अगम सिंह गिरीको जन्म दार्जीलिङको मेडन भन्ने ठाउँमा सन् १९२७ को दिसम्वर २७ मा भएको थियो । केवल ४४ वर्षको अल्पायु लिएर आएका गिरीले अत्यन्तै संघर्षपूर्ण समयमा आफ्नो आयु भोग गरी जनवरी १९७१ मा दिवंगत भए । गिरी मूलत कवि, गीतकार र संवेदनशील चिन्तक हुन् । दार्जेलिङ परिवेशबाट भारतीय नेपालीको राष्ट्रिय जीवन र आस्तित्विक अडानको चिन्तन गर्दागर्दै जनमानसले कदापि नबिर्सने मर्मग्राही गीत रचे । अम्बर गुरुङले गाएको नौ लाख तारा उदाए— एक युगान्तकारी माष्टरपीस हो । यस्ता रचना गीत र कविता धेरै छन् । गिरीको मूलभूमि हो— जातीय अस्तित्वको गायन अनि आत्मपीडा, जलन, अतीत प्रेम आदि । उनका तिमी नचिनिने भएछौ, माटोको माया जस्ता कविता बारम्बार उद्घृत छन् ।
गिरी आफ्ना कवितासंग्रहभित्र छन् । ती हुन्— ‘आत्मव्यथा’, ‘आँसु’, ‘युद्ध र योद्धा’, ‘याद’ जस्ता खण्डकाव्य अनि ‘जलेको प्रतिबिम्ब रोएको प्रतिध्वनि’ कवितासंग्रह । अघि बी.ए. पढ्दा उनको युद्ध र योद्धा हाम्रो पाठ्यक्रममा थियो, पढियो । पछि गिरीबारे मोहन ठकुरीकृत ‘अगमसिंह गिरी: रचना संचयन’ संग्रह पढ्न पाइयो । हालै मात्र श्री मुक्तिप्रसाद उपाध्यायको ‘जातीय कवि अगमसिंह गिरी (२०२५)’ शीर्षक कृति प्रकाशनमा आएको छ । अगमसिंह गिरीको ९८ औं जन्म जयन्तीको पालना गर्न आयोजित आजको भव्य समारोहमा सो कृति लोकार्पित हुनु र कृति लेखक श्री मुक्ति उपाध्याय पनि सम्मानित हुनु सानो संयोग थिएन । स्रष्टाको अति प्रशंसनीय मूल्याङ्कन थिए यी कर्महरू ।
मलाई यस समारोहमा सहभागिताको निम्ति निकै अघि यस प्रकारको निमन्त्रणा प्राप्त भएको थियो— कवि अगमसिंह गिरीको ९८ औं जन्म जयन्ती एवम् देवकोटा साहित्य सेवा पुरस्कार २०२५ अनि गिरी साहित्य सेवा पुरस्कार २०२५ अलङ्ककरण समारोहमा यहाँका उपस्थितिको लागि ….।
त्यसको लागि म काठमाडौंबाट दमक पुगें । दमकका साहित्यकारले पनि देवकोटा संघको साहित्यिक उत्सवमा भाग लिने इच्छा व्यक्त गर्नुभयो र बीस साहित्यकार अटाउने तीनवटा नेपाल भारत कुद्ने साना गाडी बन्दोबस्त गरेका थियौं । दिसेम्बर २७ को बिहान पाँचमा सबै साहित्यकार दमकको फाल्गुनन्द चोकमा भेलिनुभयो । दश हात वरिपरि पनि नदेखिने हुस्सु ओढेर प्रभातकाल ब्यूँझन धेरै बाँकी थियो तर पनि गाडी चढेर उड्यौँ ।
सिलगढीको प्रधाननगरस्थित देवकोटा संघ भवन पुग्दा साढे नौ भएको थियो । संघका अध्यक्ष श्री मिलन रुचाल एवम् अन्य सज्जनले स्वागत गरी हामीलाई नजिकको ‘झोल भात’ भन्ने पाकशाला लानुभयो । त्यहीँ विहानको चिया नास्ता सकेर देवकोटा भवनतिर फर्कियौँ । योजनानुसार प्रवेशद्वारमा उभिएका ताम्रवर्णी महाकविको पूर्णकदलाई प्रमुख अतिथि बनेर मैले माल्यार्पण गरेँ, प्रवेशद्वारमा कन्याहरूले सबैलाई साना सिन्काई पवित्र टीका लगाइदिए र भित्र प्रवेश गराएपछि अग्लो बष्टमाथि बसेका बुद्ध भगवानको मूर्तिमा माल्यार्पण गर्ने पालो हाम्रा टोलिनेता श्री कमलराज भट्टराईको थियो ।
राम्रो प्राङ्गण, भव्य कोठा, स्वागत कक्ष, सफा पुस्तकालय आदिले युक्त भवन माथि चढयौं । बीचको तलामा अतिथिहरू आउन थालेका थिए । प्रत्येक व्यक्तिलाई बस्ने आसन तोकेर उहाँको नाम टाइप गरी त्यहीँ (सीटमै) टाँसिएको देखेर हामी छक्क पर्यौं । दमकमा भेलिएर जाने साहित्यकार सर्वश्री खेमलाल पोख्रेल, कमलराज भट्टराई, विन्दु दाहाल मूकदर्शक, मेघनाथ खनाल ‘बन्धु’, डा. व्यञ्जना शर्मा, खगेन्द्र भट्टराई, पदम ओली, हेम अधिकारी, निर्मला खतिवडा, लक्ष्मण गाम्नागे, प्रा. अञ्जना वस्ती, इन्द्र घिमिरे, रेवति घिमिरे, बैदिक अत्री, नारायण शर्मा फुयाल, चूडामणि पौडेल, हरि गौतम, यज्ञ परिश्रमी, वीरेन्द्र थोक्लिहाङ हुनुहुन्थ्यो ।
कार्यक्रम अति व्यवस्थित थियो । अत्यन्तै शिष्टजनहरू, प्राज्ञ, स्रष्टा, प्राध्यापक, पत्रकार आदिको अपूर्व यस भेलामा दार्जेलिङ, सिक्किम, सिलगढी, डुअर्स र पूर्वी नेपालका स्रष्टाहरूको उपस्थिति थियो ।
छोटाछोटा संभाषण, तिनका बीचमा गीत र नृत्यले कार्यक्रम अति रोचक थियो । समकालीन नेपाली कविताको एक धरोहर श्री मनप्रसाद सुब्बा र बहुमुखी प्रतिभा श्री मुक्ति बरालको अलङ्करण, पश्चात प्रमुख अतिथिको पालो आयो । मैले निम्न प्रकारको एक लिखित सम्बोधन प्रस्तुत गरें—
“छ वर्ष पहिले (सन् २०१९ मा)श्री मुक्ति बरालका चारवटा कृति एकैचोटि लोकार्पणको अवसर पारी म यस ऐतिहासिक स्थलमा प्रथमपटक उपस्थित भएको थिएँ । त्यसयता पनि एक दुई अवसर जुरेका थिए । गत वर्षको अवसर थियो प्रशिद्ध विद्वान प्रा. अभि सुवेदीलाई युगेन्द्र क्षत्रीको नाममा स्थापित सिलगढीकै अनुवाद पुरस्कारले सम्मानित गर्ने दिन ।
यो वर्ष नेपाली भाषा–साहित्य सेवीले हाम्रा पूर्वजहरूलाई स्मरण गर्दै आउनु भएको एक अविष्मरणीय तिथि नेपाली साहित्य सम्मेलन दार्जेलिङले पालना गर्यो। त्यो अवसर गत मई महीनाको २५–२६ तारिकमा परेको थियो । त्यो राजनैतिक–भौगोलिक सीमाले नछुने एक महोत्सव थियो । त्यो थियो बिगतको एक शताब्दीमा नेपाली जातिले कलिलो नेपाली भाषा र साहित्यको प्रचार, सुरक्षा, सम्वर्धन र उत्थानमा के कस्ता कर्म गर्यो र आफ्ना भाषिक अधिकार प्राप्ति खातिर लडिएको युद्धमा दार्जेलिङको नेतृत्व कस्तो थियो भन्ने कुराको सर्वेक्षण । भारतीय नेपाली जन समुदायले आफ्नो माटामा जातीय पहिचानलाई गाढा बनाउन यसलाई सुदृढ गराउन के कस्ता उद्योग इतिहासको कुन अन्धकार युगदेखि आरम्भ गर्नुभयो, तिनको पहिचान गरौं संरक्षण गरौं भन्ने एक जातीय आह्वानको पालना गर्न, त्यस उद्घोषमा सहभागिता जनाउन यता नेपालबाट हामी छ जना त्यहाँ पुगेका थियौं । हामी थियौं— श्री रोचक घिमिरे, डा. तुलसी भट्टराई, गोविन्दराज भट्टराई, शरच्चन्द्र वस्ती, प्रा. कुमार कोइराला र शरद प्रधान ।
सोही अवसरमा सो दुई दिने ऐतिहासिक महोत्सवमा आतिथ्य ग्रहण गर्न अनेक विशिष्ट जनका साथमा यस देवकोटा संघका अध्यक्ष श्री मिलन रुचालज्यू पनि पुग्नु भएको थियो । त्यसबेलादेखिको सम्बन्धले आज यहाँ पुन हाम्रो भेटगरायो । आज म देवकोटा संघप्रति यो निमन्त्रणको निमित्त हार्दिक आभार व्यक्त गर्दछु, अध्यक्षश्री मिलन रुचाल, सचिव श्याम प्रधान एवम् संयोजक बहिनी देविका मगरातीप्रति पनि । देविका बहिनीले मलाई महाकवि देवकोटाबारे बोल्नेमा सरको भाग लगाएका छौं भनी सूचित गर्नुभयो । दिएको समयमा केही संक्षिप्त कुरा राख्न चाहन्छु ।
हामी सम्पूर्ण नेपाली जातिका गौरव महाकवि देवकोटा एवम् जातीय कवि अगमसिंह गिरीको नाममा स्थापित पुरस्कारले वा सम्मानले अलङ्कृत आदरणीय स्रष्टा द्वय (मनप्रसाद सुब्बा तथा मुक्ति बरालज्यू) समक्ष ससम्मान बधाई अर्पण गर्दै आजको सन्दर्भमा केही शब्द प्रस्तुत गर्दछु ।
प्रत्येक स्रष्टाले आफ्ना युगका वा अतीतका स्रष्टा–कलाकारप्रति गहिरो श्रद्धा वा सम्मानको भाव राख्नु र सकेसम्म उहाँहरूका बारेमा सटीक मूल्याङ्कन गरी आउने पुस्ताको लागि पनि केही स्मारक कर्म गरेर छोडनु सबैको प्रथम कर्तव्य रहेछ । आज यहाँ त्यसैको पालना हुँदैछ । यसो नगर्ने हो भने हाम्रो गौरवमय इतिहासका मूल्यवान् क्षणलाई पनि बादलले छोपिदिन्छ । हाम्रा लागि अनेक कष्ट खप्तै मार्ग निर्माण गरिदिने अग्रगामीहरू पनि धूमिल हुँदै शूण्यमा बिलीन हुन सक्छन । हामीले गरेर देखाएका कर्महरूलाई मात्र इतिहासले सुरक्षित गर्दछ ।
आजको कार्यक्रमस्थलसितै जडित भएकाले महाकविको शुभनाम स्वयम् सुवासित छ । त्यसमाथि ४५ वर्ष पहिले नै महाकवि देवकोटाबारेका कृति पुष्प तयार पारौं भनी आह्वान गर्ने अर्का प्रतिभा अगमसिंह त्यस्तै अमर पात्र हुन् । म यी दुवै नामको यशोगानमा एक एक अनुच्छेद बोल्दछु ।
सर्वप्रथम महाकवि देवकोटाको नाम आउँछ । डिल्लीबजारमा देवकोटा सालिकको उद्घाटनमा वीपी कोइरालाले भने— नेपाली भाषा साहित्य, कला र विचार चिन्तनमा पुनर्जागरण (Renaissance) युग ल्याउने प्रथम व्यक्ति महाकवि देवकोटा हुन् (छरिएका सामाग्री) । यस्ता महाकविलाई आफ्नो देशको भौगोलिक सीमा बाहिर पुर्याएर उनी यस्ता विलक्षण प्रतिभा हुन् भनी प्रमाणित गर्ने, उनी अन्तर्राष्ट्रिय उचाइका व्यक्ति हुन् भनी चिनाउने व्यक्ति नै भारतीय विद्वान् महापण्डित राहुल सांकृत्यायन हुन् । उनले भारतवर्षमा महाकविलाई परिचित गराए । हालै काठमाडौंको मञ्जरी पब्लिकेशनद्वारा प्रकाशित ‘पश्चिम किल्ला चम्बा पो !’ शीर्षक (डा. सुमन ढकाल सम्पादित) कृतिले हाम्रा अन्वेषक जनकलाल शर्मा र राहुल सांकृत्यायन बीचका १०५ चिठी प्रकाशनमा ल्यायो । यीमध्ये केही पत्रमा राहुलले महाकविको विलक्षण प्रतिभा र उनको अन्तिम अवस्थाबारे बयान गरेका छन् । पचास वर्ष पहिलेको हिन्दी पत्रिकामा प्रकाशित आलेख प्रमाण प्रस्तुत छन् । यो हामी नेपाल र भारत दुवैतिरका देवकोटा प्रेमीको निम्ति अनमोल उपहार हो । हिन्दी साहित्यका तीन महारथीहरू पन्त, प्रसाद, निराला नेपालका एउटा शक्ति महाकविमा रहेछ भन्ने कुरा उनै महापण्डितले लेखे । त्यसो त महाकविलाई अन्तिम घडीमा भेट्ने, उहाँको स्थितिबारे अंग्रेजीमा लेख लेखेर अन्तर्राष्ट्रिय जगत पुर्याउने भारतीय युवा कवि वेद मेहत्ता र डम मोरे पनि छन् तर राहुलको कर्म अतुलनीय छ । पछि दार्जेलिङ निवासी कमला सांकृत्यायनले पनि त्यसलाई बढाइन् ।
पछि लुदमिला आगानिना र कृष्णप्रकाश श्रेष्ठले रुसीमा देवकोटा चिनाए, डेविड रुविन्ले अमेरिकी साहित्यमा, माइकल हटले बेलायतीमा महाकविलाई चिनाउने प्रयत्न गरे । मेरा गुरु प्रा. इन्द्र विलाश अधिकारीले यहींको नर्थ बंगाल युनिभर्सिटीबाट A Comparative Study of Laxmi Prasad Devkota and the English Romantic Poets of the nineteenth Century शीर्षकमा विद्यावारिधि गर्नुभयो । यो अमूल्य अध्ययन हो । प्रा. पद्य देवकोटाको वौद्धिक विश्वलाई पनि योगदान सानो छैन ।
तर यी आंशिक प्रयत्न भए । नेपाली जनताले आफ्नो तर्फबाट पनि केही समर्पित प्रयास गर्नु आवश्यक छ भन्ने लागेर मैले अनेसास केन्द्रीय समिति समक्ष प्रस्ताव राख्तै आएँ । सन् २०१६ देखि शुरु गरेको प्रस्तावलाई आठ वर्षको निरन्तर प्रयत्नले भर्खरै साकार रूप दिन सकियो । जस अनुसार महाकवि देवकोटाका सर्वाङ्गीण प्रयत्नलाई समेट्ने गरी उहाँका योगदानका विविध क्षेत्रको तय गरी २२ शीर्षक छुट्यायौं अनि बाइसै जना स्रष्टा, अनुसन्धाता, समालोचक, देवकोटाविद्लाई एक एक शीर्षक दिएर लेख्न अनुरोध गर्यौं । एक वर्ष लगाएर लेखाउने, अनुवाद गर्ने सम्पादन गर्ने कार्य सम्पन्न भए र अनेसास अध्यक्ष सर्वज वाग्ले, पूर्व अध्यक्ष गीता खत्री, बोर्ड अफ ट्रष्टी प्रमुख पदमलाल विश्वकर्माको प्रयत्नले हालै अंग्रेजी भाषामा तयार पारिएको ३६५ पृष्ठको कृति प्रकाशनमा आयो जसको शीर्षक छ ‘लक्ष्मीप्रसाद देवकोटाः द जेम अव् नेपाली लिट्रेचर’ । यस कृतिमा समाविष्ट २२ लेखका शीर्षक यस प्रकार छन्ः
(नेपाली साहित्यका रत्न लक्ष्मीप्रसाद देवकोटा)
१) प्रा. अभि सुवेदी— देवकोटाका जीवनीपरक आयामहरू
२) महादेव अवस्थी— नेपाली महाकाव्यका भगीरथ— महाकवि
३) गोकुल सिन्हा— कालीदास एवम् देवकोटा दुई महाकविबीच संवाद
४) चूडामणि बन्धु— लोक शैलीको प्रतीकन : मुनामदन
५) गणेशलाल सुब्बा : महाकवि देवकोटा अमर गीति कविता मुनामदनका गायक
६) ज्ञानू पाण्डे— देवकोटाका निबन्धमा प्रकृति पूजन
७) कोमल प्रसाद फुयाल— देवकोटाका निबन्धमा विश्ववोध
८) कुमारप्रसाद कोइराला— देवकोटाको नाट्यविधान
९) कृष्णहरि बराल— गीतकारको रुपमा देवकोटा
१०) रजनी ढकाल— देवकोटाका आख्यानको मनोविश्लेषणात्मक अध्ययन
११) महेश पौड्याल—स्रष्टा देवकोटाको बाल साहित्य
१२) गोविन्दराज भट्टराई— महाकविका सृष्टिको सारतत्व : मानव स्वतन्त्रता र मर्यादाको खोज
१३) रामजी तिमल्सेना— देवकोटाका कवितामा आधुनिकता
१४) हृषीकेश उपाध्याय— देवकोटाको सिर्जनाका विदेशी साहित्यको सम्बन्ध
१५) कृष्णचन्द्र शर्मा— अनुवाद साहित्यमा महाकविको योगदान
१६) बलराम अधिकारी— महाकविको प्रमिथियस पुनरसिर्जनाका आधार
१७) उषा ठाकुर— देवकोटाका कविताको शैली र सौन्दर्य
१८) साधना पन्त ‘प्रतीक्षा’— देवकोटाका कृतिमा नारी चरित्र
१९) गुणराज नेपाल— महाकविका स्वच्छन्दतावादी काव्यमा पर्यावरणीय अध्ययन
२०) बलबहादुर थापा— देवकोटीय सिर्जनामा जनजातीय समुदाय
२१) श्रीधर गौतम— समालोचकहरूका दृष्टिमा देवकोटा
२२) श्रीजना शर्मा— महाकवि देवकोटामा भारतीय चिन्तन ।
यताको नेपाली साहित्यबाट बाबुलाल प्रधान, प्रा. गोकुल सिन्हा र डा.श्रीजना शर्मा गरी तीनजनाका आलेख परेका छन् । तीमध्ये डा. सृजना शर्माको लेखमा नै यो देवकोटा संघको उल्लेख भएको र यस संघमा महाकविको मूर्ति स्थापित भएको कुरा उल्लेख छ । आज यस कृतिले गर्दा यस संघको सुयश अझ टाढा टाढासम्म पुग्ने कुरा निश्चय छ । यस ऐतिहासिक अवसरमा देवकोटा विषयक यी सूचना र सन्देश प्रवाह गर्न पाउँदा खुशी लागेको छ । लोकार्पणको सुदिन प्रतीक्षारत कृतिकोबारे आज यत्ति नै बोलें ।
सन् २०१५ मा देवकोटा नगर गुवाहाटीका स्रष्टा नवसापकोटाका सत्प्रयासमा डाउनटाउन विश्वविद्यालयमा महाकवि देवकोटा विषयक एक भव्य कार्यक्रम भएको थियो । मलाई त्यसमा महाकवि चिनाउने एक प्रमुख संस्मरण प्रस्तुत गर्ने अवसर मिल्यो । अनुवाद अध्ययनका मेरा विद्यार्थी बलराम अधिकारीलाई पनि प्रस्तुतिका अवसर मिलाएँ । ती अंग्रेजी माध्यमका सम्मेलनले प्रेरित गरेरै आसामका निकै जना स्रष्टा र बौद्धिक बीच महाकवि चिन्ने चिनाउने तृष्णा परिपूर्ति गराउन नव सापकोटाले एउटा अंग्रेजी पुस्तक प्रकाशित गर्नुभयो । जसको नाम छ— लक्ष्मीप्रसाद देवकोटा: द महाकवि ! त्यस प्रयत्नलाई पछ्याएर गर्दै लाँदा दश वर्षपश्चात यो कृति प्रकाशित भयो ।
हामीले विविध भाषिक माध्यमको महत्त्व नपुगेसम्म आफैंलाई चिनाउन नसक्ने रहेछौं । रवीन्द्रनाथ ठाकुर अंग्रेजी माध्यमले नोवल सम्मानित भए; उनका धेरै कृति नेपाली अनुवादमा छन्, गीताञ्जली मात्रै नेपालीमा आठ भर्सनमा छन् (हेर्नू— घनश्याम नेपालको अध्ययन) तर त्यतातिर हाम्रा महाकवि पुर्याउन सकिएको छैन जस्तो लाग्छ । मेची तरेपछि बंगाली, आसामिज, मनिपुरी, बर्मेली आदि साहित्यमा पनि महाकवि पुगून् भन्ने लाग्दोरहेछ । तर हाम्रा क्लासिक कृति कतै पुग्न सकेका छैनन्, अब त्यता नलागिन्जेल हामी मात्र होइन संसारकै नेपाली जाति अपरिचित नै रहनेछौं । देवकोटा शताब्दीको अवसरमा सबैतिर गरी ५० जति विशेषाङ्क प्रकाशित छन्, एक दर्जन विद्यावारिधि पुगे, अझै कति अप्रकाशित रहेका छन् । विश्वले चिन्न बाँकी महाकवि हामी आफैंलाई मात्र फुर्किन पुगेको छ । ठूलठूला स्रष्टाहरू कि अनुवादले विश्वव्यापी बनेका छन कि शक्तिशाली भाषाका परिचयले । हामी छौं एक खोपीमा ।
महाकविका विषयमा यत्तिमै रोकिएर अब अगमसिंह गिरीका सम्बन्धमा केही कुरा प्रस्तुत गर्दछु । उनको युद्ध र योद्धा हाम्रो पालाको पाठ्यक्रममा समावेश थियो । त्यसकारणले मैले पनि उनलाई पढेँ । नेपाली साहित्यमा विशिष्ट स्रष्टाको कोटीमा उनको नाम अनिवार्य थियो र छ पनि । अघि मेरो विद्यावारिधिमा पन्ध्रजना भारतीय नेपाली कविको चयन गर्दा एकजना अगमसिंह गिरी एक परेका थिए । आइबी राई सरले मलाई अगमसिंहकोतिमी त नचिनिने भएछौ शीर्षक कविता चयन गरिदिनुभएको थियो जसको एक अंश यस्तो छ—
नचिनिने भएछौ
तिमी त यहाँ नचिनिने भएछौ
गालाका रगतहरू सुकिसकेछन्
आँखाको ज्योति सब हराइसकेछन्
तिमी ता रुँदारुदै निदाएको बालक जस्तो
कठोर कारागारको यातना भोगी
विरक्त बन्दी जस्तो
गाँस खोसिएको बास
लुटिएको
विह्वल हतभागी जस्तो
कस्तो कस्तो भएछौ
तिमी त यहाँ नचिनिने भएछौ ।
यसको पुस्टीमा र अनेक सन्दर्भमा अगमसिंह अध्ययन गरें । तर हालै प्रकाशित तीनवटा आलेख अत्यन्तै महत्वपूर्ण लागेका छन् । ती हुन्—
१. शरद प्रधानको लेखनेपाली कविताका शिखर पुरुष : अगमसिंह गिरी (साहित्यपोष्ट२०७७ चैत्र ११)।
२. मनप्रसाद सुब्बाको लेख कवि अगमसिंह गिरी : एक पुनर्पठन (अन्नपूर्ण पोष्ट— पुष १०, २०७८) ।
३.श्री राजनारायण प्रधानको आलेखगिरी : वेदनाका कवि (दायित्ववोध ५ फागुन २०८१)।
मनप्रसाद सुब्बाले गिरीलाई पूर्वजन्मभूमिबाट नव बासभूमिमा सर्दा हुने अतीत स्मृतिमा कल्पिने र त्यो क्षतिलाई बोध गर्ने, अभिव्यक्त गर्ने अव्याख्येय दुखका कवि अनि जातीय कवि भनेका छन् । शब्दान्तरमा कवि वीरेन्द्रले पनि त्यस भावका केही कविता रचे । ती दिनको नेपाली जातिको अपरिचित स्थिति, त्यस्तै समाज–राजनैतिक परिवेश सारा असह्य भएरै त्यो लेखे । आज स्थिति भिन्न छ । यसको जगमा उनै गिरी (हरू) छन् ।
आज म एक संयोगको मात्र प्रसङ्ग उठाउँछु— मैले अनुवाद विषयमा विद्यावारिधि आर्जन गर्दा भारतीय नेपाली साहित्यका पन्ध्रजना कविका कविताको पनि चयन गरेको थिएँ । अध्ययन सामाग्री बनाइएका एक स्थापित स्रष्टाको नाममा यो सम्मान प्रापक विद्वानहरूमध्ये एक जना श्री मनप्रसाद सुब्बाको पनि एउटा कविता लिएको थिएँ— उसैबेला तीस वर्षअघि । जसको शीर्षक थियो एक टुक्रा कागजको कथा । त्यसपछि उहाँको अक्षर अर्केष्ट्रा शीर्षक कविताको अध्ययन गरी मेरो उत्तरआधुनिक ऐना(२०६२) संग्रहभित्र एक पाठ बनाएर समावेश गरेको छु । एक स्पष्टवादी, बौद्धिक, चिन्तक, बहुमुखी प्रतिभाका धनीश्री मनप्रसाद सुब्बासित विगतका तीन दशकमा धेरै सहयात्रा गर्ने अवसर प्राप्त गरें । उहाँ नवीन चेतना संवाहक तीक्ष्ण विश्लेषक र सदा किनारा साहित्यको सिद्धान्त प्रवर्तक विद्वानसितको पुनर्मिलनले म आज आह्लादित छु । उहाँको अंग्रेजी लेखन उस्तै शक्तिशाली लाग्छ ।
त्यस्तै अर्का आदरणीय स्रष्टा श्री मुक्ति बराल एक अविश्रान्त साधक अनि बहुमुखी प्रतिभाका धनी हुनुहुन्छ; उहाँसित धेरै पछिदेखि संगत भयो तर त्यो संगत अत्यन्तै सघनतापूर्वक जोडियो । मैले उहाँसित कति सहकार्य गरेँ, कति सहयात्रा गरेँ, उहाँका आधि दर्जन कृतिमा भूमिका परिचय लेखें हुँला । हालै पनि उहाँको सन् १९१९ को बेलायती यात्राको कृति (प्रकाशोन्मुख) माथि लेखेको छु । उहाँले पनि यसैपालि मेरो मुगलानलाई बंगाली भाषामा अनुवाद गरिदिनुभयो; बुक आर्टका भाइ राजा पुनियानीले प्रकाशित गरिदिनु भयो ।
यत्रा ऊर्जाशील स्रष्टाहरू अलङकृत हुने यस अवसरमा नेपालका पच्चीस जना स्रष्टा उपस्थित भएर उहाँहरूप्रति बधाई कामना चढाउन आएका छौं । किनभने देवकोटा, अगमसिंह कठोर समयको सीमाभित्र थुनिएर सीमाहीन विश्वको कल्पना गर्ने स्रष्टा हुन् । उनीहरू नेपाली जातिका स्वप्नद्रष्टा पनि । उनीहरूका कति सपना पूरा भए कति अधूरै छन् । प्रत्येक स्रष्टाले सीमाहीन सत्य लेख्छ उसले सामाग्री मात्र आफ्ना परिवेशबाट लिन्छ । जहाँको कुरा लेखे पनि मानव हृदयले भोगेका दुःखसुखको कुरा मात्रै रहेछन् । भाषा, भूगोल, संस्कृति समय फरक होलान् तर हाम्रो रक्त प्रवाह नित्य उही हो । यसैले नेपाली जाति पुगेका ठाउँमा देवकोटा र गिरीका नामहरू आदरले लिइन्छन् । यस्तो भव्य र ऐतिहासिक समारोह आयोजनाका लागि अध्यक्ष श्री मिलन रुचालज्यूमा हार्दिक धन्यवाद प्रकट गर्दै यहीं रोकिन्छु ।
पौष १२, २०८२
(२७ दिसेम्बर २०२५)
देवकोटा भवन, सिलगढी



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
४ माघ २०८२, आईतवार 










