काठमाडौं । कवि, लेखक तथा पत्रकारको परिचय बनाएका संगीत श्रोतामाथि लागेको यौन दुर्व्यवहारको आरोप गुपचुप पार्ने प्रयास गरिएको छ । ‘वाम’ विचारधाराकी लेखिका तथा राष्ट्रिय दैनिकमा स्तम्भकारसमेत रहेकी एक जना महिला सर्जकले कवि श्रोताले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउनु भएको थियो ।

०७२ मा ती लेखिकाको किताब सम्पादनका क्रममा श्रोताले उहाँकी पत्नी नभएको मौका छोपेर आफ्नै कोठामा तीन पटकसम्म यौन दुर्व्यवहार गरेको आरोप लगाउनु भएको थियो । सो घटना तत्कालै सार्वजनिक गर्न खोज्दा श्रोताकी पत्नी र ‘हाई प्रोफाइल’ एक जना विद्यार्थी नेतृलगायत अन्य मिलेर सामसुम पार्ने प्रयास गरिएको थियो ।

संगीत श्रोताले ‘थालनी’ नामक पार्टी र त्यसका दुई भातृ संगठन प्रतिरोध र पुष्पलाल ज्ञानशालामार्फत महिला हिंसाविरुद्ध चर्को आवाज उठाउन थालेपछि असह्य भएर ती लेखिकाले श्रोताका व्यवहारबारे बोल्न बाध्य भएको बताउने गर्नु भएको थियो ।

श्रोताले आफूमाथि यौन दुर्व्यवहार गरेको फेहरिस्तसहित ती लेखिकाले संगीत श्रोता कार्यकारी रहनु भएको थालनी पार्टी र त्यसका दुवै भातृ संगठनलाई पत्र पठाउनु भएको थियो । पीडित लेखिकाले भातृसंगठनमध्ये एक प्रतिरोधका अध्यक्ष मनोज खतिवडा, सचिव अनिता पण्डित र पुष्पलाल ज्ञानशालाका संयोजक वन्धुविक्रम क्षेत्री र प्रमोद धिताललाई पत्र पठाएर आफूमाथि भएको आक्रमणबारे जानकारी दिनुभएको थियो ।

करिब डेढ महिनाअगाडि पीडितले पठाएको पत्रको खतिवडा र पण्डितले जवाफ पठाउनु भएको थियो । जवाफमा यौन दुर्व्यवहारजस्तो संवेदनशील घटनालाई भित्रभित्रै थामथुम पार्ने प्रयास गरिएको थियो । त्यसपछि पीडित लेखिकाले आफूमाथि श्रोताले अन्याय गरेको भन्दै श्रोताले सार्वजनिक रुपमा माफी माग्नुपर्ने शर्त राख्नुभयो । सो सर्तपछि संगीत श्रोता प्रमुख रहनु भएको बेला प्रकाशनमा जोडिनु भएका अर्का कवि विनोद विक्रम केसी पीडित लेखिकालाई फकाउने काममा खटिनु भएको थियो ।

स्रोतका अनुसार पीडितको माग निस्तेज गराउन वाम वृत्तका ‘पुजनीय’ व्यक्तिहरू नै दौडधुपमा लाग्नु भएको थियो । तर, ती पुजनीयले समेत पीडितलाई चुप लगाउन नसकेपछि लेखिका धनकुमारी सुनार, वाम लेखक राजेन्द्र महर्जन, अभय श्रेष्ठ र वन्धुविक्रम क्षेत्री खटिनु भएको थियो ।

आफ्ना दुर्व्यवहार बाहिर आउने लगभग पक्कापक्की भएपछि आत्तिनुभएका श्रोता देशका प्रमुख राष्ट्रिय दैनिकका सम्पादकहरुसामु यसबारेको समाचार प्रकाशन नगरिदिन भेटघाटमा लाग्नु भएको थियो । यसरी पनि पार पाउने छाँट नदेखेपछि संगीत श्रोताले श्रेष्ठ, महर्जन, प्रसाई, सुनार र क्षेत्रीसहितको समूह लिएर पीडितलाई ‘होस्टाइल’ गर्ने मिसनमा खटिनु भएको आरोप छ । श्रोताको ‘वाम मण्डली’ले पीडितलाई एक बन्द कोठाभित्र पुर्याएको, बन्द कोठाभित्र भएको सो भेटमा श्रोताले पीडितसामु हात जोडेर घटना बाहिर नल्याइदिन आग्रह गर्नु भएको थियो ।

सो भेटमा ‘वाम मण्डली’ले पीडित लेखिकालाई घटना सार्वजनिक गरेमा वाम वृत्तले वहिष्कार गर्ने चेतावनीको भाषासमेत प्रयोग गरिएको थियो । सामाजिक विभेदविरुद्ध, सीमान्तकृतको पक्षमा वकालत गर्ने वाम लेखकहरू यसरी आफूविरूद्ध लागेपछि पीडितको केही जोर नचलेको घटनाबारे जानकार एक सूत्रले जनायो ।

यसपछि पीडितले हार खाएर घटना सार्वजनिक नगर्ने निधो गरी फेसबुकमा आफूले ‘आधारभूत न्याय’ पाएको दाबीसमेत गर्नु भएको थियो ।

पीडितले ‘आधारभूत न्याय’ पाएको दाबी गरे पनि निकटस्थहरूसँग भने उहाँ आफ्ना पीडा पोखिरहनु भएको बताइन्छ ।  महिला हिंसाविरुद्ध सामाजिक संरचना भत्काएर भए पनि पीडकहरुलाई सार्वजनिक कठघरामा उभ्याएर न्यायको फैसला गर्नुपर्छ भनेर कडा रुपमा प्रस्तुत हुने ती लेखिकालाई श्रोताको ‘प्रगतिशील मण्डली’ले घुँडा टेक्न बाध्य बनायो । आफूलाई ‘शुद्ध वामपन्थी’ घोषणा गरेर अरुको खेदो खन्ने श्रोता समूहका सामुन्ने चेतनाले परिपक्व लेखिका कसरी चुप रहन सक्नुभयो होला, समयले जवाफ दिने नै छ ।

फेसबुकमा श्रोता निकट व्यक्ति र ‘थालनी’ नामक पार्टीको भातृ संगठनका व्यक्तिहरू भने श्रोताको नाम नलिकनै पीडितले चाहेअनुसार नै उनलाई न्याय दिइएको दाबी गरिरहनु भएको छ । तर, श्रोताले गरेको दुर्व्यवहारको घटना वाम वृत्त, साहित्यिक वृत्तमा भने भुसको आगो जसरी फैलिएको छ । यति हुँदा पनि श्रोता अध्यक्ष रहेको कथित ‘थालनी’ र त्यसका भातृ संगठन भने मौन छन् ।

(भाषा सम्पादन सच्याइएकोः जुलाइ ९, २०२२)

(साहित्य पोस्टसँग प्रमाणहरू सुरक्षित छन् ।)