साहित्यिक पत्रकार सङ्घले आफ्नो ५० औं स्थापना दिवसको अवसर पारेर ‘स्वर्ण- वर्ष शुभारम्भ कार्यक्रम’को आयोजना गरी साहित्यिक पत्रकार सङ्घको स्वर्ण- वर्ष प्रारम्भ भएको घोषणा गरेको छ । वि.स. २०२९ साउन २९ गते साहित्यिक पत्रकार सङ्घको स्थापना भएको हो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति केके कर्माचार्यले साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको लोगो अनावरण गर्नु भयो । यसअघि माननीय कुलपति कर्माचार्यले दीप प्रज्ज्वलन गरेर महोत्सवको शुभारम्भसमेत गर्नु भएको थियो ।
सो अवसरमा उहाँले साहित्यिक पत्रकार संघको योगदानको चर्चा गर्दै नेपाली साहित्यका क्षेत्रमा सङ्घले पुर्याएको उल्लेख योगदानको प्रशंसा गर्नु भयो ।
साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा आयोजित सो कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष विश्वविमोहन श्रेष्ठले सङ्घको गतिविधिको चर्चा गर्दै महोत्सवको उद्देश्य र महत्वमाथि बृहत् रूपमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिहरू अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष मोहन सिटौला (अमेरिका), वरिष्ठ निबन्धकार एवं पत्रकार कृष्ण प्रधान (भारत), प्राज्ञहरू माया ठकुरी र डा. बेन्जु शर्मा, वरिष्ठ साहित्यकारहरु डा. गार्गी शर्मा, भरत जङ्गम र प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष एवं भाषा आयोगका माननीय सदस्य मातृका पोखरेल लगायतले आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा स्वर्ण महोत्सवको अवसरमा अध्यक्ष लेकालीले स्वर्ण महोत्सवको लोगो अंकित केक काट्नु भएको थियो ।
कार्यक्रममा पूर्व अध्यक्षहरु हेमन्त श्रेष्ठ (अमेरिका) र नरेन्द्रबहादुर श्रेष्ठका लिखित शुभकामना वाचन गरिएको थियो । कार्यक्रमको सञ्चालन निबन्धकार एवं साहित्यिक पत्रकार श्रीबाबु कार्कीले गर्नु भएको थियो ।
कार्यक्रममा साहित्यकारहरू प्राज्ञहरू बाबा बस्नेत र नन्दु उप्रेती, पवन आलोक, नरनाथ लुइँटेल, विजयध्वज थापा, दिव्य गिरी, मोमिला जोशी, विमल भौकाजी, ललिता दोषी, ध्रुव मधिकर्मी, राजेश्वर कार्की, सुदर्शन श्रेष्ठ, मन्जिला अनिल, नीता श्रेष्ठ, ज्ञान्दरी कैनी, रेखा यादव, शिव अधिकारी, गणेश भण्डारी, मनोज नेउपाने आदिको उपस्थिति रहेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।