काठमाडौँ, असार २७ / नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा २०९ औँ भानुजयन्तीका अवसरमा ‘भानुभक्तको जीवनी’ विषयक प्रवचन तथा ‘नयाँ पुस्ताबाट भानुभक्तीय रचनावाचन’ कार्यक्रम आयोजना गरियो । प्रज्ञा–प्रतिष्ठानले नयाँ पुस्तासित भानुभक्तको जीवनी र रचनाका बारेमा परिचित गराउन विद्यालय तहका विद्यार्थीलाई भानुभक्तीय रचनावाचन कार्यक्रम गरेको हो ।

सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्मा लगायतले अनुसन्धानकर्ता प्रा.डा. शर्वराज आचार्यद्वारा लिखित तथा प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित कृति भानुभक्तको जीवनीका मतान्तरको तुलनात्मक अध्ययन नामक कृतिको सार्वजनिकीकरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले नयाँ पुस्तामा भानुलाई पु-याउने उद्देश्यले आजको कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले विगतमा भानुजयन्तीमा कुनै एउटा विषयलाई लिएर विमर्श गर्ने गरिएकोमा यसपटक बालबालिकाले भानुभक्तको रचनावाचन गर्ने गरी कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “छन्दमा कविता सिर्जना गर्ने सीप विद्यार्थीमा होस् भन्ने नै प्रज्ञा–प्रतिष्ठानको उद्देश्य हो र यसले साहित्यको प्रवर्द्धनमा समेत योगदान गर्ने हाम्रो विश्वास रहेको छ ।” भानु बहुआयामिक व्यक्तित्व भएको र भौगोलिक सीमाभन्दा बाहिर गएर भानु जयन्ती मनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । भाषा, संस्कृतिको एकताको विम्बका रुपमा भानुभक्तलाई लिइने उहाँको भनाइ थियो । रामायणको गाथामार्फत सामाजिक यथार्थताको चित्रण समेत उजागर भएको र भानुको जन्यजयन्तीलाई राष्ट्रिय पर्वकै रुपमा मनाउन थालिएको जनाइएको छ ।

कार्यक्रमका सभाध्यक्ष तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले पुस्ताको हस्तान्तरण र दक्षताको हस्तान्तरणको रुपमा आजको भानुभक्तको कार्यक्रमलाई लिएको बताउनुभयो । भानुभक्तलाई विद्यार्थीका बिचमा पु-याउन यसपटक बालबालिका केन्द्रित कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सदस्य–सचिव प्रा.जगत्प्रसाद उपाध्यायले नेपाली साहित्यका आदिकविको जन्मजयन्तीका अवसर पारेर भानु प्रतिष्ठानसँगको सहकार्यमा भानु जयन्तीका विभिन्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार भानुजयन्ती नेपालमा भन्दा पनि पहिले विदेशमा मनाउन थालिएको हो । भानुभक्तले रामायण प्रश्नोत्तर, भक्तमाला जस्ता कृतिको सिर्जना गरेर नेपाली साहित्यमा ठूलो गुन लगाएको बताउनुभयो । संस्कृत साहित्यमा समेत भानुभक्तको ठूलो योगदान रहेको छ । भानुभक्तका कृतिले १९ तत्कालीन समाजको वास्तविक प्रतिनिधित्व गरेकोले त्यसलाई अहिलेको २१ औँ शताब्दीको आधारमा तुलना गर्न मनिल्ने उहाँको भनाइ छ । भानुमा दार्शनिक उच्च चेत रहेको, संस्कृतिप्रतिको उच्च अनुराग र आध्यामिकता रहेको उहाँले विचार व्यक्त गर्नुभयो । तत्कालीन समाजमा रहेको प्रशासनिक ढिलासुस्तीलाई भानुभक्तले व्यङ्ग्यात्मक हिसाबले प्रस्तुत गर्नुभएको सन्दर्भमा त्यसले अहिलको समाजका समेत प्रतिनिधित्व गर्ने उहाँको भनाइ छ ।

कार्यक्रमका संयोजक साहित्य (लोकवार्ता र निबन्ध विभागका) प्रमुख डा. देवी नेपालले बालबालिकामार्फत अग्रज पुस्तासित जोड्न खोजको सन्देश आफूहरुले दिन चाहेको बताउनुभयो । नयाँ पुस्तालाई भानुभक्तलाई पु-याउन यसपटक बालबालिकालाई केन्द्रित रहेर कार्यक्रम गरिएको जनाइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण गर्ने र प्राज्ञिक नेतृत्व गरेको हिसावले बाल साहित्य विभागको स्थापना गरी विभिन्न कार्यक्रम र रचनाको प्रकाशन गर्न थालिएको जानकारी उहाँल दिनुभयो । बालसाहित्यका विभिन्न विधामा नयाँ कृति ल्याउन लागिएको जानकारी उहाँले दिनुभयो । बालसाहित्य महोत्सव, शब्दकोष, लेखक परिचय कोष, नेपाली दर्शनका नयाँ कृति ल्याउन लागिएको जनाइएको छ ।

सो अवसरमा आफनो प्रवचन राख्दै अनुसन्धानकर्ता प्रा.डा.शर्वराज आचार्यले भानुभक्तका बारेमा गरिएको अध्ययनको सारसंक्षेप समेत प्रस्तुत गर्नुभएको थियो ।

भानुभक्तीय जीवनी र जीवनपरक गरी छ जनाले अध्ययन गरेको, विश्लेषणात्मक भानुजीवन दुई जनाले र शोधप्रबन्ध भानुजीवनी भारततर्फ तीन र नेपालतर्फ तीन जनाले अध्ययन गरेको जानकारी दिनुभयो । नेपालमा भानुभक्तको जन्मजयन्ती मनाउने कार्यको सुरुवात २०१० सालबाट सुरु भएको हो । २०१० सालमा गोपाल पाण्डेको सक्रियतामा भानु जयन्ती मनाउन थालिएको हो । भानुभक्तको जन्य जयन्तीका बारेमा इतिहास शिरोमणि बाबुराम आचार्यले समर्थन समेत जनाएपछि असार २९ गते उनको जन्म जयन्ती मनाउन थालिएको हो । अनुसन्धानबाट भानुभक्तको न्वारानको नाम चिन्तामणि आचार्य भएको पुष्टी भएको छ । भानुभक्तमा कानुनको उच्च ज्ञान रहेको र पिताजीको सेवामा समेत समय खर्च गरेकाकारण सन्तान प्राप्तिमा समेत विलम्ब भएको सन्दर्भ उहाँले उल्लेख गर्नुभयो । नेपालको प्राज्ञिक जगतले भानुलाई उच्च महत्व समेत दिएको जनाइएको छ ।

कार्यक्रममा राजधानीका विभिन्न विद्यालयका विद्यार्थीले भानुभत्तीय रचना पाठ गरेका थिए । एम्बिसन एकेडेमीका छात्रा चक्षु भट्टराई, प्रज्ञास्कुलका छात्रा अवसर सुवेदी, भ्याली स्कुलका छात्रा गरिमा घिमिरे, वेद विद्याश्रमका छात्र हेमन्त भट्ट, लिटिल एन्जेल्सकाका छात्रा पलक ताम्राकार, संस्कृत मावि रानीपोखरीका छात्रा सुदृश सुवेदी र ज्ञानदीप शिक्षा सदनका दीपशिखा मुखिया लगायतका विद्यार्थीले भानुभत्तीय रचना वाचन गरेका थिए । त्यसअवसरमा विद्यार्थीहरुलाई पुरस्कृत गर्नुका साथै नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित बाल प्रकाशन कृति समेत प्रदान गरिएको थियो । प्रतिष्ठानका कुलपति गंगाप्रसाद उपे्रेतीले रचनावाचन गर्ने बालबालिकाई कृति प्रदान गर्नुभएको थियो । कार्यक्रम लक्ष्मी गौतमले सञ्चालन गर्नुभएको थियो ।