यत्रो मान्छे, मान्छेको खानेकुरा, मान्छेको सुटकेसहरू, मान्छेले फाल्ने फोहरहरू, जहाजको खानेकुरा यावत बस्तु बोकेर चालिस हजार फिट माथि आकाशमा चरा झैँ तैरिएर उडिरहेको छ । विज्ञानको चमत्कार । जमीनमा कपासको थुप्रो जस्तो बादलको साम्राज्य मात्र देखिन्छ ।
====
विसं २०८२ चैत्र ३० (१३ अप्रिल २०२६) ! बिदा हुन केही घण्टा मात्र बाँकी थियो । दिदिहरू हेमा र भगवतीले हवाई अड्डाको निगमन क्षेत्रको बाहिर सम्म आएर बिदा गरी फर्किसक्नु भएको थियो । अध्यागमन तथा सुरक्षा परीक्षण सकिँदा ३ः४५ भैसकेको थियो । हाम्रो पहिलो उडान इण्डियन एयरलाइन्स एआई १०५ बाट बेलुकीको ५ः३० बजे काठमाडौंदेखि नयाँ दिल्ली सम्मको थियो । अबको सवा घण्टा म र मेरी सहयात्री इन्दिरा जहाजको पर्खाइमा थियौँ ।
गणेश जीले फोन बाटै सकुसल यात्राको शुभकामना दिनुभयो । इन्दिराका बहिनी र अन्य साथीहरूले फोनबाटै शुभयात्रा दिइरहेका थिए ।
अमेरिका यात्रा मेरो दोश्रो र इन्दिराको तेश्रो थियो । अठार–उन्नाइस वर्षका छ–सात जना भाइबहिनीहरू काँधमा नेपालको झण्डा बेरेर हामीसँगै सोही हवाई जहाजको प्रतिक्षामा थिए । सबैको काँधमा नेपालको झण्डा बेरेको देखेर मलाई खेलाडी जस्तो लागेर सोधिहालेँ– तपाईँहरू खेलाडी हो ? ‘
हैन अङ्कल, हामी जापान पढ्न जान लागेको । पढ्न त के भनौँ, काम गर्न’– एकजना भाइले आफ्नो यथार्थता बताए ।
कलेजको छेउछाउबाट पोषाकमा विद्यार्थीहरू लस्कर लागेर हिँडेको देख्नासाथ मलाई यही प्रश्नले सधैँ चिन्तित तुल्याउँदछ । यिनीहरूको भविष्य र गन्तव्य के हुने होला । बेथिति, भ्रष्ट्राचार,थपिँदो बेरोजगारी र अनिश्चित भविष्यले युवा पुस्तामा चरम निरासाले असुरक्षित उडान भर्न बाध्य भएकाछन् । अझ कति त विदेशमा राम्रो रोजगार दिलाई दिने आश्वासनमा परी ठगीमा परेका छन् ।
गाउँका हबेलीका आँगन सिस्नोले छोपिएकाछन् । गैरीखेत र बारीका पाटाहरुमा दुम्सी र बाँदर कुदेका छन् । विद्यार्थी छैनन् तर ठूलाठूला विद्यालय भवन ठडिएका छन् । तालमेल कता टुट्यो ? विश्व, विकासको चरम अवस्थामा पुगिरहेका बेला हामी भने एउटा आयोजना सम्पन्न गर्न चालिसौँ वर्ष लगाइरहेका छौ । जन चाहना र समय सापेक्ष विकासको तालमेल हुन नसक्दा राष्ट्रको ठूलोधन उपलब्धविहीन आयोजनामा खर्च भइरहेको छ ।
समय बेलुकाको ५ः१० भैसकेको छ । हाम्रो बोडिङ पास चेक हुँदै जहाजतर्फ जाने क्रम शुरू भयो । यसै क्रममा जहाजतर्फ जाने बसमा एकजना महिला एक हातले ह्यण्ड क्यारी घिसार्दै र अर्को हातमा अमेरिकाबाट आएको छोराको फोनमा कुरा गर्दै थिइन् । मैले चासो दिएर सुने र हामी पनि सोही जहाजबाट अमेरिका जाने हो सँगै आउँछौ भनेर उहाँको छोरासँग कुरा नसक्दै अरू एकजोडी ठिमेली आमाबुबा पनि सोही जहाजबाट सोही गन्तव्यतिर जाँदै गरेको कुराकानीको क्रममा जानकारी भयो । जहाजको छेउको लहरबाट ७ वि मा मेरो सिट र इन्दिराको बीचको लहरको छेउमा ७ डि सिट नं परेको रहेछ । ७ ए झ्यालको छेउमा पर्ने रुद्राक्षको माला र जटाधारी देख्दैमा कुनै मठ मन्दिरका मठाधिस झैँ लाग्ने शर्मा जीलाई सिट साटफेर गर्न अनुरोध गर्यौं । तर उनले सुने सुनेनन् सुनेर पनि बुझ पचाए थाहा भएन । उनी टसकामस भएनन् । बरु एकजना बृद्ध गोराले हाम्रो इच्छा बुझेर नो प्रोबलम भनेर अर्को सिटमा सरिदिए । हामी सिट नं.७ वि र ७ सि मा बसेर काठमाडौं नयाँ दिल्ली एक घण्टा पच्चिस मिनेटको उडान भरेपछि करीब ७ बजे तिर इन्दिरा गान्धी अन्तराष्ट्रिय हवाई मैदानमा उत्रियौं ।
एयरपोर्टमै चिनजान गरेका काठमाडौँ देखि अमेरिकाको नेवार्क पुग्ने पाँचजना मध्ये चार जनाको ह्वील चेयर वाला टिकट थियो । ह्वील चियरकोलागि शारीरिक अपाङ्गता आवश्यक छैन । अध्यागमन, सुरक्षा र भन्सार सजिलोसँग पार गर्न र भाषागत अपाङ्गताको लागि यो विधि सहज र उपयुक्त थियो । बिना थप पैसाले सो सेवा उपलब्ध हुने रहेछ । एक देशबाट अर्को देशमा पार गर्न त्यहाँका कर्मचारीले ह्वील चेयरमा राखेर सुरक्षा चेकजाँच र सबै प्रक्रिया पुरा गरेर सुटकेस सहित गाडी चढ्ने वा आफन्तजन लाई सुम्पिने सम्मको कार्य पुरा गरिदिँदा रहेछन् । त्यसैले विदेशमा हुने छोरा छोरीले आफन्त जनलाई विदेश भ्रमण गर्दा ह्वील चेयर सहितको हवाई जहाजको टिकट व्यवस्था गरिदिएका हुँदारहेछन् । ताकि कतै कुनै झमेला विना गन्तव्यमा पुग्न सकुन् ।
ह्वील चेयर आई नपुगेर सबै यात्रु ओर्लिंदा समेत हामी पाँच जना हवाई जहाजमै थियौँ । ह्वील चेयर नभए पनि तपाईं हाम्रो पछि पछि आउनुहोला सजिलो हुन्छ भन्दै थिइन् गुरागाईं दिदी । आ रा हा होगा भन्दै जहाजका उडान दलका कर्मचारी घरीघरी आश्वासन दिँदै थिए । जहाज बाहिर दुई वटा ह्वील चेयर भएको सन्देश आयो । बाहिर यानी जहाजको ढोका समान पारेर जोडिएको एयरपोर्ट भित्रैसम्म जाने बाटोमा दुईवटा ह्वील चेयर मध्ये एउटामा गुरागाईँ दिदी र अर्कोमा ठिमेली आमा बस्नुभयो । म, इन्दिरा र ठिमेली बा ह्वील चेयरको पछि पछि लाग्यौँ । ह्वील चेयर ठेल्ने भाइको गति यती तीव्र भयो कि समतलमा रहेको लिफ्टको रफ्तारले समेत काम गर्न भ्याएन । हामीलाई ह्वील चेयर भेट्टाउन म्याराथन झैँ दौडँदा समेत हम्मे हम्मे परेको थियो । एकतला माथि लिफ्ट चढेपछि गुरागाईँ दिदीलाई ह्वील चेयरमा राख्नेवाला भाइ म सँग बक्सिसकोे माग राख्दै थियो । जबकी हामीहरूले ह्वील चेयरको प्रयोग गरेकै थिएनौ । मैले भनेँ – “भाइ गरीब लोगो से क्या पैसा लेते हो ?” ऊ भन्दै थियो – “अमेरिका भिसा लगाउने, टिकट काट्ने ऊ गरिब हुन्छ र ?”
हाम्रो गेट नं तय नहुन्जेलसम्म पर्खाइ कुर्सीमा राखेर ह्वील चियरवाला भाइ गयो । हामी जढ्ने जहाजको गेट नं स्कृीनमा देखा परेपछि ह्वील चेयर वाला भाइहरूले तोकिएको गेट नं. २६ को अगाडि लगेर सबै कुरा बताएर उनीहरू आ–आफ्नो कामतिर लागे ।
गुरागाईं दिदी भन्दै थिइन्– “सरकारले टिप्स वा बक्सिस नदिनु भनेको छ तर उनीहरू एकान्त वा लिफ्ट चढेको मौका छोपेर पैसाको माग राख्छन् । मैले डलर ल्याउन बिर्सेछु । भारतीय रुपैयाँ दिँदा मान्दैनन् । उनीहरूकै देशको पैसा एयरपोर्टमा नचल्ने,के गर्नु”–भन्दै गुनासो गर्दै थिइन ।
हाम्रो अझ चार घण्टाको बसाई थियो । ठिमेली आमा बर्को ओढेर सुतिन् । ठिमेली बा घरी कोकोनट बिस्कुट घरी पानी किनेर हामीलाई समेत खुवाउँदै थिए । रात छिप्पिँदै थियो । पर्खने कुर्सीहरू क्रमशः भरिँदै गए । गुरागाईँ दिदी र इन्दिरा पारिवारिक कुराकानी गर्दै थिए । उनी त चिनजान भित्र कै पो परिछन् ।
बयासी साल बिदा र त्रियासी सालको आगमन हुने क्रममा थियो । हामी सबै नयाँ दिल्लीबाट अमेरिकाको नेवार्क जाने इन्डियन एरलाइन्स एआई २२० पर्खिरहेका थियौ । रातको एघार बजेतिर हाम्रो बोर्डिङ पास चेक भएर जहाज तिर लाग्यौँ । उडान समय मध्यरातको ००ः०५ थियो । नयाँ वर्ष त्रियासीको आगमन सँगै हामी जहाजमा चढ्यौ । फेरी पनि मेरो र इन्दिराको सिट सँगै थिएन । ३४ बि इन्दिरा र मेरो ३५ बि । एक रो अघिपछि हुने भइयो । एयर होस्टेजलाई बिन्ती बिसायौ । उस्ले खासै विरोध गरेन । ३४ ए र बिमा सँगै बस्यौ । पछि थाहा भो ३४ सी पनि खाली पो रहेछ । दुईवटा सिटको बिचको डन्डी हटायर इन्दिरा दिल्ली देखि रोमसम्म छ घण्टा मस्तले सुतिन ।
मध्य एशियाको तनावले जहाजले आफ्नो बाटो परिवर्तन गर्न परेकोले लामो बाटो तय गर्नुपर्ने भएछ । नयाँ दिल्लीबाट राजस्थान–गुजरात–अरेवियन सागर,ओमान–यमन–लाल सागर–इजिप्ट–भूमध्य सागरको आकाश हुँदै इटालीको राजधानी रोमको लियो नार्दो दा भिन्ची अन्तर्राष्ट्रिय हवाई मैदान सम्म छ घण्टाको उडान गरी सकेपछि इन्धन भर्न करिब डेढ घण्टा जहाजमै रोकियौ । चालक दलका कर्मचारी पनि परिवर्तन भए । मध्य एसियामा तनाव थिएन भने दिल्लीबाट सिधै अमेरिकाको नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय हवाई मैदानसम्म कतै नरोकीकनै उडान भर्ने गर्थ्यो । रोममा जहाज रोकेको समयमा गुरागाईँ दिदीलाई इन्दिराले हामी सँगैको सिट खाली छ सँगै बसौँ भनिन ।
उडान भर्दा समय समयमा ग्राभेल गरेको कच्ची सडक जस्तै जहाज तलमाथि हुन्नथ्यो । हामी खराब मौसम बाट गुज्रिरहेका छौँ कृपया आ–आफ्नो सिटमा सिटबेल्ट लगाएर बस्नु होला । रेस्टरुम नजानु होला । हिन्दी भाषामा घरीघरी आउने सुमधुर स्वरले मन चसक्क चसक्क पार्थ्यो ।
यत्रो मान्छे, मान्छेको खानेकुरा, मान्छेको सुटकेसहरू, मान्छेले फाल्ने फोहरहरू, जहाजको खानेकुरा यावत बस्तु बोकेर चालिस हजार फिट माथि आकाशमा चरा झैँ तैरिएर उडिरहेको छ । विज्ञानको चमत्कार । जमीनमा कपासको थुप्रो जस्तो बादलको साम्राज्य मात्र देखिन्छ ।
इटालीको राजधानी रोमको लियोनार्दो दा भिन्ची अन्तर्राष्ट्रिय हवाई मैदानबाट फ्रान्स–बेलायत–उत्तर एटलान्टिक सागर–ल्याब्राडोर सागरको आकाश हुँदै अमेरिकाको नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय हवाई मैदान न्युजर्सी सम्म करिब नौ घण्टाको उडानको यात्रा फेरी सुर भयो । ।
एकजना महिला आफ्नो सानो बच्चा फुल्याउन शायद दिल्ली देखि नै आफ्नो सिटमा बस्न पाएकी छैनन् । लामो उडान बच्चालाई असहज वा सन्चो नभएर होला लगातार रोइरहेको छ । काखमा हल्लाएर फुल्याउन कोसिस गरिरहेकी थिइन । आमा हुनुको पीडा ।
अमेरिकन समय अनुसार १४ अप्रिल २०२६ को निर्धारित समय भन्दा करिब पौने चार घण्टा ढिलो गरी मध्यान्नको १२ः४६ मा नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय हवाई मैदानमा जहाज अवतरण भयो ।
फेरि शुरू भयो ह्वील चेयरको कुरा । ह्वील चेयर प्रयोग गर्नेहरूमा भारतीयहरूको लामै लाइन थियो । देख्दा दश प्रतिशत शारीरिक र नब्बे प्रतिशत भाषागत अशक्तता जस्तो बुझिन्थ्यो । एक दुई ह्वील चियर प्लेन नजिक भए पनि अरू माथिल्लो तलमा भएको त्यहाँका कर्मचारीले जानकारी गराए । अमेरिकनहरूले पनि बुझिसकेको हुनुपर्छ कि ह्वील चेयर प्रयोग कर्ता सबै शारीरिक अशक्तता छैनन् । लिफ्ट चढेर माथिल्लो तलामा गएपछि ह्वील चेयर चालक दलका एक सदस्यले भन्यो – वन फेमिली वन ह्वील चेयर । नेपाली पाँच जना मध्ये ठिमेली आमा, गुरागाईँ दिदी र इन्दिराले ह्वील चेयर समाते । ठिमेली बा र म आ आफ्ना पत्नीका ह्वील चेयरको पछि पछि लाग्यौँ ।
अध्यागमनमा महिला कर्मचारीले अङ्ग्रेजी भाषामा कति समय बस्ने कहाँ बस्ने आदि प्रश्न सोध्दै थिइन् । गुरागाईं दिदीले अध्यागमनमा धेरैबेर अलमल्याइन । त्यसपछि हाम्रो पालो आयो । इन्दिराले र मैले प्रश्नको उत्तर दियौं र अध्यागमन कर्मचारीलाई धन्यवाद दियौं । प्रतिउत्तरमा उनले बाईबाई भनिन् । अध्यागमन र अन्य भन्सार चेकजाँच सकिएपछि हामी भुइँतलामा झर्यौं । केही क्षणको सुटकेसको पखाइपछि ह्वील चेयर ठेल्ने भाइले तेरो लिन कोही आएको छ कि छैन भनेर सोध्यो । मैले छ भनें । बाहिरी ढोकामा नपुग्दै ज्वाइँ अजित हामीलाई लिन घण्टौँ देखि पर्खेर बस्नुभएको थियो । ह्वील चेयर भाइले टिप्सको माग गर्यो । ज्वाइँले मसँग नगद नभएको जानकारी गराउनुभयो र अनलाइन कोड मागेर पैसा टिप्स दिए पश्चात् हामी एयरपोर्ट बाहिर गाडी पार्किङ लटतर्फ लाग्यौँ ।
यसरी नेवा: देखि नेवार्कसम्मको यात्राको क्रममा आकाशमा करीब १७ घण्टा र पर्खाइ ९ घण्टा गरी २६ घण्टाको समय खर्चिएछ । यात्रा, पात्र, समय र घटनाहरू रोमाञ्चित र स्मरण योग्य रहे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३१ जेष्ठ २०८३, आईतवार 










