पुसको महिना थियो । आँखाभरि अनगिन्ती सपना र काँधमा जिम्मेवारी बोकेर सहर छिरेको रामे सहरको रमझम र बेथितिले “सहर” उसले सोचेभन्दा निकै भिन्दै बन्दै गैरहेको थियो । ऊ पसेको सहरबाट रामेले आफ्ना चाहना र आवश्यकता पूरा गर्न त सकेन । बरु सहरले नै उसलाई उसले चाहेभन्दा फरक तरिकाले परिवर्तन गरिदियो ।

यसै बिच एक दिन रामे , जाडो मेटाउनका लागि भनेर उसले काम गर्ने ठाँउबाट घर फर्किँदै गर्दा एउटा सानो होटलमा छिरेर सुरपान गरेछ । केही समयपछि उक्त होटलबाट लरबराउँदै बाहिर निस्क्यो । ऊ आफ्नो गन्तव्यतर्फ लाग्दै थियो । यो स्पस्टसँग देख्न सकिन्थ्यो कि ऊ आफ्नो अधिनबाट फुत्किसकेको थियो । आफैँलाई सम्हाल्न सकिराखेको थिएन ।

विष्णु भट्टराई

सबै कुरा संयोगै त होला, बेथितिसँग हुँइकिँदै आइरहेको थियो अचानक एउटा मोटरसाइकल अधबैँसे केटोले ,उस्तै एक महिलालाई पछाडि राखेर आइरहेको थियो । मोटरसाइकल चालकको ध्यान पनि साधन चलाउनेतिर भन्दा पनि अन्यत्र कतै केन्द्रित भएजस्तै स्पष्ट देख्न सकिन्थ्यो । नसोचेको दृश्य देखा पर्‍यो । उक्त मोटर्साइकलले ठक्कर दिन्छ रामेलाई ।

ऊ भुइँमा लड्यो । मोटर साइकलले उसलाई केही परसम्म लतार्यो । ऊ रगताम्य भयो । धेरै ठाउँमा चोटपटक लागेको स्पष्टै देख्न सकिन्थ्यो । यत्तिकैमा त्यहाँ धेरै बटुवा जम्मा भए । कसैलाई फोटो खिच्ने हतार त कसैलाई सवारी चलाउने र बाटोमा हिँड्ने तरिकाको दर्शन छाँट्न भ्याइनभ्याई थियो भने कोही हेर्न नसकेर अर्कैतिर फर्कंदै पर्ल्याक्पुर्लुक हेर्दै थिए भने कोही मानवीय गुण दर्साउँदै एम्बुलेन्सको खोजी गर्दै थिए ।

छोटै समयमै एम्बुलेन्स टुप्लुक्क आइपुग्यो । भिड पन्छाउँदै एम्बुलेन्स रामे लडेकै ठाउँमा पुग्यो। घाइते अवस्थामा हेर्न त्यहाँ मानिसहरूको घुइँचो लागेको थियो ।

रामेलाई बल्लबल्ल एम्बुलेन्समा राखियो । एम्बुलेन्समा एकजना पथिक रामेसँगै अस्पताल जान तयार भए । संयोग पनि कस्तो , उनैले एम्बुलेन्सलाई फोन गरेका थिए । सहरमा त सबैको समय अति नै व्यस्त हुन्छ भन्छन् – उनले आफ्नो त्यस्तो अमूल्य समय रामेको उपचारमा दिन सक्ने भएछन् । उनी त्यस सहरका कामै नभएका मान्छे त पक्कै होइनन् होला । मानवीय भूमिकाको हिसाबकिताब भएर त होला नि ।

घाइतेको उपचार सुरु भयो । ऊ छट्पटाइरहेको थियो । फेरि संयोग कस्तो उपचारकै क्रममा उसले आफ्नो बाल्यकालको साथी ऋतुले उसको उपचार गरिरहेकी हुन्छन् । त्यो देखेर ऊ निशब्द हुन्छ ।

उसको मुखबाट अचानक वाक्य फुट्छ- ‘ऋतु तिमी ?”

उसले यो प्रश्न गर्नु स्वाभाविकै थियो म, बाल्यकालमा म डाक्टर बन्छु भन्दा तिम्रो रुपले तिमीलाई डाक्टर बन्न दिन्छ र भनेर ऊमाथि प्रश्न उठाउने साथीहरु मध्ये रामे पनि एक थियो । ऋतु भन्छिन् ,”तिमीहरूको त्यो लाखौँ तीतो बोलीभन्दा मेरो आमाले मलाई म सानो छँदा सुनाएको एउटा कथाले मलाई अगाडि बढ्ने हौसला दियो, र म आज यो स्थानमा छु ।”

“अलि बुझिनँ नि मैले त ” रामेले भन्यो ।

ऋतुले आमाले सानैमा उनलाई भनेको कथा सुनाउँछिन् । “कुनै एउटा बगैँचामा रहेका आ-आफ्नै किसिमले फुलेका फूलहरुले त्यस बगैँचाको सुन्दरतालाई मनमोहक बनाएका थिए । वातावरणलाई नै सुगन्धित बनाएका थिए । त्यही फूलहरु मध्ये कमल, गुलाब र तुलसी बीच कुराकानी चलिरहेको थियो । कुराकानीकै क्रममा गुलाफ र कमलले तुलसीलाई न त रुप छ न त रंग नै, तँलाई कसैले मन पराउँदैनन् भन्दै उसलाई गिज्याइरहेका थिए । यो तुलसीले चुपचाप सुनेर ऊ मुसुमुसु हाँसेर बसिरहेको थियो,केही समयपछि एउटा परिपक्क व्यक्ति जो निराश थियो उसले त्यो गुलाफ र कमललाई टपक्क टिपेर तुलसीको बोटमा चढाइदिन्छ र भन्छ , ‘हे तुलसी तिम्रो गुलाफको जस्तै रङ्ग छैन, कमलको जस्तै सुन्दरता पनि कमैले देख्छन् । तर तिम्रो भित्री औषधीय क्षमता, सांस्कृतिक र धार्मिक महिमा धेरैलाई नहुन सक्छ । त्यस्तो बहुगुणी तिमीलाई मेरो नमन छ । मलाई तिम्रो नजिक हुँदा तिमीमा अन्तर्निहित बहुगुणले धेरै ऊर्जा प्रदान गर्दछ । बाहिर देखिनेभन्दा नदेखिने गुणको महत्व धेरै हुन्छ, तिमीलाई कोटी कोटी नमन छ ।”

रितुले थपिन यसै बिच आमा भन्नुहुन्थ्यो, ‘हेर छोरी मान्छेले बाहिर देखिने आवरणमा मात्र बढी केन्द्रित हुन्छन् । यो त गौण कुरा हो । मुख्य कुरा त हरेक मान्छेको आन्तरिक तर प्रस्फुटन हुन नसकेको ऊर्जालाई सक्रिय बनाउनु पर्छ । जब मान्छेको त्यो अन्तर्निहित ऊर्जा प्रफुटित हुन्छ, उसका हरेक कृयाकलाप सुन्दर र मनमोहक हुन्छन्, तार्किक हुन्छन् र धेरैलाई मार्ग निर्देशक पनि हुन्छन् । त्यसैले खाली बाहिरी आवरणमा ध्यान दिनेभन्दा हरेक मानवमा अन्तर्निहित त्यो क्षमतालाई बुझी त्यसलाई प्रस्फुटन हुने वातावरण को खोजी गर्नु है ।”

यही वचन नै मेरो जीवन परिवर्तन को सूत्र हो । मैले यही सूत्रलाई प्रयोग गर्दै आएँ र आज यहाँ तिम्रो उपचारमा संयोगवश म आफैँ छु ।

यो सुनेपछि रामे निशब्द हुन्छ र बोल्ने सक्दैन । उसका ती पुरै खुल्न नसकेका आँखाबाट तप तप आँसु थोपा झरिहेका हुन्छन् ।