
काठमाडौं । साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईको उपन्यास ‘नयाँ मुगलान’को लोकार्पण गरिएको छ । आफ्नो पहिलो उपन्यास ‘मुगलान’ प्रकाशनमा आएको ५० वर्षपछि भट्टराईले ‘नयाँ मुगलान’ प्रकाशनमा ल्याउनुभएको हो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा उपन्यासकार भट्टराईका साथमा प्रा.डा. अभि सुवेदी, एलबी क्षेत्री, प्रा.डा. कुमारप्रसाद कोइराला, समीक्षाक महेश पौड्याल तथा जानुका खतिवडाले संयुक्त रूपमा उपन्यासको लोकार्पण गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि डा. सुवेदीले भट्टराईको उपन्यास एउटा गम्भीर कृति भएको बताउनुभयो । उहाँले उपन्यासकारसँग आफूले साझा गरेका संस्मरणहरूको स्मरणसमेत गर्नुभएको थियो ।
समालोचक महेश पौड्यालले ५० वर्षअघिको मुगलान र हालको नयाँ मुगलानको तुलनात्मक अध्ययन प्रस्तुत गर्नुभयो । उहाँले पहिलेको बसाइसराई आस्थाकेन्द्रित तथा हालको सुविधाकेन्द्रित रहेको बताउनुभयो ।
प्रा.डा. कुमारप्रसाद कोइरालाले उपन्यासको शैली र शिल्पको चर्चा गर्दै देशको पीडाले लेखकलाई यो उपन्यास लेखाएको जिकिर गर्नुभयो भने उपन्यासकार जानुका खतिवडाले पाठकीय टिप्पणी राख्दै ‘नयाँ मुगलान’का विविध पक्षको चर्चा गर्नुभयो ।
उपन्यासकार भट्टराईले तीन सय घरधूरी भएको एक पहाडी गाउँमा हाल १२ घरमात्र रहेको स्मरण गर्दै हालको विषम परिस्थितिले नयाँ मुगलान लेखाएको बताउनुभयो ।
कविडाँडा अध्यक्ष एलबी क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन डा. अशोक थापाले गर्नुभएको थियो ।
पेज टर्नरले प्रकाशनमा ल्याएको पुस्तकको मूल्य ३७५ रुपैयाँ राखिएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

