देवता हौ तिमी, यो भ्रम होइन, सत्य हो,
म सधैं राख्छु उच्चस्थानमा तिमीलाई,
तिमी जीवित छौ र म बाँच्न पाएको छु यहाँ,
तिम्रो अस्तित्वले नै गरेको छ सुनिश्चित, मेरो अस्तित्वलाई

कुनै काल्पनिक कथा होइनौ तिमी,
न म नै हुँ, एक काल्पनिक पात्र,
सृष्टिको शुरुवातदेखि नै दृष्यात्मक, महसुसयोग्य,
अनि स्पर्शपरक तिमी, र म तिम्रै सन्तति

तर तिम्रै छातीमाथि टेकेर यहाँ,
घमण्ड, आक्रोश, ईर्ष्या, अनि,
स्वार्थ र लोभमा अल्मलिएर,
किन आ–आफैँ लडिरहेका छन् मानिसहरू

तिम्रै कोमल शरीरमा अहंकारको परेड खेल्दै,
तिमीलाई नै टुक्रा टुक्रा पार्दै,
काटेर बराबर भाग लगाउन,
तछाडमछाड गरिरहेछन्

तिम्रो शरीरको ठूलो अंश पाउनेहरू,
उदण्ड मच्चाइरहेछन्, अझै नपुगेर,
सानो भागका निर्बल र कमजोरहरू,
आफ्नो अस्तित्व जोगाउन संघर्ष गरिरहेछन्

को उत्कृष्ट बन्ने होडबाजीमा,
तिम्रै शरीरमाथि बारुदगोला र बम बर्षाइरहेछन्,
विकासको नाममा तिमीलाई निर्वस्त्र बनाई,
गगनचुम्बी महलहरू ठड्याइरहेछन्

तिम्रो शरीरमा बग्ने नसानसामा,
विष घोलिरहेछन् ,
तिमीले लिने हरेक स्वासमा,
प्रदुसित ग्यास मिसाइरहेछन्

आफ्नै मनमर्जी र आफ्नै पक्षमा,
गर्दछन् फेरबदल नीतिनियम र कानुनको,
तर मलाई भने चिन्ता, कायम राख्न,
अनन्तसम्म तिम्रो साथ र शितलताको

म मनमनै महसुस गर्न खोज्छु तिम्रो रोदन र पीँडाहरू,
तर तिम्रै छातीमाथि उभिएर अहंकारीको तमासा,
एकोहोरो हेर्न बाहेक सकेको छैन गर्न केही, चाहेर पनि,
म अनि मेरा यी खाली हातहरूले

प्रार्थना गर्ने गर्छु म सधैं,
लोभीहरूको पासोबाट तिम्रो सुरक्षा र उन्मुक्तिको लागि,
तिमी घाम, जल, जमिन, जंगल, पवन अनि आकाश हौ,
त्यसैले तिमी हौ मेरो अध्यात्म अनि देवता

गर्थे पूजा तिमीलाई युगौँदेखि मेरा पुर्खाहरूले,
आमाझैं मानी गर्थे माया र सम्मान,
थियौ सर्वस्व तिमी उनीहरूको लागि,
एक असल साथी र एक जीवन जिउने शैली

तिम्रो र मेरो नाता रहिरहोस् अनन्तसम्म पनि,
पर्वाह छैन कठ्याँग्रिदो चिसो, वर्षा अनि बाडीको,
हुरीबतास र आकाशलाई चिर्ने गडगडाहटपूर्ण चट्याङ्गको,
विश्वास छ मलाई, हरेक चिसो रात पछि न्यानो बिहानी आउनेछ

कालो बादलको गड्गडाहटपछि भारी वर्षात्,
उज्यालोको उत्कर्षमा आकाश र धर्ती,
यो नै एक सत्य हो,
एक अपरिवर्तनशील नियम हो प्रकृतिको

म खुशी छु यसैमा, देखाई प्रलोभन भौतिक साधनको,
नआऊ बिथोल्न मलाई कोही, मारेर पृथ्वी एक आमालाई,
सक्दैन होला कसैले, रातलाई दिन बनाउन,
बरु बन्न सक्छ दिन नै रात, संवेदनाहीन आधुनिकता र प्रविधिको दुरुपयोगले

जीवनविहीन हुन के बेर विश्व ब्रमाण्ड अन्तत,
को पहिलो हुने होडबाजीमा,
अनि एकअर्का बीचको हमलामा,
र लोभले निम्त्याएको विनाशमा

म भने सधैं जिउनेछु तिमीसँगै,
जिउने बानी छ मेरो तिम्रो साथमा,
तिम्रो र मेरोबीचको सम्बन्धको सत्य, अविनाशी र अविरल,
जस्मा निश्चलता र शुद्धताको आभास मिल्नेछ

म हाँस्छु अनि रुन्छु तिमीसँगै,
भनून् जेसुकै, अविकसित ओडारबासी,
वा अनौठो प्राणी, तर म रमाउँछु त्यसैमा,
अँगाल्छु अनि सम्हाल्छु तिमीलाई

तिमीबाटै बनेको छ यो मेरो शरीर,
यो जीवनको शुरुवात र अन्त्य हुनेछ तिमीसँगै,
विलिन हुनेछ यो शरीर तिमीमा,
बन्नेछ त्यो नै अमूल्य क्षण मेरो जीवनको

तिमी मेरो एक पहिचान,
उदार प्रकृति अनि सस्ंकृति,
तिमी मेरो आस्था र जीविका,
अनि म तिम्रो एक प्रशंसक

मिल्नेछ यो आत्मा अदृश्य रुपमा तिमीमा,
अन्तत परिनिर्वाण प्राप्त गर्नेछु तिमीसँगै,
तिमी मेरो आमा, अत्यन्त निकटतम् साथी,
अनि एक अभिन्न जीवनशैली, मोक्ष पाउनेछु तिम्रै काखमा ।

(नेपाल लगायत अन्य विभिन्न स्थानहरूमा प्रकृतिसँग एकदमै नजिक रहेर बाँचिरहेका प्राचिन लोपोन्मुख समुदायको प्रकृतिसगँको निकटता, संघर्ष, आस्था र प्रेम साथै विकासका नाममा भैरहेको असंवेदनशील क्रियाकलापहरूसँग सम्बन्धित ।)