जयदेव गौतम निडर र हक्की पनि देखिन्छन् । देखेका र आफूले ठानेको कुरामा कुनै आग्रह राख्दैनन् । उनी कोही-कसैसित कुनै प्रकारको मोलाहिजा पनि गर्दैनन् । उनी भन्छन् – समीक्षकले देखेका कुरा लेख्न सक्नु पर्दछ । र त्यही नै उसको धर्म हो ।
0000
एउटा पुस्तक थपिएको छ मेरो पुस्तकको सँगालोमा
धेरै नै सतर्क हुनु परेको छ परिन्छ कि भनी भँगालोमा
नेपाली भाषा साहित्यको उन्नति र प्रगतिको लागि
साहित्यकासमा भर्खरै थपिएको छ किताबको अँगालोमा !!!
साहित्यकार जयदेव गौतमले लेख्नुभएको ‘समीक्षा’संग्रह ‘किताबको अँगालोमा’ अध्ययन पश्चात् केही लेख्ने जमर्को गर्दागर्दै केही दिन र समय त घर्की पो सकेछन् । अमेरिकाली महान् चाड पर्व थ्याङ्क्स गिभिङ, क्रिसमस र नयाँ वर्षका विभिन्न कार्यक्रमहरूले छपक्कै छोपे पछि लेख पढ त केही दिन त ठप्पै पो पर्यो ! अब शुरू गर्दै छु आफ्नो पाठक प्रतिक्रिया ‘किताबको अँगालोमा’ पुस्तकको !
लेखक गौतम पत्रकार र सम्पादक पनि हुन् । उनका प्रकाशित कृतिमा ‘लक्ष्मणरेखाका दासहरू’, ‘विश्वकप फुटबल कथा एक गाथा अनेक’ र ‘ती निला आँखा’ छन् । उनले सम्पादन गरेका कृतिहरूमा ‘जीवनका आठ दशक’, ‘सम्झनामा ईश्वरा देवी, स्नेहलता – जीवन कथाका पानाहरू’ र ‘छोरीले जन्माएका आमाहरू’ हुन् ।
‘किताबको अँगालोमा’ – बयालिस पुस्तकको समीक्षा संग्रहित छन् । सुन्दर स्वदेश पब्लिकेशनद्वारा प्रकाशित यस पुस्तक जम्मा दुई सय चौहत्तर पृष्ठ रहेको छ । लेखक तथा समालोचक प्रमोद प्रधानको सटिक र स्पष्टता झल्कने भूमिका समावेश भएको यस पुस्तकमा जयदेव गौतमको एउटा सुन्दर र पढ्नै पर्ने लेखकीय रहेको छ । उनको यस लेखकीयमा लेखक हुनको लागि आवश्यक विभिन्न सहयोगी बुँदाहरू अध्ययन गर्न पाइन्छ । लेखनको लागि ‘मुड’ आउनुपर्छ भन्नेहरूको लागि उनको सटिक जवाफ छ ‘निरन्तर साधना नै सबभन्दा ठूलो मुड’ हो ।

किताबको अँगालोमा
यो संग्रह ‘समीक्षा’संग्रह भएको कारणले पाठक प्रतिक्रिया, समीक्षा, आलोचना र समालोचना बारे केही प्रष्ट हुन आवश्यक छ । त्यसैले त्यस बारेमा केही साधारण कुरा बुझ्न आवश्यक हुनेछ ।
पाठकीय प्रतिक्रिया – भन्नाले सो पुस्तक माथि पाठकलाई लागेको साधारण क्रिया हो । साधारण रूपमा भन्दा सरसरी पाठकलाई के कस्तो अनुभूति भो । त्यसको साधारण प्रतिक्रिया नै पाठक प्रतिक्रिया हो ।
आलोचना – कुनै पनि कृतिको गुण र दोषको आधारमा गरिएको विवेचना । प्रष्ट, स्पष्ट र भएका विभिन्न गल्ती कमजोरीलाई औंल्याउने काम गर्नु ।
समालोचना – समालोचना भनेको समीक्षा र पाठक प्रतिक्रिया जस्तै कदापि होइन ! कुनै पनि कृतिको समालोचना गर्नको लागि समालोचनात्मक सैद्धान्तिक ज्ञान हुनु आवश्यक ठानिन्छ । त्यस माथि पनि समकालीन साहित्यका विभिन्न वाद, शैली अनि विचारधाराको ज्ञान हुनु आवश्यक ठहरिन्छ ।
समीक्षा – पुस्तकलाई अध्ययन गरेर त्यस बारेमा अलिक गहिराइमा गरिएको विश्लेषण नै समीक्षा हो । पुस्तकमा प्रयुक्त भएको भाषा, शैली, भाव अनि साहित्यिक इतिहासका बारेमा जानकारीको ज्ञान हुनु अलिक अनिवार्य जस्तै मानिन्छ कुनै पुस्तकको समीक्षा गर्नको लागि ।
त्यसैले कुनै पनि कृतिको समीक्षा पढेर सो कृतिको बारेमा समालोचनाको आवश्यक सिद्धान्तहरूको विभिन्न बुँदाहरू खोज्नु अनावश्यक मात्र होइन निरर्थक पनि हुन जान्छ !
पाठकलाई समीक्षा अध्ययन गरेर पाठकको चाहना, आवश्यकता र इच्छा अनुसारले कुन पुस्तक पढ्ने या कुन नपढ्ने भन्ने कुरामा तुलनात्मक रूपले निर्णय लिन ठूलो सहयोग दिन सक्दछ ! वास्तवमा उपभोक्तालाई विज्ञापनले आफ्नो आवश्यकताको सामान खरिद गर्न सहयोग गरे जस्तै पुस्तकको पाठकलाई समीक्षाले गर्ने गर्दछ ।
समीक्षा पढ्नुका धेरै फाइदा मध्ये केही निम्नानुसार छन् । ती हुन् – पुस्तक आफ्नो चाहना अनुसारको छ छैन थाहा हुन्छ । पुस्तकको बारेमा आफूलाई ज्ञान हुन्छ । पुस्तक समीक्षाले आफ्नो चाहना अनुसार पुस्तकको चयन गर्नमा सहयोग पुर्याउँदछ !
पुस्तक प्रकाशन पछि सम्पूर्ण लेखकलाई आफ्नो पुस्तकको समीक्षा होस्, समालोचना होस् अनि पुरस्कृत होस् भन्ने कामना हुनु कुनै नौलो कुरा हुँदै होइन । तर प्रायोजित रूपमा पुस्तकको प्रशंसा र पुरस्कृत गर्नु एउटा अपराध नै हो । तर निष्पक्षताका साथ र रचनात्मक सुझाव सहितको समीक्षाले लेखकलाई हतोत्साहित बनाउनुको सट्टा लेखकका आगामी सिर्जनात्मक रचनाहरूको लागि वैचारिक वा सकारात्मक हौसला प्राप्त हुन् सक्छ !
जयदेव गौतमले ‘किताबको अँगालोमा’ पुस्तकमा आफ्नो अध्ययनशीलता र पठनप्रियता भएको पाठकको रूपमा प्रमाणित गरेका छन् । त्यसैले उनको पुस्तकको समीक्षामा निष्पक्षता, निडरता र स्पष्टता प्रष्ट रूपमा झल्किन्छ । उनी निडर र हक्की पनि देखिन्छन् । देखेका र आफूले ठानेको कुरामा कुनै आग्रह राख्दैनन् । उनी कोही-कसैसित कुनै प्रकारको मोलाहिजा पनि गर्दैनन् । उनी भन्छन् – समीक्षकले देखेका कुरा लेख्न सक्नु पर्दछ । र त्यही नै उसको धर्म हो । त्यसैले उनका समीक्षामा इमानदारिता प्रष्ट रूपमा झल्कन्छ ।
उक्त संग्रहको समीक्षामा लेखकले केही पुस्तकलाई पढ्नै पर्ने, केहीको प्रशंसा गरिएको, केहीको सुझाव र केही पुस्तकमाथि खर्रो समीक्षा गरेको पाइन्छ ।
उनले पढ्नै पर्ने पुस्तकमा राखेका छन् – भारतीय उपन्यासकार भगवती चरण वर्माको ‘चित्र लेखा (उपन्यास), शरद शर्माको ‘कम्प’(उपन्यास), राधा पौडेलको ‘खलंगामा हमला’ (संस्मरण), भारती गौतमको ‘बिगत र बादुली’ (संस्मरण), र बुद्धि सागरको ‘एक्लो’ (उपन्यास) राखेका छन् । त्यसरी नै महाकवि लक्ष्मी प्रसाद देवकोटाको ‘लक्ष्मी निबन्धसंग्रह’ लाई नेपाली साहित्यको कोसेढुंगा र युगान्तकारी पुस्तक भनेर भनेका छन् । डा. नवराज केसी लिखित गैरआख्यान पुस्तक कर्णालीको कथाव्यथा समेटिएको ‘शून्यको मूल्य’लाई उनले धेरै प्रशंसा गरेका छन् ।
‘भावलिपि’ पत्र साहित्य – भावेस भुमरी र प्रणिता चाम्लिंगको यस पत्र साहित्यको समीक्षामा लेखकले पत्र साहित्यको इतिहास मात्र समेटेका छैनन् विश्वको इतिहासमा पत्र साहित्यको बारेमा संक्षेपमा पाठकलाई जानकारी दिन सक्षम भएका पनि छन् ।
गौतमले केही पुस्तकमाथि सल्लाह, सुझाव र खर्रो टिप्पणी पनि गरेका छन् । ती केहीलाई यस छोटो लेखमा समावेश गरेको छु ।
ठाकुर प्रसाद बरालको ‘अहल्या’ उपन्यालाई ‘औपन्यासिकताको अभाव’ भनेर भनेका छन् भने शंकर प्रसाद गैरे लिखित ‘कृष्ण’ उपन्यासमा ‘भाषिक आभा भए पनि सपाट वर्णन भनेर भनेका छन् । निलम कार्की ‘निहारिका’ लिखित ‘योगमाया’ उपन्यास’मा लेखकले ‘विरोधीहरूलाई समेट्न नसकेको’ गुनासो राखेका छन् । त्यसरी नै निलम कार्कीकै अर्को उपन्यास ‘द्रौपदी अवशेष’ माथि खर्रो टिप्पणी गर्दै लेखेका छन्– ‘उपन्यासमा आदर्शवाद, सिद्धान्तवाद र कुनै आग्रह वा पूर्वाग्रह विहीन एकदम सपाट सन्देशविहीन भनेर भनेका छन् ।
डा. हरिराज भट्टराईको ‘यांगशिला’ नेपाल तिब्बत चीन सम्बन्धमा केन्द्रित उपन्यास ‘यांगशिला’मा ऐतिहासिक तथ्य कम, अत्यन्त कठिन शब्दहरूको भरमार प्रयोग र उपन्यासको शीर्षक माथि नै प्रश्न उठाएका छन् । बुद्धि सागरको ‘एक्लो’ उपन्यास माथि खर्रो आलोचना गर्दै लेखेका छन् ‘यो कुनै गम्भीर खालको नभएको र पुनः पढ्नलाई पनि कुनै आकर्षित नगर्ने उपन्यास’ भनेर लेखेका छन् ।
गोबिन्द गिरी प्रेरणा लिखित उपन्यास ‘लिभिङ टुगेदर’ बारे उनी लेख्छन् – यो उपन्यास सुरा सुन्दरी र सेक्सको त्रिवेणीमा मात्र केन्द्रित भएको, विषयवस्तुको उठानप्रति त्यति गम्भीर नदेखिएको भनेर टिप्पणी गरेका छन् । अझ उनले अगाडि बढेर लेखेका छन् ‘यस्तो उपन्यासले लेखकको स्तर खस्काउने काम मात्र गर्दछ’ ।
दुर्गा घिमिरेको ‘उनको सम्नाना’ (संस्मरण) लाई उनले त्यति प्रभाव पूर्ण हुन नसकेको भनेर भनेका छन् । भारती गौतमको ‘बिगत र बाडूली’ पुस्तकको भूमिका लेखिका लिला लुइँटेल माथि नै प्रश्न उठाएका छन् । उनी लेख्छन्, ‘कुनै लेखकको संस्मरण ग्रन्थमा यस किसिमको भूमिका लेख्न आवश्यक र उचित हुन सक्छ र ? किनभने यो त केवल भूमिका लेखकको एकोहोरो कुण्ठा र वमन मात्र पो भयो । र मलाई लाग्छ लुइँटेलको यो आक्रोशपूर्ण भूमिकासित लेखक भारती गौतमको कुनै लेनदेन नै छैन ।’
त्यसरी नै मेरो (बसन्त श्रेष्ठ) संस्मरण ग्रन्थ ‘अँगालो भरिको अनुभूति’ माथि टिप्पणी गर्दै यसलाई ‘संस्मरण’ कृति भन्नुभन्दा ‘आत्मकथा’ भन्नु उपयुक्त हुने सल्लाह दिएका छन् । अशोकनाथ तिवारीको ‘मैले नचिनेको म’ पुस्तकमा अध्यात्म चिन्तन पाइने भए पनि धेरै औपदेशिक भएको भनेका छन् ।
श्री ओम श्रेष्ठको ‘एक्लो परिचय’ निबन्ध कृतिलाई उनले हतारमा लेखिएको तर फुर्सदमा माझ्ने र तारुण्य प्रदान गर्ने कार्य नभए जस्ता देखिन्छ भनेर टिप्पणी गरेका छन् । अझ उनी थप्छन् – ‘रोदन’ जस्ता पाका र अनुभवी रचनाकारबाट निबन्धका पाठकले अलि गहकिलो सिर्जनाको अपेक्षा राखेका हुन्छन् । अझ यस पुस्तकको भूमिका लेखक डा. लक्ष्मणप्रसाद गौतम बारेमा लेख्छन् – त्यो भूमिका होइन र आमुख पनि होइन । विशुद्ध विश्वविद्यालीय ‘जार्गन’ले भरिभराउ गौतमको लेखोट पढ्दा नितान्त झर्को लाग्छ । बुझ्न कठिन पर्छ – यति सरल निबन्धसंग्रहको शुरूवातमा नै नौ पृष्ठ लामो क्लिष्टताको यत्रो पोको किन झुन्ड्याइएको होला ?
यस पुस्तकमा समावेश भएका दुई आत्मकथा कृतिमा – मिना आचार्य लिखित ‘स्वतन्त्रता र समानताको निरन्तर यात्रा’लाई विषय र लेखनको दृष्टिले गहन भए तापनि साहित्यिक प्रान्जलता नभएको भनेर भनेका छन् । त्यस्तै शान्ता मानवी लिखित ‘पर्दा भित्रको कथा’लाई आत्मकथा भनिए पनि विभिन्न पत्रपत्रिकामा प्रकाशित फुटकर लेखहरूको संग्रह मात्र हो भनेका छन् ।
यात्रा निबन्धको सम्बन्धमा कृष्ण बजगाईंको ‘युङ्ग्फ़्राउ’लाई इतिहास थोरै मात्र कोट्याउने र छोटो समयभित्र धेरै लेख्न सक्ने हतारको लेखक भनेर भनेका छन् । प्रतीक ढकालको ‘त्यो उज्यालो कर्णाली’ लाई अन्य कतिपय सन्दर्भ सामग्री पनि भएको कारणले यो यात्रामा मात्र सीमित नरहेको लेख भनेर भनेका छन् ।
बबिता बस्नेतको ‘समय सांक्षी’मा कतिपय ठाउँमा उल्लेख गरिएका कतिपय गलत अंग्रेजी उच्चारण गरिएको उल्लेख गरेका छन् भने पुस्तकमा ‘पंक्तिकार’ नलेखी लेखक वा ‘म’ भनी लेखिनु पर्थ्यो भनी सल्लाह पनि दिएका छन् । भीष्म उप्रेतीको ‘एकपटक टोकियो’मा पाठकले यात्राको मिठास र रोमाञ्चकता प्राप्त गर्न सक्दैनन् । किनकि यो यात्रानिबन्ध भन्दा पनि पेन ईन्टर नेशनल कांग्रेसको संस्मरण ज्यादा भएको उल्लेख गरेका छन् ।
उज्ज्वल प्रसाईंको ‘एक बागी:खगेन्द्र संग्रौलाको साधना र संघर्ष’ मा पुस्तकको शीर्षकमा भएको ‘बागी’ शब्द प्रति नै जय जीले असहमति जनाउनु भएको छ । पुस्तकमा अमेरिकी मेरी देश चेन सँगको उल्लेखमा प्रमाणिकताको आधार खोज्दै खर्रो टिप्पणी समेत गरेका छन् । शैलजा श्रेष्ठद्वारा लिखित ‘तम्घासका हाम्रा अजा अजि’ पुस्तकको लेखन शैलीले गर्दा कुनै घोष्ट राईटिङले लेखेको शंका गरेका छन् ।
गोविन्द गिरी प्रेरणाको ‘सुश्री पारिजात – जीवनीकथा’ पुस्तकको बारेमा जयजी लेख्छन् – “किताबको पहिलो पृष्ठ फर्काउने बित्तिकै आँखा पर्छन् पहिलो शीर्षकमा ‘पारिजातको जीवनीकथा’ । पहिलो गाँसमा नै ढुंगा लाग्छ । उनको भाषिक असावधानी देखेर । जीवनी कथा हुँदैन या त जीवनी हुन्छ होइन भने जीवनकथा हुन्छ ।“ उनी यसरी प्रश्न उठाउँछन्– “साहित्य लेखेर अनि पढेर साढे चार दशक बिताइसकेका वरिष्ठ लेखकको जीवनी सम्बन्धी ज्ञानको यो दायरा विस्मित तुल्याउने किसिमको भएन र ?” र थप्छन्, “तर मैले यस विषयमा लेखक प्रेरणासँग प्रश्न गर्दा उनको उत्तर थियो ‘सो पुस्तकको शीर्षक सो पुस्तकको प्रकाशन संस्थाले नै राखेका हुन् भनेर जवाफ दिएका थिए ।“
अन्तमा समीक्षक जयदेव गौतम सूक्ष्म दृष्टिचेत राख्न सक्ने र आलोचनात्मक विश्लेषण गर्न सक्ने एक प्रखर लेखक हुन् भन्दा फरक नपर्ला । उनले कृतिका समीक्षामा कुनै मोलाहिजा र आग्रह सुन्दैन र राख्दैनन् पनि ।
उनले देखेको कुरा लेख्न सक्ने तागत राख्दछन् । कृतिमा भएका देखेका कुराहरू सफा ऐना झैं देखाइदिने खर्रो टिप्पणी गर्न सक्ने लेखकको रूपमा उनलाई सबैले चिन्दछन् भन्ने मेरो ठम्याइ हो ।
उनी कमी कमजोरी देखाइदिन्छन् । भाषा व्याकरण सच्याइदिन्छन् । गल्ती कमजोरी देखाएर लेखकलाई सही बाटो देखाउन पछि पर्दैनन् । एउटा लेखेकलाई सही बाटोमा अग्रसर हिँडाउन यो भन्दा सही कदम के हुन सक्छ र ? यसले लेखकलाई आफ्नो लेखनमा अझ माझिन र सच्याउन एक अपूर्व मौका मिलन सक्दछ ।
‘किताबको अँगालोमा’ पुस्तकबाट अत्यन्त जानकारीमूलक, उपयोगी र धेरै ज्ञान प्राप्त गर्न सकिन्छ । यो एउटा पुस्तकभित्र नै बयालिस पुस्तकको सार संक्षेपमा प्राप्त गर्न सकिन्छ । यो चानचुने कुरा हुँदै होइन । तसर्थ यो पुस्तक पठनीय त छँदै छ संग्रहनीय पनि भएको ब्यहोरा सबैमा जानकारी पनि दिन चाहन्छु ।
यी नै कारणले गर्दा साहित्यकार जयदेव गौतम एक अब्बल दर्जाका पुस्तक समीक्षक हुन् भन्दा फरक पर्दैन । यसको लागि लेखकलाई बधाई तथा शुभकामना पनि दिन चाहन्छु ।
भर्जिनिया, अमेरिका



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
४ माघ २०८२, आईतवार 










