सम्झी-सम्झी
बिर्सिएको अभिनयको अभियानमा
गाउँ जाने बाटो नभुले पनि
भुलेको भुलक्कड जस्तै बनेर
सहरको अपरिचित गल्लीहरूमा
हल्ली-हल्ली डुल्दै छु ।
कहिल्यै पूरा हुने वा नहुने
कोरा सपना हरूको स्क्रिप्ट कोर्दाकोर्दै
थाकेको छु

कयौँ दिनहरूको भोक भुलेर
काठमाडौँको इज्जत बनेर
बग्दै गरेको बागमतीको किनारमा उभिएर
सन्त नेता भट्टराईज्यूको सपना
मेलाम्ची सम्झेर
मेटाउँदै गरेको छु, तिर्खा पानीको
पश्चिम क्षितिजले घाम निल्नै आँटेको एक साँझ
म उम्रेको प्रिय गाउँबाट
मेरोजस्तै कोरा सपनाहरू देख्न
एक छिमल अल्लारे भाइहरू आए
मैसँग त्यो रात साथमा बसे
अनि मैले सोधेँ तिनीहरूलाई
कस्तो छ गाउँ ?
-अनि गाउँ जाने बाटो ?
भाइहरूले भन्दै थिए कि
दाइ तिमी गाउँमा छँदा भन्दा
धेरै फरक भएको छ
पहिलेका गोरेटा
कतै पैरोले पुरेको छ
कतै बनमारा र अरेली काँडाले छोपेको छ
कतै भौतिक विकासको विकल्प बनेका
डोजर आतङ्कले तहसनहस बनाएको छ

दाइ !
अब गाउँ जाने पहिलेको गोरेटो
स्मृतिमा बाँचिरहेको छ
सपनाहरूमा कुदिरहेका पाउने गरेको छु
उही शैशव कालको जिन्दगी बोकेर
गाउँ फर्कने बाटोको दुरी धेरै टाढा थिएन
तर, उत्साहित भएर खोजी गर्न आएको
नहराएका सपनाहरूको खोजीले
दुरी धेरै टाढा बनायो
भन्दै थिए भाइहरू‑
सुन्दै थिएँ म
मेरो गाउँ जाने बाटो
सुनसान भाको छ रे अचेल
मापदण्ड छलेर बनेका काँचा बाटाहरू
काँचा सपनाहरूसँगै
बर्खा मासमा पैरो बनेर बग्छ्न् रे
हिँउद लागेलगत्तै
बाटो शीर्षकमा पारित भएको बजेटको सदुपयोगमा
बन्छन् रे छ महिने बाटो पुनःनिर्माण
त्यही निर्माणाधीन बाटो हुँदै
गाउँ घरको सौर्न्दर्य
गाउँ घरको आवश्यकता
गाउँ घरको उज्यालो भोलिहरू
युवा अनि युवती निर्यात हुने गर्छन्
टाढा-टाढा सपनाहरू खोज्ने निहुँमा
आधारभूत सामग्री चाहिँ
सबै-सबै थोक आयात हुन्छन्
भाइहरूले भन्दै थिए
दाज्यु !
गाउँ अनि गाउँजाने बाटोमा
हिजोभन्दा आज
निक्कै फरक आएको छ ।
– – –
पाँचखाल-११,काभ्रेपलान्चोक
हाल: लिमासोल, साइप्रस