पोखरेली युवा साँस्कृतिक परिवारले वाङ्मयिक क्षेत्रका दिवङ्गत स्रष्टाहरुको सम्झना गर्दै श्रीपञ्चमीका दिन सामूहिक साहित्यिक जयन्ती मनायो । कार्यक्रमका प्रमुख अतिथि संगीत तथा नाट्य प्राज्ञ प्रतिस्ठानका पूर्व कुलपति सरुभक्तले सामूहिक साहित्यिक जयन्तीको उद्धेश्यमाथि प्रकाश पार्दै संस्थाले २०३५ सालदेखि दिवङ्गत स्रष्टाहरुको सम्झनामा श्रीपञ्चमीका दिन सामूहिक  जयन्ती मनाउँदै आएको बताए । कलाकारहरुलाई बैशाखमा र संगीतकारहरुलाई महाशिवरात्रीमा स्मरण गरिँदै आएको जानकारी दिए ।

‘३५ सालमा पहिलो पटक हामीले यो कार्यक्रम गर्दा रथमा विभिन्न कवि, साहित्यकारहरुको फोटो राखेर सहर परिक्रमा गरेर विन्ध्यवासिनीमा कोण सभा गरेका थियौं । मान्छेहरुको सहभागिता पनि उल्लेख्य थियो’ सरुभक्तले सम्झिए । त्यो सुरुआत नै यो संस्थाको ऐतिहासिका कार्यक्रम थियो । श्रीपञ्चमीका दिन सरस्वतीको आराधाना गरिने हुँदा सिर्जनामा लाग्ने साहित्यकारहरुलाइै सामूहिक रुपमा स्मरण गर्नु सान्दर्भिक भएको बताए । उनले यस्ता कार्यक्रमले पुराना साहित्यकार र नयाँ पुस्ताबीचको पुलको काम गर्ने बताए ।

प्राज्ञ रमेश श्रेष्ठ , हनिफ मिया, प्रकाश घिमिरे, सरस्वती प्रतीक्षा , लक्ष्मण थापा , ई. कौशलचन्द्र जि.सी., मोती भुजेल, शिव त्रिपाठि , प्रकाश आचार्य , शिव संकल्प , हसिना वस्नेत, बिकासरोका मगर, एम.डि. काफ्ले, मिलन गिरि मुक्तिनाथ अधिकारी लगायतका कविहरुले दिवङ्गत स्रस्टाका  सिर्जनाहरु वाचन गरेका थिए । संस्थाका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा साहित्य संयोजक शरण आंशुले स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन सचिव डा.चैतन्य अधिकारीले गरेका थिए ।