कवि अशोक चाम्लिङ राई (अमेरिका) को ‘धमिलो सम्झना’ कवितालाई चौतारी बनाएर विनोदमा सत्यको छेउ पुगेर भनौं–मत्वाली समुदायका अधिकांश कविका रचनामा तिनको भाषिक, सांस्कृतिक तथा सांगीतिक सुवासको स्वाद भेटिन्छ । त्यसैले तिनले लेखेका नेपाली कविता अब्बल दर्जाका र मीठा छन् । नवीनता र मौलिकतामा अगाडि छन् । मनको बनोट, सूक्ष्म दृष्टि, मांसल भाव, स्पष्ट अभिव्यक्ति बडो शक्ति र कलापूर्ण ढंगले पेश गरिएको हुन्छ । त्यसैले विनोदको शैली र सतही दृष्टिले तिनका रचनाको मर्म बुझ्न असजिलै हुन्छ । यो कुरा इन्द्रबहादुर राई, पवन चाम्लिङ, मोहन दुखुनदेखि वैरागी काइँला, विक्रम सुब्बा, जय छाङ्छसम्मका अनेकौं साहित्य साधकका सिर्जनाले पुष्टि गर्दछन् ।

यस श्रृंखलाका साहित्यकारले नयाँ र भिन्न बान्कीमा भावकोश भरेर विविधता र उच्चतालाई महत्व दिएका छन् । वस्तुतः नौलो र अनुपम आलोक भर्दै अन्यतम पथको यात्रा गर्ने प्रवृत्ति यस वंशका कविमा प्रष्ट देखिन्छ । वस्तु त्यही हो र समस्या पनि उही हो किन्तु हेराइ, सम्झाइ, अमलमा सर्वथा भिन्न र नौल्याई लाग्ने प्रस्तुति ! त्यसैले भिन्नै स्वाद र सुगन्धमा मुखर देखिनु रचनाको खास प्रवृत्ति नै बनेको हो कि जस्तो लाग्छ ।

कदाचित् अशोक चाम्लिङ राई र अनुपम भट्टराई एकै ठाउँमा एकै किसिमका भावचित्र निर्माण गर्न बसे भने अशोक अगि हुने र अनुपम पछि पर्ने पक्का छ । कारण–पृष्ठभूमि वा परिवेश हो । समय, स्थिति, मनोदशा, दृष्टि, प्रयोजन र सङ्कल्पको योग रहन्छ । शायद मनको बनोट र चिन्तनको झिल्का अन्यतम धुरीमा हुन्छ अशोकसँग । उछिन्छ । यो गूढ विषय हो । वस्तुबोध, भावग्रहण, विन्यास विधि, आन्तरिक प्रवाह र सांगीतिक स्पर्श दिएर कवितालाई श्रेष्ठतातर्फ मुखर गर्न अशोकहरू अनुपातमा सफल हुन्छन् न कि अनुपमहरू । शायद तिनको भाषिक, सांस्कृतिक, वैचारिक एवं कला र विनोदको लयपूर्ण निरन्तरता हो जसको प्रभाव सिर्जनाले ग्रहण गरेरै रहन्छ ।

वस्तु र अलङ्कर व्यावहारिक जीवनबाट, जातीय मिथक र किंबदन्ति अनि मुन्धुमको गर्भबाट टिपेर पनि अभिव्यक्तिलाई प्रसाधन दिन्छन् । धेरै कुरा कवि–कौशलमा निर्भर रहन्छ । तिनको मानस जगत् ‘लोकदर्शन’ कलात्मक चेतना बुझ्न र अभिव्यञ्जना विधि र परिदेश (काव्यको र कविको)ले सहयोग गर्छ । यो आनन्दबोधका अन्यतम पथ होला कि भन्ने ठान्छु । (यो मेरो अस्वीकृत गन्थन हो अरूका लागि)

नेपाल प्र.प्र.र गैर आवासीय नेपालीले प्रकाशित गरेको नेपाली डायस्पोरा (डारा) का कविता (वि.सं. २०७२) मा संग्रहीत अशोक चामलिङ् राईको कविता–‘धमिलो सम्झना’ मलाई विशेष लाग्छ । कथा बोकेर आएको यो कविता केही भिन्न र वान्छित भइदिन्छ । पारिवारिक जीवनको विघटन, श्रमको खोजी र परदेश यात्रा, छोरी दिवंगत हुनु र अर्को घर बनाएर जाने श्रीमतीप्रति टिप्पणी नगर्नु अनि आफैंले पनि जारी गर्नु अनि फोटो हेरेर अतीत केलाउनु यिनै हुन् कविताभित्रका कथाका झिल्काहरु ।

कविता छोटो छ । छोटोमा पनि धेरै छ । यो कविता एउटा पेंटिङ्मा पनि आउन सक्छ, अशोकको काव्यभावले उपन्यासको कलेवर लिनसक्छ पाँच खण्डमा । त्यसैले कविता कविता मात्र भएर रहन मान्दैन । जीवनले भोग्ने र देख्ने थुप्रै कुराहरु टिपेर बन्छ कविता ।

खासमा मुलुकको भूगोल, जातीय संस्कार, श्रम, पारिवारिक संरचना, मनोविज्ञान, वित्तीय (आर्थिक) स्थिति, दाम्पत्य जीवनको त्याग र ग्रहण, सन्तानप्रतिको स्नेह–ममता, अनि नारीतत्वको सानिध्य वा स्थायी चौतारीको व्यवस्था बारे विशद व्याख्या हुन सक्छ । समाजशास्त्र, संस्कृति र कर्मक्षेत्रको औचित्यमाथि पनि कविताको पठनले हामीलाई घच्चच्याउँछ ।

कविता कविको मनभित्र पस्ने एउटा माध्यम पनि हो । कविताको पठनमा दुई मार्ग छन्– कविको मनोभावलाई बुझ्ने कि उसको कर्मपथलाई हेर्ने ?

महाकवि देवकोटाले कर्मपथमा लाग्दा उनको मदनले आफू बिरामी भए पनि मातृशोक परे पनि, पत्नीलाई शहरका गुण्डाले तारो बनाए पनि, नैनीले फकाए पनि र मुनाले आत्महत्या गरे पनि कर्म गर्न बिर्सेन । त्यसैले देवकोटा भन्छन्– ‘कर्म नै पूजा गर्नुछ भन्छ यो लक्ष्मीप्रसाद ।’

यी शाश्वत भाव कवि अशोकका कवितामा भिन्न शैलीले आएका छन् । औपन्यासिक भावलाई दुई पाताका कवितामा समेट्न सक्ने उनको काव्य कौशल स्तुत्य छ । यो अनुकरणीय विधि हो । उनी प्रकरी कथाका मुहान बन्द गर्दै हिँड्छन् र सूत्रात्मक कथनमा पूर्णता दिछन् ।

स्मृति प्रसंगमा लेखिएको ‘धमिलो सम्झना’ केवल कविको मात्र होइन । हाम्रो पनि हो । परदेशमा पुगेका धेरै नेपालीहरूको मानस भूमिको स्थिति संवेगमा अटाएको छ । आफ्नो व्यक्तिगत अनुभूतिलाई धेरैको बनाउन सक्नु पनि कविताको सिध्दि हो । माधव घिमिरेसँग हामी पनि रुन्छौं – गौरीमा ।

विश्व नेपाली साहित्यमा देखिने डायस्पोरिक प्रवृत्तिको विशद परिचर्चा र प्रकाशनको लहर चलेको वेला छ ।

अमेरिकी नेपाली साहित्यले पनि डारा ‌(डायस्पोरा) का यस प्रवृत्तिलाई पोषण गरेको छ – अशोक चामलिङ राईको धमिलो सम्झनाले ।

स्मरणीय छ, कवि चाहिँ डायस्पोरिक होइनन्, किनभने उनी आफ्ना देशबाट लखेटिएर वा निकालिएर अमेरिका आएका होइनन्, जस्तो हिजोसम्म हामीलाई पढाइयो । आज डायस्पोराको परिधि स्थान र समय अवाधित छ ।

केहीलाई श्रम र यात्राले, केहीलाई मन र परिवारले बाँधेकै छ– कविताभित्र । सरल भावमा नाटकीय शैलीले दृश्य परिवर्तन गर्दै जानु र अन्त्यमा छोरीको फोटोका उपस्थितिले धूमिल–स्मृतिचित्र तानेर कथ्यलाई चुल्याउँछ । कल्पना र वर्तमानलाई कविताले नाटकीय शैलीले हातेमाले गरेर टुंग्याउँछ । कवितामा शक्ति छ । आँसुको आनन्द पनि र पीडाको आनन्द पनि छ स्मृतिका कलेवरमा । गजब छ ।

लेखकको स्पष्टिकरणः मत्वाली, यो पुरानो शब्द अमान्य भए क्षमा चाहन्छु ।

धमिलो सम्झना

                                                – अशोक चाम्लिङ राई

 

आज फेरि उसले निकाल्यो

कृपेट ब्यागबाट

छोरीको श्यामश्वेत तस्बिर र

आँखाभरि सम्झियो

त्यो पुरानो अतीत !

उसले सम्झियो

कहिले साक्षात्कार नभई

उसलाई छोडिजाने

उसकी दिवङ्गत छोरी

अर्को घर बसाउने

त्यो छोरीकी आमा

नून बोक्न मोरङ झरेका दिन

लहैलहैमा छाती नाप्न गएको समय

भर्ती हुन पर्खिएको पल

लाहुरे भएपछिका विस्मयकारी अन्तराल

बेखबर थियो समय

युद्धमा थियो शरीर

रहेन केही बाँकी

पाँच वसन्तमै

टुट्यो घर

छुट्यो पिरती

बिरानो भयो

आँखाभरि सजाएका नौरङ्गी सपना ।

तर

सरापेन उसले घरजम गर्ने उनीलाई

उठाएन ‘जारी’ पनि

रिस गरेन

नपर्खने मायालुलाई

सायद

मनन गर्यो होला

नून बोक्न गएको बेखबर लोग्नेको पर्खाइ

सोच्यो होला

सामल पानीको अभाव

बुझिदियो सायद

उसको जवानी ।

मन बाँध्न र जीवन चलाउन

‘जारी’ गर्यो उसले पनि कसैलाई

फर्केन पल्टन फेरि

भासियो अर्कै मुगलान

त्यसपछि बन्यो अर्कै अध्याय जीवनको

बित्यो पचपन्न वर्ष करिब ।

अब त सबै कुरा

उसको उमेर र आँखा जस्तै

केवल धमिलो बनेको छ सम्झना

जीवनको उत्तरार्धमा

र एउटै प्रश्न छ मनमा

कस्ती थिई होला त्यो छोरी ?

प्रत्येक पटक झरेका आँसुले

अझ धमिल्याउँछ

तस्बिर पछिल्तिर

लेखेको कसैले

“साइँला, छोरीको याद आए यही तस्बिर हेरेर चित्त बुझाउनू ।”

                                                                                 – अमेरिका