विश्वको मेन्ग्रोबको नक्सांकन र अनुगमन गर्ने गुरुका रूपमा चिनिएका लेखक तथा गीतकार हुन् डा. चन्द्र गिरी । उनको विश्वका विविध भूगोलका रोचक तथ्यसहितको पुस्तक ‘संसारको सेरोफेरो’ भर्खरै प्रकाशनमा आएको छ । गिरीका संस्मरणहरूमा उनले यात्रा गरेका ठाउँको संस्कृति, इतिहास, मानवीय क्रियाकलाप, खानापान तथा रहनसहन समेटिएका छन् । उनका व्यक्तिगत अनुभव, स्वभाव र जीवनयापन समेत पुस्तकमा प्रस्ट रूपमा चित्रित गरिएको छ ।

खोटाङको चिमचिमामा जन्मिएका डा. गिरी हाल अमेरिकी सरकारको वातावरण मन्त्रालयमा वरिष्ठ सल्लाहकार र ड्युक विश्वविद्यालयमा एड्जन्क्ट प्रोफेसरका रूपमा कार्यरत् छन् । उनीसँग विश्वको विभिन्न देशमा बसेर सरकारी, शैक्षिक तथा निजी क्षेत्रमा काम गरेका अनुभव छ ।

प्रस्तुत छ, डा. गिरीसँग साहित्यपोस्टका लागि गरिएकाे कुराकानीको सम्पादित अंशः

तपाईंको नियात्रा कृति ‘संसारको सेरोफेरो’ प्रकाशनमा आएको छ । कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

भर्खरै मात्र प्रकाशित भएर बजारमा उपलब्ध भएको छ । यसको प्रचारप्रसार शुरु भइसकेको छ तर पाठकहरूले पढेर आफ्नो धारणा व्यक्त गर्ने समय आएको छैन । सामाजिक सञ्जालमा भने किताबको आगमनको चर्चा चल्न थालेको छ, जसले गर्दा धेरै साथीभाइ र चिनेजानेकाले मलाई बधाई दिनुभएको छ ।

म नेपाल बाहिर बस्ने भएकाले अहिलेसम्म मेरो हातमा किताब परिसकेको छैन । यद्यपि पाठकहरूले यसलाई रुचाउनु हुनेछ भन्ने दृढ विश्वास लिएको छु ।

यो १२६ देशहरूको यात्रापछि लेखिएको नियात्रा कृति भएको तपाईंको दाबी रहेको छ । एउटा जीवनमा यतिका धेरै देशहरूको यात्रा कसरी सफल भयो ?

कहानी लामै छ । छोटकरीमा भन्दा विगत ३० वर्षदेखि हरेक वर्ष जागिरको शिलशिलामा विश्वका विभिन्न देशहरूको भ्रमण गरिरहेको छु, निरन्तर । मेरो जागिर विश्वको वनजङ्गल कसरी विनाश भइरहेको छ, कृषिजन्य भूमिहरू घटिरहेका छन् कि बढिरहेका छन, शहरीकरण के कसरी भइरहेको छ, आदिको अध्ययन र अनुशन्धान गर्नु हो । यो क्रममा विभन्न देशहरूमा गएर काम गर्नुपर्ने हुन्छ । उदाहरणका लागि मैले मेन्ग्रोब जङ्गलको विश्व-नक्सा पहिलोचोटि बनाएर प्रकाशित गरेको छु । यो जङ्गल विश्वका करीब ११८ देशहरूमा फैलिएको छ । ती अधिकांश देशहरूमा म पुगेको छु ।

मेरो यात्राको खर्च शुरुमा संयुक्त राष्ट्र सङ्घ र पछि नासालगायत अमेरिकी सरकारका विभिन्न मन्त्रालयहरूले बेहोरेका थिए ।

तपाईंले पुस्तकको समर्पणमा लेख्नुभएको छ, ‘थाइल्याण्ड, क्यानाडा र अमेरिका बस्दा नेपाली समुदायबीच ‘आमा’ भनेर चिनिने सरल, निर्दोष र मृदुभाषी मेरा आमा स्वर्गीय रूपा गिरीमा’ । आफ्नी आमाले कसरी सम्झनु हुन्छ ?

मेरो आमा रूपा गिरी मेरो हिरो हुनुहुन्थ्यो । सधैं हँसिली र सक्रिय, बाह्रखरी नचिनेकी मेरी आमाले घर-परिवारको हेरचाह, साथीभाइ र पाहुनाको सत्कार गर्नमा विद्यावारिधि नै गरेजस्तै लाग्थ्यो । हाम्रो परिवारलाई एकढिक्का बनाएर राख्नेमा उहाँको माया र समर्पणको सबैभन्दा ठूलो भूमिका थियो । उहाँको उपस्थिति हामी सबैका लागि आधार स्तम्भजस्तै थियो । उहाँ बितेपछि मात्रै उहाँको महत्त्व अझ गहिरोसँग महसूस भएको छ । अहिले हरेक दिन उहाँको यादले मन भारी बनाउँछ । उहाँलाई निस्सन्देह धेरै मिस गर्छु । आम मेरो प्रेरणाको स्रोत हुनुहुन्थ्यो, हिजो पनि आज पनि ।

तपाईंले पुस्तकमा आफ्ना कुरामा लेख्नुभएको छ, ‘कतिपय लेखकले एउटा ठाउँ वा एउटा देश घुमेर पुस्तक लेख्छन्’ । यो तपाईंको अन्य नियात्रा लेखकहरूप्रति आरोप हो या गुनासो ?

यो कुनै आरोप वा गुनासो हैन । नित्राया लेखहरूमा अलिकति फरकपन छ भन्न खोजेको मात्र हो । मेरा नियात्राहरू पटक-पटक त्यही स्थानमा गएर लेखिएका हुनले तिनीहरूमा समयको अन्तरले देखिएको परिवर्तनको कुरा आएको छ । पहिले कस्तो थियो र अहिले कस्तो छ भन्ने विषय समेत मैले समेटिएको छु मात्र भन्न खोजेको हुँ । एकपटकको यात्राबाट सम्पूर्णता नआउने कुरै हुँदैन । मैले आफैंले पनि २४ घण्टा बिताएर एउटा अध्याय लेखेको छु यो किताबमा ।

तपाईंका लागि यात्रा के हो ? अनि नियात्रा चाहिं के हो ?

मेरा लागि यात्रा भनेको शाब्दिक अर्थमा एक स्थानबाट अर्को स्थानमा शारीरिक रूपमा गरिएको गमन हो । यो कुनै पनि उद्देश्यका लागि हुन सक्छ । जस्तैः घुमघाम, काम, व्यापार वा व्यक्तिगत कारण । यात्रामा व्यक्ति स्थान परिवर्तन गर्छ, तर यसले अनिवार्य रूपमा अनुभव र भावनालाई लेखेर व्यक्त गर्ने पक्षलाई समेट्दैन । त्यो काम नियात्राले गर्छ । तसर्थ नियात्रा भनेको यात्राका क्रममा देखिएका स्थानहरू, भोगिएका अनुभवहरू र त्यहाँको जनजीवन, संस्कृति, प्रकृति आदि कुराको बारेमा व्यक्त गरिएको लेखन हो ।

संक्षेपमा भन्दा, मेरो विचारमा, यात्रा शारीरिक स्थानान्तरण हो भने नियात्रा त्यस यात्राको साहित्यिक, अनुभवजन्य र भावनात्मक अभिव्यक्ति हो ।

यात्राले मानिसको जीवनमा कस्तो भूमिका खेल्दो रहेछ ? तपाईंको जीवनबाट तपाईंले गरेका यात्राहरू हटाइदिने हो भने के बाँकी रहला ?

यात्राले मानिसको जीवनमा गहिरो र महत्त्वपूर्ण भूमिका खेल्दो रहेछ । यसले मानिसलाई केवल भौगोलिक स्थानमा लाने मात्र होइन, त्यहाँको खानपिन, रहनसहन, मानिसको सोच, दृष्टिकोण र भावनात्मक संसारमा पनि जोड्दो रहेछ । यात्रा गर्दा मानिसको नयाँ संस्कृति, परम्परा र विचारधारासँग साक्षात्कार हुन्छ, जसले गर्दा उसलाई जीवनमा विविधता प्रदान हुन्छ । जिन्दगी अझ रसमय हुन्छ । त्यति मात्र कहाँ हो र ? यात्राले व्यक्तिभित्रका नयाँ आयामहरू उजागर गर्दो रहेछ । थप उर्जाशक्ति प्रदान गर्दो रहेछ । जीवनलाई गहिरोसँग बुझ्न र महसूस गर्न मद्दत गर्दो रहेछ।

यदि मैले आफ्नो जीवनबाट गरेका यात्राहरू हटाइदिने हो भने मेरो जीवनको धेरै हिस्सा खाली र अधूरो जस्तो लाग्थ्यो होला । ती यात्राहरूले मलाई नयाँ दृष्टिकोण, फरक ढङ्गले सोच्ने तरिका र चुनौतीहरू सामना गर्ने हिम्मत दिएका छन् । ती यात्राहरूले मेरो व्यक्तित्वलाई आकार दिएका छन् । यात्राबाट मैले सिकेका पाठहरू, भोगेका अनुभवहरू र समेटेका सम्झनाहरू नहुने हो भने जीवन फिका र सामान्य लाग्थ्यो होला ।

तपाईं शुरुवातबाटै यात्रालाई नियात्राका रूपमा उतार्नु हुन्थ्यो ? कहिलेबाट आफूले गरेका यात्राहरूलाई नियात्राका रूपमा लेख्न थाल्नुभयो ?

शुरुका वर्षहरूमा जागिर र कामलाई प्राथमिकता दिएर त्यसमै केन्द्रित भएँ । पछि पछि फेसबुकमा अलि अलि लेखेर राख्न थालें । विगत ५-७ वर्षदेखि लेखेर फाट्टफुट्ट प्रकाशित गर्न थालें । यो पुस्तकका केही अध्यायहरू नेपाल र अमेरिकाका धेरै पत्रपत्रिकाहरूमा प्रकाशित भइसकेका छन् ।

पुस्तक ‘संसारको सेरोफोरो’को प्रकाशनमा सन्दर्भमा के के कुरा सम्झनु हुन्छ ? कस कसलाई सम्झनु हुन्छ ?

साहित्यपोस्टले प्रकाशन गरेको यो पुस्तकमा मुख्य भूमिका अश्विनी सरले खेल्नुभएको थियो । हामीले कभर पेजलाई धेरै पटक परिवर्तन गर्यौं । म लेखक खुशी नहुन्जेल जतिपल्ट पनि परिमार्जन गरिरहने आश्विनी सरलाई धन्यवाद दिन चाहन्छु। त्यसैगरी अच्युत भाइले पनि किताबको सेटिङ र फर्मेटिङ गर्न निकै मेहनत गर्नुभयो । केही समस्या आउँदा साहित्यपोस्टको अफिस गएर भाइ लक्ष्मीप्रसाद खतिवडा र तुलसी गिरी ‘भावुक”ले सहयोग गर्नु भयो । सबैलाई धन्यवाद दिन चाहन्छु । समग्रमा प्रकाशन एकदम सजिलोसँग छोटो समयमा सकिएकोमा खुशी छु।

अन्त्यमा, तपाईंलाई साझा गर्न मन लागेको तर मैले सोध्नु छुटाएको केही छ ?

म कुनै नाम चलेको साहित्यकार हैन । लेख्नु मेरो रहर हो । जागिरको व्यस्तताको बाबजुद समय निकालेर लेख्न रुचाउँछु । विहान सबेरै उठेर लेख्ने गरेको छु । साधारण बोलीचालीको भाषामा लेख्छु । तपाईंले आमाको बारेमा सोध्नुभयो, आमाबाहेक मेरो दिवंगत हजुरबा प्रताप गिरी मेरो लेखनको प्रेरणाको स्रोत हुनुहुन्छ ।