त्यस दिन म अलि बढी नै हतारमा थिएँ । बिहान सबेरै उठेर आफैँ भान्सामा पसेँ । सामान्यतया दुई अवस्थामा म आफैँ खाना बनाउन भान्सामा पस्छु – पहिलो फुर्सद भएको बेलामा जहाँ आफ्नो इच्छाअनुसार खानेकुरा पकाई खान र ख्वाउन पाइन्छ । दोस्रो, जब मलाई बिहान चाँडै अफिस पुग्नुपर्ने हुन्छ ।

खाना बनाउँदै गर्दा सोचेँ – वास्तवमा पसिनाको गन्ध होइन, सुगन्ध आउँछ । किसानले माटोसँग मित लगाएकै कारणले त हामी ‘किनिखानेहरू’ले हातमुख जोर्न पाएका छौँ । ती तमाम किसानको पसिनाको गन्ध धनियाँ र टमाटरको अचारमा, खसीको पक्कुमा, अनि पालुङ्गो र चम्सुरका सागमा बास्ना भएर आउँछ । दूधमा प्रोटिनका रूपमा मिसिन्छ । अनि हामीलाई तागत दिन्छ । धन्य छन् ती कर्मशील हातहरू जसले आफू मेटाई अरूलाई दिने पवित्र कर्म गरिरहेछन् ।

सानो ठिमी जानुपर्ने भएकोले म अफिसको बस पर्खेर बानेश्वरमा बाटो छेउमा उभिइरहेको थिएँ । आज सधैँ बस आउने समय भन्दा निकै ढिलो भइसकेको थियो । हुन त काठमाडौँ उपत्यकामा तोकिएको समयमा कहीँ पुग्नु असम्भव प्रायः नै भैसकेको छ, जामको कारणले । मेरो जस्तै हतार अरूलाई पनि थियो । सबै गाडीलाई हात दिँदै रोक्दै चढ्ने यत्न गर्दै गरेका देखिन्थे । धेरै ओटा गाडीहरू एकपछि अर्को गर्दै लामबद्ध भएर रोकिएका थिए भने सहचालकहरू जाेडजोडले यात्रुहरूलाई डाकिरहेका देखिन्थे । तमाम गाडीहरू रोकिने बित्तिकै खुर्र कुदेर जानु, भीडमा ठेलाठेल गर्दै गाडीसम्म पुग्ने चेष्टा गर्नु र मौकाले चढ्न पाइहाले पनि आफूले युद्ध जितेको भान हुन्थ्यो । तर चालक र सहचालकको टोकसो, र मनपरी कहाँ बयान गरिसाधे छ र ! उनीहरूले भनेको नमाने गाडीबाट उत्रेर हिँडेर जा सम्म भन्ने आँट यिनीहरूलाई छ । सिकायत गर्न कहाँ पाइएको छ र ? सायद यी तमाम दुःख भोग्न हामी काठमाडौँ बासी अभिशप्त छौँ ।

गाडी पर्खिने क्रममा म अफिस टाइमको काठमाडौँको व्यस्त मध्येको एक चोकको रमिता हेर्दै थिएँ । रातो रङकाे स्कुटर मेरो अगाडि आएर हठात् रोकियो । चिनेको जस्तो लाग्ने चेहरा थियो त्यो, तर हेल्मेट लगाइराखेको हुनाले मैले ठ्याक्कै ठम्याउन सकिनँ ।

‘अनिमेष हैन, तिमी ?’

‘हो।’ मैले अन्यमनस्क हुँदै जवाफ दिएँ । कुनै पर चक्रीसँग खुलेर बोलिहाल्ने आदत छैन मेरो ।

फेरी सोचेँ, अक्सर मान्छेले अपरिचितलाई ‘तिमी’ भनेर सम्बोधन गर्ने दुस्साहस गर्दैन । यिनले मलाई पहिचान गरेर नै बोलाएको हुनुपर्छ ।

मैले यति सोच्दै गर्दा उनले फेरि भनिन् – ‘म अनन्या के, तिम्रो बचपनदेखिको साथी, सहपाठी ।’

ओहो उसले त एकै सासमा आफ्नो परिचय दिइसकी ।

‘तिमी कता जान लागेको ?’ उनले पुनः प्रश्न तेर्स्याइन् ।

‘म अफिस, सानो ठिमी ।’ मैले छोटो उत्तर दिएँ ।

‘ल हिँड, म पनि त्यतै जान लागेको ।’ उनले भनिन् र थपिन् – ‘सानो ठिमी क्याम्पसको क्वार्टरमा मेरो साथीको छोरीको बर्थडेको निम्ता छ । त्यहीँ जान लागेको ।’

झट्ट नाइँ भनिहाल्ने साहस जुटेन । तर हुन्छ पनि भन्न सकिनँ । केही छिन पश्चात् अफिसको गाडीमा सवार साथीलाई फोन गरेर म अफिस गइसकेको जानकारी दिएँ र अनन्याको साथ लागेँ ।

स्कुटरमा भएको कारणले भक्तपुर पुग्न धेरै समय लागेन । भनौँ ‘टाइम’मै अफिस पुगियो । बाटोमा उनले पुराना कुराहरू खासै बताउन चाहिनन्, खैर मैले उसलाई सोध्ने चेष्टा भने प्रशस्त गरेँ ।

अफिसमा हिजोका बाँकी रहेका कामहरू सम्पन्न गरेँ । मानिसहरू भन्छन्, सरकारी अफिसमा त के काम हुन्छ र ? ‘सरकारी काम, कहिले जाला घाम’ त हो नि ! अझ कतिपयले त ‘हाटा’ अर्थात् ‘हाजिर गरेर टाप कस्ने’ भनेर पनि हामीलाई उडाउने गरेको प्रशस्त सुनेको छु, मैले । तर मेरो अफिसमा त कामको चापको कुरा गरेर साध्य छैन ।

साँझ अफिसबाट लखतरान भएर घर फर्किएर दुईचार गाँस खाना खाएर पुनः काममा लागेँ ।

श्रीमतीजी भन्दै थिइन् –  “कस्तो जागिर खानुभा’छ जतिखेर पनि व्यस्त हुने ? न परिवारलाई समय दिएको छ, न त बाबुलाई ‘होमवर्क’ गर्न सघाउनु भा’छ । निजी समय भन्ने पनि हुन्छ होला नि !”

यी र यस्तै यावत प्रश्नहरूको वाण आइरहेथ्यो । मैले बेवास्ता गर्दै आफ्नो काम जारी राखेँ ।

सम्झिएँ, विकसित देशहरूमा मानिसहरू दिनभर काम गरे पनि केही समय एक्लै बस्छन् ता कि आफ्नो गुमेको मानसिक ‘इनर्जी’ पुनः प्राप्त होओस् । पारिवारिक समय व्यवस्थापन तथा मनोरञ्जन गर्दै उनीहरूले परिवार तथा साथीभाइहरूसँग प्रशस्त समय व्यतीत गर्दछन् । तर पनि हामी नै उनीहरूलाई एकलकाँटे भनेर उछितो काढ्न पछि पर्दैनौँ । तर मलाई त लाग्छ मेरो जीवन चाहिँ साँच्चिकै एकलकाँटे हुँदै गइरहेको छ । न सार्वजनिक बिदा, न त कुनै दिवस, वा बिहान बेलुका, म अफिसकै काममा लागिरहेको हुन्छु ।

छोरो बाबासँग खेल्ने भन्दै नजिक आउँदै थियो । मैले फकाएर उसलाई सुत्न पठाएँ । आफूलाई भोलि एउटा रिपोर्ट प्रस्तुत नगरी भएको थिएन । काम गर्दागर्दै मध्यरात भएछ । सुत्नुअघि एक पटक फेसबुक ‘लगइन’ गरेँ । म सामाजिक सञ्जाल कमै चलाउँछु । तर आफूलाई ‘अपडेट’ त राख्नु पर्‍यो नि ।

फेसबुक लगइन गर्ने बित्तिकै नोटिफिकेसनमा ‘फ्रेण्ड रिक्वेष्ट’ आएको देखायो । हेरेँ, अनन्याले पठाइछन् ।

एसेप्ट गरेँ । अनि उनको प्रोफाइल सरर ‘स्क्रोल’ गरेँ, तलसम्म । खासै नयाँ अपडेट केही देखिएन । भगवानका केही तस्बिरहरू, र अन्य प्राकृतिक स्थलका सुन्दर दृश्यहरू । बस् यति ।

मैले आफूलाई फ्लासब्याकमा धकेलेँ । अनन्या हाम्रो कक्षाको सबभन्दा अब्बल विद्यार्थी थिइन् । रूपवती, गुणवती अनि मिहिनती पनि उत्तिकै । हरेक वर्ष उनी कक्षामा प्रथम त हुन्थिन् नै केही वर्ष भने उनले विद्यालयको सर्वोत्कृष्ट अङ्क समेत प्राप्त गरेर सबैलाई चकित तुल्याइन् । सबैकी आँखाकी नानी बनेकी उनको पारिवारिक र आर्थिक अवस्था राम्रो थिएन । बाबु अपाङ्ग थिए भने आमा अर्काको मेलापात, अर्मपर्म गरेर घरको व्यवहार चलाउँथिन् । भनिन्छ, कमल हिलोमा नै फुल्छ र सायद त्यही ‘कमल’ थिइन् उनी ।

सदा झैं भोलिपल्ट पनि अफिस गएँ, आएँ । उक्त साँझ चाहिँ अफिसको काम नगरी परिवारसँगै बसेर साँझको समय व्यतीत गर्ने मनसायले बसेँ । छोरोलाई केही गृहकार्य गर्न सघाएँ । खुब लगनशील भएर उसले सबै काम छिट्टै सिद्ध्याएको देखेर श्रीमती पनि खुसी भइन् ।

सुत्ने बेलामा फेरि फेसबुक लगइन गरेँ । अनन्याले ‘अफलाइन म्यासेज’मा समय मिलाएर भोलि भेटौँ न भनेर अनुरोध पठाएकी रहिछन् । एकातिर अफिसको कामको चाप, अर्कोतिर घरमा समय नदिएको गुनासो । म उनलाई नाइँ भनेर टुक्राउन पनि चाहान्नथेँ । कुनै न कुनै उपाय निस्केला नि भनेर ‘हुन्छ’ भनिदिएँ ।

भोलिपल्ट अफिस पुगेर पुनः म्यासेन्जर चेक गरेँ । उनले पुनः म्यासेज पठाएकी रहिछन् । नयाँ बानेश्वरको बि क्याफेमा अपराह्न चार बजे भेट्ने प्रस्ताव थियो उनको । साथमा उनले आफ्नो मोबाइल नम्बर पनि छोडिछन् ।

सोचेँ, ठिकै त भयो नि – मैले अफिस छल्नलाई ठुलो बहाना बाजी गर्नु परेन । अफिसको काम सिद्ध्याएर निर्देशकलाई भेटेर आज अलि चाँडै निस्किन लागेको अवगत गराएँ र बस चढेर बानेश्वर पुगेँ ।

क्याफेको अघिल्तिर पुगेर फोन गरेँ । उनी आइसकेकी रहिछन् । मलाई लिन बाटोसम्मै आइन् । क्याफेको माथिल्लो तलाको एउटा टेबल रिजर्भ गरेर बसेकी रहिछन् । टेबलभरि खानका विभिन्न परिकारहरू मगाइराखेकी थिइन् । उनको अनुरोधलाई स्विकार्दै म उनको ठिक सामुन्नेमा बसेँ । उनले मलाई आफू बसेकै कुर्सीको साइडमा बस्न निम्त्याएकी थिइन् । त्यसो गर्न मनले मानेन ।

‘के लिन्छौ, तातो कि चिसो ?’ उनले सोधिन् ।

मैले अफिसमा खाजा खाइसकेको हुनाले खासै खाने रुचि देखाइन । तर उनको प्रस्ताव नकार्न सकिनँ ।

अनायासै उनले सोधिन् – ‘ड्रिङ्क लिन्छौ ?’

म बिलखबन्दमा परेँ । कहिल्यै ड्रिङ्क नगर्ने मानिस म हैन । तर एउटी महिलाको साथमा बसेर पिउनु जायज हुँदैन भन्ने ठानेँ ।

‘अहँ’ मैले सोधेँ, ‘तिमी लिन्छ्यौ र ?’

फेरि सोचेँ यो प्रश्न नसोधेको भए हुन्थ्यो ।

‘अँ म लिन्छु ।’ उनले भनिन् र वेटरलाई बोलाइन् र दुई ओटा बियर ल्याउन अह्राइन् ।

केही समय चुपचाप रह्यौँ । उनका बारेमा मलाई निकै उत्सुकता भइरहेको थियो तर सोधिहाल्ने धृष्टता भने गर्न सकिनँ । उनी बियरसँगै अन्य खानका परिकारहरू खान थालिन् ।

‘तिमी काठमाडौँमा कहाँ बस्छ्यौ ?’ अनायासै मेरो प्रश्न फुत्कियो । मैले नसोध्नुपर्ने नितान्त निजी मामला थियो यो ।

उनले मुस्कुराउँदै भनिन् – ‘मेरो मोबाइल बसाइ छ । अर्थात् म पहाडबाट झरेको पत्थरजस्तै हुँ । जता पनि रोकिन सक्छु ।’

‘अनि तिमी त त्यस्तो जेहेन्दार विद्यार्थी थियौ । फेरि धूम्रपान र मद्यपानको निकै कडा विरोधी पनि । आज त तिमी निकै रिल्याक्स भएर पिइरहेकी छ्यौ । आजको तिम्रो व्यवहार देखेर मलाई आश्चर्य लागिरहेको छ ।’ मैले भनेँ । हुन त विद्यार्थीकालमा कुनै शीर्षकमा धाराप्रवाह बोल्नु र वास्तविक जीवनबीचमा आकाश जमिनको फरक छ भन्ने कुरा मैले नजानेको हैन ।

‘हो, अनिमेष ।’ उनले लामो सुस्केरा हाल्दै भनिन् । ‘कुनै समय म निकै जेहेन्दार थिएँ । लाग्थ्यो मिहिनेत गरेर धेरै पढेर एक दिन ठुलो मान्छे हुन्छु र बा आमाका सारा दुःख हरण गर्नेछु ।’

उनी गहभरि आँसु पारेर एकटकले कुनातिर हेरिरहिन्, केही बेर ।

बियरको एक चुस्कीसँगै उनले फेरि सुरु गरिन् – ‘बाबा निकै दुःख पाएर बित्नुभो । त्यति बेला म भर्खर कक्षा बाह्रको परीक्षा दिएर बसेकी थिएँ । बाबा बिते पछिका दुःखका दिनको त म कल्पना पनि गर्न सक्दिनँ । म निकै उकुसमुकुसमा थिएँ । आमाको काखमा गहबाट बलिन्द्र अश्रु धारा छुटाएर रुन चाहन्थेँ तर म नै त्यसो गर्न थाले आमाको के हालत हुन्छ जस्तो लाग्थ्यो र आफूलाई सम्हाल्थेँ । समय क्रममा एक जना मामा पर्ने व्यक्तिले भान्जीलाई सहरमा राम्रो काम लगाइदिन्छु भनेर आमालाई फकाएछ । मैले आमालाई सम्झन कोसिस गरेँ – ‘दुःखसुख सँगै काटौँला, म सहर जान्न भनेर । तर आमाले सारै जिद्दी गरेपछि त्यो व्यक्ति र म सहर जान भनेर हिँड्यौँ ।’

उनी फेरी रोकिइन् । मैले उनलाई एकटक हेरि मात्र रहेँ ।

उनको गिलासमा बियर सकिएको थियो । मैले पुनः भरिदिएँ । उनले एकै पटक उक्त गिलासको बियर रित्याइन् र फेरि सुरु गरिन् ।

‘घरबाट झन्डै दुई घण्टा पैदल हिँडेपछि हामीले गाडी चढ्यौँ र करिब पाँच घण्टको यात्रापश्चात् हामी जिल्ला सदरमुकाम पुग्यौँ । उसले मलाई एउटा होटेलमा पुर्‍यायो र आज यहीँ रात काट्नुपर्छ भन्यो । मलाई भित्रभित्र डर लाग्न थालेको थियो कतै मलाई यसले अप्ठ्यारोमा पो पार्छ कि ! तर उसले मलाई त्यहाँ छोडेर हिँड्यो । मैले खाना खाइसकेको थिएँ पुनः ऊ आयो र राम्रोसँग आराम गर भोलि बिहान चाँडै काठमाडौँ जानुपर्छ भन्यो । पहिले मैले कहिल्यै काठमाडौँमा पाइला हालेको थिइनँ । हुन त मलाई काठमाडौँ जानुपर्ने बाध्यता पनि के नै पो थियो र ?’

‘अनि के भयो त ?’ मैले उत्सुकता देखाएँ ।

काठमाडौँ आइसकेपछि मलाई बसपार्क नजिकैको एउटा लजमा राख्यो र ऊ कतै निस्कियो । मान्छे नै मान्छे भएको यो सहर मलाई भने अनकन्टार र निर्जन लाग्यो । कति धेरै घर ! कति धेरै सवारीसाधन ! मैले बाहिर निस्किने आँटसम्म गरिनँ । साँझमा ऊ आयो । रक्सीको गन्ध ह्वास्स आयो । मलाई ऊप्रति निकै घृणा लाग्यो तर केही भनिनँ । भोलिपल्ट बिहानै काँकडभिट्टा जानुपर्ने ‘फरमान’ जारी गरेर ऊ पुनः निस्कियो । मैले नसोचेको ‘सहर’को बारेमा कुरा गरेको थियो उसले । मलाई रातभरि छटपटी भयो । कतिखेर निदाएछु, बिहानै गाडीको कोलाहलले ब्युँझिएँ ।

हामी होटेलबाट निस्कियौँ । बसपार्कमा हामीलाई कुरिरहेको रहेछ, बसले। हामी काँकडभिट्टा हुँदै भारततिर जाँदै थियौँ । काँकडभिट्टामा खाना खान होटेलमा पस्यौँ । खाना खाने क्रममा उसले मलाई बाटोमा कसैले सोधेमा हामी दाजु बहिनी हौँ भनेर भन्नु है, भन्यो । मैले स्वीकारोक्ति सूचक टाउको मात्र हल्लाएँ ।

उसले भनेझैँ सिमानामा हामीलाई रोकेर सोधियो, सायद माइती नेपालका मानिसहरू थिए ती । निकै लामो केरकार र भारत जानुको प्रयोजन आदि सोधपुछपश्चात् हामीलाई छोडिदिए । दुई दिन लगातार रेलको यात्रापश्चात् साँझ निकै छिप्पिइसकेपछि हामी बम्बई पुग्यौँ र एउटा होटेलमा बास बस्यौँ । भोलिपल्ट ढिलो गरी म ब्युँझिएँ । निकै बेर ओच्छ्यानमै ढलिरहेँ । कसैले ढोका ढकढक्यायो । खाना खाने बेलामा थाहा भयो म त कोठीमा बेचिएको रहेछु ।

“त्यसपछिका ती कालरात्रिहरूको तिम्रो अघि वर्णन गरेर साध्य छैन, अनिमेष ।” उनले भनिन् । उनको आँखा रसाइरहेका थिए ।

पुनः बियरको एक चुस्की लिएर उनी भन्न थालिन् – “त्यो नर्कमा मेरा जवानीका दुई वर्ष बिते । हरेक दिन हामी त्यहाँबाट कसरी उम्किने भनेर योजना बनाउँथ्यौँ । तर मालिक्नीका अघि परेपछि हाम्रो सातो जान्थ्यो ।”

एक दिन अचानक प्रहरीले हाम्रो कोठीमा छापा मार्‍यो । मलगायत सात जना नेपाली चेलीहरूको उद्धार गरियो । चेलीबेटी नेपाल भन्ने संस्थाको समन्वयमा हामी त्यो नर्कबाट बाहिर आउन सफल भएका रहेछौँ । नेपाल आउने बित्तिकै घरमा फोन गरेर मेरा कुरा सविस्तार बताएँ र घर आउन चाहेको कुरा गरेँ ।  फोनको आशामा बसेकी म घरबाट फोन नआउँदा निकै आत्तिएँ ।  छोरी भेट्ने मन हुँदाहुँदै समाजको डरले आमाले मलाई फोन गर्ने आँट गर्न सक्नुभएनछ । सोचेँ – सुखमा मात्र परिवार, आफन्त र इष्टमित्र चाहिने हो भने मलाई पनि ती सबै चाहिएन । मन दह्रो बनाएँ ।

तर अनिमेष, दुर्भाग्य नै भनौँ म अभागीको पेटमा कुनचाहिँ पापीको नासो बढ्न थालिसकेको रहेछ । म बसेको संस्थाका दिदीहरूले गर्भलाई फ्याँक्न सुझाउनुभएको थियो । तर मैले मानिनँ । अहँ, म यसलाई जन्म दिन्छु र ‘कुमारी आमा’ बन्छु भन्ने निर्णय गरेँ । गल्ती गरेँ या सही थाहा छैन। जीवनबाट हार खाइसकेको मान्छेलाई के नै थाहा हुन्छ र, हैन ? ”

गफागफमै उनले पाँच वर्षको छोरो भएको कुरा बताइन् । मैले केही सहयोग गर्न सक्छु कि भनेर सोधेँ । उनले त्यसलाई इन्कार गरिन् र भनिन् – “अनिमेष, म जीवनको गोरेटोमा जे जस्तो आइपर्छ सहने बानी परिसक्यो । परिवार, समाज, साथीभाइभन्दा पर पनि संसार छ भन्ने कुरामा म विश्वास गर्छु । तिमीले सहयोग गर्ने पनि कुनै दिन आउन सक्छ । त्यतिखेर ‘नाइँ’ भन्न पाउन्नौ नि ।”

मैले स्वीकारोक्तिमा टाउको हल्लाएँ मात्र । सोचेँ – कति निश्चिन्त भएर बोल्न सकेकी होली !

त्यो दिन निकै ढिला गरी हामी छुट्टियौँ । छुटिने बेलामा पुनः भेट्ने प्रस्ताव उनैले राखिन् ।

===

निकै दिन भयो, अनन्यासँग  नभेटेको ।  दुई महिना बितिसकेछ उसले आफ्नो जीवन कथा खुलाएको पनि। उसैको बारेमा सोच्दै थिएँ । अचानक मेलको नाेटिफिकसनमा एउटा मेल आयो अनन्याबाट । उसले जीवनको यात्रालाई पूर्णविराम दिने सोच बनाइछन् ।

मेल पढिसक्दा मेरा हात-गोडा गलेर आए । मुटुको धड्कन कानसम्म आइपुग्यो । जीउ थरर कामेर आयो । मोबाइल निकालेर उनको फोन नम्बरमा डायल गरेँ, फोन ‘स्वीच् अफ’ रहेछ । सम्झाउन अफिसबाट निस्केर हतार हतार उनको ठेगानामा पुगेँ । उनी अर्ध चेत अवस्थामा रहिछन् । छेउमा विषको डिब्बा लडिरहेको थियो । नाडी छामिहेरेँ, हल्का चलिरहेको रहेछ । निकै प्रयास गरेपछि उनले एक पटक आँखा खोलिन् र भनिन् – “तिमीले मेरो छोरालाई असल बाटो देखाइदिनू । मैले केही पैसा बेंकमा राखेकी छु, उसको लागि भनेर । त्यसपछि उनी ब्रह्म लीन भइन्। लाग्यो – जाँदाजाँदै उनले नासो छोडेर गइन् ।”