काठमाडौँ / नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव, आजीवन सदस्य, नेपाली भाषा र नेपालभाषा, साहित्य र संस्कृतिका सर्वोच्च धरोहर, वरिष्ठ संस्कृतिविद्, कवि, नाटककार, कथाकार, निबन्धकार, नियात्राकार तथा अन्वेषक, वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको असोज ३० गते बिहान ७ः०९ बजे ललितपुरस्थित किस्ट अस्पतालमा १०३ वर्ष ५ महिनाको उमेरमा निधन भएकोमा नेपाल प्रज्ञा–प्रतिष्ठानले शोक व्यक्त गरेको छ ।

वि.सं. १९७७ वैशाख ३० गते बखुँबहाल, ललितपुरमा माता राजकुमारीदेवी र पिता ङिशङ्करदास जोशीका पुत्ररत्नका रूपमा जन्मनुभएका जोशी नेपाली संस्कृति, पुरातत्त्व र इतिहासका अथक अन्वेषक, आधिकारिक ज्ञाता, प्रामाणिक व्याख्याताका साथै नेपाली भाषा र नेपाल भाषाका विशिष्ट विद्वान् एवम् प्रखर सर्जक रहनु भएको स्मरण गर्दै प्रतिष्ठानले शोक वक्तव्य जारी गरेको छ ।

वि.सं. २०९९ को ‘शारदा’ पत्रिकामा ‘आयो अब छोटो दिन’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएका जोशीका ‘नेपाली लोकगीत एक अध्ययन’ (२०१२), ‘नेपाली लोकसंस्कृति’ (२०१३), ‘नेपाली राष्ट्रिय मुद्रा’ (२०१७), ‘पुरातत्त्व एक रोचक कथा’ (२०१९, ‘लामा र पाचुके’ (पद्यात्मक कथा, २०२०, ‘कर्णाली लोकसंस्कृति’ (२०२८, ‘नेपाली मूर्तिकलाको विकासक्रम’ (२०३२, ‘नेपाली धातुमूर्तिकलाको विकासक्रम’ (२०३५), ‘नेपाली चाडपर्व’ (२०३९) नेपाली मूर्तिकलाको विकासक्रम जस्ता मूर्त र अमूर्त नेपाली संस्कृति र लोकजीवनसँग सम्बन्धित नौओटा कृति, ‘सिपाही र रैती’ (२०२७), ‘दैलाको बत्ती’ (२०२८, ‘जब घाम लाग्छ’ (२०३३, ‘फर्केर हेर्दा’ (२०३५), ‘मृत्यु एक प्रश्न’ (२०४२) जस्ता पाँचओटा नाटकहरू, ‘क्रान्तिका लहरहरू’ (कवितासङ्ग्रह, २०३३) एउटा गुलाफ र गुराँस (निबन्धसङ्ग्रह, २०३१), ‘राजमुकुट र राज्याभिषेक’ (२०३१), ‘कलाकार अरनिको’ (जीवनी, २०४४), ‘न्युजिल्यान्डमा पहिलो नेपाली’ (यात्रासाहित्य, २०४९) जस्ता चारओटा निबन्धात्मक कृतिहरू र ‘गौतम बुद्ध’ (नाटक, ने.सं. १०७०), ‘जयप्रकाश’ (नेपालभाषाका महाकाव्य, ने.सं. १०७५), ‘नेपाया बौद्धकला’ (प्रबन्ध, ने.सं. १०७६), ‘नेवा वः नेवा लोकसाहित्य’ (ने.सं. १११४) जस्ता चारओटा नेपाल भाषा साहित्यका कृतिहरूलगायत दर्जनौँ कृति नेपाली भाषा र नेपाल भाषामा प्रकाशित छन् ।

यसरी नै ‘कलाकार’ (त्रैमासिक, २००९, ‘पर्यायवाची शब्दकोश’ (२०३०, ‘नेपाल लिपिप्रकाश’ (२०३०), ‘सांस्कृतिक सम्पदा संरक्षण एक चुनौती’ (२०४३), ‘श्री ५ महेन्द्र अभिनन्दन ग्रन्थ तथा स्मृतिग्रन्थ’, ‘हेमराज भिन्तुना–देछा अभिनन्दन ग्रन्थ’ (२०४९, ‘राजमार्ग’ (पत्रिका आदिको सम्पादन र ‘माओ च तुङका कविताहरू’ (२०३३) अनुवाद जस्ता उल्लेखनीय कामहरू सम्पन्न गर्नुभएका वाङ्मय शताब्दी पुरुष जोशी शुभराज्याभिषेक पदक (२०१३ र २०३१), मदन पुरस्कार (२०१४, २०१७ र २०२८, श्रेष्ठ सिरपा (सन् १९५५, भाषारत्न (ने.सं. १०९५), त्रिशक्ति पट्ट तेस्रो (सन् १९७७), सुप्रसिद्ध गोरखा दक्षिणबाहु (सन् १९३), लाकौल पुरस्कार (सन् १९८, त्रिभुवन प्रज्ञा पुरस्कार (सन् २००१, आदिकवि भानुभक्त पुरस्कार (सन् २००२), भूपालमान सिंह कार्की पुरस्कार (वि.सं. २०६२), शीर्षपुरुष सम्मान (नेपाभाषा, सन् १९९९, उज्ज्वल कीर्तिमय राष्ट्रदीप (द्वितीय, नेपाल सरकारबाट वाङ्मय शताब्दी पुरुष उपाधि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानबाट पृथ्वी प्रज्ञा पुरस्कार (वि.सं. २०७६) बाट सम्मानित तथा पुरस्कृत हुनुहुन्छ ।

उहाँले वि.सं. २०२६—२०३१ मा नेपाल प्रज्ञा–प्रतिष्ठानको सह–सदस्य, २०३१—२०३६ मा सदस्य सचिव र त्यसपछि हालसम्म पनि आजीवन सदस्यका रूपमा रहेर नेपालको प्राज्ञिक समुन्नयनका लागि गर्नुभएको योगदान विशिष्ट र अतुलनीय रहेको स्मरण गर्दै उहाँका उल्लिखित कृतिहरूले नेपाल र नेपालीलाई विश्वमा चिनाउने काम गरेका छन् भने प्राज्ञिक कर्महरूले उहाँलाई युगौँयुगसम्म अजर र अमर राख्ने जारी विज्ञप्तिमा जनाइएको छ ।

शताब्दीको यात्रा पूरा गरिसक्दा पनि सदैव नेपाल, नेपाली र नेपाली भाषा, साहित्य र संस्कृतिका बारेमा चिन्तनशील उहाँको यस दुःखद निधनबाट राष्ट्रले एक अमर विभूति गुमाएको छ भने नेपाल प्रज्ञा–प्रतिष्ठानले एक जना भरपर्दा प्राज्ञिक अभिभावक गुमाएको भन्दै यस घडीमा नेपाल प्रज्ञा–प्रतिष्ठान कीर्तिशेष सत्यमोहन जोशीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ भनिएको छ ।

विज्ञप्तिमा निमित्त सदस्य सचिव प्रा.डा. हेमनाथ पौडेल र निमित्त कुलपति डा. जगमान गुरुङद्वारा हस्ताक्षर गरिएको छ ।