“अब नरिसाउने ल !” यसो भनेर छुट्टिएको केही समयमै उनी मसँग र म उनीसँग रिसाउने कुनै न कुनै कारण मिलिहाल्छ, अनि रिसाइहाल्छौं । अझ्झ धेरै समस्या त उनी रिसाइन् भने बर्बाद हुने रहेछ । उनी रिसाउन नजान्ने, म फकाउन ।
मानिसमा उत्पन्न हुने रिस स्वाभाविक प्रक्रिया हो । प्राकृतिक रूपले उत्पन्न हुने एउटा भावनात्मक क्रिया पनि हो । माया प्रेममा हाम्रा भावनाहरूले विभिन्न समयमा विभिन्न विषयमा क्रिया गर्ने र क्रियाको प्रतिक्रिया जनाइराखेका हुन्छौं । कतिपय आँखाले देखेर उत्पन्न हुने भावनात्मक संवेगमध्ये रिस एउटा हो ।
हाम्रो समाजमा प्रेम सम्बन्धलाई लिएर सूक्ष्म रूपमा भित्रभित्रै फैलिएको ठूलो समस्या भनेको रिस हो । भन्ने गरिन्छ, “रिस खा आफू, बुद्धि खा अर्को ।” अर्थात् रिस गर्नाले आफैंलाई खान्छ, बुद्धिले अरूले खान्छ । यसमा रिसाएको मान्छे निष्क्रिय भएर आफ्नो रिस प्रकट गर्छ । ऊ केही बोल्दैन, केही गर्दैन, उठेर एकातिर हिँड्छ । तर प्रेममा परेका प्रेमिल जोडीहरूमा भने रिसको प्रकार बेग्लै हुन्छ । जहाँ प्रेमीले प्रेमिकाको रिस बुझेर माया र समर्पण देखायो भने केही समयमै शान्त र सौम्य हुन्छ । तर प्रेमी प्रेमिका एकअर्काले एकर्काका भावना नबुझ्दा सम्बन्ध सकिन्छ । यस्तो रिस जो कहिले नहराउने, रिस उठाउनेलाई कहिले माफी नगर्ने खालको हुन्छ । यदि सच्चा प्रेममा यस्तो खाले रिसले स्थान पायो भने उसलाई डिप्रेसन सम्म पुर्याउँछ । चलनचल्तीको भाषामा प्रेमरोगी पनि भन्ने गरिन्छ ।
प्रेम सम्बन्धलाई ‘रोगको घर’ भनेर पनि भनिन्छ । जहाँ आफ्नो कुरा पाटनरसँग प्रष्ट रूपमा राख्न सक्तैनन्, त्यो हृदयको कुनामा बसेको प्रेमलाई चोट नपुर्याउने हेतुले डर पैदा गर्छ । ब्रेकअपको डरैडरले गर्दा उनीहरूले मन माझेर कुरा राख्न सक्दैनन् त्यस्तो प्रेमीप्रेमिका बढी रिसाउँछन् । किनकि उनीहरूले आफ्नो मनमा भएको कुरा अरूलाई भन्न नसक्दा पीडा हुन्छ र रिसमार्फत बाहिर निस्कन्छ ।
यदि तपाईंको प्रेमी वा प्रेमिका रिसाउनु भएको छ भने, रिसाएको ठाउँबाट टाढा लैजानुहोस् । ठाउँ परिवर्तनले मन शान्त हुन्छ । खुला ठाउँ वा कतै डाँडा भएको ठाउँमा जाने प्रयास गर्नुहोस् । बगैंचामा वा टेरेसमा लैजानुस् ताजा हावाको गहिरो सास लिनुहोस् र रिसलाई शान्त गर्नुहोस् । यो तरिकाले रिसलाई अभिव्यक्त गर्ने हो भने रिस सामान्य र स्वस्थवर्धक हुन सक्छ ।
रिस र प्रेम मानवीय संवेदनाको एक हिस्सा हो । प्रेम जस्तै रिस पनि केही बेरका लागि पागलपन मात्र हो । सबैलाई उठ्छ तर केहीले मात्र आफ्नो रिसलाई नियन्त्रण गर्न सक्छन् । अन्यथा रिसका कारण ठूलै दुर्घटना भएका कतिपय उदाहरणहरू पाइन्छन् । रिसको आवेगमा गरिएको कामले मानिसलाई कालान्तरमा पछुतो बाहेक अरू केही दिँदैन । त्यसैले आफ्नो रिसमाथि विजय पाउन जति प्रेम सम्बन्धमा माफ आवश्यक हुन्छ त्यति नै मानिसले आफूमा भएको रिसलाई फाल्न सके मन हल्का र मस्तिष्क फुर्तिलो हुन्छ ।
कुनै विशेष परिस्थितिमा के हुन्छ भने मानिसले निरन्तर (प्रायः अर्धचेत) मूल्याङ्कन गरिरहेका हुन्छन् । हामीले सिकेको अपेक्षा र यथार्थ बीच तालमेल नमिल्दा प्रेम सकिन्छ । त्यस्तो हुन नदिन रोइदिनुस् जब तपाईं कसैको अगाडि रुनुहुन्छ भने यसले तपाईं र तपाईंको प्रेमिका बीचको सम्बन्धलाई बलियो बनाउँछ । साथै जसका अगाडि तपाईं रुनुहुन्छ, ऊ विशेष व्यक्ति रहेछ भने उसले तपाईंलाई रुन रोक्नको लागि सक्दो प्रयास गर्छ । यसले गर्दा ऊसँगको सम्बन्ध झनै राम्रो हुन्छ ।
प्रेममा रिस र घृणाले गर्दा एकअर्काका लागि हजारौं सपना सजाउनेहरू जिउँदै मरेतुल्य भएका कैयन उदाहरण पनि छन् तर जब एउटा सुन्दर जोडीको ब्रेकअप हुन्छ त्यहाँ मायाप्रेम मात्रै मर्दैन । विश्वास मर्छ । मानव प्रतिको मानवीयता मर्छ । यस्तो लाग्छ सूर्यलोकमा पनि अँध्यारो हुन्छ, त्यति वेला जूनले सूर्यको अँधेरी हटाउने प्रयास गर्छ । वास्तवमा प्रेम यस्तै हुन्छ जोसँग प्रेम पर्छ ऊभन्दा टाढा बस्नै मन लाग्दैन र ऊभन्दा टाढा बसे पनि ऊ कतै आफ्नै वरिपरि उपस्थित भएको जस्तो लाग्छ ।
मानिसको चेतना नै प्रेमको अवतार हो । यदि युवायुवती दुईजनाबीच स्निग्ध प्रेम छ भने आकाशलाई ओढेर र धरालाई बिछ्यौना बनाउँदै नमीठो गाँसमा पनि प्रेम छरेर त्यस गाँसलाई अमृत बनाउन सक्छ । च्यातिएको कपडा टालेर नयाँ कपडा बनाउन सक्छ ।
प्रेम नै सबैभन्दा ठूलो धन हो । जोसँग आकाशजत्रो प्रेमको ढुकुटी छ उसले नै आफ्नो प्रेमी-प्रेमिकाले मागे जति धन दिन सक्छ । राम र रुक्मिणी नै प्रेम नामको अकाट्य उदाहरण हो । राम वनवास जाँदा दरबारको सबै सुखसयल त्यागेर सीता रामसँग वनवास गइन् । यो सबै प्रेमकै रूप हो, नत्र सीता किन रामसँगै वनवास जान्थिन् र ? यता श्रीकृष्ण राधालाई चाहन्थे, रुक्मणीसँग विवाह गरे । तर प्रेम प्रतीकको रूपमा राधाकृष्ण सधैँ पूज्य भए पनि रुक्मिणीले श्रीकृष्णलाई एकोहोरो प्रेम निस्वार्थ बर्साइरहिन् । जहाँ रुक्मिणीले रिसलाई प्रेममार्फत व्यक्त गरिहेकी हुन्छिन् ।
प्रेम भन्ने शब्द मुटुको गुँडमा तबसम्म मात्र लुकेर बसेको हुन्छ जबसम्म प्रेम शब्दले मानिसको भावनालाई बोकेर उड्ने प्वाँख उम्रेको हुँदैन । शब्दको प्वाँख उम्रिनासाथ ओठको हाँगामा आएर शब्दमार्फत प्रेमालाप हुन्छ, बल्ल भुर्रर उड्छ प्रेमनगरको गुँडबाट स्वतन्त्र र स्वच्छन्द !
प्रेम स्वतन्त्र पनि हो । प्रेममा आँकुरा पलाउन प्रेम सम्बन्धमा अंकुश लगाउने होइन । आजभोलिका कतिपय प्रेमी-प्रेमिकाहरूले प्रेममा अंकुश लगाएर बन्धक बनाएको पनि सुनिन्छ/ देखिन्छ । प्रेम जहाँ बन्धक हुन्छ त्यहाँ प्रेमिल सम्बन्धमा बाधा पुग्छ । प्रेमलाई स्वतन्त्रताको प्रतीकको रूपमा लिनुपर्दछ । तब मात्र आधा-आधा भएर एक अनि रिसलाई रसमा परिणत गर्न सकिन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ पुष २०८२, बिहीबार 










