आमाको आग्रह, स्थानीय रसको कालजयी कविता, धेरैमा एक– त्यसै त कविता पुरानो हुँदैन, स्रोत पुरानो हुनसक्छ । सुन पुरानै तत्त्व (धातु) हो, तर प्रत्येक वर्ष नयाँ अनुहारका आभूषण आउँछन् । मूल्य वृद्धि हुँदै रहन्छ । नवीनता धातुमा हैन, कारिगरीमा देखिन्छ । बजार बन्छ ।

हिमालय, ऋतु, फूल, पानी, प्रेम, ईश्वर पृथ्वी, प्रकृति आदि अनेक विषय छन् यिनमा कविता लेखेर पूर्णता मिल्दैन । लेखिँदै रहन्छन् कविता अवश्य पूर्ण हुन्छ, कवि तृप्तिबोध गर्छ यही सत्य हो र यही प्राप्ति हो उसका लागि, तर यो अन्तिम सत्य होइन । अन्तिम सत्य त पूर्णता ठानेर टुंगिनु र विश्राम लिनु नै हो ।

प्रेयसीको माया पनि कदाचित् टुँगिएला । आमाको माया पनि स्मृतिमा वेला वेला नयाँ भएर आइरहला तर मातृभूमिको माया अलिक विशिष्टताका साथ स्मृतिमा आइरहन्छ कि ! देशान्तरमा पुगेकाहरू कस्तो वेला घरको सम्झना गर्छन्, त्यो उनको अध्याय होला । सम्झन्छन् त्यसको मन्थन अन्यतम हो, त्यो बढी मूल्यवान् छ । स्थानीय रङ्ग गाढा छ कवितामा । यसैमा कविताको जीवन छ ।

आश्रय रवि राईको ‘आमाको आग्रह’ पढेपछि मलाई यी हरफले ताने–

 

(क)
नजाऊ छोडी यो देश
आमालाई रुवाएर
(ख)
सल्ला झैं आमा सुसाइरहिन्
एक्लै…..
थिचेछ क्यारे पैसाको भारी पल्टेर काममा…

 

हरेक आमा छोरालाई आइज फर्क भन्छन् । हरेकको आफ्नै शैली हुन्छ । सत्य त यो पनि हो – जवान छोरा काम नगरी घरमा बसोस्, त्यो प्रिय हुँदैन । हिजो छोरा रिक्रुटमा जाँदा गाउँ–टोल गौरव गर्थ्यो, आउँदा उत्सव मान्थ्यो । अब डर पनि छ कतै कन्तुरमा भरिएर पो आउने हो कि !
आश्रय रवि राईको यो कविता आलङ्कारिक पद्धतिबाट उपस्थित छ । प्रत्येक आमाको मनको कुरा बाँधिएको छ कवितामा । यहाँसम्म यो कविताले समष्टिभाव लिएकै हो । तर जब फर्कन्छु भन्ने बिर्खे नफर्कंदा र जेठा दाइ निठुरी बन्दा आमा रुँदै गुनासो गर्छिन् | त्यस वेला यो भाव व्यष्टिमा परिणत हुन्छ र त्यसै घरको कथा–व्यथा हो कि जस्तो लाग्छ ।

माटो पनि सजीव छ । त्यसैले देशले सम्झन्छ भन्नु स्वाभाविक लाग्छ । र यो साहित्यिक वा आलंकारिक भनाइ पनि हो । विज्ञान, गणित र व्याकरण, लिङ्ग र जीवनबारे फरक विचार राख्लान् त्यो अर्को पक्ष हो । तर रवि राईको यस कविताले आमालाई मातृभूमिमा र मातृभूमिलाई आमामा एकाकार गराएर एकभावले पुत्रलाई प्रत्यागमनका लागि आग्रह गराएका छन् । यस विधिमा कवि राईको कौशल मनोज्ञ लाग्दछ ।

तमोर नदी, हिटी, बारी, कुलो, अनि लालुपते, सिमल, कोइली, कागको उपस्थितिले भौगोलिक वातावरण र प्राकृतिक आढ्यताको चित्र साकार गर्दछ । छोराहरू परदेश लाग्ने चलन पुरानो भए तापनि आजको परिस्थिति फरक छ, भयावह छ । हिजो अभयकै स्थिति थियो– संचारको अविकास भएर भनौं कि ! आज तुरुन्तै स्थिति बोध हुन्छ । फरक त फरक छ । हिजो सूचना हुन्थ्यो आज मन्थन हुन्छ । हिजो सुन्ने कोही हुँदैनथ्यो आज क्षतिपूर्ति पनि हुन्छ ।

आमाको आग्रह कविताले जुन पृष्ठभूमिमा काव्यभावको बन्धन देखाएका छन् यसबाट माझिएको प्रौढ कविको लेखाई हो भन्ने देखाउँछ – कविताले पर्वतीय क्षेत्रको स्थायी जीवन शैलीलाई ऐतिहासिक महत्वको जलप दिएर ।

अन्तिम नौ हरफमा व्यक्त भावमा, आमाका कामनाले हामीलाई बारम्बार रुवाउँछन् । ‘आमाका इच्छाहरू कतै अपूर्ण नै रहने हुन कि ?’ आमा छोराको शिरमा – यो माटो र सभ्यताको पगरी गुताउन चाहन्छिन् ।

तर आमाले बिर्सिन दाजु–बाबुहरूले नै देश छोडेर हिँड्न विवश पारेका हुन्– निचोरेर, अन्याय गरेर, मुद्दा हालेर, ठगेर, जाल गरेर । शायद आमाले ‘स्वर्ग र देवता’ पढिन्, (बालकृष्ण सम) । र ठानिन्– घरमा केही दिन कलह गर्छन् पछि मिल्छन् । अहिले असभ्य छन्, चाँडै सभ्य हुन्छन् ।

त्यति मात्र होइन, तावा तताएपछि त्यसमा बसेका साना जीवहरू आत्तिएर हिंड्छन् । आततायी आक्रमणपछि नेपालीहरू परदेश लाग्नु स्वाभाविक लाग्छ किनभने – श्रमिक बेचेर द्रव्य कमाउने र द्रव्य आउँदा त्यसले मुलुक चलाउने खेल बारे आमा बोलिनन् । शायद आमाहरू सन्तानले गरेका अपराध, अकर्म देख्तैनन्, मात्र छोराहरू परदेशबाट फर्कोस् भन्छन् ।

आशा गरौँ अबका आमाहरू हामीलाई शस्त्र–अस्त्र उठाएर घरकै शत्रुसँग लड् भनेर उत्साह देलान् । हिजो त युवकहरू भन्थे, कविले भन्थे–
प्यारीले बाँधिदेलिन् झटपट खुकुरीलाई रातो रुमाल ।

स्थानीय दृश्य र माटाको सुगन्ध भरिएका कविता लेख्न छोडिसके कविले । तसर्थ यो कविता मूल्यवान् छ । यसले दिएको सामाजिक परिस्थिति, भौगोलिक दृश्य र पारिवारिक ममता र इष्टमित्रको चर्चाले कविलाई उदात्त देखाउँछ ।

कविताले सार्वजनिक भाव–सबैका मनको कुरा व्यक्त गरेको छ । नेपाली जीवनको दृश्य उपस्थित गर्ने यो कविता थोरै मध्ये एक हो । यो हरफ हेरौं –

पाउँदिन कि बाँधिँदिन – तिम्रो शिरमा
यो माटो र सभ्यताको पगरी

यसैबाट बुझिन्छ आमा को हुन् । कविले बहुत सोचेर आमाका मुखबाट यी कामना प्रकट गराएका छन् ।

रानी र राजमाताहरू पति र पुत्रलाई माटो, संस्कृति परम्परा र अस्तित्वको बोध गराउँदै गमन र आगमनको विधि पूरा गर्ने गर्दछन् मंगल कामना गरेर । आमा–राज्यलक्ष्मीको यो मनोभाव कवि रविको कवितामा व्यक्त छ । कवि प्राचीन किरात राजवंशका प्रतिनिधि त होइनन् ? यो खोजको सन्दर्भ हुनेछ । त्यसैले म यसलाई आफ्नै परम्पराभित्र पाउँछु ।

कविता पूर्णतः आत्मपरक छ, एक अर्थमा मिथक पनि हो । श्लेष पनि बुझिन्छ । हिजो त झन्नै छायावादी रचना भन्थे । सारमा राष्ट्रभाव भरिएको छ । देशप्रेमको अनुपम उपहार हो – देशान्तरबाट ।

कवि आश्रय रवि राईलाई उनको सिर्जनाप्रति आभार ! लेखनले निरन्तरता पाओस् । शुमकामना ! प्रौढ, परिष्कृत रचनाका लागि विशेष धन्यवाद । यो श्रृंखला पनि नेपाल प्र.प्र.र गैर आवासीय नेपाली संघको २०७२ कै प्रकाशनको निरन्तरता हो ।