काठमाडौं / राप्ती साहित्य परिषद्को आयोजनामा शनिबार दाङको घोराहीमा साहित्यकार डा. राजु अधिकारीको उपन्यास ‘सत्यहरण’ विमोचन गरिएको छ। पुस्तकलाई वी रिडले प्रकाशन गरेको छ ।

साहित्यकार तथा वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद्का पूर्वअध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा दाङका साहित्यकार तथा बुद्धिजीवीहरूको बाक्लो उपस्थिति रहेको थियो।

समारोहमा पुस्तकको समीक्षा गर्दै साहित्यकार पुस्कर रिजाल ‘पुष्प’ले उपन्यासले हाम्रो समाजले भोगिरहेको एउटा जल्दोबल्दो समस्यालाई सरल तर सटिक रूपमा चित्रण गर्ने उपन्यासको रूपमा आएको बताउनु भयो।

पूर्वीय धर्म, संस्कृति, सभ्यता र दर्शनमाथि विभिन्न तरिकाले भइरहेका आक्रमणलाई मूल विषय बनाइएको उपन्यासमा लेखकले नेपालको सन्दर्भमा कसले र कसरी यो काम सञ्चालन गरिरहेको छ र यसमा पद, पैसा र अन्य व्यक्तिगत स्वार्थको लागि उच्च ओहदामा बसेका शिक्षित व्यक्तिहरू कसरी प्रयोग भैरहेका छन् भन्ने कुरालाई उजागर गर्ने प्रयास लेखकले गरेका छन्। मूल विषयसँगै लेखकले पुस्तकमा प्रेमलाई पनि स्थान दिएका कारण उपन्यास रोमाञ्चक पनि बनेको छ। उपन्यासका दुई मुख्य पात्र रक्षा र कैलाशको प्रेम उपन्यासको सुरुवातदेखि अन्त्यसम्म नै प्रेमका अनेक बाधा अवरोध पार गर्दै अगाडि बढ्छ।

स्वैर कल्पना र विज्ञान कथामा कलम चलाउने लेखकले यस उपन्यासमा पनि यी दुवै विधाको थोरै भए पनि प्रयोग गर्नुभएको छ, जसले गर्दा उपन्यास झन् रोचक बनेको छ। उपन्यासको मूल आकर्षण चाहिँ यसको रहस्य हो, जुन कुरा उपन्यासको अन्त्यमा मात्र गएर खुल्छ। उपन्यासमा घटेका घटनाहरू कस्ले, किन र कसरी घटाइरहेको छ भन्ने कुरा पूरै उपन्यास नपढी कल्पना गर्न सकिँदैन।

राप्ती साहित्य परिषद् दाङका अध्यक्ष दीपक समीरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदाशीसहित अन्य अतिथिहरूले पुस्तकको सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो।

परिषद्का सचिव प्रकाश केसीद्वारा सञ्चालित कार्यक्रममा लेखक राजु अधिकारी तथा प्रकाशक वी रिडका तर्फबाट राजीवधर जोशीले पनि आफ्नो मन्त्व्य राख्नु भएको छ।

‘सत्यहरण’ नेपाल भरिका प्रमुख पुस्तक पसल र अनलाइनमार्फत उपलब्ध हुने र पुस्तकको विद्युतीय संस्करण (इ-बुक) थुप्रैडटकममा उपलब्ध हुने प्रकाशक वी रीडले जनाएको छ। ३ सय २५ पृष्ठको पुस्तकको मूल्य रू. ६२५ तोकिएको छ।