 
			
			
			
			
			
			
लामो समयदेखि वातावरणीय सरसफाई र जनचेतनामूलक अभियानमा स्वस्फूर्त रूपमा लागिपरेकी साहसिक महिला हुन् आशिका तामाङ । उनी सर्वसाधारणको मनमा बस्न सफल छिन् । विकृति फैलाउने र जताततै फोहोर गर्नेहरूका लागि उनको नामै काफी छ । उनले एक अन्तर्वार्तामा भनेकी थिइन् – शुरुवातमा उनी धेरै नरम बोल्थिन् तर उनलाई कसैले सुन्दैनथे, उल्टै थर्काउँथे । त्यसपछि उनी समयसँगै अलि कडा रूपमा प्रस्तुत हुनथालिन्, र धेरैले सुन्न थाले ।
उनको बाल्यकाल कमजोर आर्थिक अवस्थाका कारण निकै संर्घषमय बन्यो । जे भए पनि उनले आफ्नो शिक्षालाई भने बुवाको सहयोगमा निरन्तरता दिइरहिन् । यसैक्रममा उनले उच्च शिक्षाका लागि जर्मन जाने मौका पाइन्, त्यतिबेला उनको सपना चलचित्रको एक चर्चित नायिका बन्ने थियो ।
समय बित्दै गयो । जर्मनीमै उनले जीवनका महत्त्वपूर्ण निर्णयमा साथ दिने जीवनसाथी पाइन् । दुई सन्तानकी आमा पनि बनिन् । यसरी जीवन भोग्ने क्रममा उनले आफ्नो जीवनको लक्ष्य, मातृभूमि र दुःखीहरूको निस्वार्थ सेवा नै हो भन्ने जब थाहा पाइन्, तब उनी साना छोराछोरीलाई आफूसँगै लिएर नेपाल फर्किइन् । यो कुरा थाहा हुनेले शायद उनलाई हासीमजाक र सामाजिक सन्जालमा ट्रोल बनाउने थिएनन् होला ।
उनी पहिलेदेखि नै नेपालमा वातावरणीय सचेतनामूलक कार्यक्रम लिएर आउने जाने गरिरहन्थिन् । मैले व्यक्तिगत रूपमा उनको क्रियाकलाप नजिकबाट नियाल्ने गर्थेँ । तर कसैले उनको कुरालाई टेरपुच्छार नलगाए पनि आफ्नो अभियान भने जारी राखिन् । अभियानमा लाग्ने खर्च सबै आफैँ जुटाउँदै काठमाण्डौँको विभिन्न सार्वजनिक स्थलमा फोहोर फाल्नका लागि नेपाली डोकोको व्यवस्था गरिदिन् । चेतनाको कमीका कारण मानिसहरू उनलाई ‘पागल आइमाई’ भन्दै आलोचना गर्थे ।
उनी साँच्चै पागल हुन् । जर्मनमा विश्वकै सुन्दर स्विट्जरल्याण्डको सिमानामा पर्ने चिटिक्क परेको घरमा उनी बस्थिन्, मोटर बाइक चलाउन सौखिन, उनको छोराछोरीको शिक्षा, स्थास्थ्य उतै सुरक्षित थिए, जीवन सहज थियो, कुनै चिन्ता थिएन । तर उनको मन सधैँ एउटै कुराले खाइरहन्थ्यो, त्यो थियो मर्नुभन्दा अघि आफ्नो देशमै केही गर्ने । त्यसैले उनी सबै सुखसुविधा त्यागेर जीवनको अस्तित्व खोज्दै नेपाल फर्किन् । आनन्दले विकसित देशमा बसिरहेका सबैले यस्तो आँट त्यति सजिलै गर्न सक्दैनन् । कुनै व्यक्तिगत स्वार्थ नराखी समाजसेवा गर्न र आफ्नो देशमा विद्यमान बेतिथि, विसंगति अनि भ्रष्टाचारविरुद्धका अभियानमा देशव्यापी रूपमा खबरदारी गरिरहने उनी एक हुन् । फलस्वरुप अहिले धेरै परिवर्तन देख्न सकिन्छ ।
निरन्तर कुशासन, भ्रष्टाचार, रोजगारीको अभाव, सामाजिक विकृति, महंगी र स्वार्थी राजनितिक दलहरूले गरेको शक्तिको दुरुपयोग साथै समग्र सामाजिक सन्जाल प्लाटफर्ममा लगाइएको प्रतिबन्धका कारण निराश र आक्रोसित युवाहरू (जेन्जी , सेप्टेम्बर ८) ले गरेको एक महत्त्वपूर्ण ऐतिहासिक आन्दोलनमा उनको उत्कृष्ट भूमिका देखिएको छ । उनले यस आन्दोलनमा शुरुवातदेखि नै युवा भाइबहिनीहरूसँगै शान्तिपूर्वक भाग लिइन् । सडकमा उत्रिएर युवाहरूका बीचमा ‘क्विन् बी’ जस्तै बनेर आवाज उठाइरहिन् । धेरैजसो हामीचाँहि घरमै बसेर सामाजिक सन्जालमार्फत क्रान्ति हेरिरहेका थियौँ ।
आन्दोलन शान्तिपूर्ण थियो, सबै भाइबहिनीहरू उनीसँगै थिए तर अचानक सरकारले निर्दयी र निरङ्कुश तरिकाले निर्दोष सहभागीको टाउको र छातीमा गोली बर्साउने आदेश दियो । हत्यारा सरकारका प्रमुख भनाउँदाहरूले अदूरदर्शिता र कुर्सीलोभको हद नाघेर कल्पनाभन्दा बाहिरको घटना घटाए । जहाँ विविध जाति, वर्ग र समुदायका ७४ जना साना बालबालिकादेखि वयस्क आन्दोलनका सहभागी र प्रहरीले अनाहकमा ज्यान गुमाउनुपर्यो । अन्य कति अपाङ्ग र घाइते बन्न पुगे । आशिका दिदीले पनि त्यसपछि फोनमार्फत धम्की खेपिन्, तैपनि चुप लागेर बसिनन् । बरु ती शहीदहरूको बलिदानले प्राप्त यो परिवर्तनलाई सही तरिकाले अघि बढाउन खबरदारी गरिरहिन् । घाइतेहरूको घाउमा मलम लगाइरहिन् । उनी आफैँ अस्पताल अनि घाइतेहरूको घरघरै पुगेर सहयोग गरिरहिन् ।
नयाँ सरकार गठन गर्नमा सबैको ध्यान केन्द्रित भइरहेको बेला उनी मात्र एक थिइन् जसले आफ्नो व्यक्तिगत फाइदाभन्दा माथि रहेर घाइतेहरूको सेवा गरिरहिन् । ‘जहाँ पुग्दैन विधि, त्यहाँ पुग्छिन् आशिका दिदी’ भन्ने उक्तिलाई चरितार्थ पार्दै आफूले सक्ने सहयोग गरिरहिन् । उनीमा कुनै बनावटीपन छैन, उनको मनमा जे छ बोलीमा पनि त्यही छ । उनी एक खुल्ला किताब र अर्ग्यानिक व्यक्तित्व हुन् । जसले मुखमा मुस्कान, सत्कर्म, दान र निःस्वार्थ सहयोगले नै यो जन्ममा र मृत्युपश्चात् पनि अभौतिक रूपमा जीवित रहन सकिन्छ भन्ने सत्य बुझेकी छिन् । कुकर्म, कुनियत, स्वार्थ, ईर्ष्या, घमण्ड, लोभ जस्ता मानसिक विकृतिले कुशासन, अत्याचार, क्रूरता र भ्रष्टाचार मौलाउँछ । त्यसले कसैलाई फाइदा गर्दैन । अन्त्यमा त्यसको कस्तो नतिजा हुन्छ, अहिले दलका नेताहरूको हालतबाट छर्लङ्गै भएको छ । आफ्नो असक्षमता र कमजोरी लुकाउन अनि निहित स्वार्थ पूरा नहुँदा अरुको अपमान र चरित्र हत्या गर्ने, असफल बनाउन षडयन्त्रको राजनिति गर्नुभन्दा हामी सबैले आत्मसमीक्षा र आत्मबोध गर्न जरुरी देखिन्छ, जसबाट सफल र सन्तुष्ट जीवनको बाटो खुल्नेछ । यो छोटो र मरणशील जीवनमा हामीले बाँचिन्जेल गरेका सत्कर्मबाट हाम्रो राष्ट्र, समाज र भावी सन्ततिले शिर ठाडो गर्न सकून् भन्ने कुरा सामाजिक अभियन्ता आशिका तामाङ्गबाट सिक्न सकिन्छ ।
उनले कहिल्यै पनि जातजाति, धर्म, समुदाय, लिङ्ग र वर्गको आधारमा कसैलाई विभेद गरेको पाइँदैन । ‘म, मेरो र म जस्तै मात्र’ स्वीकार्य हुने नभए बहिष्कार भन्ने अवगुण उनमा देखिँदैन । उनी दिनरात दुःखीहरूको सेवामा रमाइरहन्छिन् । कस्तो रुखो बोली भनी आलोचना गर्नेहरूलाई पनि उनी सहयोग गर्न पछि हड्दिनन् ।
बौद्ध परिवारमा जन्मिएकी आशिका शुद्ध शाहाकारी हुन् । उनी हत्या, हिंसा मन पराउँदिनन् । कसैमाथि परेको अन्याय पटक्कै सहन सक्दिनन् । त्यसैले उनी एक दयालु र आवाजविहीनहरूको आवाज अनि सबैकी दिदी या भनौँ मानवताकी दिदी बनेकी छिन् । उनमा सकारात्मक सोच, साहस, सहयोगी भावना र उदारता जस्ता सद्गुणहरू छन् ।
अन्त्यमा, उनको सबै महान् कामहरूलाई उच्च सम्मान छ । यसरी नै उनले जेन्जी शहीदहरूका सपना साकार गर्न, उनीहरूको हत्यारालाई सजाय दिलाउन र भ्रष्टाचार, कुशासन अनि अन्याय विरुद्ध अथक रूपमा खबरदारी गरिरहुन् । सुन्दर र शान्त नेपाल बनाउन सम्पूर्ण नेपालीहरूको उनलाई साथ मिलोस्, यही शुभकामना छ सबैको मनमा बस्न सफल मानवताकी दिदी ‘सिस्टर अफ ह्युमानिटी’ आशिका तामाङ्गलाई ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
 
					 
				 १४ कार्तिक २०८२, शुक्रबार
  
				१४ कार्तिक २०८२, शुक्रबार				

 




 
																	 
																	 
																	 
																	 
																	

