प्रख्यात कवि क्षेत्रप्रताप अधिकारीका सुपुत्र अमनप्रताप अधिकारीद्वारा निर्माण‑निर्देशन गरिने टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा गरिएको छ ।
नेपाली भाषाका कविहरुको प्रतिभालाई संसारसामु प्रस्तुत गर्न रियालिटी शो ‘द पोइट आइडल’को घोषणा गरिएको अमनले बताएका छन् ।
कार्यक्रममा भाग लिन इच्छुक कविहरूले कार्यक्रमको इमेल, ह्वाट्सएप, भाइबर, फेसबुकजस्ता डिजिटल प्लेटफर्ममार्फत आफ्ना कविता आफैँले वाचन गरेको २ मिनेटसम्म लामो भिडियो पठाएर डिजिटल अडिसन दिन सक्ने बताइएको छ ।
कार्यक्रममा सहभागीबीच प्रतिस्पर्धा हुनेछ, प्रस्तुति जाँच्ने निर्णयकका साथै दर्शकहरूले पनि आफूलाई मन परेका प्रतिस्पर्धी कवि, कवयित्रीलाई भोट हाल्न पाउनेछन् । हरेक हप्ता एक जना प्रतिस्पर्धी बाहिरिने र अन्तिममा एक जना प्रतिभा ‘द पोइट आइडल’ बन्नेछ ।
प्रतियोगितको निर्णायकमा कविद्वय विप्लव प्रतीक र उपेन्द्र सुब्बाका साथमा निर्देशक तथा रंगकर्मी अनुप बराल र अभिनेत्री सुरक्षा पन्त रहनेछन् । कार्यक्रम अभिनेता दिव्यदेव पन्तले सञ्चालन गर्ने भएका छन् ।
कार्यक्रममा कवि विप्लव प्रतीकले कवितारुपी मन्त्र द पोइट आइडलमार्फत नेपाली समाजमा कुनै न कुनै रूपले फैलिने विश्वास व्यक्त गरे ।
निर्देशक एवं वरिष्ठ रंगकर्मी अनुप बरालले कविता शब्दहरूको साम्राज्य भएको बताए । उनले कवितालाई बचाइरहन आवश्यक रहेको उल्लेख गरे ।
कवि उपेन्द्र सुब्बाले नेपाली समाजले कवितालाई धेरै सम्मान गरेको उल्लेख गर्दै साहित्यको जति पुरस्कार अन्य कुनै पनि विधामा नरहेको बताए । यस्ता कार्यक्रमले नेपाली समाजमा साहित्यको महत्त्वलाई विस्तार गर्ने उनले बताए । द पोइट आइडल अहिलेको समयमा सान्दर्भिक हुने पनि उनको भनाइ थियो ।
अभिनेत्री सुरक्षा पन्तले काँचोपनको मिठास भर्न आफूलाई निर्णायकमा राखेको हुनसक्ने टिप्पणी गरिन् । आफ्नो लागि यो अवसर र चुनौती रहेको उनको भनाइ थियो । यो कार्यक्रमले पुनः आफूमा कविता फर्काएको उनले बताइन् ।
कार्यक्रममा भाग लिन इच्छुकहरूले भदौ २६ गते आइतबारबाट कार्यक्रमको विभिन्न सामाजिक सञ्जालका ठेगानामा आफ्ना रचना वाचन गरेको भिडियो पठाएर कार्यक्रमको छनोट चरणमा भाग लिन पाउने आयोजकले जनाएको छ । कार्यक्रममा विश्वका जुनसुकै स्थानमा रहेका नेपालीभाषी कविले भाग लिन पाउँछन् । आइडल एपीवान टेलिभिजनबाट प्रसारण हुने बताइएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।