धम्पुस पुग्दा साँझले रात निम्त्याइसकेको थियो । त्यहाँबाट छर्लङ्गै देख्न पाइन्थ्यो अन्नपूर्ण हिमाली शृङ्खला । अझ सूर्योदयको प्रथम कलिला किरण । र, त्यही किरणले हिमचुलीलाई सुनैसुनले लिपपोत गरेको दृश्य ।
यही दृश्य हेर्नुको तीव्र प्यास । त्यही प्यासले काकाकुल हुँदै पोखराबाट हामी उकालिएका थियौँ धम्पुस ।
धम्पुस पुग्नुको हतारोसँगै । धम्पुस पुगेर अघाउँजी हिमाल हेर्नुको भोकसँगै । धम्पुस प्रेमले हामी यात्री तुरुन्तै पुग्न कति छटपटिएका थियौँ । कति तड्पिएका थियौँ । तर धम्पुस पोखराभन्दा पर अलि टाढै थियो । हेम्जामाथि पहाडको उकालो टाकुरामा थियो धम्पुस ।

पोखरामा गाडी भाडाको मोलतोल गर्दा र गुरुजीलाई मनाउँदा हामीले विदेशी पर्यटक जत्तिकै मूल्य तिर्नुपर्‍यो । तर देश-दर्शनको कुरा त्यसमा पनि कुमारी हिमाली छटासँग अत्यन्त सन्निकट साक्षात्कारको सौजन्य मिल्ने आशा ।
धम्पुसबाट घामको पहिलो झुल्कोसँगै एक छिन देख्न पाइयो मन माफिकको कल्पनातीत दृश्य । सुनले सिँगारिएका चाँदीसमान हिमालहरू । सुनौलो रङको त्यो विराट विम्बमा प्रकृतिको सौन्दर्य प्रस्तुत थियो । हामीले त्यसलाई आँखाले नियाल्दै गर्दा । मनभित्र कैद गर्दै गर्दा हुस्सुको साम्राज्यले ग्वाम्लाङ्गै अँगालो हाल्यो । यतिसम्म त ठिकै थियो तर देख्नु, हेर्नु केही नहुने गरी छोपेर कला लुकायो । लुकायो नै । सुन पोखिएको हिमाल छिनभरमै सेताम्मे बादलभित्र आकाशमै विलीन भयो ।

धम्पुसको बिहान । हुस्सुले हैरान बनाएको बिहान । हिमाल हेर्न पुगेकाहरू हिस्स परेको क्षण । हिमाल भेट्न हतारिएकाहरू भौँतारिएको दिन ।

अहिले खुल्ला कि, अब खुल्ला कि ..? प्रतीक्षा एक छिन दुई छिन गर्दागर्दै दिन ढल्क्यो । निष्ठुरी बादलले घुम्टो खोलिदिएन । हिमाललाई छोपेरै राखिरह्यो दिनभर । गाउँघर, बारी, बाटो, बन-जङ्गल सबैतिर हुस्सु पठाएर हामीलाई हैरान पारिरह्यो । हुस्सुले छोपेपछि के देख्नु ? के हेर्न पाउनु ? सर्वत्र सेताम्मे साम्राज्यबाहेक ।

कति टाढादेखि बल्ल फुर्सद मिलाएर साथी-साथी मिलेर हिँडेका हामी । घरपरिवार र कार्यालयको कामसमेत छोडेर आएका हामी । काम थाँती राखेर झुल्के घामको सुनौलो छवि हेर्नुको कति मीठो सपना साँचेका हामीले । सूर्योदयको अनौठो दृश्य हेरेर पृथक् अनुभूति बटुल्ने योजना बुनेका हामीले । सपना बिपना हुन साँच्चै नसक्दो रहेछ । योजना कार्यान्वयनमा जता पनि कठिनाइ नै हुने रहेछ ।

हुन त हामीले देखेको सपना बिपना हुन नसक्ने होइन । न त योजना हामीले बनाएको हो । मात्र मौसम बद्लिदियो । मात्र बादल बदमास बनिदियो । मात्र हुस्सुले हैरान बनाउनुसम्म बनाइरह्यो ।

मूलतः प्राकृतिक पखेरामा हराउन आएका हामी । झरनाका झरझरले पनि आह्लादित पार्थ्यो । हामीलाई गुराँसको रुख देख्न पाउँदा पनि अचम्मै लाग्थ्यो । जो सहरमा देख्न पाइँदैन, गाउँमा हेर्नु थियो तिनैलाई हामीले । ती सबैलाई धम्पुसको बासमा देख्नु थियो हामीले । साउती-संवादमा तिनका निखुर आफ्नोपन ।

ढुकुर कुर्लिएको सुनिन्थ्यो । न्याउलीको विरह भाका पनि गुन्जिन्थ्यो । तर कस्तो हुन्छ ? कहाँ बसेर कसरी चिरबिर गरिरहेछ ? देख्न पाइएन । हेर्न सकिएन । पर्खाइको पट्यारलाग्दो पल । खुल्न त अवश्य खुल्ला भन्ने आस । त्यही आसमा धम्पुसको बास ।

एकै छिन स्वर्णिम रङमा देखिएको अन्नपूर्ण-माछापुच्छ्रे । तर आँखाले नियाल्नै नपाई । मायालु म्वाइँ खानै नपाई । आहा कठै त्यो प्रेमिल पल । सपनासरि अधुरै रह्यो । हेर्नुको तृप्ति अधकल्चै रह्यो । देख्नुको तृष्णा उत्तिकै । महसुस गर्नुको बाँकी कुरा यथावतै रहिरह्यो ।

पल-पल प्रतीक्षा केवल प्रतीक्षामै सिद्धियो । हरदम आँखा हुस्सुले छोपेको हिमालतिरै एकोहोरियो । एक घुट्को चिया पिउँदा पनि आँखा हिमालतिरै हुन्थे । एक छिन मोबाइल हेर्दा पनि आँखा हिमाल तर्फै तेर्सिन्थे । खाना खाँदा होस् कि गफिँदाका बखत खुल्ला कि, खुल्ला कि भन्दै आशामा दिन बितेर गयो ।

परन्तु, सुनौलो हिमाली लस्कर बादलकै सिरकमा गुटुमुटु । धम्पुसको प्रकृति हुस्सुको बेहोसमा बेखबर ! देख्नु मात्रै श्वेताम्मर हुस्सुले ढाकिएका सबै ।

हेर्नु र देख्नुको विराममा आँखा जति नियाले पनि केही नदेखिने । धमिलो रङमा अनूदित धम्पुस । देख्नु र मनन गर्नुको उपलब्धि शून्य-शून्य ।

परन्तु धम्पुसमा आएर हामीले सूर्योदयको सुन्दरता नदेखे पनि । हिमालमा सुन पोखिएको नदेखिए पनि । अन्नपूर्ण, माछापुच्छ्रे आदि हिमाली लस्करलाई आँखाका परेलीले चुम्न र देख्न नपाए पनि । हुस्सु-प्रेमले प्रभावित बन्यौँ । हुस्सुकै दिनचर्यामा आफूहरूलाई डुलायौँ । हुस्सुसँगै आँखा र मनलाई पनि घुमायौँ । आखिर रमाउनुसम्म थियो हामी । नौलो अनुभूति बटुल्नुसम्म थियो हामीले ।

‘हुस्सु’को ‘हुस्सुपन’बाट वाक्क दिक्क भएर के गर्नु ? आखिर हुस्सुसँगै रमाउनुको विकल्प थिएन ।

लाग्यो, हामीभन्दा पनि अझ धेरै प्रकृतिप्रेमी हो हुस्सु । प्रकृतिलाई छोडेर अन्त कतै जानै सक्दैन । प्रकृतिमै विलीन, प्रकृतिमै हरदम डुलिरहने । प्रकृतिमै रमाइरहने । झरीमा भिजे पनि, घामले पोले पनि । हुस्सु प्रकृतिकै साथ । प्रकृतिकै काखमा लुटुपुटु लाडिइरहने रहेछ । अनि हामी पनि यही हुस्सुसँग नरमाई सुखै भएन ।

आकाशमा बादल नउडी जमिनतिर जब लहसिन्छ त्यही अल्छी बादललाई हामी कुहिरो भनी चिन्छौँ । दिनभरि तातिएको जमिन रातमा सेलाएपछि बिहानीपख वायुको तापक्रम घट्दै जान्छ । यही वायुले आफ्नो गर्भभित्रका जल कण बाहिर निकालेर कुहिरो निर्माण गरिदिन्छ । त्यसपछि वायुले आफ्नो पारदर्शिता गुमाउँछ । हामी टाढाका वस्तु देख्न सक्दैनौँ ।

भनाइअनुसार यही कुहिरो बाक्लो भयो भने त्यसलाई हामी ‘हुस्सु’ भन्छौँ । अनि थोरै दूरीका वस्तु पनि स्पष्ट नभई ती धमिलिन्छन् । लेकाली पाटोमा प्रायः पिठो जस्तै सेताम्मे भएर पोखिएका तिनै कुहिरो नै बादल हो । वास्तवमा त्यही बादलकै अर्को रूप हुस्सु हो ।

उकालो चढिरहेको हुस्सु । ओरालो झरिरहेको हुस्सु । कहिले तेर्सै तेर्सो सुस्तरी हिँडिरहेको । बाटोघाटो केही देखिँदैन तर हिँडिरहेछ हुस्सु । कहिले लमक्क लमक्क हतारिएर उडिरहेको । सधैँ हतारमा एक छिन स्थिर छैन । अडिएर बस्दैन, उडिरहने । पहाड चढिरहने, जङ्गल चहारिरहने, घर, खेतबारी जताततै डुलिरहने । यो डुलुवा हुस्सु । यो घुमन्ते हुस्सु ।

हामीले ‘हुस्सु’ लाई, ‘हुस्सु’ को चित्र-चरित्रलाई नजिकैबाट निकै नियाल्यौँ । ‘हुस्सु’ लाई सायद ‘हुस्सु’ त्यत्तिकै भनिएको होइन होला । किनभने बेहोसीमै ‘हुस्सु’ भएर हुलका हुल ‘हुस्सु’ जताततै डुलिरहन्छ ।

तथापि हामीभन्दा धेरै प्रकृतिप्रेमी हुस्सु ! प्रकृतिभन्दा पर जानै नसक्ने । प्रकृतिमै रमाउने । प्रकृतिमै हराउने ।

प्रकृति र हुस्सुको लुकामारी राम्रैसँग हेरियो । हुस्सु हिँड्नुको बेग्लै अनुभव हामीले सँगाल्न पायौँ । हिँड्दै हराउँदै फेरि हराउँदै, देखिँदै । हुस्सुको कस्तो रङ-रहस्य !? हामीले सबै देख्यौँ । कहिले पातलिँदै, फेरि छिनमै बाक्लिँदै प्रकृतिलाई देखाउँदै, लुकाउँदै हामीसँग हुस्सुले खेलाँची गरिरह्यो । हुस्सुले डम्म आकाश र जमिनै ढाकिदिएपछि कसको के लाग्छ र ! हेर्नु र देख्नु केही हुँदैन बाँकी ।

कहिले हावासँग बग्दै, बतासिँदै हुस्सुका हुल कहिले आकाशतिरै बिलाउने । कहिले जमिनमै हराउने । हेर्दाहेर्दै नदेखिने, देख्दादेख्दै कता गायब हुने कता । हुस्सु हिँडेको पनि चाल पाइँदो रहेछ । बिस्तारै बामे सर्दै, सुस्तरी चाल मार्दै हिँड्दो रहेछ । प्रकृतिलाई धमिल्याउँदै, हाम्रा आँखालाई भ्रममा पार्दै हुस्सु कति हिँड्न सक्ने रहेछ ।

हुस्सुको हिँडाइ र हुस्सुको हराइमा हामीलाई भ्रमित पार्दै हुस्सु हिजोदेखि आज र भोलिसम्म यसै गरी उडिरहेछ, कुदिरहेछ पल-पल हरपल । तर यसरी हुस्सु हराएर गायब हुँदा बल्ल खुल्ने प्रकृति । बल्ल डाँडाकाँडा, हरियाली, गाउँघर सबै छर्लङ्गै देखिने ।

हुस्सुले छोपेको धमिलो पाटो पन्छाउँदै त्यसभित्र लुकेको हरियाली र उज्यालोको बाटोमा हामी सधैँ अग्रसर । जिन्दगीको असन्तोष, असमानता र अन्धकारलाई पैतालाले लात हानेर हिँड्नुपर्ने रहेछ । यही हुस्सुको ‘बेहोसी’ बाट हामीले ‘होस’ राख्नुपर्ने पाठ सिक्यौँ ।

सन्तुष्टि, सफलता र समुन्नत जीवनको यात्रा सोच्न यही हुस्सुले सन्देश दियो । किनभने गतिशीलताका पाइला चालेर वेग बतासले हिँडिरहनुपर्छ भन्ने ज्ञान हुस्सुबाटै मिल्यो । साथै निराशाका विरुद्ध मीठो आशा, सकारात्मक सोच र शक्ति लिएर हामी हिँड्नुपर्ने रहेछ । वास्तवमा बसे जहाँको त्यहीँ रहिन्छ । हिँडे कतै नयाँ गन्तव्यमा अवश्य पुगिन्छ । नयाँ ठाउँ, नवीन विचार र नौलो काम आफैँमा एक अनुपम उपलब्धि हो ।

धम्पुसमा धार्मिक पर्यटकीय स्थलहरू पनि रहेछन् । जस्तै- भुमे मन्दिर, नेवाता बराह, सिद्धबराह आदि । कुनै समय विदेशी पर्यटक मात्र पुग्ने धम्पुसमा आजभोलि हामी जस्ता आन्तरिक पर्यटक पनि ओइरिँदा रहेछन् ।

पोखरादेखि २२ किलोमिटर दूरीमा रहेको धम्पुस । केही वर्षअघि हामी धम्पुस पुग्न हेम्जादेखि पदयात्रा गरी ठाडो उकालो चढेका थियौँ । अन्नपूर्ण पदमार्ग प्रवेशद्वारमध्ये धम्पुस एक हो । माछापुच्छ्रे हिमालको वास्तविक स्वरूप धम्पुसबाटै अवलोकन गर्न सकिन्छ । धम्पुसमा हाम्रो राष्ट्रिय फूल लालीगुराँस फुलेर बनै रङैरङमा सजिएको हुन्छ । मगमग वासनाको उस्तै सुगन्धले यात्रीलाई मोहित पार्छ ।

हामी आएको याम गुराँस फुल्ने थिएन । त्यसैले गुराँसको सुन्दरता र सुगन्धको महसुस गर्न पाइएन । तर बिहानको स्वर्णिम रङमा सजिएको हिमाली लस्करसमेत हेर्न पाइएन । अब गोधूलि समयको हिमालमा घामको अन्तिम चुम्बनले चाँदीसमान परिवर्तित हिमाल हेर्न पाइएला भन्ने कति ठुलो धोको । तर भोको आँखा, भोको मन, भोको रहर । सबै धोको मात्रै । सबै खोक्रो मात्रै ।

अन्ततः अधुरो, अधकल्चो धम्पुस यात्रा । तैपनि ‘हुस्सु’ सँगको हिमचिम स्नेहमय नै रह्यो ।

तथापि मनमाफिक सौन्दर्यपन । हुस्सुसँगको दिनचर्या दिनभरि नियालियो । निक्खर स्थानीय जनजीवन । गुरुङ समाजको स्नेहमय आतिथ्य । हार्दिक प्रेम र शुभेच्छाहरू ।