काव्य लेखेर नेपाली साहित्यमा पदार्पण गरेका लेखकलाई साहित्यपोस्टले प्रदान गर्ने ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०७९’का लागि छोटो सूची जारी गरिएको छ । यो सूचीमा पहिलो कृतिका रूपमा काव्य (कविता, गजल, मुक्तक, महाकाव्य आदि) लेखेका पाँच लेखक समावेश छन् ।

वर्तमान समयका चर्चित गजलकार प्रदीप रोदनको पहिलो कृति, गजलसङ्ग्रह ‘मफलर’ पुरस्कारको छोटो सूचीमा पर्न सफल भएको छ ।

प्रेमिल गजलका लागि प्रसिद्ध रोदनका गजलले प्रेम मात्रै बोलेका छैनन्, समाज र दर्शन पनि बोलेका छन् । वर्तमान समाजमा विद्यमान विकृति तथा कुसंस्कारलाई उनले सरल र सरस ढङ्गले गजलमा उतारेका छन् । उनका गजलमा सत्तालाई प्रश्न तथा बदलिएको अर्थराजनीतिको चित्रण पनि पाइन्छ ।

फाइन प्रिन्टले प्रकाशनमा ल्याएको गजलसङ्ग्रह मफलरमा १ सय ८ थान गजल तथा १ सय ८ थानै फर्दहरु सङ्ग्रहित छन् ।

छोटो सूचीमा प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’सँगै, प्रीति आत्रेय ज्ञवालीको कवितासङ्ग्रह ‘अनुभूतिको इन्द्रेनी’, मिमबहादुर परियारको कवितासङ्ग्रह ‘कर्नाली हाँस्दो छ’, रोहिणी रसिकको छन्द कवितासङ्ग्रह ‘छन्द आराधना’ र  मिलन समीरको शृङ्खला-कविता ‘प्रिय दुश्मन’ रहेका छन् ।

यसअघि ०७९ सालमा प्रकाशित डेब्यु लेखकका ४२ काव्य कृतिहरूबाट ११ कृतिको ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कारको लामो सूची’ सार्वजनिक गरिएको थियो । पाँच काव्य कृतिको छोटो सूची तिनै ११ कृतिहरूको मूल्याङ्कनबाट छानिएको हो ।

छोटो सूचीमा रहेका डेब्यु लेखकका पाँच काव्य विधाका कृतिहरूमध्येबाट सर्वोत्कृष्ट एकले ५० हजार रुपियाँ राशिको पुरस्कारका साथमा सम्मानपत्र पाउने छन् ।

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरु लोकप्रिय छन् ।

अगामी चरणमा, काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका उत्कृष्ट तीन पुस्तकको घोषणा गरिने बताइएको छ । ती तीन विधाका तीन कृतिमध्येबाट एक-एकलाई ५०-५० हजार राशिको पुरस्कार तथा सम्मान औपचारिक समारोहको आयोजना गरी प्रदान गरिनेछ ।