
सन् २००३ को ज्याकी च्यान अभिनीत सांघाई नाइट हेर्दा सुनेको एउटा गीत थियो । रोजर मिलरको ईंल्याण्ड बोलको सो गीतमा वेस्टमिस्टर एबे र टावर अफ बिग बेनको कुरा थियो । कताकता मस्तिष्कमा नमेटिने गरेर छाप परेको थियो । दाइसाथी रेवतीले फोनको रिङ्टोन राखेको फर्गीको लण्डन ब्रिज गीतमा देखाइने टावर ब्रीज हिन्दी सिनेमामा पनि धेरै पटक देखिएको थियो । बकिङ्गहम दरबार अनि शाही सुरक्षाकर्मीलाई जिस्काएको र तिनले हकारेको भिडियोहरू टिकटकभरि हेरिएको थियो । यिनै यिनै कुराहरु हेर्ने योजना बन्दै गर्दा पहिलो प्राथमिकतामा पर्यो ताना शर्माले ‘बेलायत तिर बरालिँदा’मा लेखेको वक्ताहरूको कुनो, जसलाई उनैले लेखेअनुसार अङ्ग्रेजहरूले गर्वसाथ जिब्रो घुमाएर ‘स्पिकस कोन’ भन्ने गर्थे ।
ताना शर्माको नियात्रा बेलायत तिर बरालिँदा अनि वक्ताहरूको कुनो निबन्ध धेरै अघि पढेकोले विस्तारमा केही याद थिएन । तर राज्य विरोधी कुरा गर्ने वक्तालाई राज्यको तलब खाने सुरक्षा कर्मीले राज्य विरोधी कुरा गर्दा गर्दै पनि हाँसेर सुरक्षा दिने परिदृष्यको बयानले मलाई त्यो लोकतन्त्र प्रेमी र वाक्स्वतन्त्रता प्रेमीका लागि तीर्थस्थल हो जस्तो लाग्थ्यो । त्यसैले पहिलो दिनको यात्राको पहिलो गन्तव्य नै वक्ताहरूको कुनो बन्यो । त्यहाँ जान हामी बसेको ठाउँबाट सोझो सवारी जाँदैन थियो । पहिलो दिन हुनाले यात्रा कत्तिको महँगो हुने हो भन्ने पनि कुनै थाहा पत्तो थिएन ।
ताना शर्माको निबन्ध ताजा पढेको भए उनले भनेझैं गरी नटिङ्गम हिलको गेट हुँदै मार्बल आर्च पुगेर वक्ताहरूको कुनो पुग्दो हुँ । अनि त्यहाँ पुग्नलाई पनि आइतबार नै रोज्दो हुँ । पिकेडेली लाइन, डिस्ट्रिक लाइन र सर्कल लाइनका बारेमा धेरथोर थाहा हुँदो हो । निबन्धका सबै अंशहरू स्मृतिमा नअडिएकाले त्यसो हुन सकेन । क्याम्डन टाउन तिरको बासबाट पिकेडेली लाइनले सोझै बकिङ्गम दरबार पछिल्तिरको हाइड पार्क कर्नर पुर्यायो । पार्कको छेवैछेवको सडकले वक्ताहरूको कुनो पुर्याउने कुरा गुगल नक्साले देखायो ।
दरबार र वक्ताहरूको कुनो दुवै एकै साथ हेर्न सकिएला भनेर त्यो बिसौनी रोजेको थिएँ । फेरि ताना शर्माको पालामा जस्तो २ पेन्स तल माथिमा नजिक र टाढा पुग्ने भन्ने थिएन । भूमिगत रेल होस् या बस, सबैमा क्रेडिट कार्ट छुँदै जता जान पनि मिल्थ्यो । हिसाब किताब अन्तिममा एकमुष्ट आउँथ्यो । त्यसैले अलिकति पार्क नै पनि हेरिएला भनेर हिँड्ने बाटो पनि बाँकी राखेँ । तर ओर्लेको ठाउँ अलि परै परेछ के रे, सँगै हिंडेकी श्रीमती बेखुस देखिइन् । मौसम नै पनि टहल्ने खाले थिएन । जोडोले त्यसै ठिहिर्याएको थियो । घमाइलो मौसमको कपडा लाएर आएकी उनलाई पार्कको हिंडाइ मन पर्ने कुरै भएन ।
“केही त छैन ह्यां, किन आ’को?”
श्रीमतीको प्रश्नको उत्तर मसँग थिएन । म ताना शर्माको बहकाउमा पुगेको थिएँ । मलाई लागेको थियो कि प्रतिकुल मौसममा पनि यहाँ वक्ताहरू उभिएका हुनेछन् । इजरायल, कश्मीर, सेवीडेन र अमेरिकाका कुराहरू गरिरहेका हुनेछन् । श्रोताहरू माझ बाट पनि प्रतिप्रश्नहरू तेर्सिनेछन् । अनि त्यो लोकतन्त्रको तीर्थस्थलको तुलनात्मक अनुभव बोकेर फर्कनेछु । तर त्यहाँ त्यस्तो केही थिएन ।
निकै परसम्म पनि वक्ताहरूको कुनोको कुनै नामो निशान थिएन । पार्कको एक छेउबाट पसेका हामी अर्को छेउ पनि नजिकै होला जस्तो थिएन । बाटामा पथचिन्हहरु पढ्दा बल्ल स्पिकर्स कर्नर भनेर दिशा देखाएको पाटी भेटियो । अलि पर पुग्दा एउटा क्याफे थियो । त्यसैमा वक्ताहरूको कुनो नाम अङ्कित थियो । पहिलो ठाउँमै निराशा हात लागेपछि जाडामा हिँडाइएकी श्रीमतीले स्याबासी दिने कुरै भएन । म कहीँ न कहीँ केही न केही त हुनुपर्ने हो भनेर खोज्न थालेँ । पार्कको कुनो सुनसान थियो । चरो मुसो केही थिएन ।
‘ह्याँ हेर !’ श्रीमतीले आकुल व्याकुल भएर खोजिरहेको अवस्थामा आवाज दिइन् ।
भुईँमा लेखिएको स्पिकर्स कर्नर भेटियो । पार्कको कुनो रहेछ भन्ने भयो । अनि त्यही कुनोमा ठडिएका सूचना पाटीहरू पनि थिए । तिनमा वक्ताहरूको कुनोको ऐतिहासिकता र त्यसको गरिमा लेखिएको थियो । सिमसिमे पानीमा छाता ओढेरै पनि ती जानकारीहरू पढ्न थालें । वक्ताहरूको कुनो भएकै ठाउँको नजिकै टाइबर्न ग्यालो रहेको थियो । ग्यालोमा मान्छेहरूलाई फाँसी दिइने गरिन्थ्यो ।
सन् ११९६ मा बनेको भएता पनि आज भन्दा २५० वर्ष सम्म पनि त्यसले निरन्तरता पाएको थियो । झण्डै ६ सय वर्ष अर्थात् १७८३ मा ग्यालोजहरू भत्काउँदा सम्म ५० हजार भन्दा बढी मानिसहरूलाई यहाँ झुण्ड्याइ सकेको थियो । त्यस्ता दृश्य हेर्न मानिसहरू त्यहाँ पैसा तिरेर समेत रमिते बन्न पुग्थे । झुण्ड्याउन अघि ती मान्छेहरूलाई अन्तिम इच्छा प्रकट गर्न दिइन्थ्यो । कतिले निर्दोष भएको गुहार लाउँथे भने कतिले सरकारको आलोचना गर्दथे ।
पछि झुण्ड्याउने काम न्युगेट जेलमा सारिए पनि यो ठाउँ भेला हुने र सभा गर्ने ठाउँमा रूपान्तरित भएछ । सरकारले त्यसमा बेलाबेला रोक लाउन खोजे पनि मानिसहरू सरकारको अवज्ञा गरेर समेत भेला हुन थालेपछि सन् १८७२ देखि सरकारले नै यस ठाउँलाई सभा गर्ने ठाउँमा रूपान्तरित गरेछ । कार्ल मार्क्स, लेनिन र जर्ज अर्वेलले समेत यही क्षेत्रलाई अभिव्यक्ति स्वतन्त्रताको पक्षमा प्रदर्शनी गर्नका लागि प्रयोग गर्दथे ।
जाडामा श्रीमतीलाई धेरै ठिहिर्याउनुको तुक थिएन । कल्पना गरे जस्तो कुरा वक्ताहरूको कुनामा नदेखेपछि पहिलो काम श्रीमती रिझाउने भयो । लण्डनको चिसो थेग्ने हक्सफर्ड स्ट्रटको एक पसलमा केही लुगाहरू किनेर हामी लण्डन डबलडेकरमा फेरि हाइडपार्क कर्नर पुग्यौँ । बकिङ्गहम दरबार जाने बाटो गलत लिइएछ । निकै घुमेर बल्ल त्यहाँ पुग्यौँ ।
तस्बिर लिनेहरूको लाम थियो । केही सुटेडबुटेडहरू कुनै तक्मा बोकेर तस्बिर खिचाइ रहेका थिए । हामीले पनि चिनोका लागि तस्बिर लियौँ । नजिकै रहेको भिक्टोरिया मेमोरियलमा दरबारतिर फर्केका पुरुष र महिलाको मूर्ति बनाइएको थियो । दरबारतिर हेरेका पुरुषको हातमा हतौडा र महिलाको हातमा हँसिया हुनु संयोग मात्रै नहोला भन्दै दरबार परिसर छोडेर सेन्ट जेम्स पार्कतिर लाग्यौँ ।
सेन्ट जेम्स पार्क पनि उस्तै ठूलो । युरोपको सहर त्यो पनि विश्वभरि साम्राज्य स्थापित गरेको देशको राजधानीमा कल्पना गरे जस्तो गगनचुम्बी महलहरूको तुलनामा ठूलाठूला बगैँचा हुनुले सहर प्रतिको नेपाली मानसिकता नै फरक हो कि भन्ने लाग्यो । सेन्ट जेम्सको फेदी तिर मान्छेहरूका हुल पछ्याउँदै एक घर तिर लाग्यौँ । गार्डस् हाउस रहेछ । टिकटकभरि देखिएका गार्डका भिडियो सम्भवतः त्यहींका थिए । घोडामा सवार र भुइँमा भएका पहरेदारहरू हाँस्ने र बोल्ने गर्दैनन् । त्यसैले त्यहाँ आउने पर्यटक मध्ये केही उरण्ठ्यौला पर्यटकहरू अनेक गरेर तिनलाई हँसाउने र त्यसको भिडियो बनाउने गर्छन् ।
कतिले घोडा नजिक उभिन खोज्दा घोडाले टाउकाले हानेको वा गार्डले अलार्म थिचेको भिडियो समेत राखेका हुन्छन् । गार्डस् हाउसकै छेउमा डाउनिङ्ग स्ट्रिट पनि छ जहाँ बेलायती प्रधानमन्त्री ऋषि सुनकको बास छ । अघि बढ्दै जाँदा वेस्टमिस्टर स्टेसनमा ब्रेक्जिट विराधै नारा लगाइरहेका केही प्रदर्शनकारी देखिए । पहिले युरोपेली सङ्गठनबाट बाहिरिन चाहने बेलायतीहरू पनि अचेल युरोप छोड्नुलाई गल्ती मान्न थालेका छन् । सङ्गठन बाहिर रहेर पनि युरोपेली सङ्गठनका सबै फाइदा मिल्ने भन्ने नेताहरूको आश्वासन गलत साबित भएपछि त्यसरी उनीहरूको मन परिवर्तन भएको हो ।
स्टेसनकै छेउमा घण्टाघर सम्झाउने विग बेनको टावर छ । केहीबेर त्यहाँको तस्बिरहरू लिइसकेपछि हामी खाना खाने भयौँ । नेपाली खानको लागि विग बेनको छेवैमा बग्ने लण्डनको गङ्गा अर्थात् थेम्स नदी पार गर्नु पर्थ्यो । बस खोजेर नेपाली खाना खान जाने क्रममा वेस्टमिस्टर स्टेसन छेउमा एक सानो बगैँचा भेट्यौँ ।
छेउमा भएका रुखमुनि गान्धी र चर्चिल पनि भेटिए । पार्लियामेन्ट स्क्वायर भनिने त्यो सानो बगैँचामा ‘साहसले साहसलाई प्रोत्साहित गर्छ’ भन्ने नाराका साथ उभिएकी मिलिसेन्ट ग्यारेट फसेटको पूर्ण कदको सालिक थियो । मिलिसेन्ट महिला मताधिकारको लडाई लडेकी महिला थिइन् । पार्लियामेन्ट स्क्वायरमा महिलाको समेत मूर्ति हुनुपर्ने आवाज उठेपछि उनको मूर्ति बनाइएको थियो । बस लिन लिएको फेरोमा मिलिसेन्ट पनि देखियो । नत्र सायद त्यतातिर हामी जाँदैन थियौँ ।
बस र पैदल गरेर नेपाली रेस्टुरेन्ट पुग्दा भातको तलतल लागेको थियो । मःमः मै चित्त बुझाउनु पर्यो । त्यसपछि टावर ब्रिजतिर लाग्यौँ । मौसम उति राम्रो थिएन । बादलले ढाकेको आकाशमुनि नदीको किनारै किनार हामी हिंड्यौँ । केही तस्बिर पनि लियौँ । अनि लण्डन ब्रिज बा लण्डनको गगनचुम्बी महल भएको केन्द्रतिर लाग्यौँ । फेरि सर्कल लाइन लिएर बिगबेन किनार पुगेर रात्रिकालीन तस्बिरहरू लियौँ । अनि लण्डनको ट्युब चढेर बासतिर अघि बढ्यौँ ।
साँझको ६ मात्रै बजे पनि चकमन्न रात नै भइसकेको थियो । स्टेसनमा मानिसहरूको भीड हेर्न लायक थियो । लण्डनमा थाहा भएका ठाउँहरू लगभग सबै घुमेर पहिलो दिनमै सकिएको थियो । बचेका केही कुराहरू भोलिपल्ट घुम्यौँ । त्यसमा ग्रिनबिच पार्क थियो जहाँ ग्रिनबिच मेरिडियन रेखा रहेको छ । बेलायतको समुद्री व्यापारको फैलावटले सिर्जेको दिशा अनि समयमा भएको अन्तरको समाधानका लागि घडी अनि देशान्तर रेखाको आविष्कारको कथा रोचक थियो । त्यहीँ बाट लण्डनका गगनचुम्बीहरूको दृश्य पनि गज्जब देखिन्थ्यो । त्यसपछि नेपाली खाना खायौँ र घर पुग्यौँ ।
फर्कने दिन बिहानै हाइगेट सिमेट्रीमा निदाइरहेका मार्क्स र जेनी भेट्न गयौँ । किन हो खै दुई फरक चिहान रहेछन् । वास्तविक चिहान फेला पर्न अलि मुस्किल रह्यो । चल्तीको चिहानको वरपर भने विभिन्न कम्युनिस्ट नेताहरूको चिहान पनि रहेको थियो । चिहान पछिको दोस्रो हेर्न मन लागेको भनेको ब्रिटिस सङ्ग्राहलय थियो जसलाई शशी थरुरले चोर बजार भनेर भनेका थिए । संसारभरि बाट ल्याएको लुटको धन राखेको भनेर उनले त्यसो भनेका थिए । न नेपालका केही कुरा पनि भेटिन्छ कि भन्ने थियो तर मीश्र अनि असुरीयाका मूर्ति र संरक्षित लासहरू अनि ग्रिसका मूर्तिहरू हेरेरै समय बित्यो । अनि मीश्रबाट ल्याएको रोजेटा स्टोन चाहिँ सङ्ग्राहलयको प्रमुख आकर्षण रहेछ । तेस्रो दिन पनि नेपाली रेस्टुरेन्टमै खाना खाएपछि लण्डन घुमाइ पनि सकियो ।
‘हो नेहरु बर्बर थिए । गान्धी असभ्य थिए । केन्याता मूर्ख हुन् । मार्टिन लुथर किङ केही जान्दैनन् । वास्तवमा तिमी सेता छालाको मिति पुग्यो । अब टेन डाउनिङ (प्रधानमन्त्री बस्ने घर) मा कालो मान्छे पुग्छ । किनभने तिमीदेखि बाहेक अरू सबै गोरीहरूले हामी जस्ता कालालाई मन पराउँछन्, बुझ्यौ ?’
२५ सेप्टेम्बर १९६६ मा ताना शर्मा वक्ताहरूको कुनामा पुग्दा त्यहाँका एक अश्वेत वक्ताले बोलेका कुरा हुन यी । हुन पनि आजको मितिमा बेलायतमा अश्वेत प्रधानमन्त्री छन् । अफ्रिकी मूलकै नभए पनि गैह्र आङल स्याक्सन भने अवश्यै हुन् । त्यसैगरी संसारको सर्वशक्तिमान् देशले दुई कार्यकालका लागि अश्वेत राष्ट्रपति पाइसकेको छ भने नयाँ राष्ट्रपतिको दौडमा विवेक रामास्वामी भिड्दै छन् ।
हामी विमानमा फर्कँदै गर्दा लण्डनमा ठूलो र्यालीको आयोजना हुँदै थियो । अखबारहरूले नोभेम्बर ११, २०२३ का दिन २ देखि ३ लाख मानिसहरूले वक्ताहरूको कुना देखि थेम्स नदी पारीको अमेरिकी राजदूतावास सम्म विरोध जुलुस आयोजना भएको कुरा उल्लेख गरेका थिए । प्यालेस्टाइन पक्षधरले इजरायलको गाजा माथिको हमलाको विरोध गर्दै थिए ।
अक्टोबर ७, २०२३ मा हमासले इजरायल माथि गरेको हमलाको प्रतिकार भन्दै इजरायले गाजामाथि निरन्तर आक्रमण गरिरहेको समाचारहरू सुन्नमा आएका थिए । नेपाली समेत मारिएको हमास आक्रमणमा एक जना नेपाली विपिन जोशी बन्दी समेत बनेका थिए । लेख लेख्दै गर्दासम्म उनको रिहाइ भएको छैन । इजरायल र हमासको साँढे जुधाइमा नेपाली र अन्य निर्दोषहरू बाच्छा बनेका छन् । अनि संसार मूकदर्शक भएर हेरिहरेको छ । यो अन्यायको विरोधको स्वरको सुरुवात वक्ताहरूको कुनो बाटै हुनुले त्यो सानो केही नभएको कुनोको महत्त्व झल्काउँछ ।
वक्ताहरूको कुनो पढ्दा हर कोहीले त्यस्तै सुरक्षित अभिव्यक्ति स्वतन्त्रता सहितको कुनो आ–आफ्नो देशमा पनि आश गर्दा हुन् । मैले पनि त्यसै गरेको थिएँ । यो लेख्दै गर्दा देशमा भने केही प्रतिगामी कदमहरू पनि चलिएका छन् । सामाजिक सञ्जालमा अङ्कुश अनि राजधानीको वक्ताहरूको कुनो सरह नै बनेको माइतीघर मण्डलामा जुलुस प्रतिबन्धित गरिएको छ । त्यो पनि नेपालमा जनमुखी व्यवस्था ल्याउनका लागि सशस्त्र सङ्घर्ष गरेको दावा गर्ने दलकै नेता प्रधानमन्त्री भएका बेलामा यी सब भएको छ । धन्न ताना शर्माले महेन्द्रको कविताको आलोचना गर्दा जेल पसेको जस्तो हदसम्म चाहिँ भइसकेको छैन । अपराध नियन्त्रणका नाममा माध्यम पिच्छे कानुन बनाउनु भन्दा अपराध लक्षित कानुन बनाउनु र त्यो सम्बन्धी जनचेतना फैलाउनु बुद्धिमानी हुन्थ्यो होला । गालीगलौज चिठीबाट गरोस् या इन्टरनेटमा, प्रत्यक्ष गालीगलौज भन्दा कसरी फरक हुन्छ र ? समान अपराधका लागि माध्यम जुनसुकै भए पनि समान सजाय तोके माध्यम परिवर्तनसँगै कानुन बनाइराख्नुपर्ने झन्झट त हुँदैन थियो होला ।
वक्ताहरूको कुनोको रचनाकाल थाहा पाउन अनेक कसरत गर्दा पुरस्कार पाएको मिति लगायतका थुप्रै मिति फेला परे । त्यसैमा उनी जेल गएको भनेर विकिपिडियाले सन् १९६६ उल्लेख गरेको छ । तर निबन्धमै पनि उनले सोही वर्ष वक्ताहरूको कुनोमा भएको भनेर उल्लेख गरेका छन् । नेपाली मिति अनुसार २०२३ सालमा उनी जेल गएको अनि त्यही साल उनले वक्ताहरूको कुना समेत पुगेको भन्ने छ । अनि त्यसको ३ वर्ष पछि प्रकाशित बेलायत तिर बरालिँदाको लागि उनले असोज १७ २०२७ मा मदन पुरस्कार पाएको भनेर मदन पुरस्कारको वेब पानामै उल्लेख छ । तर त्यही पानाको मुनितिर श्रावण १८ २०२७ मा पुरस्कृत भनेर उल्लेख छ ।
सम्भवतः श्रावण १८ मा घोषणा भएर असोज १७ मा उनले ग्रहण गरेको होला । अङ्ग्रेजी मिति र नेपाली मितिको अन्तरले पनि संसारको इतिहासको तुलनात्मक अध्ययनमा साह्रो गाह्रो पारेको छ । त्यही गाह्रो मलाई पनि भयो । जस्तो ताना शर्मा वक्ताहरूको कुनो पुगेको बेला नागरिक अधिकारको लडाई जारी नै थियो भने पुरस्कार पाउँदा त्यो सकिइसकेको थियो । त्यति मात्रै हैन चन्द्रमामा मानव पाइला पुगिसकेको थियो । देशमा भने पञ्चायतको निरङ्कुशता लादिएको थियो ।
यत्ति जानकारीले निबन्धको सेरोफेरो बुझ्न कत्ति मद्दत गर्छ अनि हाम्रो दृष्टि क्षेत्र पनि कति विस्तारित बनाउँछ ! नेपाली लेखक बेलायतको कुनामा अभिव्यक्ति स्वतन्त्रताको जगेर्ना गरेकोमा गम खाइरहँदा, राजाको कविताको आलोचना गरेबापत जेल धाइरहँदा, अमेरिकामा नागरिक अधिकारको लडाई भएको हुनु र उसले निरङ्कुश पञ्चायती शासन अन्तर्गत नै पुरस्कार पाइरहँदा मानव पाइला चन्द्रमामा पुग्नुले नेपालको आजको हविगतको कथा पनि भन्दैन र ?
लण्डन भ्रमण लेख्न मलाई वक्ताहरूको कुनोले प्रेरित गरेको थियो । ताना शर्माले त्यसको बारेमा नलेखेको भए मैले थाहा पाउने थिएन । त्यसैले ताना शर्माले लेखेको ५० वर्ष पछि शर्माले देखेका कुराहरूमा आएको परिवर्तनहरू नै पनि लेख्न मन लाग्यो । बेलायत तिर बरालिँदाको रचनाकालका समस्याहरू झण्डै ६० वर्ष पछि के कस्ता छन् भनेर जान्न पनि उनको निबन्ध यो लेख लेख्न अघि सरसर्ती पढेँ ।
कति समस्या समान थिए भने कतिमा परिवर्तन पनि आएको थियो । केही गरी यो नियात्रा कसैले पढ्यो र आजको ५० वर्ष पछि यहाँ आयो भने उसले पनि तुलनात्मक अनुभव लेख्ने आधार पाओस् । त्यही नै लेखाइको सफलताको नापो हुनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

