नेपाली साहित्यको क्षेत्रमा कवि, निबन्धकार, कथाकार आदिका रूपमा मात्र नभई सूर्यप्रसाद लाकोजू सम्पादकको रूपमा समेत चिर-परिचित छन् । लेखक कहाँ जन्म्यो ? उसको जन्मस्थान र परिचयले भन्दा पनि उसले गरेका कामले बढी महत्त्व राख्दछ । भलै ऊ जन्मे, हुर्के, बढे, पढेको र बसोबास गरेको स्थानले पनि केही प्रभाव त अवश्य पार्ला ।

यद्यपि साहित्य सिर्जन गर्नु ठुलो कुरा होइन, त्यसलाई निरन्तरता दिनु र आफ्नोपनलाई जोगाइ राख्नु ठुलो कुरा हो । भौगोलिक, पारिवारिक, आर्थिक आदि जस्ता विविध बाधा, व्यवधानका बाबजुद पनि नेपाली साहित्यलाई यतिका लामो समयसम्म आफ्नो जीवनको अमूल्य समय समर्पित गरिरहनु निश्चय पनि चानचुने कुरा होइन । अक्षरको खेती गर्ने मान्छेले आफ्नो गाँस काट्नै पर्छ र काटिरहेकै हुन्छ ।

भनिन्छ अक्षरको खेती गर्ने मान्छेको आयु अलि बढी नै लामो हुन्छ । यसलाई कतिसम्म लम्ब्याउन सकिन्छ भन्ने कुरा चाहिँ लेखक स्वयम्मा भर पर्ने कुरा हो । जेहोस् यतिका विधि कृतिको सिर्जना गर्नु सितिमिति कुरा होइन । तीन दर्जनभन्दा बढी कृतिका सर्जक लाकोजूको सत्याग्रह पहिलो कथा सङ्ग्रह हो ।

नेपाली साहित्यमा सूर्यप्रसाद लाकोजू मूलतः कविको रूपमा परिचित छन् । यसका बाबजुद पनि यात्रा संस्मरण, निबन्ध, गीत, हाइकु र बाल साहित्यमा पनि उत्तिकै दखल राख्छन् । जीवन र जगतका विविध आरोह, अवरोह अनि राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक, सामाजिक आदिका क्षेत्रमा देखा परेका विभिन्न खाले विकृति, विसङ्गति र विद्रुपात्मकताको उजागर गर्दै मार्ग निर्देश गर्नु उनको कृतिगत विशेषता रहेको पाइन्छ । कुनै एउटा घटनालाई गहिरिएर हेर्नु त्यसबाट समाजमा पर्न जाने नकारात्मक असरप्रति इङ्गित गर्दै त्यसको दीर्घकालीन समाधान खोज्न गहिरो चिन्तन मनन गर्न र विषयवस्तुको उठान, विस्तार र समापन गर्न लाकोजूले आफ्नो छुट्टै कलात्मक पहिचान बनाएका छन् । मानवीय जीवन र जगतलाई बुझिसकेका लाकोजू पात्रका माध्यमबाट आफैँ भित्रको जीवनका पाटाहरू समेत खोतल्छन् ।

मानिस आफैँमा सामाजिक प्राणी हो । लेखक स्वयम् पनि त्यो भन्दा पर रहन सक्दैनन् । लेखकले उठाएको प्रश्न जो कोहीको मात्र नभएर लेखक आफू स्वयमकाे समेत हुन सक्दछ । यसलाई कलात्मक ढङ्गले प्रस्तुत गर्नु लेखकको निपुणता हो । त्यो लाकोजूमा पनि पाइन्छ । हरेक लेखक आफ्नो सिर्जना लिएर अगाडि आइसकेपछि उसले साथमा आफ्नो पन र पहिचान पनि लिएर आएको हुन्छ ।

नेपाली साहित्यको क्षेत्रमा लाकोजूले त्यो आफ्नो छुट्टै पन र पहिचान स्थापित गराइसकेका छन् । आफ्नो छुट्टै पन र पहिचान लिएर आएका कथाकार लाकोजू एक पछि अर्को कृति प्रकाशन गर्दै निरन्तर नेपाली साहित्यलाई अगाडि बढाउन आफ्नो ठाउँबाट प्रयासरत छन् । साधना पनि सोचेजस्तो त्यति सजिलो छैन । कुनै पनि काम एक पटकलाई जति गाह्रो भए पनि गर्दै भन्दै जाँदा त्यो सजिलै हुन्छ । त्यसलाई निरन्तरता दिन भने कठिन हुन्छ । लाकोजू त्यो निरन्तरता दिन सक्ने खुबी र त्याग भएका लेखक हुन् । यो पनि सोचेजस्तो सजिलो पटक्कै छैन । त्यो उनले गरेका विभिन्न पत्र-पत्रिकाहरूको सम्पादनबाट पनि थाहा हुन्छ ।

प्रस्तुत ‘सत्याग्रह’ कथासङ्ग्रहमा कथाकार सूर्यप्रसाद लाकोजूका जम्माजम्मी ११ ओटा कथाहरू सङ्ग्रहित छन् । सत्याग्रह शब्द आफैँमा एउटा शान्तिपूर्ण आन्दोलनलाई बुझाउने राजनीतिक शब्द हो । उक्त कथा सङ्ग्रहको साङ्गोपाङ्गाे अध्ययन र समालोचना त यो सानो लेखमा कति सम्भव होला । यद्यपि संक्षिप्त रूपमा भए पनि यिनको चर्चा-परिचर्चा गर्ने प्रयास गरिएको छ ।

० ० ०

सत्याग्रह सरसरती हेर्दा सत्याग्रह कथा सङ्ग्रहको कथाक्रम/कथा खण्डमा ११ ओटा कथा रहेका छन् ।

पहिलो कथा ‘सत्याग्रह’मा कथाकार सूर्यप्रसाद लाकोजूले एउटी छोरी मान्छेको त्याग र हिम्मतलाई सानदार रूपमा प्रस्तुत गरेका छन् । जसले राजनैतिक परिवर्तनका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्‍यो । जुन कार्यलाई आज जो कसैले पनि कम आँक्न सक्दैन तर त्यस बेलाको पुरुषवादी सोचका कारण त्यो विद्रोहात्मक स्वर निरीह र निराश बन्न पुगेको छ । जुन आज झन् बढी चरितार्थ भएको  छ । एउटी नारी आफ्नो सोच र चेतनामा कतिसम्म अडिग हुन्छन् भन्ने कुरातर्फ इङ्गित गर्दै त्यसकै कारण उनले भोग्नु परेको दुर्दशाको चित्रण गरिएको छ । यो चेतनामूलक कथा मात्र नभएर एउटा सशक्त सन्देशमूलक सामाजिक र राजनीतिक यथार्थवादी कथा पनि हो । आकारका दृष्टिले पनि यो कथा अन्य कथाभन्दा केही लामो पनि रहेको छ । कथा सङ्ग्रहको नामाकरण पनि यही कथाको शीर्षकको आधारमा राखिएको छ ।

यसै गरी दोस्रो कथा ‘कमाल’मा अभाव र दुःखको भुमरीमा रुमलिएको एउटा पारिवारिक गरिबीको चित्रण गरिएको छ । यो एक चरम गरिबीको चित्रण गरिएको कथा हो । यस कथामा अभिभावकत्वलाई सानैमा गुमाउन पुगेका टुहुरा बालबालिकाले जिउनका लागि गरेको सङ्घर्षको कारुणिक चित्र प्रस्तुत गरिएको छ । बाबुआमाले छोडेर गएपछि घरपरिवारको जिम्मा घरको जेठो बाठोको काँधमा आइपर्ने र उसले परिवार धान्नका लागि गरेको सङ्घर्षको नालीबेली उद्धृत गरिएको छ । छेउको सियो पनि कुनै बेला बिचमा पर्न सक्ने कुरालाई दर्साइएको छ । समय सधैँ एकनास हुँदैन । हिजोको गरिब पनि भोलि धनी बन्न सक्छ भन्ने कुरालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।

‘अव्यक्त प्रेम’ कथामा किशोर किशोरीले भोग्ने अनेकानेक यौन मनोविज्ञानको चित्रण गरिएको छ । खासमा उनीहरूले मायामा स्वाभाविक यौन सुलभ जिज्ञासा, बाल्यकालको सम्झना, व्यक्त हुन नसकेको मन भित्रको हुटहुटी प्रस्तुत भएको छ ।

चौथो कथा ‘घडेरी’मा सरकारको बल मिचाइले पेलिएको एउटा परिवारको कारुणिक चित्र प्रस्तुत गरिएको छ । जसको श्रीसम्पत्तिको नाममा एउटा घर उभ्याउने सानो घडेरी मात्र छ । त्यो पनि सरकारको बलमिचाइमा परेर मिचिन्छ काटिन्छ र उसलाई एउटा घर उभ्याउने ठाउँसम्म रहँदैन । सामाजिक थिचोमिचो, अन्याय, अत्याचार र शासकहरूको मनपरि तन्त्रका कारण सर्वसाधारण कसरी अन्याय र अत्याचारमा परिरहेका हुन्छन् भन्ने कुरालाई यस कथामा जग्गाको मुआब्जा नदिएको कुराले प्रस्ट पार्दछ ।

त्यस्तै गरी पाँचौँ कथा ‘लाले’मा रोसी र पुण्यवतीलाई बिम्बात्मक रूपमा प्रस्तुत गर्दै अझै समाजमा रहेको अभाव, गरिबी र सोझोपनको फाइदा उठाउँदै समाजमा रहेका टाठा बाठा भनाउँदाहरूले कसरी श्रम शोषण गर्छन् भन्ने कुरा रामलालबाट लाले भएको पात्रका माध्यमबाट प्रस्ट पारेका छन् ।कथा समाजमा अझै बाँकी रहेको श्रम शोषणको अवशेष पनि हो ।

छैटौँ कथा ‘आमा’मा आजको व्यस्त र उच्च देखावटी जीवन शैलीका कारण आफूलाई जन्म दिने बाआमालाई बुढेसकाल भएपछि खान लाउन र स्वास्थ्य उपचार गर्नका गाह्रोले बाउआमा प्रतिको आफ्नो कर्तव्य पूरा नगरी तिनलाई लत्त्याएर हिँड्ने गरेका निर्दयी सन्तानको यथार्थ चित्रण गरिएको छ । हातपाउ चल्न छोडेपछि सन्तानले हेर्छन् भन्ने बुढाबुढी भएका बाआमाको जुन चाहना हुन्छ त्यसलाई कुल्चेर कतिपयका छोराछोरीले आफ्ना बाआमाको स्याहारसुसार गर्नुको सट्टा वृद्धाश्रममा लगेर छोड्दिने गरेको कारुणिक कथा व्यथा प्रस्तुत गरिएको छ । यसमा पारिवारिक यथार्थ प्रकट भएको छ । भनिन्छ बाउआमाको मन छोराछोरी माथि छोराछोरीको मन ढुङ्गा मुढामाथि । यही भनाइ यस कथामा चरितार्थ भएको छ ।

यस्तै गरी सातौँ कथा ‘स्मृतिका’मा किशोर अवस्थाका केटाकेटी एक अर्काप्रतिको आकर्षण । एकतर्फी माया प्रेम । विविध खाले सामाजिक उल्झनका कारण प्रेममा सफल हुन नसकेको कुरा प्रस्तुत गरिएको छ । सुरुमा एकाकर्षणबाट दुवै आकर्षण भए पनि विभिन्न खाले सामाजिक र पारिवारिक वाधा, व्यवधानका बाबजुद दुई मुटु एक हुन नसकेको यथार्थता प्रकट भएको छ ।

आठौँ कथा ‘उद्धार’मा बाध्यता र विवशताले रुमलिएर विदेश गएका थुप्रै नेपाली युवा,युवतीहरूको कथा व्यथा प्रस्तुत भएको छ । यो तिनको प्रतिनिधि कथा पनि हो । यसरी विदेश गएका कतिपय युवाहरूले त्यहाँका विविध खाले समस्याका कारण आफ्नो जीवन लीला उतै समाप्त गरेको कारुणिक कथा व्यक्त भएको छ । आफ्नो हैसियतभन्दा मोटो रकम खर्च गरेर गएका ती युवाहरूले भनेजस्तो तलब र सोचेजस्तो काम नपाएका कारण ठुलो मानसिक तनाव झेल्नु परेको जसको फलस्वरूप आत्महत्या गर्न समेत बाध्य हुने गरेको कारुणिक यथार्थको चित्रण गरिएको छ ।

त्यस्तै नवौँ कथा ‘उपहार’मा बाल मनोविज्ञानको आधारमा बाआमा बिनाको संसार तत्कालको परिस्थितिमा नर्क र बाआमा सहितको संसारलाई स्वर्गको रूपमा चित्रण गरिएको छ । यस कथामा मूलतः बालमनोविज्ञान नै प्रगाढ रूपमा प्रस्तुत भएको छ । छोराछोरीलाई आफ्ना बाआमा बिनाको घर घरजस्तो नहुने कुरा प्रकट भएको छ । बाआमा बिनाको पैसा के पैसा । छोरोले बालाई अब उप्रान्त विदेश नजानु है भनेर गरेको आग्रहबाट पनि यही कुरा प्रस्ट हुन्छ ।

यसपछिको ‘बुनू’ कथामा आजको प्रविधिले ल्याएको विकृतिको चित्रण प्रस्तुत गरिएको छ । खासमा मोबाइलमा फेसबुकले ल्याएको विकृतिको चित्रण छ । यसमा प्रविधि प्रयोगकर्ताको एक अर्काबिच फेसबुकमै सम्पर्क हुने फेसबुकमै चिनजान हुने र यसकै माध्यमबाट एक अर्कामा मायामोह हुँदै जाने अनि आलोकाँचो उमेरमै एक अर्काले एक अर्कालाई नबुझीकन दाम्पत्यजस्तो जीवनको एउटा महत्त्वपूर्ण पक्षलाई अवलम्बन गर्ने गरेको र त्यसको दुष्परिणामको चित्रण गरिएको छ । यो आजको प्रविधिको सही उपयोग गर्न नसक्दाको दुष्परिणाम पनि हो ।

त्यसै गरी यस कथा सङ्ग्रहको अन्तिम कथा ‘छविलाल काका’मा पञ्चायत कालमा भए गरेका अन्याय,अत्याचार र थिचोमिचो अनि त्यस व्यवस्थाको विरोधीप्रति गरिने अमानवीय र असामान्य व्यवहार उल्लेख छ । व्यवस्थाको विरोधमा लागेकै कारण छविलाल काकाको विवाह रोकिएको कुराले पनि यही कुरा प्रस्ट पार्दछ । जो प्रजातन्त्रका खातिर दुई दुई पटक लड्यो । प्रजातन्त्र ल्याउनकै लागि आफ्नो जीवन समर्पण गर्‍यो । त्यस्तै व्यक्ति र तिनका परिवारले भोग्नुपरेका तात्कालिक वाधा, व्यवधान, जालझेल र अनेक तिकडम यस कथा मार्फत प्रस्ट्याइएको छ । प्रजातन्त्रका निम्ति गोली थाप्न समेत पछि नपर्ने त्यस बेलाका थुप्रै योद्धाहरूका छविलाल काका प्रतिनिधि पात्र हुन् । जो जो व्यवस्था परिवर्तनका लागि निस्वार्थ रूपमा लडे ।

० ० ०

यसरी सरसरती रूपमा हेर्दा नेपाली साहित्याकाशमा एक नक्षत्रको रूपमा उदाइसकेका कवि, लेखक, निबन्धकार, संस्मरणकार, गीतकार सम्पादक, कथाकार सूर्यप्रसाद लाकोजू एक सशक्त कथाकार पनि हुन् ।हरेक मानिसले जीवनको हरेक पक्षमा नवीनता खोज्छ । त्यो पक्ष लाकोजूमा पनि छ ।

उनका यस कथा सङ्ग्रहमा सङ्ग्रहित प्रायः जसो सबै कथाहरूमा मानवीय जीवन-जगतका आरोह-अवरोह, विसङ्गति र विकृति नै बढी झल्किएको पाइन्छ । मानिस जन्मेपछि जीवन-जगतबाहिर रहन नसक्ने भएकै कारण उसले समाजमा देखे,भोगेका तिनै विविध पक्षको चित्र आफ्ना लेख रचना वा कृतिमा आउनु अस्वाभाविक पनि होइन । दुःख र सुख त जीवनका पाटा नै हुन् । यिनलाई यथार्थ रूपमा जस्ताको तस्तै प्रस्तुत गर्न सक्ने राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक ज्ञान भएका जीवनलाई शून्यवादी दृष्टिकोणको नजिकबाट हेर्ने यथार्थवादी कथाकार हुन् ।

उनको उक्त सत्याग्रह कथा सङ्ग्रहले नेपाली साहित्यको पछिल्लो कथा लेखन यात्रामा एउटा इँटा थप्ने काम गरेको छ । विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित फुटकर कथाहरूको सङ्ग्रह भए पनि नेपाली कथा लेखनको इतिहासमा उक्त सत्याग्रह कथासङ्ग्रह सङ्ग्रहनीय र पठनीय पनि छ ।

इटहरि