
म जहाँ गए पनि एक्लो महसुस गर्छु । कतै कसैले फलाकेको आदर्शको गन्ध मिश्रित वाणी सम्झेर आफैँलाई ठम्याउने कोशिश गर्छु ।
मानिसले घेरिएको भीडमा गएर हेर्छु । आफ्नै परिवारमा बसेर म एक्लो होइन भन्ने कुरा साबित गर्ने प्रयास गर्छु । एकान्तमा एक्लै बसेर बुझ्ने प्रयास गर्छु, तर बदलामा केही पाउँदिनँ । र, सोच्छु – के म एक्लो हुँ ?
एक्लो के हो ? कसरी हुन्छ ? – एक्लो भन्नेबित्तिकै एकलकाँटे बुझ्दा रहेछ मान्छेहरू ? । म पनि त्यहीँ बुझ्छु जो मान्छेहरूले बुझ्ने गर्दछ्न् । मभित्र मौलाएको जिज्ञासालाई थेक्न सक्दिनँ म । मलाई “म” हेर्न मन लाग्छ । मलाई “म” चिन्न मन लाग्छ । म एक्लो हुँ या होइन ? – आमालाई सोध्न मन लाग्छ ।
आमा हुँदिनन् सोच्नेबित्तिकै साथमा । आफ्ना लागि आफैँले गरेको उटपट्याङ्ग प्रश्नको उत्तर खोज्न आफू ठूलो ऎनाअगाडि उभ्याउँछु । मुटुको स्पन्दन र मस्तिष्कलाई भावनाको विशाल लबीमा राखेर मिटिङ गर्छु । क्रमशः एक्लो मान्छेलाई नियन्त्रणमा राखेर सञ्चालन गर्ने शरीरमा अवस्थित अंग-अंगका बारेमा चिन्तन गर्छु ।
जब म ऎनाको सामीप्यमा पुगि आफैँभित्र हराएँ । नियालेँ – मलाई ऎनासम्म जाऊँ भन्नी आदेश दिने चेतना, त्यहाँसम्म पुग्न सहयोग गरेका दुई खुट्टा, बाटो हेर्न साथ दिने दुई नयन, ऎनालाई भित्तामा झुन्ड्याउन साथ दिएका दुई हात, मभित्र रहेका अनेक अंगहरू, दुई सय छवटा हड्डीका टुक्रा मिलेर बनेको सग्लो शरीर । यति धेरै कुराहरू मिलेर बनेको म कसरी एक्लो भएँ ? एकाएक मभित्र ढाई सय भोल्टको करेन्ट खसेको आभास भयो – म कसरी भएँ एक्लो ?
अहँ, म एक्लो होइन । म एक्लो छैन । मलाई “म” बनाउन यत्ति धेरै कुराहरू एकसाथ छन् । हुनसक्छु म गलत । मेरो भावनाको ठम्याइ गलत छ । बाहिरी दुनियाँले देख्दा म एक्लो नै हुँ, तर एक्लो मलाई सयौंको भीडले नभएर मभित्र रहेका अनेक अंगहरूले नियन्त्रणमा राखेका छन् । सग्लो म बन्न यति धेरै विशिष्ट अंगहरू मसँगै छन् । म कसरी एक्लै भएँ ?
मन र मस्तिष्कको अन्तर्द्वन्द्वले मेरो चैतन्य कमजोर भएको छ । मेरो तन्नेरी हटले दैनिकी बिग्रँदै गइरहेको छ । यी कुराको जानकारी ऎनाअगाडि उभिएको मेरो आकृतिले जनाउँदैछ । कतै म आफैँलाई उल्लू बनाएउँदै त छैन ? आफैँले गरेको स्वघोषित निर्णय सही हो कि गलत ? आफैँ निर्णयविरुद्ध जाने मनले प्रेरित गर्छ, तर मस्तिष्क मान्दैन । मन भन्छ – तिमी एक्लो छौ । मस्तिष्क भन्छ – तिमी एक्लो छैनौ । कसको पक्षपोषण गरौं ? द्विविधामा फसेको छु । भावनामा फुरेको सहज प्रश्नले मलाई अफ्ठ्यारोमा पारेको छ । मलाई थाहा छ, यो कुनै ठूलो प्रश्न होइन जो लोकसेवाको परीक्षामा सोधियोस् ।
यो कस्तो उल्झन ? बिना कारण उल्झिरहेको छु, तर उल्झन ठम्याउन सकेको छैन । फाल्तुका प्रश्नको बेकामे उत्तर खोज्दा-खोज्दै सकिन्छ होला जिन्दगी । जिन्दगी यस्तै पो हो कि क्या हो ?
…
एक साँझ, शनिबार । हाँडीगाउँमा रहेको डेराबाट चाबाहिलसम्म जाने योजना बन्यो । गणेश मन्दिरमा साँझको आरती चल्दै थियो । मीठो धूपबत्तीको सुगन्ध, आरतीमा गुन्जेको मीठो भजन । मन त्यसै पुलकित भयो । एक्लो हुँ भनेर हिँडेको ‘म’ सयौंको भीडमा मिस्सियो । म एक्लो छैन जस्तो लाग्यो । मनको हार भयो, मस्तिष्कको जित । मस्तिष्क खुशीले ठूलो आवाजमा चिच्यायो – मैले त पहिले नै भनेको तिमी एक्लो हुँदै होइनै भनेर तर तिमीले मनको कुरा सुनेर मेरो कुरा मानेनौं ।
म चुपचाप अनुभूति सँगालेर बसिरहेँ ।
मन्दिरको मांगलिक वातावरणले चाबाहिलसम्मको यात्रालाई बढाएर पशुपतिनाथसम्म पुग्ने निर्णय गरायो । केहीबेरको हिँडाइपछि पशुपति पुगेँ । मलाई धेरै मन पर्ने ठाउँ पशुपति अनि सँगै अवस्थित आर्यघाट । आर्यघाटले कहिल्यै कसैलाई विभेद गरेको देखेको छुइनँ । जो जस्तोसुकै हैसियतको भए पनि समान र समावेशी व्यवहार गरेको पाएको छु ।
म आफ्नै निजी मनगणन्ते प्रश्नको उत्तर खोज्दै पुगेको थिएँ पशुपति जुन प्रश्नको उत्तर अपरिहार्य थिएन । मनमनै दर्शन गरे भोलेनाथको । श्रद्धालुहरूको भीडमा हराउँदै टहलिए केहीबेर । बागमतीले आफ्नो धर्म भुलेको थिएन, बग्दै थियो शहरको दुर्गन्धित रहरहरू बगाउँदै । खोलाछेउमा रहेका चिताहरू प्रायः खालि थिए । एउटामा चाहिँ एक भूतपूर्व जिन्दगी जल्दै थियो । मनमनै श्रद्धाञ्जली अर्पण गरेँ मृत आत्माप्रति । जिउँदो जिन्दगीले मरेको जीवनलाई नदेखेको स्वर्गमा पुग्ने शान्तिको कामना गर्नु राम्रै होला !
पाइला अगाडि लम्की रहे, तर मेरो पुग्नुनै पर्ने कुनै गन्तव्य थिएन । पशुपतिनाथ मन्दिर पारि रहेको एउटा बास बस्न लागेको बेन्चमा गएर बसेँ – मन्दिर, मूर्ति, यताउती गर्दै गरेको मान्छेहरूको चहलपहलको दृश्यपान गर्दै । सन्ध्याकालीन आरतीको मीठो धून, घन्टी, शंख र डमरुको मीठो आवाजले मनमा एक प्रकारको शान्ति विस्तारित हुँदै गयो । वरिपरि कोही थिएन – एक्लो म अनि सिङ्गो बेन्च । छेउमै बूढा भएको रुखहरू । मनमा एक प्रकारको उर्जा भरिएर आयो – आस्थाका देव महादेवको प्रांगणमा पुगेर होला । तथापि मनभित्रको कौतुहल साम्य भएको थिएन अझै ।
साँझ छिप्पियो, र रातमा परिणत भयो । एक्कासि मेरो कानमा यम्बुलेन्सको आवाज ठोक्किन आइपुग्यो । आवाज झन्-झन् नजिक भएको आभास हुँदै थियो । मनमनै भनेँ – यति राति अस्पतालको बाटोमा हुनुपर्ने यम्बुलेन्स किन आर्यघाटमा ? मेरो जिज्ञासा केही मिनेटमै हल भयो । शव वहानको साट्टा यम्बुलेन्सले नै एउटा शव लिएर आएको रहेछ । शवका आफ्नाहरू शवलाई निमेषमै निकाले । शवलाई ब्रम्हनालसम्म पुर्याए, र पालै-पालो पानी चढाए । केही पर शवका लागि चिता तयार हुँदै थियो । आफन्ताका अनुहारमा पीडा झल्केको थियो । कोहीँ रुँदै थिए । यावत् दृश्यलाई नजिकै गएर हेरिरहेको थिएँ म । फर्कनुपर्ने बेला भइसकेको थियो तर पनि छेउमा बसेर सबै सबै अवलोकन गरिरहेँ – एउटा जिन्दगीको अन्त्य हुँदै गरेको अवस्था । यसरी पहिले कहिल्यै नियालेर हेरेको थिइनँ एउटा जिन्दगीको अन्तिम संस्कार । हुन त म त्यो पार्थिवको आफ्नो मान्छे होइन, तर भावना भएको मान्छे पक्कै थिएँ । मान्छे हुनुको नाताले थोरै दुखेँ ।
सम्भवत रात धेरै भएकाले होला, एक जना पण्डितले छरितोसँग विधि पूरा गरे । बडेमानको पार्थिव शरीरलाई पाँच-सात जना मिलेर चितामा राखे । छोरा होला जसले मुखमा तेलमा भिजेको कपासको बत्ती ख्वायो । चारै सूरमा आगो लगायो, र बिस्तारै शवले आगो लिन थाल्यो ।
म अझै नजिक गएर हेरिरहेँ । जल्दै गरेको शवभित्र प्राण थिएन, कुनै मुढो जस्तै भएर जलिरह्यो । क्रमशः शरीरको एक एक अंगहरू आगोसँगै बले । नबल्दा सँगै हातमा घोचा लिएर बसेको घाटेले घ्यू थपी थपी जलाए ।
एकोहोरो भएर टोलाइरहँदा मनमा अनायासै फुरेको प्रश्न पुनः नजिक भयो – के म एक्लो हुँ ? हो जस्तै लाग्यो चितामा जलिरहेको त्यो जिन्दगी देख्दा । उनीसँग धेरै मान्छेहरू थिए । उनलाई बाँचुन्जेल मिल्यो होला साथ सबैको । आज उनको मृत्यु भयो, सँग सँगै जाने कोही थिएन, एक्लो थिए । नितान्त एक्लो । आउँदा एक्लै आएका थिए, जादाँ एक्लै जाँदैछन् । शून्यतामा विलीन हुँदै ।
रात निक्कै बितिसकेको थियो । जल्दै गरेको शव खरानीमा परिणत भयो । हेर्दाहेर्दै चिता पहिला जस्तो थियो उस्तै भयो । शवको अन्तिम यात्रामा उपस्थित मलामी फर्के । म पनि उनीहरूकै पछि-पछि लागेर बासस्थानतर्फ मोडिएँ । फर्कँदै गर्दा लाग्यो – मैले मेरो प्रश्नको उत्तर पाएँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

