“बा! मसँग त पैसा छैन । बरू यो घर नै बेचिदिऊँ ।“ जेठो छोराले बाउसँग भन्यो ।
बाउ सोचमग्न भए ।
कसरी बेच्ने घर ! कान्छाको विहे पनि भएको छैन । बल्ल बल्ल पढाइ सकायो । काम खोज्दैछ । कामभन्दा अघि डिपेन्डेन्टमा विदेश जाने दुलही पो पाउँला कि भन्ने डर छ ।
जेठा र कान्छाको उमेर नै फरक भयो । दाजुको बिहे भएको नि पन्ध्र वर्ष भैसक्यो । नातिनी नै तेह्र वर्षकी छे । नाति पनि दश पुग्यो । उसका बुढाबुढी दुवै कामकाजी छन् । कोठा पुगेन भन्दै अन्यत्रै जग्गा किनेर घर बनाइसक्यो । घर त साँढे दुई तलाको हो, फिनिसिङ्ग गर्न सकेको छैन भन्दै बेला बेलामा गनगन गर्छ । बैङ्कबाट ऋण लिएर पो घर बनाएको हुँ भन्छ । घर बेच्न पाए त्यही पैसाले फिनिसिङ्ग गरौंला भन्ने सोच होला ! मेरो लेखा दुवै छोरा बराबर । एक त ढिलो जन्मियो कान्छो, त्यसमाथि अहिलेसम्म जागिर, विहेवारी भएको छैन । मैले उसको बारेमा सोचिनँ भने कसले सोच्ने ? जेठो त यसै पनि अलग्गै बस्छ । भोली हेर्ने भनेको यसैले हो ।
कहिले त उनलाई लाग्छ, हेर्न नि के हेर्ला ! विदेश नगए त हो नि! गैहालेछ भने पनि आफ्नो भाग्यले बाँच्ने हो, जे त होला ! जे भए पनि मैले छोराको बिचल्ली पार्न मिलेन। बाउ पो हुँ त ।
“बा! के सोचेर हराउनुभयो ? हेर्नूस्, यो सानो घरले हाम्रो गुजारा पनि भएको छैन । त्यसमाथि पनि यसका अनेक समस्या । हामीसँग पैसा छैन, भोली भाइको बिहे गर्नुपर्ला ! कुनै व्यापार इलम गर्न पैसा माग्ला । सबै विदेश दौडिरहेका छन्, ऊ पनि नजाला भन्न सकिँदैन । समय अनुसार चल्नैपर्छ । मेरो पो विदेश जाने सोच छैन । भोली बालाई मेरोमा बस्नुपर्ने भयो भने, त्यो माथिको घाम लाग्ने कोठा तयार पार्नु परेन ?” जेठोले बाउलाई सम्झाउँदै भन्यो ।
उसले सम्झाउँदै गर्दा बाउलाई घुमाउरो पारामा धम्की दिए जस्तो पनि सुनियो ।
जेठालाई नभने नि कान्छाको बिहे गर्न भनी केही पैसा राखेका छन् उनले । त्यही पैसाले अरू गर्जो पनि टारौला भन्ने छ ।
चल्तिकै ठाउँ हो, दुई चार पैसा भाडा आएकै छ । चल्ने बाटो छँदैछ । जेठो छोरो गतिलै भए नि बुहारीसँग डर छ उनलाई । मनमा लागेको कुरा फ्याट्टै बोल्ने बानीले बुहारी कडा जस्तो लाग्छ । कान्छो विदेशै लागे नि सकुन्जेल एक्लै बस्ने, नसके बुढाबुढी राख्न खुलेका केन्द्रतिर मासिक शुल्क बुझाएर बस्ने सोच पनि आउँछ बेला बेलामा । समय परिवर्तन भैसक्यो, छोराछोरीसँग नबस्दैमा के नै होला र भन्ने पनि लाग्छ ।
“घर त नबेच्ने बाबु ! यो घर, घर मात्र होइन, तेरी आमासँग जोडिएको सम्झना पनि हो । हरेक कोठामा तेरी आमाले हेरिरहन्छे मलाई । म उसको याद आउने यी घरका कुनाहरू छोडेर कहाँ जाउँ ? भन् त ।” उनले बिस्तारै मुख खोले ।
यसो भन्दै गर्दा उनका आँखा रसिला देखिएका थिए । स्वरमा एक किसिमको कम्पन थियो ।
“बा! आमाको माया त हाम्रो मनमा नि छ नि! अब यो घर छोड्दैमा आमा भुलेका छौ र ? फेरि आमाकै यादले मात्र हुँदैन । तपाईंले आमाको याद आउँछ भनेका कुनाहरू नै नरहने भएपछि आमाको याद हराउँछ त ? तपाईं आँफै भन्नूस् बा ।“ जेठोले सम्झाउने उद्देश्यले भन्यो ।
जेठाका कुरा ठीकै लागे पनि उनी यो घर छोडेर हिँड्ने कुरामा सहमत थिएनन् । अहिले जेठासँग प्रतिवाद गर्नुभन्दा उसलाई पन्छाउन उचित लाग्यो उनलाई ।
“तेरो कुरा नि ठीकै हो बाबु तर भाइसँग पनि सल्लाह गर्न दे न त ।“ उनले भने ।
“सल्लाह गरेर भन्नु है बा । म अहिले जान्छु ।“ जेठाले भन्यो ।
जेठो साँघुरो भर्याङ्गबाट ओर्लिएर फलामे गेट लगाएको आवाज माथिसम्म पुग्यो ।
एकै छिनमा गाडीहरूको घ्यारघ्यार घुरघुर आवाज आयो । मान्छेहरू कराएको आवाज आयो । ट्याँट्याँ गरेर गाडीहरूले हर्न बजाएको पनि सुनियो । कसैले लामो गरी सिट्ठी फुक्यो । उनले थाहा पाए, फोहोरको गाडी आएछ । झ्यालमा गएर हेर्छन् । झ्याल खुल्लै छ । फोहोर लैजाने गाडी उनकै घर अगाडि छ । साँघुरो बाटोमा ठाउँ नपुगेकोले गाडी जाम भएको छ । फोहोर उठाउने मान्छेहरू रिसाएर हर्न बजाउनेहरूलाई हेर्दैछन् । हतारिएकाहरू रिसाएका पनि छन् ।
तलबाट फोहोरको बोरा माथितिर फ्याक्दै गरेको केटो पछाडिबाट हर्न बजाउनेसँग रिसाएर बोरा हुर्याउँछ । माथिको केटाले समाउन नभ्याए जस्तो गरेर बोरा छोडिदिन्छ । फोहोर उछिट्ट्एर नजिकैको मोटरसाइकलवालालाई पनि पर्छ ।
“मा……! हेरेर फाल्न सक्दैनस् ?” मोटरसाइकलवाला रिसाउँछ ।
अरू मान्छेहरू वाल्ल परेर हेर्छन् । नजिकैको जेलको पर्खालको पोष्टमा उभिएको पुलिसले हतियार पन्छाएर चिहाएर हेर्छ । तरकारी पसलको केटो फेरि फोहोर लैजाने केटाले बोरा फालेर आफ्नोतिर आइपुग्ला भनी डराएर हेर्छ । रिस्सिएको मोटरसाइकलवाला केटो फोहोर हुत्याउने केटोलाई ठोक्काउँला जसरी मोटरसाइकल निकालेर बाटो लाग्छ ।
नजिकै उभिएको एउटा मान्छेले प्वाक्क बोल्छ, “अब धेरै छैन । यो घर भत्किएपछि यस्तो हुँदैन ।”
उनले माथिबाट त्यस मान्छेलाई हेरे । त्यसको ठाडो रौं देखेर उनलाई क्रुरसिंहको सम्झना आयो । चन्द्रकान्ता भन्ने हिन्दी सिरियलको खलपात्र क्रुरसिंहसँग त्यसको तुलना गरे मनमनै । भित्रैबाट रिस उठेर आयो । कुनै गह्रुङ्गो सामानले त्यसको टाउकोमा लाग्ने गरी हिर्काऊँ झै लाग्यो । तर कस कसलाई हिर्काउने ? उनलाई नगरपालिकाको डोजरवालालाई पनि हिर्काउन मन लागेको हो । घरिघरि बाटो बढाउने भन्दै सूचना टाँस्दै हिँड्नेहरूलाई पनि हिर्काउन मन लागेको हो । जबजब डोजर आउँछ किच्च हाँस्दै बाटोमा उभिन आउने आफैले जग्गा बेचेको पछाडिको घरधनीलाई पनि हो । तिहारको बेला पटाका पड्काए भनेर उसका नातिनातिनालाई गाली गरेको भन्दै झगडा गर्न आएको पल्लो घरको सूर्यमानलाई पनि हो । डोजर चल्दा लाइन लागेर उभिएका बटुवाहरूलाई पनि हो ।
अहिलेसम्म उनले कसैलाई हिर्काएनन्, त्यसैले क्रुरसिंह पनि बच्यो ।
एकै छिनमा फोहोर उठाउने गाडीले ठाउँ छोड्यो । विस्तारै गाडीहरू खुल्न थाले । बाटो सुनसानजस्तो भयो । फाट्टफुट्ट आउने गाडीहरू निरन्तर गन्तब्यतिर लागिरहेका थिए । उनी बिस्तारै ओर्लिएर बाटोमा गए । बाटोमा उभिएको क्रुरसिंह यतिखेर कता हिँडिसकेको थियो ।
उनले घर अगाडि उभिएर घरको चर्केको पेटी र छतको छेउ हेरे । केही दिनअघि नगरपालिकाको डोजरले पेटी भत्काइदिएको थियो । साङ्केतिकरूपमा छतको एक छेउ फुटाइदिएको थियो । तोकिएको समयभित्र घर नभत्काए कारवाही गर्ने चेतावनी पनि दिएको थियो । डोजर चलाउँदा लागेको खर्च पनि उनीबाटै असुलिने चेतावनी दिएर गएको थियो ।
उनले मन अमिलो पारेर घरको खुँडे हुन पुगेको छत हेरे । तलको सटरको किराना पसले उनलाई नै हेरिरहेको रहेछ । पसले दाँत देखाएर हाँस्यो । नजिकै उभिएको केटालाई एउटा चुरोट निकालेर दियो र पैसा कन्तुरमा राख्यो ।
भर्खर चुरोट सल्काएर उभिएको केटालाई भन्यो, “खोई! पसल सार्नुपर्ने जस्तो छ । तपाईंहरूको तिर सटर खाली छैन ?”
“बा! कति दिन समय दिएका छन् रे ?” अलिक ठूलो स्वरमा कराएर उनीतिर फर्किएर सोध्यो ।
उनलाई जवाफ दिन पनि मन लागेन । केही नबोली ढोकाबाट छिरे ।
मान्छे मात्र हिँड्ने बाटो थियो यो । उनको जग्गा छ आना थियो । पछाडितर्फ घर । घर अगाडि तरकारी लगाउने ठाउँ । काँडाको लामो बार । एक छेउमा तगारो थियो । कुनामा गाई पाल्ने कटेरो थियो । गाई पाल्न त पैतिस सालतिरै छोडिसकेका थिए । मुल बाटोमा जस्तो चल्तिफिर्ति यता थिएन । फाट्टफुट्ट भाडा बस्न विद्यार्थीहरू ठाउँ खोज्दै आउँथे । उनकोमा कोठा छैन भनेर छिर्दैनथे । पछि उनलाई पनि लाग्यो, केही मान्छे बस्न मिल्ने संरचना बनाऊँ । पैसा थिएन । थोरै पैसाले गोठ समेतलाई जोडेर केही टहरा हाले ।
केही दिनमा नै सहरमा ज्याला मजदुरी गर्नेहरू ठाउँ खोज्दै आए । केही आम्दानी हुन थाल्यो । भाडा बस्नेहरूले पानीको दुःख भयो भने । सानो इनार पनि बनाइदिए । यसरी पाँच वर्ष चल्यो । एउटा फलामको काम गर्ने मानिस आएर माग्यो । सबै भाडा बस्नेलाई दुई महिनाको समय दिएर हटाए । त्यो पनि पाँचै वर्ष बस्यो । सटर हालेको घरका भाडा देखेर लोभिए । पुरानो घर भत्काएर सटरवाला घर बनाउने विचार गरे । कमाएको खर्चमै टर्थ्यो । स-सानो जागिरले भात भान्छा चलेको हो । थोरैतिनो भाडाले आइपर्दा खर्च टारेको हो । सम्पत्तिको नाममा त्यही एउटा जग्गा । त्यो पनि विचमा गोरेटोबाट आठ फूटे बनाउन भनी काँडाको बार मासेर दुई पैसा जग्गा गैसकेको थियो ।त्यसबेलासम्म उनीहरूलाई खुसी पनि लागेथ्यो, बाटो फराकिलो भयो भनेर ।
पछि घर सल्लाह भयो । पछाडिको तीन आना जग्गा बेच्ने । अगाडि सटर हालेर घर बनाउने । सटर र भित्री कोठाको भाडाले गुजारा हुन्छ । एउटै त छ छोरो, एउटा घडेरी । पुगिहाल्छ । जग्गा बेचियो । नयाँ घर बनाउन नक्सा पास गर्न जाँदा थाहा भयो । बाटोको राइट अफ वे पाँच फिट छोडेर घर बनाउनुपर्छ । पहिला नै तीन फिट थियो, बाटो आठ फिट बनाउँदा साँढे दुई फिट छोडिसकेको हो । त्यसको त हिसाबै नहुने रे! नगरपालिकाले आठ फिटे बाटो कायम गरिसक्यो रे! बाटो कायम नगरेकोले पूरै जग्गाको मालपोत लाग्ने । अब उपाय थिएन । बाँकीमा घर बन्यो । तीन वटा सटर, भर्याङ्ग र माथी कोठाहरू । भाडा लाग्यो । बिना अपेक्षा कान्छो जन्मियो, जेठो अठाह्र वर्षको भैसकेपछि । यत्ति हो घरको कथा ।
पुराना दिनहरू रिलझैँ घुमे बुढाको दिमागमा । आफ्नै जग्गामा बनेको बाटो हेरेर फनक्क परे । अझै घर भत्काएर बाटो छोड्न अल्टिमेटम आएको थियो । यसपाली घर भत्काउँदा लाग्ने खर्च पनि दिने रे! अब भत्काउँदा पाँच फिट बाँकी हुन्छ । सुर्को जग्गा के गर्ने, कहाँ जाने ठेगान छैन । कान्छोको व्यवस्थापन बाँकी नै छ । घरै बेच्दा कति आउला थाहा छैन । सबैले अप्ठेरोमा च्याप्ने न हुन् ।
बुढाको त्यस दिन वल्लो कोठा, पल्लो कोठा गरेरै बित्यो । साँझ पर्न लाग्दा कान्छो छोरो भित्र छिर्यो ।
“के खानु भयो, दिउसो ?” कान्छोले सोध्यो ।
“खै! खाने मन भए पो !”
“त्यसरी हुन्छ त ? बिरामी परे नि !”
“के गर्ने त ? मरिहाले टण्टै साफ ।“
“के भन्या बा ?” कान्छो रिसायो । उसलाई दिनभरि बाउका मनमा खेलेका कुरा याद हुने पनि भएन ।
फटाफट लुगा फेरेर भान्छातिर लाग्यो । खाना तयार गर्यो । सात बजेतिर नै खाना खान बसे बाउछोरा ।
“दिउसो दाइ आएको थियो ।“ बुढाले कुरा सुरु गर्छन् ।
“के भन्थ्यो ?” चम्चाले भात चलाउँदै सोध्छ कान्छोले ।
“खै! घर बेचिदिउँ भन्छ ।“ चपाउँदै गरेको गाँस छोडेर उनी भन्छन् ।
कान्छो अध्याँरो अनुहार बनाउँछ । केही पनि बोल्दैन । छोराले चलाएको चम्चाको आवाज र बाउले हातैले खाँदा आएको सर्यापसुरुप आवाज दोहोरी जस्तो चलिरहन्छ । दुबैका मनभित्र तुफान छन् तर बोल्न तयार छैनन् । छोरालाई चिन्ता छ, जागिरको, प्रेमिकाको अनि घरको । बाउलाई चिन्ता छ, कान्छो छोराको जागिरको, बिहेको अनि घरको । विषय एकै हुन् । सोच्ने तरिका फरक छ । भन्ने विषय फरक छ । प्रस्तुत गर्ने तौरतरिका फरक छ । मायाको लेग्रो फरक छ । सम्बन्धको दिशा फरक छ । दृष्टिकोणको फरक छ । एउटा सत्तरी वर्ष पुगेको बाउ र भर्खर सत्ताइस वर्ष पुगेको छोराको बीचमा के के फरक हुन्छ, ती सबै फरक छ ।
खाना खाएर उठ्ने बेलामा छोराले भन्छ, “बा! घर बेच्न पर्दैन । तल्लो तलालाई घटाएर सडकलाई चाहिने जति छोडिदिने । माथिको नभत्काउँदा पनि हुन्छ रे ! एउटा सटर मासेर भर्याङ्ग बनाउँला । बाँकी दुइटालाई जोडिदिउँला । अहिलेको भर्याङ्ग सटरमा जोडिदिउँला । दुई मध्ये एउटा पसल सल्लाहमै बस्छन् । एउटा जान्छ ।
बाउको अनुहारमा एकै छिनमा उज्यालिन्छ । प्रत्येक कोठाका एक एक कुनामा उनको मन डुल्छ । छोराकी आमासँग जोडिएका पलहरू आँखामा ताजा भएर आउँछन् । कान्छो छोरो जन्मिएको बेलाको झल्को आउँछ । घडेरी एउटै भए पुग्छ भनेर बसेको बेलामा छोरो जन्मिएको, दुइटा घडेरी चाहिने भयो भनेर छोरो जन्मिएको खुशीलाई घडेरी तनावले घेरेको सम्झन्छन् । जेठो छोराले भाइ जन्मियो भन्न लजाएको ।
फाट्टफुट्ट विदेश जाने क्रम सुरू भैसकेको थियो । श्रीमतीले न एउटा विदेश पो जान्छ कि भनेको याद आउँछ उनलाई । जन्मसँगै कर्म त लिएरै आउँछन्, केही न केही गरेर जीवन चलाइहाल्लान् भनेर चित्त बुझाएको सम्झन्छन् ।
केही दिनमा नै घरको तल्लो तला फोडेर घर मिलाउन सुरू भयो । कान्छोले भने जस्तै घर तयार भयो । बाटोमाथि झुण्डिएका कोठाहरू तयार भयो । घर अगाडि फाराकिलो भएको सडक पनि तयार भयो ।
बाटोमा हिँड्ने मान्छेहरू घरको संरचना हेर्दै अचम्म मान्दै फोटो खिच्ने र सामाजिक सञ्जालमा हाल्ने क्रम पनि सुरू भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।