
नेपाली साहित्यमा पहिलाेपटक प्रवेश गरेका कविहरूका लागि खुसीकाे खबर ।
डेब्यु काव्यकृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’का लागि उत्कृष्ट ९ काव्यकृतिहरूको नामावली सार्वजनिक गरेका छाैँ । याे पुरस्कारको राशि ५० हजार रुपैँया रहेको छ । यो नामावली नयाँ लेखकहरूले २०७८ सालमा प्रकाशन भएका २४ काव्यसङ्ग्रहबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भीक निर्णायकहरूको टीमले छानेको हो ।
‘हुन त नयाँ लेखकका २४ भन्दा बढी पुस्तक प्रकाशन भए होलान् तर हामीले सोधखोज गर्दा नयाँ लेखकका २४ पुस्तक फेला पार्यौँ ।’ पुरस्कार निर्णायक समितिका संयोजक एवं साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भने, ‘यो सूची तिनै नयाँ डेब्यु कृतिहरूबाट छानिएको हो ।’
कोइरालाका अनुसार यी नौवटा कृतिले नयाँ लेखकहरू के लेख्दैछन् र नेपाली साहित्य कता जाँदैछ, त्यसको सङ्केत गरेको छ ।
पहिलो पुस्तक लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका लेखकहरूलाई प्रोत्साहन गर्ने उद्धेश्यले अघिल्लो वर्ष (वि.स. २०७७) बाट सुरु भएको ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’मा ०७८ मा आइपुग्दा ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ पनि थपिएको हो । ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ वर्षभरिमा प्रकाशित डेब्यु काव्यकृतिलाई प्रधान गरिन्छ भने ‘साहित्यपाेस्ट उत्तम कृति पुरस्कार’ डेब्यु गैर-काव्यकृतिलाई प्रदान गरिन्छ । ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’का लागि छनोट भएका गैर-काव्य विधाका कृतिहरूकाे भाेलि साँझ सार्वजनिक गरिनेछ ।
‘वर्षभरि प्रकाशन गरिएका नयाँ लेखकको पहिलो कृतिलाई सम्मान गर्ने योजनाअनुरूप यसपटक २ वटा कृतिलाई ५०–५० हजार रुपैयाँ नगद र ताम्रपत्रले सम्मान गर्ने योजना बनाएका हौँ ।’ प्रधानसम्पादक कोइरालाले भने, ‘अघिल्लो वर्ष हामीले एक जनालाई मात्र सम्मान गर्न सक्यौँ । त्योबेला अत्यन्तै थोरै अङ्कले युवापुस्ताका लेखक छुटेको अनुभव गरेपछि यसपटकदेखि दुई लेखकलाई सम्मान गर्ने योजना बनाएका हौँ ।’
छानिएका डेब्यु काव्यकृतिहरूमा रोशन तिमिल्सिनाकाे कविताकृति “चिरिएका पैताला”, शरद पोखरेलको कविताकृति “मरूभूमिका डुङ्गा”, पेशलकुमार लुइटेलको कविताकृति “पोल्टाभित्र डिही”, केवल बिनाबीको कविताकृति “यादहरूको सङ्ग्रहालय”, हरिमाया अधिकारीको गजलकृति “छोपिएको भाग्यरेखा”, शान्ति प्रियावन्दनाको कविताकृति “जिल खाइरहेकी एक्काइसौँ शताब्दी”, डा. वीरेन्द्र केसीकाे कविताकृति “आमाको काखमा दुखेको देश”, अजित उत्सवको कविताकृति “आकाशगङ्गाको किनार” र शशी भट्टराइ श्रेष्ठको “निर्मल तलाउमा तरङ्ग” रहेका छन् ।
‘छानिएका यी कृतिहरूलाई साहित्यपोस्टका विषय सम्पादकहरू, स्तम्भकार एवं समीक्षक गरी १५ जनाको जिम्मा लगाइने छ । उहाँहरूले दिएका नम्बरहरूलाई जोडेर १५ ले भाग गर्दा जुन कृतिले बढी नम्बर प्राप्त गर्छ, त्यही कृतिलाई हामीले वर्षको उत्कृष्ट डेब्यु पुस्तकका रूपमा पुरस्कृत गर्नेछौँ ।’, साहित्यपोस्टका संयोजक कृष्ण ढुङ्गेलले भने, ‘हाम्रा निर्णायकहरू लेखकको पहिलो पुस्तक नै गतिलो जन्मनु पर्छ भन्ने कुरामा सहमत हुनुहुन्छ । यही कारण यी नौवटा कृतिहरूमध्येबाट पनि उत्कृष्ट कृति विजेता छनोट हुने कुरामा साहित्यपोस्ट टिम विस्वस्त छ ।’
पुरस्कारको प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौँ गीतहरू लोकप्रिय छन् ।
प्रस्तुत छ, २०७८ सालका उत्कृष्ट ९ डेब्यु काव्यकृतिहरूको सूची ।
१. चिरिएका पैताला

पोखरा निवासी युवा कवि रोशन तिमिल्सिनाको पहिलो काव्यकृति हो, “चिरिएका पैताला” । दुई खण्डमा बाँढिएको कृतिमा तिमिल्सिनाले पक्षधरता, प्रकृति र आध्यात्मलगायत पक्षहरूलाई कविताहरूको विषय बनाएका छन् ।
कलम प्रकाशनले बजारमा ल्याएको सो कवितासङ्ग्रहमा लामा-छोटा गरी ५३ ओटा कविताहरू रहेका छन् ।
२. जिल खाइरहेको एक्काइसौँ शताब्दी

कवि शान्ति प्रियवन्दनाको काव्यकृति हो, “जिल खाइरहेको एक्काइसौँ शताब्दी” । दुई दशकदेखि कविता लेख्दै आए पनि शान्तिले कवितासङ्ग्रह पहिलोपटक प्रकाशित गरेकी हुन् । ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’भित्रका कवितामा प्रशस्त विविधता पाइन्छ । निजी भावनाका अभिव्यक्तिदेखि राष्ट्रिय राजनीति अनि गरिखाने वर्गको मुक्तिको कामना उनका कविताका विषय बनेका छन् । सङ्ग्रहित अधिकांश कविता सरल भाषा र छोटा आकारमा छन् ।
कविताबाहेक निबन्ध, गजल, मुक्तक र अखबारीय लेखनमा समेत सक्रिय रहेकी कवि प्रियवन्दना प्रगतिशील लेखक सङ्घ, मकवानपुरको वर्तमान अध्यक्ष हुन् । पुस्तकलाइ रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो ।
३. यादहरूको सङ्ग्रहालय

कवि केवल बिनाबीको कवितासङ्ग्रह “यादहरुको सङ्ग्रहालय” काव्यकृतिमा ४७ थान कविताहरू सङ्ग्रहित छन् । “अनुभूति र सहानुभूतिले फिक्सनाइज्ड गरेका तयारी वस्तुहरुको हामी कति जना उपभोक्ता छौँ । तर ऊ उपभोक्ता होइन, स्वयम् भोक्ता हो । ऊ फिक्सन हैन आफैँमा फ्याक्ट हो । भोक्ता र उपभोक्ताबीच आकाश जमिनको फासला छ ।” पुस्तकको भूमिकामा कवि भूपाल राई लेख्छन्, “तहगत समाजले निमार्ण गरेको कथित तल्लो तहको आफैँ भोक्ता भएर जसरी उसले फ्याक्ट लेखिरहेछ त्यो अरु धेरैका लागि सहानुभूतिको विषयमात्र हो । स्व-अनुभूतिको स्वाद कस्तो हुन्छ, त्यो उपभोक्ताहरुलाई होइन, उसलाई मात्र थाहा छ । त्यसैले तहग्रस्त समाज र संरचनाको स्व-कविता ऊबाट मात्रै सम्भव छ । यस दृष्टिबाट हेर्ने हो भने यादहरुको सङ्ग्रहालय त्यो कित्ताको पहिलो कवितासङ्ग्रह हो । र, केवल बिनाबी पहिलो कवि हो ।”
पुस्तकलाई फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको हो । १ सय ३० पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।
४. पोल्टाभित्र डिही

पेशलकुमार लुइटेलको छन्द कवितासङ्ग्रह हो, “पोल्टाभित्र डिही” । कानुन, शिक्षा, साहित्य र अन्तर्राष्ट्रिय सम्बन्धका विद्यार्थी लुइटेल अधिवक्ता हुन् । शिक्षण पेसामा पनि उनको अनुभव लामो छ । यसर्थ, उनका छन्द कवितामा विषय विविधता र नवीनता रहेको छ ।
सङ्ग्रहमा “गुरु”, “खोज्दै छु राष्ट्रनायक”, “सगरमाथाको प्रतिबिम्ब”, “पानी”, “साहित्य”, “सुनकोसीको झल्को”लगायत ८५ थान कविताहरु सङ्ग्रहित छन् । कृतिलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।
५. आमाको काखमा दुखेको देश

न्युजिल्यान्ड बस्दै आउनुभएका दाङका डा. वीरेन्द्र केसीको कविता सङ्ग्रह हो ‘आमाको काखमा दुखेको देश । छन्दबद्धता र छन्दमुक्ततालाई आधार मान्दा काव्यकृति दुई खण्डमा विभाजित छ । पहिलो खण्डमा ५५ वटा मुक्तलयमा र दोस्रो खण्डमा २५ वटा बद्धलयमा आधारित कविताहरू छन् ।
डा. केसीले सिँचाइमा पिएचडी गरेका छन् भने हाल न्युजिल्यान्डको सिँचाइसम्बन्धी अनुसन्धान लिमिटेडमा कार्यरत् छन् । उनी नेपाली साहित्य समाज, न्युजिल्यान्डका उपाध्यक्षसमेत हुन् । कृतिलाई साहित्यपाेस्टले प्रकाशनमा ल्याएको हो ।
६. मरूभूमिमा डुङ्गा

युवाकवि शरद पोख्रेलकाे पहिलो कृति मरूभूमिमा डुङ्गा ६१ थान कविताहरू सङ्ग्रहित छन् । पोखरेलका कविताहरू समयको आवाज सुनेर वैचारिक विमर्श गर्दै समाजलाई सही दिशा दिन सङ्घर्षशील देखिन्छन् । उनका कवितामा जन्मभूमि, कर्मभूमि, सम्बन्ध, समवेदना र पर्यावरणको गहिरो काव्यिक समीश्र घुलित भएका छन् ।
सङ्ग्रहमा सम्बन्ध र समवेदना, देश र दृष्टि, आवरण र पर्यावरण गरी तीन खण्डमा पचपन्न कविताहरू छन्। सङ्ग्रहलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।
७. आकाश गङ्गाको किनार

कवि अजित उत्सवको कवितासङ्ग्रह “आकाशगङ्गाको किनार”मा ५६ थान कविताहरू सङ्ग्रहित छन् । “अजितका कविताहरुभित्र सम्बन्ध छन् – असहज, सन्दिग्ध, मृदुल, विसङ्गत, वक्र, असमान, अचम्म अचम्ममा ।”, पुस्तकको भूमिकामा लेखक तथा समालोचक महेश पौड्याल लेखेका छन्, “सम्बन्धलाई राजनीतिले छोएको छ । अविश्वासले छोएको छ । भ्रमहरुले छोपेको छ । राजनीतिले मान्छेभित्रबाट मान्छे हुनुको मूल्य निचोरेको छ र मान्छेलाई अरुको पछिपछि लाग्ने फगत भेडा बनाएर छोडेको छ ।”
कविताकृतिलाई बीएन पुस्तक संसारले बजारमा ल्याएको हो ।
८. छोपिएको भाग्यरेखा

हरिमाया अधिकारीकृति गजलसङ्ग्रह हो, छोपिएको भाग्य रेखा । अन्तराष्ट्रिय नेपाली साहित्य समाज, न्यू हेम्प्सायर च्याप्टरकी अध्यक्ष अधिकारीका गजलमा देशप्रेम, प्रणय, खस्कँदो मानवीय मूल्य, विकृत राजनीति, पलायन पीडा तथा विज्ञान र प्रविधिले पारेका विविध कुप्रभावहरूको प्रतिबिम्ब देख्न सकिन्छ ।
पछिल्लो समय अमेरिका बस्दै आएकी गीत गायन र कविता लेखनमा सक्रिय अधिकारीको यस गजलकृतिलाई नेपाली बुक्स पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो ।
९. निर्मल तलाउमा तरङ्ग

शशी भट्टराई श्रेष्ठको पहिलो तथा नवीनतम् कविताकृति हो, ‘निर्मल तलाउमा तरङ्ग’ । सङ्ग्रहमा विशेष प्रकृतिका वा उमेरसमूहले पढ्ने भन्ने कविताहरु छैनन्, बरु सबै किसिमका, सम्पूर्ण उमेर समूहलाई प्रतिनिधित्व गर्ने कविताहरु छन् । कविताहरुमा कहीँ न कहीँ जीवनका रिक्ताता र तिक्तताहरुलाई मेटाउने स्रष्टाको प्रयास पाइन्छ ।
३५ कविता सङ्ग्रहित कृतिलाई अजम्बरी पब्लिकेसनले बजारमा ल्याएको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
१४ असार २०८३, आईतवार 







