
प्रा.डा. गोविन्दराज भट्टराई सरको चिठी पाएँ । हर्षले पुल्लकित हुँदै पढ्न थालेँ । पढ्दै जाँदा म अल्मलमा परेँ– पत्र पढ्दै छु कि उपन्यास ?
यो गोविन्द सरले मलाई लेख्नु भएको व्यक्तिगत चिठी होइन । यो हालसालै लेखिएको चिठी पनि होइन । यी चिठी लेखिँदा मेरो आङमा बुचे सुराल पनि थिएन सायद । चिठीहरू तीसका दशकदेखि लेखिएका थिए । लेख्ने कर्ममा यहीँ कुरो त गजब छ जुन अरुमा छैन । लेखमा आफ्नो जन्मभन्दा पहिलेका घट्ना पनि पढ्न पाइन्छ । सदियौं अघिका घट्नाहरू पनि पढ्न पाइन्छ र लेखिछाडे आफ्नो मृत्युपछि पनि अरु कसैले सायद त्यसै भन्दै पढ्छन् ।
अँ, कुरो अन्तै बहकिए छ । यी चिठी गोविन्द सरले आफ्ना आदरणीय अग्रज डा. तुलसी भट्टराईलाई लेख्नु भएको हो । यी चिठी दाजुभाइका निजी भए पनि उहाँहरू नेपाली समाज र साहित्यका सार्वजनिक व्यक्तित्व (सम्पदा) भएकाले चासो त लाग्ने नै भयो । म प्रसिद्ध व्यक्तिहरूका बारेमा विशेष चासो राख्छु । त्यसैले पनि पढेँ किनभने लब्धप्रतिष्ठित व्यक्तिहरूका पत्रमा उहाँहरूका सफलताका बारे केही सुइको पाइएला कि भन्ने लाग्यो । मलाई लागेको हुटहुटी के थियो भने पूर्व पाँचथर जिल्ला, च्याङ्ग्थापूको नाम्रेक भन्ने गाउँमा जन्मिनु भएका गोविन्दराज भट्टराई कसरी प्रसद्घि लेखक तथा समालोचक प्रा.डा. गोविन्दराज भट्टराईमा रुपान्तर हुनुभयो ? त्यो जान्नु थियो र जाने पनि ।
‘तँ चिता म पुर्याउँछु’ भने झैं पत्रमा उहाँका बारेमा यति धेरै जानकारी लुकेको पाएँ ती मैले खोजेभन्दा पनि अधिक छन् । मजस्तो एकै पटक जल्दोबल्दो प्रा.डा. गोविन्दराज भट्टराईको प्रतिष्ठित शिखर रूपमा देख्नेले यो उचाइ उहाँले कसरी पाउनु भयो त्यसको कायाकैरन यी चिठीमा पाउन सकिन्छ ।
हामी अधिकांशले फुलेको फूल देख्छौं तर त्यो फूलले फुल्नलाई गरेको सङ्घर्ष देख्तैनौं । ढकमक फुल्न अघि त्यो फूलको बिरुवाले कति खडेरी खप्यो, कति तुसारो सह्यो, कति कीरा लागे, कतिले कुल्चे, भाँचे त्यसको अभिलेख हामीसँग हुँदैन । तर त्यसको पनि त एउटा कथा त हुन्छ नि । त्यो त ल भयो भयो, हामीले गर्ने अर्काे गल्ती के हो भने फुलिरहेको फूलको सुन्दरताको प्रशंसा मुखले गर्ने र मनमनै ईर्ष्या गर्ने । बाहिर प्रशंसा गर्छौं तर भित्र ईर्ष्या गरिरहेका हुन्छौं । तर हामी मध्ये धेरै कम्तीले मात्र त्यो सफलताको राज के हो त्यो खोज्छौं । हो, यो कुरा खोज्नेका लागि यो चिठी सङ्ग्रह कोसेढुङ्गो बनेको छ । यसबाट थाहा हुने छ कि सामान्य गोविन्दराज भट्टराई अहिलेका जल्दाबल्दा प्रा.डा. गोविन्दराज भट्टराई कसरी बन्नुभयो ? र हामी किन उहाँ जस्तो बन्न सकेनौं वा कहाँ चुक्यौं ?
प्रस्तुत सङ्ग्रहको आवरणमा गोविन्द सरको तत्कालको छायाछविलाई पृष्ठभूमि बनाएर उहाँकै हस्तलिखित चिठी छ । अन्त्यावरणमा पठाउने र पाउनेको रङ्गिन फोटो छ । भूमिकाबाहेक १४४ पृष्ठमा १०८ ओटा चिठीहरू छन् । सेरगेम प्रकाशन, दमकले २०८१ सालमा रु. ३०० मूल्य राखी प्रथम संस्करण प्रकाशित गरेको छ ।
परिवारिक चिठी भनेर डा. तुलसी भट्टराईले नेपालमा पत्र साहित्यको पृष्ठभूमिका चर्चा गर्नुभएको छ भने चिठी पत्रको विषयमा भनेर प्रा.डा. गोविन्दराज भट्टराईले कुन प्रसङ्गमा कसरी ती पत्रहरू लेखिएका थिए त्यसको कायाकैरन खोल्नुभएको छ ।
प्रत्येक पत्रमा गोविन्द सरले आफ्ना दाइलाई घरबार, स्वास्थ, पढाइ, व्यवसाय, भइपरिआएका साह्रागाह्रा, अप्ठ्यारा, साहित्य लेखन प्रकाशन तथा जागिरका प्रसङ्गहरू सररर हावा बहेसरी कानमा पुर्याउनुभएको छ । ती चिठी पढ्दा लाग्छ, उहाँ चिठी लेखिरहनुभएको छैन बरु एउटा बितेको कालखण्डको दुर्लभ कथा सुनाउँदै हुनुहुन्छ । कथाको गर्भाधान पाँचथरको दुर्गम गाउँ नाम्रेक हुन्छ । ताते गर्दै लड्दैपड्दै अप्ठ्यारा बाटा हिँडेर भुटान पुग्छ । भुटानको भीरपाखाबाट वाक्क भएर समथर दमकमा आएर पलेंटी कस्छ । गौरादहमा कुद्छ र विराटनगर पानी पधेँरासरि धाउँछ । कथा वयस्क भएपछि काठमाडौंमा हजार सपनाहरूको कुम्लो बोकेर जान्छ । त्यहीँ सपनाका भारीले किचिएर काठमाडौंमा ऐंठन पर्छ । तर पनि कथाले काठमाडौंसँग सिँगौरी खेल्छ । कतिपटक सिङ खुस्किए पनि सिँगौरी खेल्न छाड्दैन । अन्त्यमा कथाको त्यो अदम्य दुस्साहरसँग हार पनि हार्छ । जितको सिन्दुर पहिरिएर कथाको बिस्तारै आयतन बढ्छ । त्यो यति बढ्छ कि नेपालमा नअटाएर अमेरिकासम्म बढ्छ । रातदिन विद्यावारिधिको सपना देख्छ । मन्त्र जप्छ । ध्यान गर्छ र जपतप गर्छ र अन्त्यमा सिद्धि पाएरै छाड्छ । कथाले हार्न जानेको छैन अथवा अर्काे शब्दमा भन्दा ऊ हार्न जन्मेकै होइन । त्यो कथाको चरमोत्सर्ग हो । फेरि कथा काठमाडौं फर्कन्छ र अन्त्यमा कहिले कहीँ दमक र जन्मभूमि पनि हेर्न पुग्छ । कथामा एकजना सङ्धर्षशील नायक छन् । उनको सङ्घर्ष अगाडि जस्तै समस्याले पनि हतियार बिसाउँछ । जस्तै चुनौतीले पनि आत्मसमर्पण गर्छ । कतिपय ठाउँमा ती पात्र जिद्दी पनि देखिन्छन् । त्यो पात्र हार्न जान्दैन बरु हार नै ऊसँग हार्छ । दिग्विजयी त्यो पात्र सदैव आफ्नो र परिवारको हितार्थ अनेक कामहरू गरेर हिँड्छ झन्नै अस्तित्ववादीजस्तो । यस मानेमा यो चिठीभित्र आख्यान छ झन्नै पत्रात्मक उपन्यास जस्तो । कतै निबन्धजस्तो र कतै प्रतिवेदनजस्तो पनि नभएको होइन । जस्तो दृष्टिले हेर्यो तेस्तै देखिने रहस्यात्मक छन् चिठीहरू ।
यो चिठीजस्तो उपन्यास र उपन्यासजस्तो चिठी पढ्दा हामी सफल नहुनाका पछि पर्याप्त प्रयास र मिहिनेत गरेका रहेनछाैं भन्ने लाटाले पनि बुझ्छ । शुरुका दिनमा चिनिनलाई दान खालिङ, माधवप्रसाद धिमिरे, पारिजात आदिलाई भेटेको, प्रकाशनका लागि हारगुहार गरेको, कतिपयले धोका दिएको, पुस्तक प्रकाशनपछि कस्तो लाग्छ होला भन्ने हुटहुटी चलेको, गोविन्द नामको चरोलाई दुईचार जनाले कसो नचिन्लान् जस्ता मनोभावनाका प्रसङ्गहरू सुन्दा हामी पुस्तक लेख्ने र छपाउनेहरूलाई ‘मीतको दुःख देख्ता आफ्नो दुःख हरणम्’ भनेजस्तै लाग्छ । ‘आखिर दुःख कसले गरेन छ र !’ भनेर चित्तमा मलमपट्टी लाग्छ । काठमाडौंमा बस्ता कमाई हजार तर खर्च बाह्रसयको उल्लेखले ‘आम्दामी चाराना खर्च आठाना’ भन्ने आहान चरितार्थ बनाएको छ । यो कथा त सबैको हो तर कतिका लेखिएका छैनन् । अधिकांश नेपालीले भोगे झैं तुथपेस्ट सकिदा नूनले दाँत माझेको, ट्युसन पढ्नेले शुल्क नतिरेको तथा साथीहरूको लहैलहैमा नहिँड्दा एक्लो भएको कतिपय प्रसङ्ग पढ्दै जाँदा सरको समस्या पढ्दै छु कि आफ्नै जस्तो नलागेको होइन ।
चिठीको आधारमा उहाँ सभ्रान्त परिवारको होइन । अनेकन टिकडम्बाजी गरी सम्पत्ति जोडेको हुँदै होइन । बरु अर्थाभावमा हुर्केको खडेरीको भरिलो मकै हो भन्ने हिम्मत गरें ।
यी चिठीभित्र के छ भन्नु भन्दा पनि के छैन भन्नु उपयुक्त हुन्छ । यहाँ साहित्य छैन कि, दर्शन छैन कि, मनोरञ्जन छैन कि, पीडा छैन कि, महत्त्वकांक्षा छैन कि सपना छैन कि, योजना छैन कि, के छैन ? दैनिक समस्याको उल्लेख यसरी भएको छ– बिहान बेलुकीको गाँसभन्दा ठूलो संग्राम केही छैन (पृ.५५) । चाकरी चाप्लुसीविरुद्ध कविता नै लेखिएको चर्चा छ – सक्तिनँ महाराज चम्चागिरी थाम्न (पृ.७२) । कतै अनुभवहरू खरिएका छन्– मैले थाहा पाएँ प्रशिद्धि हातारियो भने उड्ने रहेछ (पृ.२६) । कतै दर्शन छ– आफैंमा उत्तरदायित्वबोध थुप्रिएपछि मान्छेमा तीखो अस्तित्वबोध हुन जाने छ (पृ.७५)। कतै सकारात्मक भाव र उज्यालो भविष्यको आश पाइन्छ– गरीवले गाँसकाटी नाम टाँसेको यो महत्त्वपूर्ण कर्मको चर्चा आउला हो चाँडै (पृ.८२) ।
मान्छे सफल हुनका लागि जिम्मेवार पनि हुनु पर्दछ भन्ने प्रसङ्ग साहिँलो भाइ भइकन पनि कतिपय अवस्थामा दाजुहरूको नेतृत्व गरेकोबाट पनि स्पष्ट हुन्छ– असारदेखि कमल दाइलाई यहीँ मगाएर डिग्रीमा र नारायणलाई डिप्लोमामा रेगुलर पढाउन सक्छु (पृ.५२) । धेरै ठाउँमा दाजु तुलसीलाई पनि विद्यावरिधि गर्न, कथा उपन्यास छपाउन अनुरोध गरिएको छ । त्यसरी नै भाउजू, भतिज र चेलीहरूका विषयमा चिन्ता र चासो पनि गरिएको छ ।
अन्त्यमा, यो उपन्यासजस्तो चिठी र चिठीजस्तो उपन्यास एउटा महासागर हो जहाँबाट पौडन सक्नेले हीरा पाउँछ, नसक्नेले कीरा पाउँछ । त्यो पनि नसक्नेले रमित चाहिँ अवश्य हेर्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

