गरेका थिए । खाना मीठो थियो । खानापछि सबै जनासँग बिदाबारी आजको कार्यक्रमलाई बिट मार्दै वासस्थानतिर लाग्यौं ।

दार्जीलिङ पुगेपछि चौरस्ता र महाकाल थान नगए त दार्जीलिङ गए जस्तो हुँदैन । बिहानै चिया मात्र खाएर गीता गुरुआमाको छोराको गाडीले चौरस्ताको नजिकै छाडिदियो । दिन अलिक जाडै भएकोले ज्याकेट लगाएर महाकाल थान तिर लाग्यौं हामी दुई । मान्छेको भीड थियो तर दर्शन गर्न गाह्रो भएन । दर्शनपछि आलुदम र चिया खाएर चौरस्तातिर लाग्यौं ।

भानुभक्तको सालिक अगाडि हामीले तस्वीर खिच्यौं । मेरो श्रीमानले प्रसिद्ध उपन्यासकार प्रकाश कोबिदको बारेमा लेखेको लेख उहाँको पुस्तक ‘स्मृति बिम्ब’मा पढेको थिए । कोबिदको बारेमा धेरै सुनेको कारणले  मलाई उहाँ नभए पनि उहाँको निवासस्थान हेर्ने निक्कै इच्छा जाग्यो । त्यसैले भोटेबस्तीतिर लाग्यौं ।

अहिले त्यहाँ पुग्न चौरास्ताबाट मोटर बाइकहरू पाउँदो रहेछ प्रति व्यक्ति ४० रुपिँया । हामी दुई वटा बाइक चढेर गयौं । बाटो निकै उकालो, ओरालो र घुमाउरो रहेछ, मलाई त निकै डर लाग्यो । ‍उहाँको घर पुग्यौं तर घर बन्द रहेछ । बाहिरबाट नै घर हेर्यौं, वरिपरि घुम्यौं, तस्वीर खिच्यौं अनि फर्कियौं ।

चौरस्ता आउँदा भेट भयो प्रसिद्ध कवि मनप्रसाद सुब्बा ! एउटा रेस्टुरेन्टमा कफी खायौं, साहित्यको गफ सुन्ने मौका मिल्यो । चिसो भएर म बाहिर चौरस्ता घाम ताप्न बाहिर निस्कें भने मेरा श्रीमान् र सुब्बाको साहित्यिक कुराकानी भने सकेको थिएन । त्यही बेला कवि-गीतकार पुरण गिरीसँग पनि जम्का भेट भयो रेस्टुरेन्टमा । अनि तीनै जना गफमा व्यस्त हुनुभयो ।

उहाँहरूबाट छुटे पछि हामी सपिङ मल तिर गयौं । मेरो श्रीमानको  पुरानो बानी केही देखे कि किनिहाल्नु पर्ने, त्यहाँ पनि एउटा ज्याकेट त किन्नुभयो । त्यस दिन बेलुकी अमला सुब्बा दिदीले हामीलाई पार्क रेस्टुरेन्टमा रात्री भोज खुवाउनुभयो ।

दार्जीलिङ गए पछि त्यहाँको स्वेटर, किनेमा, डल्ले खुर्सानी र अष्टसुगन्ध धूप त किन्नै पर्छ नि । हैन र ? कार्यक्रमको पर्सि पल्ट म र गीता गुरुआमा किनमेलतिर लाग्यौं । अनि मेरो श्रीमान् भने किताप बटुल्न नेपाली साहित्य सम्मेलनतिर लाग्नुभयो । तर भेट्ने कसरी दुवैसँग सिम थिएन भारतको । अनि जज बजारको नेपाली-बंगाली साहित्यकार सुभमय च्याटर्जीको लुगा सिलाउने पसलमा भेट्ने तय गर्‍यौँ । सुभमय च्याटर्जी दाजु नेपाली साहित्यका कैयन् पुस्तकहरू बंगाली भाषामा अनुवाद गर्नुको साथसाथै नेपाली भाषामा पनि पुस्तक लेख्नुभएको जानकारी मेरा श्रीमानले दिनुभयो । सुभमय च्याटर्जी दाजु पसलमा सबै किनमेलको सामग्री थुपारेर पुस्तक बिक्रेता भाइ निर्देश थापाको पसलतिर लाग्यौं ।

हुन त पहिले पनि गएको ठाउँ थियो त्यो पसल । सानो भए पनि पुस्तक भरिभराउ थियो । मेरो श्रीमानले केही पुस्तक लिनुभयो आफूलाई काम लाग्ने । निर्देश भाइले रात्री भोजन खुवाउने इच्छा राख्नुभयो तर हामी बस्ने ठाउँ निकै टाढा थियो शरहबाट र सरसमान पनि धेरै थियो । तर भाइले जिद्दी गरेर  दार्जिलिङको प्रसिद्ध रेस्टुरेन्ट ग्लिनेरिजमा खाजा खुवाउनु लानुभयो । त्यही रेस्टुरेन्टमा सन् २०२२ मा लेखिका शैलीका छेत्रीले खाजा खुवाउन ल्याउनुभएको थियो । त्यो दिन पुन ताजा भयो ।

खाजा खाएर चौरस्तामा लेखिका कौशिल्या मुखियासँग भेट भयो । अनि उहाँसँग कफी पिएर घर फर्कियौं ।

आज मंसिर १७ गते ! हामी बिहानै सालवारी(सिलगडी) तिर लाग्यौं । दार्जीलिङ चिसो भए पनि सालवारी न्यानो थियो । बुधवारे हाटको निक्कै चहलपहल थियो । परिचितहरूसँग भेट गर्दै, गफ गर्दै हामी अगाडि बढी नै रह्यौं । अनि मेरो श्रीमानकी दिदी उर्मिला र भिनाजु सुरज प्रधानको घरमा बास बस्यौं त्यस रात ।

भोलि पल्ट प्रसिद्ध साहित्यकार नवीन पौड्याल हामीलाई कालेबुङ लैजान गाडी लिएर घरै आउनुभयो छोरा सहित । छोराले राम्रोगरी गाडी चलाउँदा रहेछन् । बेलुकी उहाँको निवास स्थान पुग्यौं । उहाँकी श्रीमती निर्मलाले मीठो स्वागत गर्नुभयो । भोलि पल्ट नवीन भाइ कार्यरत पेदुङ महाविद्यालय घुम्न गयौं, यो कालेबुङबाट २२ किलोमिटर टाढा पर्दो रहेछ ।  रमाइलो यो ठाउँ कालेबुङको पुरानो बस्ती रहेछ । दिउँसो कालेबुङ शहरमा चरित्र प्रोडोकसन कार्यालयमा साहित्यकार हीरा छेत्रीले एउटा भेटघाट कार्यक्रम राख्नुभएको रहेछ र हामी त्यतैतिर लाग्यौं । कार्यक्रममा नवीन पौड्याल, प्रसिद्ध कवि राजेन्द्र भण्डारी, पत्रकार रुद्र कार्की, अरूणचन्द्र रसाइली, स्वास्तिका छेत्री आदिको उपस्थितिले कार्यक्रम रोचक भएको थियो । चरित्र प्रोडोकसनबाट केही पुस्तक उपहार पायौं हामीले ।

भोलि पल्ट हामी कालेबुङको नेपाली साहित्य अध्ययन समितिको हिरक जयन्ती समारोह सहभागी भयौं । त्यस अवसरमा नवीन पौड्यालको ‘सूजनवृत्त’ र डा. इगम खालिङको ‘भित्ता’ विमोचित भयो । मेरो श्रीमानले नवीन पौड्यालको पुस्तक र मैले डा. सगमको ‘भित्ता’ पुस्तकको विमोचनमा सहभागी हुने सुअवसर पायौं । यो पनि भाग्य कै खेल रहेछ । स्वादिष्ट भोजनको प्रबन्ध गरिएको थियो । भोजन पछि नवीन भाइको परिवारसँग प्रणामी मन्दिर दर्शनमा गयौं ।

मंसिर २१ गते हामी पुनः सालवारी फर्कियौं नवीन भाइ सहित । भाइ कलकत्तातिर लाग्नुभयो भने हामी दिदी भेनाको घरतिर । सालुवारी आएपछि मेरो श्रीमान्  साहित्यिक भेटघाटतिर लाग्नुभयो अनि म चाहिँ किनमेलतिर ।

त्यसपछि प्रसिद्ध साहित्यकार विन्ध्या सुब्बा दिदीलाई भेट गर्न उहाँकै घर पुगेका थियौं हामी । उहाँकै सुझावमा हामी श्री सत्य साई प्रेम प्रवाहिनी रथको दर्शन गर्न साई मन्दिर पनि गयौं ।

फर्किन एक दिन अगाडि मंसिर २४ गते दिदी, भेनाजु, म र मेरो श्रीमानलाई सालबारी-शब्द समयको तर्फबाट रात्री भोजन दिनुभयो ‘भोज भत्तेर’ रेस्टुरेन्टमा । साहित्यकारहरू- ज्ञानेन्द्र खतिबडा, डा. हेमन्त काफ्ले,  मोहन ठकुरी, कवि निर्मल सेन्चुरी, डा. सन्जय बान्तवा, पुर्ण मगर आदिको सहभागिता थियो रात्री भोजनमा। रमाइलो गफ सहित स्वाधिष्ट भोजनले माहोल आनन्दमयि तुल्याएको थियो ।

साहित्यिक यात्रामा हिंड्दा लामो यात्रा पनि छोटो लाग्छ । फेरि भेटौंला भनी आफन्तजन र साहित्यिक मान्यजनसँग बिदाबारी लिएर काठमाडौं लाग्यौं हामी, मंसिर २५ गते !