-प्रारब्धको झेली झेल
सँधियारको अकल्पनीय अनुपम सुन्दर उपहार
घोप्टिए बखतेको जिन्दगीमा
फेरि एक पटक
भए,चरितार्थ भाइ फुटे गवार लुटे उखानको
बिस्तारै-बिस्तारै बखतेको बलेसीसम्म
सँधियारको साँध सिमानाले ठेल्न आइपुगे
निरीह बखते
आफ्नैहरुको अपहेलित अपहेलनाको बने शिकार
पौठेजोरी गर्नुको साटो
सहनशिलताको आज्ञाकारी बनेर
छोडिदिए आफूभन्दा आफ्नै प्रिय घरवार
बोकेर सानो कुम्लो
घिसार्दै साथमा लिएर निस्के
एउटा पुरानो बेल्चा
        ०००००
बनाए बगर छेउको कुइनेटोलाई
नयाँ बस्ती
नयाँ बस्तीमा ठडयाए सुन्दर छाप्रो
बगरलाई छोडी बगेको खोलासँगै
बगाई पठाए अनेकन अपूरा सपनाका थुंगाहरू
पौरखको मझेरीमा
थुपारे थुप्रै पसिनाले भिजेका खोलाको गिट्टी र बालुवा
उनी बस्न नपाउने बनाउन महल
उनको पुकार बेवास्ता गर्ने देउताको बनाउन मन्दिर
बेचिरहे बेचिरहे-
सौदाबाजी गर्न जान्ने टाठ्ठो ठेकेदारलाई
चलाए गुजारा , बाँचे जिन्दगी
गरी बेवास्ता  निकट विफल विगतलाई
बखते
बोल्छन् नबोल्ने ढुंगा र ग्रेगरसँग
गीत गाउँछन् खोला र झर्नाको तालसुरसँग
नाच्ने गर्छन् मनमनै बनकै पंक्षी मयूरसँग
प्रेममा लिप्त हुने गर्छन्
आफ्नै प्रिय बेल्चासँग
                 ००००००
हिजो-अस्ति
बगरको ढुंगाजस्तै निक्कै तन्दुरुस्त बखते
समयको छिनाले छिया-छिया पारेको जीवनसँगै
छिया-छिया भएर पुरानो हुँदैछ
मन उस्तै रहे पनि तनमा भयभीत त्रासको मौनता भित्रदैछ
विफल सम्बन्धको धुमिल स्मृतिले
बेला-बेला जिस्काउन आइपुग्छ
अब-
बखतेसँग बिस्तारै बिर्सिदै जाने विस्मृति छ
भुल्न नसकिने आफन्तको नमीठो सम्झना बाँकी छ
उमेर सँगै थोत्रिदै गएको
पुरानो बगर छेउको साधारण घाम-पानी छेक्ने
पुरानो छाप्रो छ
ऊ बेलामा भक्कु बालुवा र गिट्टी थुपारेर
बनेका छाप्रोअगाडि खाली ठूलो
आकृति मात्रै बाँकी छ
उनीसँग बूढो शरीर छ
बिड फुक्लेको पुरानो एउटा
खिया लागेर स्वरुप बदलेको
प्रिय बेल्चा छ ।
                        पाँचखाल-११,काभ्रेपलान्चोक 
                         हाल- लिमासोल, साइप्रस