मध्यचैतको मध्यदिनमा मनमा मैलिएर बसेका तिम्रा यादहरूलाई बिदाइ गर्न मन भयो, अकस्मात् । ठिहियाउँदो हिउँदको चिसो जस्ता यादहरू मनमा चिसिइरहँदा चैतको गर्मीले सहन सकेन, र उकुसमुकुस हुन थाल्यो । यताउता, यसोउसो, जताजसो गरे पनि केही नभएपछि मेरो मनले अचानक सुझाएको उपाय थियो – तिम्रा यादहरूलाई बिदाइ दिने ।

बिदाइ त दिने, तर कसरी ? पण्डितलाई बोलाएर यादहरूको श्राद्द गर्नु पर्ने हो या यादको पन्चिङ ब्याग बनाएर आफैँ थकाइले चुरचुर नहुन्जेलसम्म भकुर्नु पर्ने हो ? कालो भालेसँगै लिएर कुनै मनोचिकित्सकलाई देखाउनु पर्ने हो या कुनै सरकारी निकायमा यादलाई बिदा गरिपाउँ भन्ने बारे भनेर निवेदन दिनु पर्ने हो ? केही पत्तो लगाउन सकिनँ ।

मनबाट यादहरूलाई बिदाइ गर्ने मन पहिले पनि नभएको होइन । यादहरूको धुलोलाई सडकमा बसेर समयको टायरमा टसाएर पनि पठाइदिएकै हुँ । तर ‘घुमी फिरी रुम्झाटार’ भनेझैँ तिम्रा यादहरू मेरो मनको भित्तामा आइपुगिहाल्थे । एकसाँझ यादहरूलाई  कुनै बूढाे रुखको सुकेको पातमा पनि राखिदिएँ । यो सोचेर कि सुकेको पात मिट्टीमा मिलिसकेपछि यसको इहलीला समाप्त भइजानेछ । तर त्यो त केही समयपछि झन् धेरै यादहरूका पात टुसाएर आफू जरासँगको प्रेमलीलामा अभिशप्त भयो । यस्ता कयौं असफलतापछि मैले यादहरूलाई धपाउने कोशिश गरेको थिइनँ । तर आज अचानक कुन निद्राबाट ब्युझिँए या कुन निद्रामा परेर म फेरि असफल कोशिश गर्न खोज्दै थिएँ ।

कयौँ मिनेटको टाउको दुखाइपछि यादहरूलाई सेलाएर  बिदाइ गर्न म नारायणी जाने भएँ । म नारायणी जानुको केही कारण थिएँ । एक त नेपालकै गहिरो नदीमा मेरो यादहरू उत्रेर आउलान् जस्तो लाग्दैनथ्यो । अर्को देवघाट नजिकै हुनाले मेरो पवित्र समर्पणको भावनालाई  यादले सम्मान गर्छ जस्तो लाग्यो । मुख्य कारण त मेरै बानी परिसकेको थियो नारायणी जानु । नारायणीको हावा खाँदै नदीको पानी हेरिराख्दा केही क्षण आफैँलाई बिर्से जस्तो हुन्थ्यो । हुन त यो कुरा सत्य नभएको मलाई ज्ञान थियो, तैपनि म चुपचाप नारायणीतिर हानिएँ ।

कुन्नि कुन एक समयमा हामी एकअर्कालाई बिदाइ गर्न आर्यघाट भेटिएका थियौँ । हामी कुनै क्याफेमा भेटिन सक्थ्यौँ, तीता कफी पिउँदै मीठा सम्बन्धको बिदा गर्न । नभए कुनै पार्कमा भेटिन सक्थ्यौँ, एउटै बेन्चमा पनि छोइएला कि झैँ गरी टाढिएर बस्न । तर खै हामीमा अन्तर्मनको कुन दार्शनिकत्व जाग्यो र सम्बन्धको मृत्युको अवसर पारेर घाटमा भेटिएका थियौँ । हुन त घाटमा भेट्नुको पनि हाम्रो आआफ्नै स्वार्थ या कारण लुकेको हुँदो हो । जस्तो कि तिमी आजदेखि मेरा लागि मरे सरह भयो, र मेरो जीवनमा निहीत तिम्रो अस्तित्व मेटाउन यहाँ आएको हुँ । आफूलाई शुद्ध पार्न यहाँ आएको हुँ । जस्तो कि सँगै मर्न चाहने हाम्रो उसबेलाको प्रेमिल रहर पूरा गर्न आएको छु । यस मानेमा कि सम्बन्धको मृत्यु हुनु भनेको ममा भएको तिमी र तिमीमा भएको म मर्नु हो ।

हामीले त्यो अन्तिम भेटमा हाम्रा भेटहरूमध्यकै सबैभन्दा कम संवाद गर्यौँ । बोल्न थालिसकेपछि हामी केही गरी पनि रोकिँदैनौँ भन्ने कुराको बोध दुवैलाई भएर पनि हुनुपर्छ । त्यसदिन नबोलेरै पनि एकअर्काको भाव सहजै बुझेका थियौँ । पशुपतिको गेटनिर पुगेर एक अर्कालाई हेर्यौँ र चुपचाप अघि बढ्यौं । म त जुत्ता खोल्नुको अल्छीले मन्दिर पस्न चाहेको थिइनँ, तिमी चाहिँ किन जान चाहेनौ ? जे होस् जसो होस्, हामीले एकअर्काले निर्णयमा आपत्ति जनाएनौँ । मनले सहमति नजनाउदाँ पनि ।

त्यसपश्चात् हामीले बाग्मतीमा फाल हानेका बालकहरू हेर्यौँ, जो सिक्का, औँठी समात्न नदीतिर दौडेका थिए । कयौं प्रयासपछि  बल्लबल्ल भेटाएको औँठी हातमा घुसार्दै मुस्कुराएको बालक देखेपछि हामीले एकअर्कालाई नियाल्यौँ । एकअर्काको आँखामा नियालिराख्दा मनमा सुनिएको त्यो गडगडाहट नदीको थियो कि आँशुको ? हामीले त्यस दिन एकअर्कालाई तमाम कुरामा बिदाइ गरेका थियौँ । जस्तो चितासँगै जल्ने दाउरामा, खौँरिँदै गरेको कपालमा, आगोको लप्कामा, धुवाँमा, खरानीमा, पानीमा, लासमा, जिन्दगानीमा … ! खासमा भन्नुपर्दा हामीले नाकाम कोशिश गरेका थियौँ एक अर्कालाई बिदाइ दिने । बिदाइ दिने बहानामा एक खात यादहरू थुपारेका थियौँ । आज भने म यी सब यादहरूलाई सेलाउन जाँदै थिएँ ।

घडीको मिनेट सुईले करीब एक फन्को लगाउन पाउँदा नपाउँदै म पुलचोक ओर्लिएँ । त्यसपश्चात् सरासर पुलमा गएँ र आफ्नै बहावमा बहँदै गरेको नारायणी नियाल्न थालेँ । नारायणी ! कत्ति कुराको साक्षी छ यो नदी । म जस्ता चरम निराशामा डुबेकादेखि आशाको उज्यालो खोज्दै आएकाहरू सबलाई एकसाथ एकै किनारामा राख्न सक्यो ।

यो नदीले आफ्नै किनारामा दशकौंदेखि पसिना बगाएको मानिस पनि देखेको छ । साथसाथै यसले आँशुको अर्को नदी सुसाउँदै आफैँलाई बगाएको मानिस पनि देखेको छ । बालकको तोते बोलीदेखि वृद्धको खुइय….सम्म सब आवाज सुनेकै छ । वास्तवमा नदी आफैँ यादहरूको सँगालो हो । ‘यादहरूले याद गर्दा पनि याद हुन नसकेको यादहरूको सँगालो हुँ म’ , यो लाइन पक्कै पनि नदीले नै सुसाएको हुनपर्छ । अचानक मालसामान बोकेको ट्रकले कानैमा हर्न बजाएपछि म बल्ल झस्किएँ र किनारतिर लागेँ ।

तमाम भावभङ्गीका मानिसहरूले व्यस्त पारेको किनारा । सुन्दर याद बनाउन आएको यी आफैँ भविष्यका यादहरू हुन्, जसरी म पनि भूतमा याद बनाउन आएको थिएँ तिमीसँगै । अरे ! म त यादहरूलाई बिदाइ गर्न आएको हुँ त । कहाँ यादहरूलाई याद गरेर बसिराखेको । तर याद गर्नु नगर्नु मैले चाहेर हुने भए आज याद गरेरै यादहरूको विसर्जन गर्न  किन आउनु पर्थ्यो र ! नारायणीको किनारमा बनाएका तिमीसँगका यादहरू जो मलाई यादको बिदाइ गर्नै दिइराखेका छैनन् । वास्तवमा यादहरू साह्रै जिद्दी हुने, अझ तिम्रा यादहरू त तिमी जत्तिकै जिद्दी ! हाहाहा… ।

अब के गरुँ म ? तिमीसँग बनाएका यादहरूमाथि मेरा एकल यादहरू बनाउँ ! जस्तो कि तिमीसँगै नदीमा ढुङ्गा फालेर बनाएका यादहरूलाई अब मैले एक्लै नदीमा ढुङ्गा फालिदिउँ ? तिमीसँगै हिँडेका गल्लीहरूमा फेरि एकपटक एक्लै निस्फिक्री हिँडिदिउँ ? यसो गरेर तिमीसँगका यादहरूलाई ओझेलमा पारिदिउँ ? तर के थाहा कुन याद ओझेलमा पर्छ भन्ने ! कतै यादहरूलाई बिर्सिन याद नै थुपारिराख्दा यादहरूको खात त बन्ने होइन ? अनि अचानक कुनै बखत यादहरूको जीवाश्माले मलाई भूत बनेर तर्साउन आउने त होइन ? आखिर तिम्रा यादहरूलाई बिदाइ दिने बहानामा म नयाँ यादहरूलाई खुल्लमखुल्ला स्वागत त गरिरहेको छैन ?

मनको उथलपुथलपछि तातो मौसमले तातो बनाइराखेको वातावरणमा पसिनाले निथ्रुक्कै भिजेँ । हतारहतार नारायणीको पानीले आफ्नो मुहार पखालिरहेँ, आन्तरिक द्वन्द्व शान्त नहुन्जेल । लागिराख्यो, म मनलाई पखाल्दै छु । यो उकुसमुकुस र गर्मीलाई दूर पठाइरहेछु । केही मिनेटपछि आफूलाई शान्त बनाएर हेर्दा सूर्य डाँडापारि लुक्दै थियो । यस्तो लाग्यो, मेरो मनको गर्मी त्यो डल्लो थियो जो अहिले कतै हराएर गयो । त्यसैबखत कताकताबाट अन्तर्हृदय छुने चिसो हावा चल्यो र मनले आनन्द महसूस गर्यो । तत्क्षण ‘सम्झनाभन्दा सुन्दर कुरा स्वीकार्य हो’ भन्ने आत्मज्ञान प्राप्त भयो । केहीबेर नारायणीसँग बिताएर घर फर्कँदै गर्दा भने कताकताबाट केही सुनिरहेथेँ ।लाग्यो, हृदयको ढुकढुकीको भाकामा लय मिलाएर कोही गाइरहेछ;

मैनू विदा करो !

मैनू विदा करो जी !!

अब विदा करो मेरे यार !!!

मैनू विदा करो !

मैनू विदा करो जी !!

मैंने जाना है उस पार…..