विश्व नेपाली साहित्य प्रतिष्ठान नेपालको लुम्बिनी प्रदेश समिति गठन भएकाे छ । हालै स्थापित प्रतिष्ठानको लुम्बिनी प्रदेशको प्रथम भर्चुअल भेलाले पाल्पाली स्रष्टा भावना खनालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्ष कृष्णदेवी शर्मा नवलपरासी, महासचिव तेज प्रसाद खनाल दाङ, सचिव मन बहादुर खत्री गुल्मी, कोषाध्यक्ष शोभा कडरिया पाल्पा रहनुभएको छ । कार्यसमितिको सदस्यहरुमा चन्द्रावती अधिकारी बाँके, शंकर आचार्य बर्दिया, रमेश समर्थन रुपन्देही, राधाकृष्ण रेग्मी (अनमोल शर्मा) रुपन्देही, आयाम कार्की पाल्पा, जनक कार्की पाल्पा, टेकबहादुर कुँवर अर्घाखाँची, दामोदर सुवेदी रोल्पा, गणेश पाण्डे दाङ र विमला खनाल प्युठान रहनुभएको छ । त्यस्तै सल्लाहकारहरूमा प्राज्ञ एवम् वरिष्ठ गजलकार  बुँद राना, समालोचक डा. नारायण प्रसाद पन्त, वरिष्ठ साहित्यकार द्वय डा. शङ्कर गैरे र लक्षिमा ज्ञवाली चयन  हुनुभएको छ ।

कार्यक्रममा विश्व नेपाली साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जनार्दन अधिकारी धड्कनले नेपाली भाषा साहित्यको विकासका लागि नेपालबाट सुरूवात भएको यो अन्तर्राष्ट्रिय अभियानले नेपाली भाषा साहित्यको विकासका लागि महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयाे । त्यस्तै, संस्थाले विश्वभरिका नेपाली स्रष्टाहरुको पहिचानको लागि कार्य गर्नेसमेत बताउनुभयो ।

“गैरआवासीय नेपालीहरुले समेत भाषा साहित्यको योगदानको लागि धेरै राम्रो कार्य गरिरहेको सन्दर्भमा देशमै रहेका स्रष्टाहरुको ठूलो जिम्मेवारी रहेको छ ।” अधिकारीले थप भन्नुभयो, “नेपाली माटोमा जन्मिएका विधाहरुको विकासका लागि प्रतिष्ठानले तत्काल छुट्टै केन्द्रीय विभाग गठन गर्ने छ ।”

लेखक तथा समालोचक डा. नारायणप्रसाद पन्तले विनेसाप्र गठन नेपाली साहित्यको विकासका लागि महत्त्वपूर्ण रहने र संस्थाको हरेक अभियानमा आफ्नो साथ रहने बताउनुभयो । त्यसैगरी, लेखक तथा समालोचक डा. शङ्कर गैरेले विनेसाप्रलाई सफल अभियानको लागि शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिष्ठानको नव निर्वाचित लुम्बिनी प्रदेश अध्यक्ष भावना खनालले आफूलाई विश्वास गरिदिएकाेमा धन्यवाद दिनु भयाे । उहाँले भन्नुभयो, “हरेक निर्वाचित पदाधिकारीहरुले आआफ्नो जिल्लाको नेतृत्व लिँदै अभियानलाई सफल पार्न सबैमा आव्हान गर्दछु ।”

विनेसाप्र गण्डकी प्रदेश अध्यक्ष लक्ष्मीप्रसाद मिश्रले प्रतिष्ठानले देशका सबै प्रदेशका स्रष्टाहरुको अभिलेख राख्न आवश्यक भएको र त्यसको लागि गण्डकी प्रदेश लागि पर्ने कुरा बताउनुभयो । उहाँले स्रष्टा परिचयपत्र आवश्यक रहेको कुराकाे समेत जिकिर गर्नुभयो । त्यस्तै, विनेसाप्र विदेश विभाग प्रमुख खगेन्द्र बस्यालले संस्थाको विदेश विभाग गठनको क्रममा रहेकोेले गैरआवसीय नेपाली स्रष्टाहरु अभियानमा जोडिन आव्हान गर्नुभयो ।

नेपाली साहित्यको समग्र विकास, अग्रज स्रष्टाहरुको सम्मान तथा नवसर्जकलाई प्रोत्साहन गर्नुका साथै विभिन्न साहित्यिक गतिविधिहरुलाई व्यवस्थित रूपमा सञ्चालन गर्न गत जेठमा गठित विश्व नेपाली साहित्य प्रतिष्ठानको प्रदेश समिति गठन भएपछि जिल्ला समितिसमेत गठन गरिने नवनिर्वाचित लुम्बिनी प्रदेश अध्यक्ष खनालले बताउनुभयो ।

भेलाले समिति गठन कार्यक्रम सम्पन्न गरेपछि स्रष्टाहरुले आ-आफ्ना रचना वाचन गर्नुभएको थियोे  । कार्यक्रममा स्वास्थ्य समस्याले गर्दा विगत ४ वर्षदेखि बिस्तारामा सीमित हुनुभएका स्रष्टा दुर्गा क्षेत्रीले समेत आफ्ना रचना वाचन गर्नुभएको थियोे ।

कार्यक्रममा विनेसाप्रका केन्द्रीय उपाध्यक्ष पुष्करराज रेग्मी, सहसचिव सविता केसी, प्रदेश १ का संयोजक निरु गौतम, सोमनाथ लुइँटेल रवि, पूर्णप्रसाद पन्त, चुडा निर्भीकलगायत स्रष्टाहरुको सहभागिता रहेको थियोे ।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका केन्द्रीय महासचिव शिव खनाल जीवनले गर्नुभएको थियाे भने पाल्पाका वरिष्ठ साहित्यकार लक्षिमा ज्ञवालीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।