साहित्यकार कृष्णकुमार गिरीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) महासचिवमा उम्मेद्वारी घोषणा गरेका छन् । २०२२-२०२४ को दुई वर्षे कार्यकालका लागि उनले महासचिवका लागि उम्मेद्वारी घोषणा गरेका हुन् ।

“निर्वाचनले संगठन अप्ठ्यारोमा पर्छ कि भन्ने चिन्ता लिने कुरा स्वभाविक नै हो । निर्वाचनमा विजेता र उपविजेता हुनु पनि स्वाभाविकै हो। यद्यपि निर्वाचनपश्चात् हामी सबै पुन: अनेसासको हराभरा वृक्षको छहारीमा उही न्यानोपनका साथ एकीकृत हुने कुरामा म विश्वस्त छु । र यसका लागि मेरातर्फबाट सक्दो पहल हुने विश्वास दिलाउन चाहन्छु ।”, घोषणा पत्रमा गिरी भन्छन्, “निर्वाचनको गणितीय परिणाम आफ्नो वा अर्को साथीको पक्षमा जाँदैगर्दा कोहीले अर्जुन र कोहीले कर्णको नियति भने भोग्नु हुँदैन। बरु सबै मिलेर हस्तिनापुरलार्इ अझै फराकिलो, समृद्ध , सबल, पारदर्शी र सुरक्षित बनाउनुपर्छ । र, बनाउन सकिन्छ भन्ने मेरो मान्यता छ ।”

अनेसासकाे महत्त्वपूर्ण अङ्ग तथा च्याप्टरहरूमा रहेर जिम्मेवारी निर्वाह गरिरसकेका गिरीले निर्वाचित भएपछि गर्ने १० बुँदे प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन् ।