रात छिप्पिसकेको छैन । तर कोठाको बत्ती निभिसकेको छ । बाक्लो पर्दाले छोपेका काँचका झ्यालबाट बाहिरको प्रकाश छिर्न सक्ने गुन्जाइस छैन । कोठा सुनसान र अन्धकार छ, मेरो मन जस्तै ।

तर त्यो नीरवतामा म भने सोचमग्न छु । दिमागमा पश्चाताप र आक्रोशका ज्वारभाटा चलिरहेका छन् ।

आज म निराश छु । ऊबाट र आफैंबाट पनि ।

मैले आफ्नो आशाको पोको उसलाई सुम्पेको थिएँ तर त्यो पोकोमा उसले तेजाब हालिदियो । मेरा सारा आशा त्यही तेजाबमा जलेर खरानी भए ।

मैले त्यसरी उसलाई निसर्त विश्वास गर्नु हुँदैनथ्यो । त्यो मेरो गल्ती साबित भयो ।

मैले उसलाई निकै पुलपुल्याएँ । त्यसकै परिणाम भोग्दैछु ।

उसलाई मैले आफ्नै मान्छे ठानेको थिएँ । तर उसले ममाथि अन्तर्घात गर्‍यो । उसलाई महान बनाएर मैले आफूमाथि आत्मघात गरेँ ।

मैले उसलाई आदर्श पात्र बनाउँछु भन्ने सोचेको थिएँ । तर उसले ठ्याक्कै उल्टो गर्‍यो ।

मैले उसलाई नैतिकता पढाएको थिएँ तर ऊ अनैतिक बन्यो ।

म उसलाई सादा जीवन उच्च विचार भएको देख्न चाहन्थें तर ऊ छाडा जीवन तुच्छ विचारमा रमायो ।

म उसलाई शान्तिप्रिय बनाउन चाहन्थें तर उसले हिंसा र आतङ्कमा आफ्नो भविष्य देख्यो अनि लुटपाट, हत्या र अराजकता उसका दिनचर्या बने ।

मैले उसलाई कानूनको पालना गर्न सिकाएको थिएँ, तर उसले आफ्नो फाइदा अनुसार कानूनको व्याख्या गर्न थाल्यो । आफूलाई चैन, अरूलाई ऐन उसको आदर्श बन्यो । दण्डहीनता उसको मूल कानून बन्यो ।

म उसलाई सदाचारी देख्न चाहन्थें तर ऊ त भ्रष्टाचारी र बलात्कारी पो बन्यो ।

म चाहन्थें ऊ देशभक्त हुनेछ, देशको सेवा गर्नेछ, तर ऊ देशद्रोही बनेर निस्कियो, देश दोहन गर्नतिर पो लाग्यो ।

ऊ नाङ्गिइसकेको छ, उसको लाज अब छोपिने स्थिति छैन, तै पनि दम्भले फुलिंदै ऊ निर्लज्ज अरूलाई अर्ती दिंदैछ ।

ऊ अपराधीका झुण्डलाई पछि लगाएर हिंडिरहेको छ । उनीहरूलाई उसले आफ्नो अपार समर्थक ठानेको छ । आफ्नो शक्ति ठानेको छ । बाहुबलले ऊ राजासनमा बस्न खोज्दैछ । आफू बाहेक अरू सबैलाई छुद्र ठान्छ, दाश ठान्छ, उपहास गर्छ, अट्टहास गर्छ । ऊ संवेदनाशून्य भैसकेको छ ।

उसको पापको घडा भरिसकेको छ । अब फुट्न मात्र बाँकी छ ।

उसले मलाई मात्र हैन, समाजलाई र सिङ्गै देशलाई घात गर्‍यो, ऊ पापी हो ।

उसले समाजलाई यति प्रताडित गरेको छ कि म अब उसलाई अभयदान दिन सक्दैन ।

उसले आफ्नो पापको सजाय भोग्नै पर्छ ।

उसलाई त्यहाँ पुर्‍याउनमा मेरो पनि हात छ । म पहिले नै सचेत हुनुपर्ने । उसले गलत बाटो समातेको थाहा पाउने बित्तिकै मैले उसलाई त्यहीं रोक्नुपर्ने । उसलाई पाठ सिकाउनुपर्ने, उसलाई सजाय दिनुपर्ने । तर मैले उसका गल्तीलाई ढाकछोप गरें, उसको गुणगान गरें । मैले उसलाई चाहिनेभन्दा बढी विश्वाश गरें तर त्यही विश्वासको अनुचित फाइदा उठाएर उसले मप्रति, समाजप्रति र देशप्रति विश्वासघात गर्‍यो ।

आज ऊ आफूलाई सर्वशक्तिमान ठान्छ । अब उसलाई कसैले केही गर्न सक्दैन भन्ने मिथ्या आत्मविश्वास पालेको छ । अब आफूलाई मेरो कुनै जरूरत छैन भन्ने सोच्छ । तर बिचरो उसलाई के थाहा अझै पनि उसको भविष्य मेरो हातमा छ ।

जसरी मैले आफ्ना कथामा उसलाई नायक बनाएर उसलाई आफ्ना पाठकको सामु महान देखाएको थिएँ, म त्यसरी नै उसलाई खलनायक बनाउन समर्थ छु ।

हो, म आफ्ना विगतका कथामा उसको नायकत्वमा परिवर्तन र नियन्त्रण गर्न सक्दैन तर मेरा भविष्यका कथामा मैले उसलाई जस्तो बनाउन चाहन्छु त्यस्तै बनाउन सक्छु ।

ऊ मेरो पात्र मात्र हो । फगत एक पात्र !

उसलाई मेरो कल्पनाले जन्माएको हो । म नै उसको श्रृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता हुँ ।

म जे चाहन्छु ऊ त्यही गर्छ । उसको भविष्य मेरो हातमा छ ।

उसले गरेको विश्वासघातको सजाय पाउने समय भएको छ ।

अब म उसलाई यस्तो सजाय दिनेछु कि संसारले युगयुगसम्म पनि सम्झनेछ ।

म उसलाई पश्चातापको यस्तो अग्निमा दहन गर्नेछु कि नर्कका अग्निकुण्डमा दिइने सजाय उसका लागि फिका लाग्नेछन् ।

म उसलाई यति पीडा दिनेछु कि उसले पीडा खप्न नसकेर ‘बरु मलाई मार तर यसरी नतडपाऊ’ भन्दै अनुनय विनय गर्नेछ ।

म उसलाई यति निरीह र निरुपाय बनाउनेछु कि उसका भाग्ने बाटाहरू सम्पूर्ण बन्द गरिदिनेछु । ऊ एउटा अनन्त अन्धकारभित्र कहिले बाहिर निस्कन नसक्ने गरी आर्तनाद गर्दै छटपटाउनेछ । उसका सम्पूर्ण उपाय निष्प्रभावी गराइदिनेछु ।

म उसलाई जनताको कठघरामा उभ्याएर यसरी उसको अन्त्य गर्नेछु कि हिटलर, चाउशेस्कु र सद्दाम हुसेनको अन्त्य जस्तै उसको अन्त्य पनि बीभत्स, अपमानित र त्रासदीपूर्ण हुनेछ ।

मैले दिएको शक्ति र प्रख्यातिको उन्मादमा उसले आफ्नो वास्तविक हैसियत बिर्स्यो होला तर ऊ मेरो खेलौना हो । मेरो कलमले क्षण भरमै उसका वास्तविकता पाठक सामु उजागर गरिदिन सक्छ । उसलाई देवबाट दानव बनाइदिन सक्छ ।

म यसरी मेरो कलम घुमाउनेछु कि मेरा पाठकले उसलाई थुक्नेछन् । मेरा कथाका पानाहरूमा ऊ सदासदा एउटा कलङ्कित पात्रको रूपमा रहनेछ ।

“पापु, थोतेल थक्केन ?”

छोरीको तोते बोलीले मलाई आफ्नो गहिरो सोचबाट बाहिर ल्यायो ।

म छोरीलाई सुताउने प्रयासमा छु । म उसलाई छातीमा टाँसेर ओछ्यानमा पल्टिरहेको छु । उसले पनि मलाई अङ्गालो हालेकी छ । उसलाई त्यसरी अङ्गालो हाल्नु मेरो लागि संसारमै सबभन्दा प्रिय क्षण मध्येको एक हो । म उसको मुटुको धड्कन महसूस गरिरहेको छु । उसको मुटुको धड्कनसँगै मेरा सोचहरू पनि धड्किरहेका छन् ।

छोरी चार वर्ष पुगी । पहिले हामीसँगै सुत्थी तर बिस्तारै उसलाई छुट्टै सुताउने अभ्यास गराउँदै छौं । स्कूलमा पनि शिक्षकहरूले सकभर बच्चाहरूलाई सानैदेखि नै छुट्टै सुताएमा उनीहरूको शारीरिक अनि मानसिक विकासमा पनि सहयोग हुन्छ भन्ने सुझाव पाएपछि मैले पनि त्यसको बारेमा केही खोजी गरेँ । एक्लै सुत्दा उनीहरू स्वतन्त्र हुने हुँदा डर पनि भाग्ने रआत्मनिर्भर हुन सहयोग गर्ने जस्ता धेरै फाइदाहरू रहेछन् ।

ऊ निदाएपछि म उसको कोठाबाट निस्कने गर्छु । हरेक दिन उसलाई सुताउन म नै चाहिन्छ । कारण हो- कथा । उसलाई कथा सुन्न मनपर्छ । उसकी आमाको कथा वाचन शैलीभन्दा मेरो वाचन शैली उसलाई मन पर्छ । म कथा वाचन गर्दा त्यही अनुसारको आवाज, हाउभाउ बनाउँछु । बीच बीचमा अनेक उपकथा थपेर कथालाई सकभर लामो र आकर्षक बनाउँछु । त्यसैले उसलाई मेरा कथाले आकर्षित गर्छन् ।

नेपाली दन्त्यकथा अनि विदेशका लोककथाहरू मैले उसकै लागि भनेर खोजीखोजी पढ्न थालेको छु ।

तर सधैं कथाको विषय पाइँदैन । कथाहरू अलि लामा हुने हुनाले कहिले कथा भन्न जाँगर चल्दैन । त्यो बेला म उसलाई गाउँ खाने कथा सुनाउँछु ।

“आज गाउँ खाने कथा सुन्ने हुन्छ ?”

“हुन्छ !”

“नजानेपछि मलाई गाउँ दिनुपर्छ नि !”

“हुन्छ !” उसले नबुझेरै समर्थन जनाउँथी । उसलाई गाउँ खाने कथा होस् कि शहर नै खाने कथा होस्, दन्त्य कथा होस् कि लोक कथा होस् कथा सुन्न पाए पुग्थ्यो ।

सामान्य गाउँ खाने कथाका उत्तर त उसलाई कण्ठस्थ पनि भैसकेका थिए ।

“खै खै दाइ म अगि जान्छु, के हो ?”

“लौलो !”

“धार्नी न बिसौली दुई हातले उचाली, के हो ?”

“तोपी !”

“हिँड्दै छ पाइला मेट्दै छ, के हो ?”

“थुइयोले लुगा थिलाएको !”

मलाई कथा या गाउँ खाने कथा सुनाउने मन भएन, राम्रो कथा पाएन भने उसलाई भुलाउन मसँग एउटा तरिका थियो ‍- ”मलाई एकछिन सोच्न देऊ !”

तीस सेकेन्डमा नै उसले सोध्थी, ”थोतिथक्क्यो ?”

अनि मैले भन्थें- यति छिटो सोचेर सकिंदैन नि ! कम्तीमा पनि पाँच मिनेट लाग्छ । मैले सोच्दासोच्दै बीचमा तिमी बोल्यौ भने मैले पहिले सोचेको सबै बिर्सन्छु र फेरि शुरूदेखि सोच्नुपर्छ ।

अनि उसले नचाहेर पनि चुप लागेर मलाई सोच्ने समय दिन्थी ।

पाँच मिनेट कति हुन्छ उसलाई के थाहा ? मैले जति भने पनि भयो । अनि प्राय: त्यही पाँच मिनेटमा ऊ निदाउँथी र म सुटुक्क उठेर आफ्नो कोठामा जान्थें ।

“मलाई एकछिन सोच्न देऊ !” भनेर मैले आज पनि उसलाई चुप लगाएको हुँ ।

मैले धेरै पटक त्यसरी नै उसलाई मिथ्या वाचा गरेको छु । जसरी मेरा कथाका पात्रहरूले पाठकहरूलाई गर्छन् । मैले उसलाई आशा देखाएर निराश पारेको छु, जसरी मेरा विगतका पात्रहरूले मलाई निराश पारे ।

प्राय: एक दुई मिनेटमा नै उसका नजरले निद्रादेवीलाई आमन्त्रण गरी आफ्ना नयनभित्र बन्द गरिसकेका हुन्थे । तर कहिलेकाहीँ निद्रा लागेन भने उसले धेरै लामो प्रतिक्षा गर्न सक्दैनथी । ऊ अधीरताले उकुसमुकुस हुन्थी र मलाई सोधिहाल्थी, “अझै थोतेर सक्केन ?”

म सकभर अझै सोच्ने समय लम्ब्याएर उसलाई भुलाउन चाहन्थें तर उसको ढिपी बढ्यो भने म उसलाई कथा सुनाउन बाध्य हुन्थें । कहिलेकाहीं पहिले सुनाइसकेका कथा दोहोर्‍याएर सुनाउँथे, उसले थाहा पाउँदिनथी । तर कहिले चाहिं “यो त अस्ति थुनेको । अक्को सुन्ने !” भन्थी ।

अनि म आफ्नो कल्पनाशक्तिलाई जागृत गरी कनीकुथी केही कथा बनाउँथे । कति कथा मेरा आफ्नै बाल्यकालका भोगाइ हुन्थे । कति कथा समाजमा मैले देखेका वास्तविकतालाई कथामा ढालेर उसलाई सुनाउँथे । मेरा हरेक कथामा ऊ मन्त्रमुग्ध हुन्थी अनि कथा सुन्दासुन्दै मलाई काख हालेर, मेरो शरीरमा आफ्नो कोमल खुट्टा चढाएर निदाउँथी । उसको लगातारको न्यानो सासले मेरो छातीमा हान्न थालेपछि म उसको स्निग्ध ललाट चुमेर आफ्नो कोठामा जान्थें ।

सोच्ने बहाना मेरो लागि उसलाई निद्रामा पुर्‍याउने साधन र समय मात्र हुन्थे । त्यो बेला म कथा सोच्दिनथें । बरु म आफ्नो कामको बारेमा, परिवारको बारेमा, स्वास्थ्यको बारेमा सोच्थें ।

आज ऊ अझै निदाएकी छैन, तर धेरैबेर बोलेकी पनि थिइन । म सोचमा हराएको समय अलि बढी नै भएछ, उसको अधीरताले सुख दिएन र आफ्नो बोली खोली, “पापु, थोति थक्केन ?”

“सक्क्यो !” म वर्तमानमा आएर भने ।

ऊ खुशी भई । कथा सुन्न पाइने भयो !

नयाँ कथा सुन्न लालायित उसका कर्ण जुरुक्क उठे ।

“भन्नुथ !” उसले भनी ।

आज म साँच्चै एउटा कथा नै सोचिरहेको थिएँ- देश खानेहरूको कथा । मैले धेरै आशावादी कथाहरू लेखेँ, पात्रहरूलाई नायक बनाएँ । उनीहरूलाई संघर्ष गराएँ, सफल गराएँ अनि कथाको सुखान्त गरें । तर वास्तविकता त्यसो हुन सकेन । मेरो समाजको दुखान्त भइराखेको छ, मेरो देश अन्याय र अत्याचारको पीडामा छटपटाइरहेको छ । मलाई आज आक्रोश छ । मनभित्र पीडा छ । मेरो र मेरा सन्तानको भविष्यप्रति चिन्ता छ । आज म आफ्नो कथामा यी आततायी पात्रहरूको भन्डाफोर गर्नेछु । मेरी छोरीलाई पनि सुनाउनेछु कि उनीहरूले उसको र ऊ जस्ता लाखौं बालबालिकाको भविष्यमा कसरी कठोर बूट बजारिरहेका छन् ! कसरी ऊ आफ्नी आमाको गर्भबाट निस्केर धर्तीमा नयन उघार्दा उघार्दै उसलाई हजारौंको ऋणको भारी बोकाएका छन् ! कसरी उसलाई संसारको एउटा गरीब राष्ट्रको नागरिक बनेर संसारभरि बेइज्जत र अपमानित बन्न बाध्य बनाएका छन् ! देशलाई धुजाधुजा पारेर कसरी जबर्जस्ती विदेश जान बाध्य बनाएका छन् ।

यी देश खानेहरूका कथा मैले सुनाउनै पर्छ । आज म त्यही कथा छोरीलाई सुनाउँछु । म उसलाई सुनाउँछु ता कि उसको दिमागमा यो सधैँ रहिरहोस् हाम्रो देश बिगार्ने, उसको भविष्य बिगार्नेमा कसको हात छ !

उसलाई थाहा होस् उसका मात्र हैन हाम्रो देशका शत्रुहरू को हुन् !

यो वास्तविक कथा हो । यो देश खानेहरूको कथा हो । आज मेरो कथा गम्भीर हुनेछ ।

म आफ्नी छोरीलाई मात्र हैन, हरेक नेपाली बालबालिकालाई सुनाउनेछु यो कथा- देशदोहन गर्नेहरूको कथा ! अत्याचारी र अहंकारीको कथा ! भ्रष्ट र हत्याराहरूको कथा ! देश खानेहरूको कथा !

“आज देश खाने कथा भन्छु, हुन्छ ?” मैले गम्भीर हुँदै भने ।

“गाउँ खाने कथा ?” उसले सोधी ।

“हैन, देश खाने कथा !”

उसलाई के थाहा देश के हो ?

देशको महत्व कति हुन्छ ?

देशले उसलाई के दिन्छ ?

देशलाई उसले के दिनुपर्छ ?

उसलाई त यत्ति थाहा छ- ऊ नेपाली हो । उसको जन्म दर्ताको प्रमाणपत्रमा नेपाली नागरिक भनिएको छ ।

कसैले सोधेपछि उसले आफू नेपाली हुँ भन्छे ।

त्यो पनि हामीले सिकाएर ।

“नेपाल खाने कथा ?”

“हो, नेपाल खानेहरूको कथा !”

“हुन्छ !” उसले स्वीकृति जनाई ।

अनि आफूले भर्खरै सोचेको कथा मैले उसलाई सुनाउन शुरू गरें, “एकादेशमा एउटा सुन्दर अनि शान्त देश थियो…”